२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

सत्यमोहनको साधना-अन्तर्य

पठन

वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको व्यक्तित्व, कृतित्व र कीर्तित्वका अनेक आयाममाथि संस्मरण, चिन्तन र विश्लेषणसहितका लेख, रचनाहरूको अर्को एउटा गहकिलो विशेषाङ्क प्रकाशनमा आएको छ। यस विशेषाङ्कमा समेटिएका सामग्रीहरूले ‘वाङ्मय शताब्दीपुरुष’ का हैसियतमा राष्ट्रद्वारा सम्मानित जोशीको व्यक्तित्वका कैयौं ज्ञात र कैयौं अज्ञात वाङ्मयिक पक्षबारे प्रकाश पारेका छन्।

 ‘वाङ्मय शताब्दीपुरुष’ का रूपमा नेपाली साहित्य, सांस्कृतिक र कला जगत्ले जोशीलाई उनको जीवनकालमै सहजै स्वीकार गरिसकेको हो। राष्ट्रिय स्तरमा नै नेपाली वाङ्मय क्षेत्रका सुयोग्य पात्रका रूपमा जीवनकालमै जोशीलाई सर्वमान्य सम्मानसमेत प्रदान गरिएको हो।

उनको सांस्कृतिक प्राज्ञत्वको अतुलनीय उचाइप्रतिको सर्वमान्य सम्मान हो ‘वाङ्मय शताब्दीपुरुष’ को राष्ट्रिय सम्मान। त्यसै सर्वमान्य सम्मानलाई रत्न पुस्तकालय, बानेश्वरले कृतिगत रूपमा पुनः सम्मान गरी उनको व्यक्तित्व र कृतित्वलाई थप अभिलेखीकरण गर्ने तत्परता देखाएको छ।

पुस्तकालयका रूपमा रत्न पुस्तकालय, बानेश्वरलाई मुलुककै एक सुव्यवस्थित र सिर्जनशील पुस्तकालय पनि मान्न सकिन्छ।

जोशीको देहान्तपछिको तेह्रौं महिनामा २०८०, कात्तिकमा श्री रत्न पुस्तकालय बानेश्वरद्वारा वार्षिक रूपमा नियमित प्रकाशन गरिने ‘पूजा’ साहित्यिक सँगालोलाई जोशी विशेषाङ्कका रूपमा प्रकाशन गरेको हो।

पुस्तकालयको सक्रियतामा मुलुकका विशिष्ट स्रष्टासाधकहरू विषयक ग्रन्थ कमै प्रकाशन हुने गरेका पाइन्छन्। रत्न पुस्तकालय बानेश्वरले बर्सेनिजस्तो मुलुकका साहित्य वा वाङ्मय साधकहरूका विशेषाङ्क प्रकाशन गर्ने परम्परा नै बसालेको पाइन्छ।

यसपटकको जोशी विषयक सम्पादित विशेषाङ्क पुस्तकालयको थप अर्को सिर्जनात्मक उपहार हो। यस विशेषाङ्कबाट वाङ्मय शताब्दी पुरुष जोशीमाथि थप अन्वेषण, अभिलेखनका लागि अर्को एक गहकिलो पठनीय खुराक उपलब्ध भएको छ।

‘पूजा’ को जोशी विशेषाङ्कमा संकलित सामग्री जोशीको राष्ट्रिय योगदान र समर्पणप्रति अर्पित सम्मानका पुष्पगुच्छा हुन्। जोशीलाई व्यक्तिगत तवरमा उनको निवास बखुम्बहाल पुगेर गरिएका कुराकानी र उनीबाट प्राप्त प्रेरणाको कति ठुलो महत्व रहेछ? लेखकहरूले उनीसँग भेटघाटका क्रममा भएका संस्मरणहरू लेखेका छन्।

यस्तै, कतिपयले अन्यत्रै भेटघाट भएका प्रसंगहरूबाट आफूले प्रेरणा प्राप्त गरेका संस्मरणहरू पुस्तकमा समेटिएका छन्। यसरी भएका भेटघाटका क्षणमा गरिएका अनौपचारिक कुराकानीका अंशहरू पनि संस्मरणका क्रममा लेखकहरूद्वारा उल्लेख गरिएका छन्।

