७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
कला

प्रधानमन्त्रीकी नातिनीको ‘ह्यान्डब्याग’ प्रेम

तस्बिर स्रोतः स्मिता दाहालको इन्टाग्राम र ब्याग उत्पादन कम्पनीहरुको वेबसाइट।

प्रधानमन्त्री पुष्पकमल दाहालकी नातिनी स्मिता दाहालले गायन र मोडलिङमा लोभलाग्दो प्रगति गर्न थालेकी छन्। लाखौंका ‘ह्यान्ड ब्याग’ बोकेको उनको इन्टाग्राम पृष्ठले उनको रुचीलाई प्रदर्शन गर्छ।

उनले सेयर गरेका महँगा ह्यान्डब्यागको आकर्षण यस्ता सामग्री रुचि राख्ने काठमाडौैंको उपल्लो ‘क्लास’ लाई निकै देखिन्छ। सर्वाहाराको ‘मास’ लाई नेतृत्व गर्ने हजुरबाकी नातिनीले आफ्नो वैयक्तिक स्वतन्त्रतालाई भरपुर उपयोग गरेको महसुस गर्न सकिन्छ।

स्मितका तस्बिरमा दर्जनौं महंगा र ब्रान्डेट ब्यागहरू देख्न सकिन्छ। उनले चनेल, प्राडा, कोच, गुची, ज्याक्कमसलगायतका महँगा विश्वस्तरी ब्रान्डका ब्यागहरू बोकेका तस्बिरहरू राखेकी छन्।

स्मिताले बोक्ने गरेका ब्रान्डेड ह्यान्ड ब्यागबारे हामी तस्बिर सहित यहाँ चर्चा गर्ने कोशिस गरेका छौं। जसमा हामीले विभिन्न व्यवसायिक वेबसाइटहरूको सहयोग पनि लिएका छौं।

स्मिता प्रधानमन्त्री दाहालको प्रमुख स्वकीय सचिव समेत रहेकी कान्छी छोरी गंगा दाहालकी छोरी हुन्। गंगाको पहिलो विवाह भारतको सिलिगुडीका नारायणविक्रम प्रधानसँग भएको थियो। स्मिता नारायण र गंगाकी छोरी हुन्।

चनेलको ‘ब्लु क्याभिअर लेदर’  

स्मिताले एउटा तस्बिरमा चर्चित ब्रान्ड चनेलको ह्यान्ड ब्याग बोकेको देखिन्छ। चनेल ११३ वर्षअघि फ्रान्सको पेरिसबाट उत्पादन सुरु गरेको ब्रान्ड हो। जसको केन्द्रीय कार्यालय बेलायतको लन्डनमा छ। यस्तै अमेरिकाको मियामीमा पनि कम्पनी सञ्चालित छ।

२०२३ को नोभेम्बरसम्म चनेलका ह्यान्डब्यागहरूको मूल्य तीनहजार डलरदेखि लिएर ११ हजार ५०० डलरसम्म पर्छ। स्मिताले बोकेको ‘ब्लु क्याभिअर लेदर’ ब्याग चनेलको २०१९ मा बनाइएको मोडल हो। अनलाइन सपिङ प्ल्याटफर्म ‘फर्स्ट डिप्स’ ले पछिल्लो पटक यो झोला तीनहजार २८६ अमेरिकी डलरमा बेचेका देखिन्छ। जसमा बिहीबारको विनिमय दर अनुसार चार लाख ३९ हजार १०८ नेपाली रुपैयाँ हुनआउँछ।  

प्राडाको ‘सफियानो लक्स रि–इडिसन २००५’  

स्मिताले अरु केही तस्बिरहरूमा अर्को चर्चित ब्रान्ड ‘प्राडा’ को शोल्डर ब्याग बोकेकी छन्। प्राडा कम्पनी इटालीका फेसन डिजाइनर मारियो प्राडाले ११० वर्षअघि खोलेका थिए। यसले निकै महंगो फेसनेबन पहिरनका सामग्रीहरू उत्पादन गर्छ।  

