६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

अफिसमा अंकुराउन छाड्यो प्रेम

यस्ताे पनि!

सन् २०२३ मा एउटा प्रेमिल फिल्म रिलिज भएको थियो, ‘फेयर प्ले’। यस फिल्मको कथानक थियो, सेयर बजार विश्लेषकका रूपमा काम गरिरहेका एउटा जोडी प्रेममा पर्छन्। दुवै विश्लेषणमा निकै तगडा हुन्छन्। केटोले ठान्छ, अफिसमा प्रमोसन पाउने मै मात्र एक्लो हुँ। तर व्यवस्थापनले केटीलाई केटोको समेत हाकिम हुने गरी प्रमोसन गरिदिन्छ।

यसपछि दुवैबीचको प्रेममा कसरी ईर्ष्या छिर्छ, अफिसभित्र हुने राजनीति, प्रतिस्पर्धा र एकअर्का बीचको अविश्वासले प्रेमजीवनलाई कसरी ध्वस्त बनाउँछ भन्ने विषयमा फिल्मले ‘नारीवादी’ कोण प्रस्तुत गर्छ।

के उसो भए एउटै अफिसमा काम गर्नेहरूबीच प्रेम अंकुराउँछ? अंकुराउँछ भने कति लामो समयसम्म त्यो प्रेम जान्छ? अंकुराउँदैन भने त्यसका बाधाहरू के हुन सक्छन् भन्ने विषयमा हालै जर्नल अफ बिजनेस कम्युनिकेसनमा सर्भे गरेको थियो।

पछिल्लो समय तीव्र प्रतिस्पर्धाका बीच एउटै अफिसमा काम गर्नेहरूबीच प्रेम अंकुराउन अप्ठेरो र झमेलाको विषय बन्न पुगेको सो अध्ययनले देखाएको छ। युवायुवतीबीच आफ्नो कामको गोप्यताको अभाव, अफिसमा हुने राजनीतिमा किटानी जाहेरी लगायतका झमेलाका कारण बिस्तारै युवायुवतीबीच अविश्वासको अवस्था सिर्जना हुन थालेको द टाइम्स पत्रिकाले जनाएको छ।

जागिरे जीवनमा अधिकांशले आफ्नो जीवनसाथी फेला पारेका हुन्छन्। फेला नपरून् पनि किन? घरपछि मान्छेले सबैभन्दा लामो समय कार्यालयमा नै बिताएको हुन्छ र यस्तोमा हुनेवाला जीवनसाथी खोज्ने त्यहाँ पर्याप्त अवसर हुन्छ।

पछिल्लो समयमा भने अमेरिकी कार्यालयहरूमा कामदारहरूबीच पहिलेको जस्तो सौहार्द वातावरण नरहेको देखिएको छ। यसको मूल कारण एकअर्कामा विश्वासको अभाव नै रहेको अध्ययनले देखाएको छ।

प्रायः अफिसमा प्रेममा परेपछि सम्बन्ध सुन्दर र सुमधुर रहेको देखाउन दुवै पक्षले बढी मिहिनेत गर्नुपर्ने र यसले कतिपयलाई दिक्दारीसमेत बढाउने गरेको अध्ययनमा देखिएको छ।

हुन त यो अध्ययन जम्मा १२० जना स्त्री र पुरुषबीच गरिएको थियो तापनि यसले आधाभन्दा बढी अफिसमा प्रेम सम्बन्ध गाँस्ने सम्बन्धमा उति रुचि नराख्ने देखिएको थियो। त्यसो त आधाजसोले आफ्नो प्रेम आफू काम गर्ने कार्यालयमा नै फेला परेको जनाएका छन्।

कार्यालयको हाकिमसँग प्रेममा पर्ने कुनै युवतीले बढी फाइदा उठाई होली भन्ने आशंका अरूले गर्ने गरे पनि वास्तवमा त्यो फाइदा बिल्कुलै नपाउने गरेको पनि कतिपय अवस्थामा देखिएको छ।

यो अमेरिकाको कुरा हो, नेपालमा भने यसबारे राम्रै अध्ययन गर्नुपर्ने देखिन्छ।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: २४ पुस २०८० ०२:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App