लामो कपाल, ठुला ठुला आँखा, ठुलो निधारमा रातो टीका, सानो चिटिक्क सुहाउने नाक अनि सधैंभरि हाँसिरहेजस्तो ओठ, जुन अहिल्यै बोलिहाल्छ जस्तो। ती ठुला आँखाले एकोहोरो मलाई नै हेरेजस्तो लाग्यो।
यसो हेर्छु, सलक्क परेका हात अनि औंलाहरू। मेरो छातीमा पीडाको ज्वालामुखी फाट्छ। सहन एकदमै गाह्रो भइरहेको छ मलाई तर सहनु नै छ।
‘सानी’ मेरी बाल्यकालकी साथी, मेरी प्रेमिका। उनलाई यो रूपमा देख्नुपर्ला भन्ने सपनामा पनि सोचेको थिइनँ। सम्झन्थें, उनी जहाँ भए पनि खुसी नै छिन् तर म गलत रहेछु।
आँखा रसाएर आँसु झर्न खोजिरहेछ। म बलैले रोक्छु। उनलाई हेर्छु, मैले प्रेमले चुमेका ओठहरू शान्त थिए। मलाई मन पर्ने उनको लामो कपाल हावामा उडिरहेको थियो। मैले मायाले पठाइदिएको गुलाबी कुर्था लगाएर उनी मलाई नै पर्खिरहेकी थिइन् जस्तो लाग्यो। ती ठुला आँखाले मेरै बाटो हेरिरहेका छन् जस्तो लाग्यो। पुग्न त म पुगें तर धेरै ढिलो।
सानीलाई अँगालो हालेर रुन सकिनँ। उनी त अनन्त यात्रामा गइसकेकी रहिछिन्।
आफ्नै बेडरुमको पंखामा झुन्डिएर जीवन यात्रा रोकिसकेकी रहिछिन्। कस्तो विडम्बना, म उनको मृत्युको प्रकृति मुचुल्का उठाउँदै थिएँ, एक अपराध अनुसन्धान अधिकृतका रूपमा।
‘सानी, कसरी थाक्यौ? किन थाक्यौ? यति चाँडै थाक्यौ जिन्दगीको यात्रामा?’ मैले मनैमा सोधें। रिँगटा चलेजस्तै लाग्यो। त्यो माघको चिसोमा पनि पसिनाले निथ्रुक्क भिज्यो शरीर। जति प्रयास गरे पनि आँसु खसेरै छोड्यो। म सबैको नजर छल्न बाथरुम पसें। उनको घर (घटनास्थल) मा जन समुदायको भिड बढ्दै थियो। जति भिड बढ्दै जान्छ, त्यति नै मलाई नमिठो लाग्छ।
सम्झन्छु, मान्छे मरेपछि रमिता बन्दोरहेछ। अरू बेला हालखबर सोध्न नभ्याउने मान्छेले मरेपछि भने घण्टौं समय दिन भ्याउने। सोही वडाका जनप्रतिनिधिहरू पनि आइसकेका रहेछन्।
‘खै, इन्सपेक्टर साब, कहिल्यै नराम्रो सुन्न परेको थिएन। बुहारी नानी प्रायःजसो माइती नै बस्ने गर्थिन्। हजुरहरूले अनुसन्धान गर्नुहोला,’ वडाध्यक्षले मसँग भने।
‘कारण केही पत्तो लाग्छ कि, हेरौं न हजुर,’ म बिस्तारै बोले।
म डाँको छोडेर रुन चाहन्थें, कराउन चाहन्थें। एक्लै टोलाउन चाहन्थें। उनको लाशलाई अँगालेर रुन पाए कमसेकम उनको प्रेम अनुभूत त गर्न सक्थें तर म छातीमाथि पीडाको ज्वालामुखी बोकेर त्यहाँ उभिएको थिएँ। आफ्नोलाई आफ्नो भन्न नसक्ने जीवनको सबैभन्दा कठिन मोडमा उभिएको थिएँ।
साँच्चै भन्नुपर्दा उनी त मेरो जिन्दगी थिइन् तर सम्बोधन गर्न नपाउने साइनो थियो उनको र मेरो। प्रेमभन्दा माथि थिइन् उनी। उनी मेरी आमापछिकी पहिलो नारी स्पर्श थिइन्। मैले जीवनमा उनलाई मात्रै अँगालेको थिएँ। त्यो बाल्यकालदेखि किशोर अवस्थासम्म सानी मात्रै मेरी थिइन्।
उनले छोडेर गएदेखि म एक प्रकारले शून्य भएको थिएँ। म त्यतिबेला उनलाई रोक्न पनि सक्दिनँथें। मैले सानीलाई रोक्न सक्ने हैसियत बनाउन सकेको थिइनँ। खालीपन छोडेर उनी गएकी थिइन् तर त्यो खालीपन भरिनको साटो झन् झन् गहिरिँदै गएको थियो। पल पल सम्झन्थें सानीलाई।
