१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

चितवनमा सत्याग्रहको विमर्श

कथाकार सूर्य लाकोजूको कथासङ्ग्रह सत्याग्रहमाथि विमर्श चितवनमा भएको छ। अक्षर समूह चितवनको आयोजनामा सो कार्यक्रम भएको जानकारी अक्षर समूहका अध्यक्ष रमेश प्रभातले बताए।

सो कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार केदार खनालले सत्याग्रहमा भुई मान्छेहरूको कथा रहेको र यथार्थपरक कथा भएर पनि आदर्शवादतर्फ उन्मुख कथाहरू रहेको बताए।

सरल र सरस भाषाशैलीको प्रयोगले कथालाई पठनीय बनाएको धारणा उनको थियो। एक अर्को प्रसंगमा आफू नेवार भएर पनि लाकोजूले नेपाली भाषा र साहित्यमा कुशलतापूर्वक कलम चलाइरहेको बताए।

परिचर्चाका टिप्पणीकार सुरेन्द्र अस्तफलले कथाहरू सामाजिक, राजनैतिक, प्रेमप्रणय,  वैदेशिक रोजगार जस्ता विषयमा लेखिएको र पाठकलाई आकर्षण गर्ने क्षमताका कथा रहेको र केही कथामा मनोविज्ञान प्रयोग भएको बताए।

त्यस्तै अर्का टिप्पणीकार अविरल यात्रीले कथाहरू अर्गानिक रहेको विचार प्रकट गरेका थिए।

उक्त कार्यक्रममा साहित्यकारहरू शान्ति शर्मा, टीकाराम रेग्मी, रेशम विरही र रामहरि श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए भने स्रष्टा रामसुन्दर देउजाले कथाकार लाकोजुबारे बाेलेका थिए।

संस्कृति र काव्य क्षेत्रमा स्थापित स्रष्टा एवं अक्षरमार्गका सम्पादक सूर्यप्रसाद लाकोजूले समाजका विविध समस्यामा कथाहरू लेखेका छन्।

राजनीतिप्रति समाजको दृष्टिकोण र राजनीतिमा इमानदारी उपेक्षित बनेको, वैदेशिक रोजगारीमा जानेहरूप्रति राज्यले चासो नदिंदा नेपालीहरूले दुःख पाएको, विकासको नाममा आम मानिसले भोग्नुपरेको समस्या लगायतका विषयलाई कथाकार लाकोजूले प्रभावकारी रूपमा उठाएका छन्।

कार्यक्रममा कवितामा रमेर कविका रूपमा ख्याति कमाएका लाकोजूले कतिपय विषय कवितामा व्यक्त गर्न नसकिने भएकाले कथा लेखेको र कथाहरू मानव र मानवीयता वरपर घुमेको विचार पोखे।

ट्रान्स-वर्ल्ड पब्लिकेसनबाट प्रकाशित सत्याग्रहमा विविध विषयका समसामयिक एघार कथा छन्।

कार्यक्रमको अध्यक्षता अक्षर समूहका सदस्य उदय अधिकारीले गरेका थिए भने सहजीकरण समूहका अध्यक्ष रमेश प्रभातले गरेका थिए।

प्रकाशित: ८ पुस २०८० ०४:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App