तिनबाट जोशीको आनीबानी, चिन्तनका क्षण, मुलुकको सांस्कृतिक छवि र त्यसप्रति उनको दृष्टिकोण बुझ्न अझ सघाउ पुग्ने कुरा महसुस गर्न सकिन्छ। यस्ता संस्मरणात्मक लेखहरूले जोशीलाई मिहिन रूपमा अध्ययन गर्न थप सजिलो बनाउनेछन्। ती वैयक्तिक अनुभूतिद्वारा सुसज्जित छन्। अनुभूतिहरू वैयक्तिक नै हुन्छन्।

यी पंक्तिहरू लेख्दै गर्दा मलाई लाग्यो, जोशीका टोलवासीहरू जसले दशकौंदेखि जोशीलाई दिनहुँ देखिरहे, उनीहरूका संस्मरणहरू समेट्न स्थानीय कसैले जाँगर चलाए कति राम्रो हुन्थ्यो।

‘पूजा’मा आलिखित कतिपय संस्मरण जोशीलाई वैयक्तिक तवरमा चिन्ने सुन्दर ऐना पनि हुन्। जोशीद्वारा निसृत विराट वाङ्मय साधना र तपस्याको प्रभामण्डलबाट नेपाली स्रष्टाजगत् त्यसै पनि कान्तिमय भएकै छ।

विशेषाङ्कमा कैयौं लेखकहरूले जोशीका कतिपय सिर्जनात्मक एवं अनुसन्धानात्मक कृतिहरूको विश्लेषणात्मक चित्रण गरेका छन्। जोशीका सिर्जनात्मक कृतिहरूमा कविता/काव्यसम्बन्धी कमै चर्चा भएको अनुभव हुन्छ।

 जोशीको स्रष्टा-व्यक्तित्वको एउटा महत्वपूर्ण पाटो उनको कवि व्यक्तित्व हो। उनका कवितासङ्ग्रह, खण्डकाव्य एवं महाकाव्य पनि प्रकाशित भएका देखिन्छन्। केही विद्वान्द्वारा लेखिएका जोशीका कविता-कृतिमाथि विश्लेषणात्मक लेखहरू पनि विशेषाङ्कले समेटेको देखिन्छ।

जोशीले जहानियाँतन्त्रको उत्कर्षका समयमा प्रतीकात्मक शैलीमा कविताको सिर्जना गरी परिवर्तनका लागि आह्वान गरेका थिए भन्ने विश्लेषण प्रा.डा. कुलप्रसाद कोइरालाले गरेका छन्, ‘शीतका शैत्यले कठ्याङ्ग्रिएको जनजिन्दगीमा अब बिस्तारै वसन्तबहार आउन लागेका प्रातीक्यमा कवि जोशी २००७ साल आगमनको सन्देश दिन प्रयत्नशील देखिन्छन्।’(पृ. ६०) कोइरालाले जोशीद्वारा प्रारम्भिक युवाकालतिर रचिएका कविताबारे विश्लेषण गरेका छन्। विशेषाङ्कमा जोशीका कविता र कवित्वको चर्चा कमला उप्रेतीलगायत अन्य लेखकहरूद्वारा पनि गरिएको छ। जोशी सुन्दर गीति स्रष्टा पनि थिए।

विशेषाङ्कमा जोशीको सांस्कृतिक व्यक्तित्वका बहुआयामिक पक्षहरूमाथि चित्रण, विश्लेषण गरिएका लेखरचनाहरूको संख्या अधिक हुनु स्वाभाविकै हो। नेपाली सांस्कृतिक फाँटका विद्वान्हरू, कलाकार एवं अभियन्ताहरू निकैजनाले जोशीका व्यक्तित्वको यस पाटोमा कलम चलाएका देखिन्छन्।

सांस्कृतिक अन्वेषण र लेखनतर्फको अखण्डित निष्ठाकै कारण जोशीले तीनपटक मदन पुरस्कार पाउन सफल पनि भएका थिए। त्यसैले पनि उनको सांस्कृतिक समर्पणमय व्यक्तित्वप्रति विचरण गर्न अधिक लेखकहरू बढी प्रेरित हुन्छन्।

