१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

‘अ योङ वन्डरिङ मडलार्क इन ओल्ड काठमाडौं’ उपन्यास सार्वजनिक

स्वर्गीय लेखक, सङ्गीतकार तथा सम्पादक पिटर जे कार्थकको अन्तिम अंग्रेजी उपन्यास ‘अ योङ वन्डरिङ मडलार्क इन ओल्ड काठमाडौं’को लोकार्पण गरिएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा, लेखक तथा समीक्षक प्रा. अभि सुवेदी र कार्थकपत्नी रञ्जना कार्थकले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरे।

कार्यक्रममा माथेमाले पिटरलाई आफूले धेरै पछि मात्र भेटे पनि किन यति ढिलो भेटेछु भनेर थकथकी लागेको बताए। ‘उहाँसँग कुरा गर्दा यस्तो लाग्यो, किन मैले धेरै अघि भेट्न सकेनछु,’ उनले भने।

पुस्तकमा पिटरले दार्जिलिङबाट काठमाडौं आउँदाको कथाका साथै काठमाडौंमा आफूले देखेभोगेका दृश्य पनि चित्रण गरेको उनले जनाए। ‘पिटरको स्वतन्त्र लेखन र व्यङ्ग्यात्मक भाषाशैलीले पुस्तकलाई थप रोचक बनाएको छ। यसले मलाई असाध्यै तान्यो।’

पुस्तकका पात्र यथार्थ रहेका र यसले त्यति बेला अर्थात् पञ्चायतलाई राम्ररी अभिव्यक्त गरेको प्रा. सुवेदीले बताए। ‘यहाँ पात्र यथार्थ छन्, तिनको जमात ठुलो छ। पुस्तक पढ्दा मैले विद्यार्थीकाल सम्झिएँ,’ उनले भने।

कार्यक्रममा कार्थकपत्नी रञ्जना कार्थकले पिटरको सम्झना गरिन्। पिटरले आफ्नो सिर्जनात्मक लेखनभन्दा पनि अरूका लागि आफ्नो जीवन समर्पण गरेको उनको भनाइ छ। यसअघिका पुस्तक लेखनका विषयमा आफूहरूलाई थाहा भए पनि यो अप्रत्याशित कृति भएको उनले जनाइन्।

‘यो पुस्तक तयार पारिसकेको कुरा पिटरले दिवंगत हुनु केही अघि मात्र हामीलाई भनेका थिए,’ उनले भनिन्, ‘त्यसैले पनि यो पुस्तक हाम्रा लागि विशेष छ।’ कार्यक्रममा निर्मलमान तुलाधरले पिटरद्वारा सिर्जित ‘मायालु’ शीर्षकको गीत गाएका थिए।

दार्जिलिङबाट नेपाल आई लामो समयसम्म नेपाली साहित्य, सङ्गीत र सम्पादनमा योगदान दिएका कार्थकप्रति श्रद्धाञ्जलीका रूपमा आफूहरूले यो पुस्तक प्रकाशन गरेको प्रकाशक संस्था फाइन प्रिन्टका अजित बरालले जनाए। ‘काठमाडौं सेरोफेरोमा बस्नेहरूले यस उपन्यासमा आफूलाई पनि पाउनुहुनेछ,’ उनले भने। प्रस्तुत उपन्यासमा सन् १९६८ देखि १९७२ को काठमाडौंको चित्रण गरिएको छ। ‘त्यति बेला पश्चिमा युवायुवती स्वतन्त्रता र निर्वाणको प्रयोगशाला बनाउन नेपाल आउँथे,’ उपन्यासले त्यसैको कथा भन्छ।

प्रकाशित: २७ मंसिर २०८० ०१:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App