विस ३००० को असार मसान्ततिर थियो। फुलेका दारी र बेस्सरी पाका अनुहार, हेर्दा साठीसत्तरीको दशकमा देशको बागडोर सम्हालेका जस्ता चारपाँच बूढा ज्यानले जुटको बोरामा सकीनसकी भारी बोकेर एयरपोर्टबाट बाहिरिंदै गर्दा पत्रकारले हुलिया चिनेर साेध्छन्, ‘आखिर यो बोरामा नअट्ने धन कहाँ लुकाउनुभएको थियो? अनि आज आएर सकीनसकी बोकेर देश भित्र्याउँदै हुनुहुन्छ?’
तीमध्येका एक फत्फताए, ‘हेर्नुस् पत्रकार महोदय! ऊ बेला हामीमा लोभ थियो, ईर्ष्या थियो, हाम्रो परिवारजन र आसेपासेका भविष्यको चिन्ता थियो। तर अब आएर हामीले बुझ्यौं यो सबै भ्रम रहेछ। क्षणिक रहेछ।’
अर्का झुसे बुढाले थपे, ‘हामीलाई आफ्नै भनेकाहरूले ज्यान मरेपछि जुम्राले छाडे जसरी छाडेर गए। देशको माटोको माया प्रेम ठूलो रहेछ। अनि अर्कोतर्फ अहिलेको सरकार हाम्रा लागि बुढेसकालमा सहारा बनेको छ। बस्नेखाने, योगध्यान र भजनकिर्तन सरकारले गरि दिएको छ।
त्यही भएर मनमा ग्लानि भएर हामीले सामूहिक छलफल गरेर हामीले त्यो बेला गरेको पाप थोरै भए नि पखाल्ने निर्णय गर्यौं। फलतः आफ्ना भनिएका आसेपासेका नाममा जम्मा गरिएको स्विस बैंकका यी पोका नेपाल सरकारका नाममा दिन भनेर ल्याएका! पत्रकारहरू भने सबै ट्वाँ पर्दै समचारको हेडलाइन फुराउन थाले।
केही समयपछि विभिन्न छापा तथा अनलाइन मेडियाहरूको हेडलाइन थिए, ‘स्विस बैंकका पोका नेपाल फिर्ता।’’
कालो धन सेता बोरामा कसरी चिरेर स्वदेश फिर्ता आए?
‘तुलसीको मोठमा जाने बेलामा फिरेको सद्बुद्धि’, आसेपासेका नाममा भएको कालो धन आफैं बोकेर आए देश कंगाल बनाउनेहरू!’ आदिआदि!
- डा.मित्र पाठक ‘काँचुली’
प्रकाशित: २२ पुस २०८० ०७:०९ आइतबार