 व्यक्तित्व–विश्लेषणात्मक लेखहरूमा जोशीको व्यक्तित्वले उत्पन्न गराएको सांस्कृतिक प्रभावलाई डा. गोविन्द टण्डनले यसरी व्यक्त गरेका छन्, ‘स्वाभाविक हो, जसको चिन्तन र चेतना इतिहास, संस्कृति र पुरातत्वका विषयहरूको खोजी र अध्ययनमा केन्द्रित हुन्छ, उसले मानवीय चिन्तन, चेतना, संस्कृति र सभ्यताको विकासक्रम के कसरी भयो? हाम्रा पूर्वजहरू आदिमकालदेखि अहिलेसम्म के कस्ता सङ्कटका घडी पार गर्दै आइपुगे भन्ने कुरामा गहन रूपले बुझ्दै जान्छ।

 जसले आफ्नोपनप्रति आत्मीयता जगाउन मद्दत पु¥याउनुका साथै संकीर्णताको कमीकमजोरी र उदारताको परिणामले हुने मानवीयताको रहस्यलाई बुझाउन सक्छ। उहाँका कृतिहरू तिनै भाव र गन्तव्यतिर लक्षित देखिन्छन्।’ (पृ. ८५) जोशीका समग्र कृतिहरूद्वारा प्रवाहित ज्ञानसागरको गहिराइबाट टिपिएको सूक्ष्मतम ऊर्जातत्व यही नै हो भन्न सकिन्छ, जसले जोशीलाई वाङ्मय शताब्दीपुरुषको दिव्यतर शिखरत्व प्रदान गर्‍यो।

जोशीभित्रको ऊर्जाचेतलाई मिहिन रूपमा देख्न सक्ने टण्डन स्वयं नेपालका एक अग्रणी सांस्कृतिक तपस्वी हुन्। विशेषाङ्कमा उनी र अरू कतिपय जोशी–द्रष्टा एवं प्रज्ञावान् व्यक्तित्वहरू समेटिएका छन्।

विशेषाङ्कका प्रायः सबै संस्मरण, सिर्जना, विश्लेषणमूलक र चिन्तनमूलक आलेख, अभिलेखहरू वाङ्मय शताब्दीपुरुष जोशीलाई बुझ्ने बेग्लाबेग्लै आँखीझ्याल हुन्।

 एउटै आँखीझ्यालबाट मात्र हेरेर जोशीरूपी सिंगो आकाशलाई देख्न र बुझ्न सकिँदैन। सबै सामग्रीको समुच्च अध्ययन एवं अनुशीलनपछि मात्र त्यस महाकाशलाई बुझ्न र त्यहाँ पौडिन सकिन्छ।

त्यसो त स्वयं जोशीद्वारा सिर्जित, संकलित, लिखित, अभिलिखित र अन्वेषित कृतिहरूको अध्ययन बौद्धिक पाठकका लागि प्रथम अनुस्वाद, अनुशीलन र अन्वेषणका खजाना हुँदै हुन्।

 विशेषाङ्कमा जीवनीकार एवं अनुसन्धाता नरेन्द्रराज प्रसाईंद्वारा लिखित जीवनीमूलक लेखमा जोशीद्वारा नेपाली, नेवारी (नेपाल) एवं अंग्रेजी भाषामा लिखित, सम्पादित, अनुवादित गरी असीवटा कृतिको सूची प्रस्तुत छ।

यसबाट जोशी–वाङ्मयको विधागत व्याप्तिलाई बुझ्न, मनन गर्न सकिन्छ। जोशीले आफ्नो व्यक्तित्व निर्माणका सिँढीहरू कसरी निर्माण गर्दै आए, प्रसाईंका लेखबाट संक्षिप्तमा बुझ्न सकिन्छ। अरू कैयौं लेखहरूमा पनि उनका कृतिको उल्लेख गरिनुका साथै कृतिगत तवरमै पनि व्याख्या, विवेचना गरिएका पाइन्छन्।