स्मिताले प्राडाको ‘सफियानो लक्स रि–इडिसन २००५’ शोल्डर ब्याग बोकेकी छन्। यो ब्याग अनलाइन सपिङ प्लेटफर्म ‘फेसनफिल’ले पछिल्लो पटक दुईहजार २६० डलरमा बिक्रीका लागि राखेको छ। बिहीबारको विनिमय दरअनुसार जसको नेपाली मूल्य तीन लाख दुई हजार भन्दा बढी हुन्छ।  

गुचीको ‘जिजी मार्मोन्ट शोल्डर ब्याग’  

इन्स्टाग्राममा स्मिताले इटालियन फेसन ब्रान्ड गुचीको एउटा शोल्डर ब्याग पनि बोकेका तस्बिर पनि समावेश छन्। १०२ वर्ष पुरानो चर्चित कम्पनीले उत्पादन गरेको जिजी मार्मोन्ट शोल्डर ब्याग स्मिताको रोजाईमा परेको देखिन्छ। जुन ब्याग ‘पोशमार्क’ले एकहजार ९०० डलरमा सेलमा राखेको छ। जसको नेपाली मूल्य दुई लाख ५४ हजारको हाराहारीमा हुन आउँछ।  

कोचको ‘ड्रिमर स्मल ह्यान्डब्याग’  

८२ वर्ष अघि स्थापना भएको अमेरिकी फेसन उत्पादक कम्पनी ‘कोच’ ब्रान्डको एउटा ह्यान्डब्याग पनि स्मिताले बोक्ने गरेकी छन्। ‘कोच ड्रिमर स्मल ह्यान्डब्याग’ नामक उक्त ब्यागको नेपाली मूल्य ८३ हजारभन्दा बढी हुन आउँछ। बेलायती अनलाइन सपिङ प्लेटफर्मले उक्त ब्यागलाई ४९५ पाउन्ड स्टर्लिङमा बेच्न राखेको देखिन्छ।  

‘ज्याक्मस’को ‘चिक्विटो लेदर क्ल्च’

फ्रान्सेली युवा फेसन डिजाइनर सिमोन पोर्ट ज्याक्मसले छोटो समयमै चर्चित बनाएको ब्रान्ड ज्याक्मसको सानो चिटिक्क ह्यान्डब्याग पनि स्मिताको रोजाईमा परेको छ। सेतो रंगको ‘चिक्विटो लेदर क्लट्च’ नाम दिइएको ब्याग स्मिताले बोक्ने गरेकी छन्।  

अनलाइन सपिङ प्ल्याटफर्म ‘शपबप’ले यो ब्यागको मूल्य ८७० डलर तोकेर बेच्न राखेको छ। जसको नेपाली मूल्य एक लाख १६ हजारभन्दा बढी हुन आउँछ। यीबाहेक पनि माइकल कोर्स, अमिका स्लेक्सिया लगायतका ब्रान्डका हज्जारौं पर्ने ह्यान्डब्यागहरू पनि स्मितासँग रहेको तस्बिरहरूमा देखिन्छ।  

स्मिता प्रधानमन्त्री दाहालको प्रमुख स्वकीय सचिव समेत रहेकी कान्छी छोरी गंगा दाहालकी छोरी हुन। गंगाको पहिलो विवाह भारतको सिलिगुडीका नारायणविक्रम प्रधानसँग विवाह भएको थियो। स्मिता नारायण र गंगाकी छोरी हुन्।  

माओवादी शान्ति प्रक्रियामा आएपछि प्रधानमन्त्री दाहालले गंगा र नारायण दुबैलाई नेपाल बोलाएका थिए। गंगा आउँदा नारायण नआएपछि दुबै छुटिएका हुन्। गंगाले त्यसपछि विराटनगरका जीवन आचार्यसँग दोस्रो विवाह गरेकी थिइन।  

बाबुआमा छुट्टिएपछि स्मिता आमासँगै बसेकी थिइन। यस्तै आफ्नो थर पनि मावलीपट्टीकै राखेकी हुन्। स्मिताले गायन र मोडलिङ पनि गर्ने गरेकी छन्।  

प्रकाशित: २४ मंसिर २०८० ०२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App