१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

सूर्यविनायक नैचालमा बुद्धमूर्ति स्थापना तयारी

फाइल तस्बिर

भक्तपुरको सूर्यविनायक नगरपालिका- ८ गोम्बो डाँडा नैचालमा झन्डै दुई सय घरधुरी रहेका छन्। तामाङ बस्ती रहेको पहाडको यो ठाउँमा कुनै पनि मठमन्दिर छैनन्।

सहरबाट निकै टाढा जंगलबीच रहेको यो बस्तीमा त्यति शिक्षित मानिस पनि छैनन्। यही कारण बालबालिका पनि जाँडरक्सी खान भट्टीमा जाने अनि जथाभावी बोल्ने, हिँडनेलगायत निरन्तरको बानीले गाउँका अगुवा चिन्तित छन्। यही समस्या समाधानका लागि भन्दै अहिले उनीहरूले बुद्धमूर्ति स्थापना गर्ने तयारी गरेका छन्।  

आउने शनिबार पुस २१ गते त्यसका लागि उनीहरूले भव्य तयारी गरेका छन्। भव्य कार्यक्रमबिच भक्तपुरको इनाचो मुनि विहारबाट बुद्धमूर्ति गाडीमा राखेर गाउँ लग्ने र बाजागाजा र र्‍यालीसहित स्थापना गर्ने योजना उनीहरूले तय गरेका छन्। सो ठाउँमा भविष्यमा विहार बनाउने योजना उनीहरूको छ।

बुद्ध विहार इनाचो भक्तपुरको व्यवस्थापन समितिका सचिव शिवप्रसाद बालाले स्थानीयको अनुरोधअनुसार मित्रराष्ट थाइल्यान्डको सहयोगमा एउटा बुद्धमूर्ति तयारी अवस्थामा रहेको बताए।

उनका अनुसार त्यही बुद्धमूर्तिलाई शनिबार बिहान मुनिविहारमा हस्तान्तरण कार्यक्रम हुनेछ। त्यसपछि त्यसलाई गाडीमा राखेर नैचाल लगिनेछ। त्यसका लागि दुई-तीनवटा बसमा भिक्षुहरू पनि नैचाल पुग्नेछन्। गाउँमा पुगेपछि आधा घण्टा जतिको बाटोमा र्‍याली गरी बुद्धमूर्ति स्थापना गरिनेछ। करिब चार फिट अग्लो धातुको बुद्धको मूर्ति तयार गरी विहारमा अहिले सुरक्षित अवस्थामा छ।

स्थानीय वीरबहादुर तामाङले यही कारण गाउँमा एउटा बुद्धमूर्ति स्थापना गरेपछि विहार निर्माण गर्ने योजना रहेको सुनाए। यसका लागि आफूहरूले नजिकैको पर्ती जग्गा मिलाएको उनले सुनाए। ‘भक्तपुरमा पाइलैपिच्छे मठमन्दिर छन्,’ उनले भने, ‘यही कारण पनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा त्यहाँका मानिस तुलनात्मक रूपमा अलिकति सभ्य भएको हाम्रो बुझाइ छ।

गाउँमै मठमन्दिर वा कुनै धार्मिक स्थल भएपछि यही कारणले पनि नैतिक बनाउने मान्यताले काम गर्ने गम्बोडाँडा सुधार समितिका पदाधिकारीको विश्वास छ। यही मान्यताबाट अगाडि बढेर आफूहरूको ठाउँ र स्थानीय पनि सभ्य, सुसंस्कृत, नैतिकवान् होस् भन्ने हेतुले बुद्धमूर्ति स्थापना गरी विहार बनाउने योजना रहेको उनीहरूले सुनाए।

नैचाल अरनिको राजमार्गअन्तर्गत भक्तपुरको जगातीबाट झन्डै १२ किलोमिटर दक्षिण पहाडको ठाउँमा छ। जगाती भएर प्रख्यात डोलेश्वर मन्दिर हुँदै जंगलैजंगलको बाटोबाट ठाडो उकालो पुगेपछि यो ठाउँमा पुगिन्छ। गाउँको बाटो, ठाडो उकालोको बाटो भएकाले मोटरसाइकलमै पुग्न पनि झन्डै जगातीबाट एक घण्टा लाग्छ।

प्रकाशित: २० पुस २०८० ०२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App