यसैगरी, विशेषाङ्कमा विभिन्न सन्दर्भमा कतिपय लेखक र जोशीबिचका भेटघाटका क्रममा भएका छोटाछोटा संवाद बाक्लै छन्। पूर्वप्रकाशित नै भए पनि प्राडा वीणा पौड्यालद्वारा जोशीसँग लिइएको अन्तर्वार्ता ग्रन्थमा समेटिएको छ। त्यसमा जोशीले नेपाली मूर्त–अमूर्त कलासम्पदा, बौद्ध धार्मिक ग्रन्थलगायतका विषयमा आफ्ना विचार व्यक्त गरेका छन्।

अन्तर्वार्ता भनेकै अन्तर्वाणी हो। जोशीभित्रको चिन्तनको सांस्कृतिक क्षितिजलाई अंशतः बुझ्न अन्तर्वार्ता महत्वपूर्ण छ। लेखक अनुराधा थापाद्वारा लिइएको अन्तर्वार्ता पनि उत्तिकै महत्वपूर्ण छ। अन्तर्वार्ताहरूमा जहिले पनि जोशीको राष्ट्रिय सांस्कृतिक ध्येय र चिन्तन उद्घोषित, उद्बोधित हुनु स्वभाविकै हो।

केही स्रष्टाले कवितामार्फत् जोशीलाई श्रद्धापुष्प अर्पण गरेका छन्ः  

‘तारा आकाशका माझ जूनझैं चम्कियौ तिमी

हाम्रो संस्कृतिको धर्ती, खुल्यौ हिमालझैं तिमी

गर्‍यौ अक्षरको खेती भयो धरा हराभरा

बनेर फूलको बास्ना बहन्छौ लोकमै सदा।’

(डा. मधुसुदन लामिछाने, पृ. २३७)

जोशीको कृतित्व र कीर्तित्वको तेजिलो आभाद्वारा निर्मित अनुभूतिलाई शब्दमा अनुवाद गरिएका कविताहरू सुन्दर छन्।

नेपालमा पुस्तकालयको इतिहाससँग रहेको जोशीको सन्निकटतालाई प्रकाशित गर्ने लेखरचनाहरूले उनको बहुआयामिक अभिरुचि र क्रियाशीलतालाई स्मरण गराएका छन्। विशेषाङ्कमा जोशीद्वारा लिखित ‘पुस्तकालयमा सूचीकरणको महत्व’ विषयक लेखलाई पुनः प्रकाशन पनि गरिएको छ। जोशीको संस्थागत निकटता, संलग्नता र संरक्षकत्वको छहारी पाउने संघसंस्थाहरू असङ्ख्य छन्।

 रत्न पुस्तकालय, बानेश्वरसँग उनको विशेष निकटता रहेको कुरा पुस्तकालयका वर्तमान अध्यक्ष एवं लेखक शशीविक्रम राणाले उल्लेख गरेका छन्। पुस्तकालयहरू जोशीको जीवनका सबभन्दा सुन्दर गन्तव्य रहेको कुरा महसुस गर्न सकिन्छ। स्वयं जोशी नेपाली पाठकका लागि ‘वाङ्मयका पाठशाला’ का हैसियतमा रहिसकेको व्यक्तित्व हुन्। बौद्धिक अध्ययनका लागि ‘मानव सम्पदा’ बनेर शारीरिक रूपमा निवृत भए उनी।

विशेषाङ्कमा नेपालका अग्रज पत्रकार भैरव रिसाल, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालका संस्मरणहरू छन्। यस्तै, वरिष्ठ साहित्यकार एवं साहित्यिक पत्रकारहरू रमा शर्मा, मोहन दुवाल, डा. तुलसी भट्टराई, प्रा.डा. बन्धु कोइराला, रामप्रसाद पन्त, हेमराज पाण्डे, कृष्ण धरावासी, जयदेव भट्टराई, डा. बमबहादुर थापा, ‘जिताली’ आदिका लेख र संस्मरणहरू समेटिएका छन्।

