७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

कष्ट

लघुकथा

“हैन! छोरी तँ किन यस्तो कुरा गर्छेस्? के गर्‍याैं हामीले त्यस्तो? आमाले छोरी सम्झिएर फोनमा कुरा गर्दा पनि झर्किन्छेस्?’’ आमाले भनिन्।

“तपाईहरूको कारणले मैले विदेशमा दुख भोगिरहेछु।’’ छोरीले रुन्चे आवाजमा भनी।

आमाले पनि आक्रोश पोख्दै भनिन्, ‘‘नचाहिंदो कुरा नगर्। त्यति सरल, सोझो, पढेलेखेका अमेरिका जस्तो डलर कमाउने देशमा लैजाने ज्वाइँ पाकी छेस्। अझ असन्तोषी कुरा गरेर आमाबाबुलाई दोष लाउँछेस्? आफूलाई भाग्यमानी ठान् न।’’

“आमा! ठुलो देश, ठुलो पैसा, शिक्षित श्रीमान पाएर मात्र भाग्यमानी कोही हुँदैन। भाग्यमानी त त्यस्ता हुन्छन् जस्ले श्रीमानको सहयोग, साथ, आत्मिक माया पाउँछ। म यी सबैबाट वन्चित छु।’’ छोरीले भावुकताको साथ भनी।

आमालाई नमिठो झट्का पर्‍याे र सोंच्न थालिन् अश्मिताले भनेकी कुराहरू।

‘‘आन्टी विदेशमा त श्रीमान् र श्रीमतीको  भेट् हुन पनि मुश्किल हुँदो रहेछ। घरमा एकसाथ हुनु भनेको त दशैं आए जस्तै खुसीयाली हुँदो रहेछ। रातदिन कामको काम। आज सन्चो छैन भन्नु पनि पाइन्न। अझ श्रीमान् अबुझ, असमझदार छन् र श्रीमतीलाई मद्दत नगर्ने छ भने त नर्कको जिन्दगीसरह हुन्छ रे! तर, श्रीमान् माया गर्ने, वास्ता, मद्दत गर्ने छ भने त ठिकै हो डलर कमिन्छ तर एकोहोरो डलरको पछि लागेर आफ्नो व्यक्तिगत जीवन नै ध्वस्त पारेर बाँच्नु त मुश्किल नै हुन्छ त्यही पनि श्रीमान अबुझ छन् भने।”

आमा एकोहोरिइरहेकी थिइन्।

फेरि उताबाट छोरीको आवाज आयो, “आमा! किन नबोल्नुभाको? के भन्नु छ?भन्नुस्। यहाँ रातको दश बजिसक्यो। भर्खर कामबाट आको म। अब खाना पकाएर खानु छ भोलि बिहानै काममा जानुपर्छ।”

“अनि ज्वाइँ नि? के गर्दै हुनुहुन्छ?”आमाले प्रश्न तेर्साइन्।

“ज्वाइँ घरबाटै काम गर्नुहुन्छ। अघि सुतिसक्नुभयो। म आउँदा उहाँ सुतिसक्नुभाको हुन्छ।” छोरीले निन्याउरो आवाजमा भनी।

“अनि... उहाँले खाना?” आमाको प्रश्न पूरा नुहुँदै छोरीले जवाफमा भनी, “उहाँले रेस्टुरेन्टबाट मगाएर खानुहुन्छ। मैले भोलिका लागि पनि पकाउनुपर्छ आफूलाई लैजान।”

छोरीको कुराले आमा निशब्द बनिन् र सम्झिन थालिन्। विवाहअघि छोरीले भनेकी कुराहरू।

“म पहिला केटो हेरेर बुझ्छु। कतिको समझदार अनि बानीव्यहोरा कस्तो छ? श्रीमतीलाई घरको काममा कत्तिको मद्दत गर्छ? पढेर र विदेश लगेर मात्र हुन्न। विदेशमा दुवैको उत्तिकै भूमिका हुनुपर्छ रे!नत्र दुख पाइन्छ रे” भनेकी।

त्यही बेला आमाले भनेकी थिइन् छोरीलाई, “नचाहिंदो कुरा नगर्। विवाहअघि केटोले केटी हेर्छ कि,केटीले केटो? यो कलियुगमा केके सुन्नुपर्छ? खुरुक्क विवाह गर्। श्रीमानले भात पकाउलान् र खाउँला भनेर पनि बिहे गर्छन् कसैले?”

उताबाट छोरीले,“आमा फोन राख्दिनु”भनेर फोन काटी।

आमाले बल्ल पश्चातापमा डुब्दै सोंच्न थालिन्,“छोरीको कुरा ठिकै रहेछ। यो समयमा लोग्नेस्वास्नी भनेका रथका दुई पाङ्ग्रा रहेछन्। दुवैले समान रूपमा काम गर्नुपर्छ। एकार्काका मद्दतगार बने मात्र वैवाहिक जीवन सफल हुँदो रहेछ त्यही पनि विदेशमा अझ। शायद मेरी छोरीले यस्तै कष्ट उठाउँदै होली। ज्वाइँ असहयोगी र अबुझ भएर। ठूलो देशको सपना देखेर हामीले छोरीलाई कष्ट दिएछौं।”

यस्तै सोंचमा दिनभर आमाको मन खिन्न भइरह्यो।

प्रकाशित: १९ पुस २०८० ०५:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App