९ फाल्गुन २०८० बुधबार
कला

सपनाको देश

लघुकथा

सरला र मिलन छिमेकी गाउँबाट एउटै विद्यालयमा पढेका र असल साथी पनि हुन्। बिएको पढाइ पूरा गरेपछि दुवैले बिहे गर्ने निर्णय गरे।

पारिवारिक धरातल पनि मिल्दोजुल्दो भएकाले बिहेमा कुनै अड्चन आएन। बिहे गरेपछि मिलन काठमाडौं आए र विदेश जान आइइएलटिएस अध्ययन गर्न थाले। उनका साथीहरू कोही अस्ट्रेलिया, कोही अमेरिका र अन्य देशमा थिए।

उनीहरू प्लसटु सक्नेबित्तिकै त्यता हानिएका थिए। फेसबुकमा साथीहरूले गर्ने ड्रेसअप र समुन्द्री किनारमा खिचेका तस्वीरहरूले मिलन लोभिएका थिए।

सरलालाई विदेश मोह खासै थिएन। उनलाई सम्झाउँदै मिलन भन्ने गर्थ्याे, ‘अमेरिका धेरै विकसित राष्ट्र हो। जो कोहीका लागि पनि सपनाको देश हो। हामी पनि जानुपर्छ। त्यहाँ पुगेपछि बेरोजगार बस्नु पर्दैन। त्यहाँ कमाएको थोरै मात्र बचाए पनि नेपाली पैसा धेरै हुन्छ। बाबआमालाई पनि उहाँहरूको इच्छा अनुसार धर्मकर्म गर्न, मठमन्दिर घुम्नका लागि पैसा पठाउन सकिन्छ। तिम्रो र मेरो आमाबाबालाई पालैपालो घुमाउन अमेरिका लानुपर्छ।’

यस्तै उसले आश्वासन देखाएर सरलालाई मनायो।

मिलनले आइइएलटिएसमा सात नम्बर ल्यायो र मास्टर डिग्री गर्न अमेरिकाको भिसा पनि पायो। गाउँको घरबारी धितो राखेर अमेरिका जाने बन्दोबस्त मिलायो। सरलालाई पनि डिपेन्डेन्टमा जान मिल्यो। दुवै सँगसँगै अमेरिका लागे।

त्यहाँ पुगेपछि उनीहरूले बुझे, त्यहाँ त एक हप्ताका लागि खाना पनि एकै चोटि पाक्दो रहेछ। फ्रिजमा राखिएको खाना टिफिन बक्समा बोकेर हरेक व्यक्ति दौडादौड काममा पुग्नुपर्ने रहेछ। उनीहरू पनि दैनिकी रूपमा त्यसरी नै खट्न थाले।

मिलनको पढाइ सकिएपछि उसले सरलालाई भन्यो, ‘नेपालमा त एकजनाको कमाइले चार जनाको परिवार पाल्न केही गाह्रो हुन्थेन। यहाँ हामी दुवै जना काममा खट्दा पनि खासै बचत गर्न सकिएन। बाबाआमाबाट टाढा बस्दा उहाँहरू पनि धेरै दुखी हुनुभयो। अब हामी नेपाल फर्कौं न सरला। यो सपनाको देशमा नबसौं।’

-कमला घिमिरे

प्रकाशित: २४ मंसिर २०८० ०७:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App