जोशीको व्यक्तित्व र कृतित्वमाथि विद्वान्हरू सहप्रा.डा. बिनुबाबा अर्याल, डा. लोकेन्द्रप्रसाद पौड्याल, महेशराज खरेल, डा. बलराम तिमल्सिना, धरणीप्रसाद गौतम, प्रा.डा. डिल्लीराज शर्मा, कुमार नेपाल, किरण थापा, उत्तमनारायण मल्ल, डा. इन्दुल केसीलगायतका लेखरचनाले जोशी–विशेषाङ्कलाई खँदिलो बनाएका छन्।

यस्तै, बुलु मुकारुङ, नन्दकृष्ण जोशी, अर्जुनमणि आ. दीक्षित, आइपी अधिकारी, कृष्णमुरारी गौतम, डा. जनार्दनराज लामिछाने, धनञ्जय पौड्याल, डा. नयनाथ पौडेल, नारायण पौडेल, नारायणप्रसाद अधिकारी, नारायण ज्ञवाली, डा. निरञ्जनमान सिंह बस्न्यात, पदमनारायण श्रेष्ठ, बलराम केसी, भोलाकुमार श्रेष्ठ आदिका संस्मरण एवं अन्य लेखरचनाहरूले वाङ्मय शताब्दीपुरुषको गरिमा गाथा एवं बहुआयामिकतालाई उत्तिकै उद्बोधन, उत्खनन गरेका छन्।

अरू कवि, स्रष्टा, लेखकहरूका कविता, संस्मरण एवं व्यक्तित्वमूलक लेखरचनाले पनि जोशीका वाङ्मयिक आत्मालाई उत्तिकै स्पर्श गरेका छन्।

वाङ्मय शताब्दीपुरुष जोशीको व्यक्तित्व र कृतित्वमाथि उनको जीवनकालमै कतिपय साहित्यिक एवं समाचारपत्रहरूले विशेषाङ्क प्रकाशन गरिसकेका हुन्। जोशीको देहान्तताका अनेकौं समाचारपत्रले विशेषाङ्कहरू प्रकाशन गरे।

तीमध्ये अधिकांशतः संकलन गरी सम्पादक गोपीकृष्ण ढुंगानाले ‘शब्दबिम्बमा सत्यमोहन’ प्रकाशन गराए। अरू पनि जोशीकेन्द्रित रचना संकलनहरू एवं विशेषाङ्कहरू गरिएका होलान्। यस क्रमले भविष्यमा पनि निरन्तरता पाइरहने आशा गर्न सकिन्छ।

श्री रत्न पुस्तकालय (सार्वजनिक) का वर्तमान अध्यक्ष श्री शशीविक्रम राणा र पुस्तकालय परिवारका सम्बद्ध वाङ्मयप्रेमी व्यक्तित्वहरूको एकीकृत प्रयासमा प्रकाशन गरिएको यस ‘पूजा विशेषाङ्क’ले निश्चय नै वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीमाथि अध्ययन–अन्वेषण गर्न चाहने वर्तमान र भावी पिँढीलाई अमूल्य पठन सामग्रीको सञ्चयीकरण गरेको अनुभव गर्न सकिन्छ।

यसका निम्ति पुस्तकालय परिवारप्रति नेपाली वाङ्मय जगत्ले जति कृतज्ञता व्यक्त गरे पनि हुन्छ। सँगसँगै, जोशीजस्ता राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमै सम्मानित सांस्कृतिक महापुरुषको जीवन एवं कर्मगाथालाई अभिलेखीकरण गरेर पुस्तकालयले एउटा अर्को गर्वशाली इतिहासको पाना रचेको छ।

अन्य, यस्तै प्राज्ञिक, बौद्धिक संस्थाका लागि पुस्तकालय स्वयं एक सुन्दर प्रेरणा र उदाहरण बनेको छ। पुस्तकालयले भविष्यमा पनि यस्ता सत्कर्महरूलाई निरन्तरता दिन सकोस्।

अन्त्यमा, ‘विश्वमा जहाँ रहे पनि आफ्नो पहिचान कायम गरेर लेख्ने गरौं। आफू र आफ्नो धरातललाई नबिर्सौं। यति गरियो भने आफ्नो कला, संस्कृति, भाषा र साहित्यमा पहिचान बनाउन सकिन्छ,’ सत्यमोहान जोशी।  

प्रकाशित: ३० मंसिर २०८० ०२:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App