मस्तिष्कमा भएको उनको तस्बिर मैले कहिल्यै पनि मेट्न सकिनँ। जति समय बित्दै गयो, उति नै उनको माया गहिरिँदै गइरहेको थियो। मैले प्रेम गरेकी सानी, मन पराएकी सानी मायालु, सुशील र ज्ञानी थिइन्। उनले कसरी आत्महत्याजस्तो डरलाग्दो निर्णय गरिन् ? मुटु चिरा चिरा भएको महसुस गरें मैले। टाउको फुट्ला जस्तो भयो।
किन यस्तो घात गरिन् सानीले? सानीलाई कुन कुराले यस्तो कदम चाल्न बाध्य बनायो होला? मैले जीवनमा पाएको यो दोस्रो ठुलो चोट थियो। मनलाई कसरी सम्झाउन सक्थें? यो झुट भइदिओस् जस्तो एउटा भ्रम तर सानीको पङ्खामा झुन्डिएको लासले मलाई भ्रमदेखि ब्युँझाएको छ।
म एकनासले हेरिरहेको छु उनको अर्धखुला ओठ अनि पर पर हेरिरहेका दुई आँखा!
छातीमा पृथ्वीभन्दा ठुलो पीडाले थिचेको छ। डाँको छोडेर रुन मन लाग्छ, सक्दिनँ। टोलाउँछु। भित्रभित्रै टुटिसकेको छु।
‘इन्सपेक्टर साब!’ सानीले मलाई नै बोलाएजस्तो लाग्छ, हृदय चिसो बन्छ।
स्थानीय जनप्रतिनिधिको रोहबरमा सानीको लास उठाउने प्रक्रिया चलिरहेको थियो। घरमा एक प्रकारको पीडा, त्रास र बेग्लै किसिमको वेदना व्याप्त थियो।
इलामदेखि सानीका माइतीहरू आइपुगिसकेका थिए। त्यहाँ मलाई देखेर काकी (सानीकी आमा) एक्कासि अँगालो हालेर रुन थाल्नुभयो। म झन् मर्माहत भएँ।
भिडको एक छेउमा बसेर टोलाइरहेको सानीको श्रीमान् हेर्छु, झन् मुटु फुट्ला जस्तो हुन्छ।
‘खासमा हिजो, अस्ति के भएको थियोे ?’ मैले सानीका श्रीमान्लाई सोधें।
‘केही थाहा भएन सर। कहिलेकाहीं लोग्नेस्वास्नीको ठाकठुकबाहेक अरू केही थिएन।’
मैले सानीको मोबाइल सरसर्ती हेरें। फूलहरूका तस्बिरबाहेक अरू केही थिएनन्। कल हिस्ट्री हेरें, घरको बाहेक अरूको नम्बर थिएन।
मेरो नम्बर ‘इन्सपेक्टर साब’ भनेर सेभ गरेकी रहिछिन्। मन भतभती पोल्यो।
‘सर, यो चिठी भेटिएको छ,’ सानीको शरीर खान तलासी गर्दा कागजको एक पाना भेटियो। मैले हातमा लिएर हेरें। उनको सुसाइट नोट रहेछ।
पढें, नमिठो माथि तितो थपियो।
हाम्रो टोलीको काम सकिएको थियो। म एकोहोरो उनको लास हेरिरहेको छु।
‘अब तँ ठुलो मान्छे भइस्। टाढा छस्। म मरेको कसरी थाहा पाउँछस् अनुप? मेरो लास हेर्न त के आइपुग्लास् र?’ केही समयअघि एक दिन कुरैकुरामा सानीले फोनमा मलाई भनेकी थिइन्। मैले त उनी जिस्किएकी सम्झेको थिएँ।
‘तँ कहाँ छेस् सानी?’ मैले सोध्दा उनले भनेकी थिइन्, ‘गाउँको जंगलमा छु।’
‘तँ किन जंगल गएकी?’
‘तैंले र मैले एक दिन त्यो ठुलो सिमलको रुखमा हाम्रो नाम खोपेका थियौं नि, त्यो नाम कस्तो भएछ, मेटियो कि भनेर हेर्न आएकी।’
‘धत्, घर फर्की,’ मैले भनें।
‘एकछिनमा फर्कन्छु।’
‘किन?’
‘त्यो नाम फेरि खोप्नुपर्यो, पछि तँ पनि हेर् है।’
सानीले त्यसो भनेपछि म रोएको थिएँ।
मलाई सानीले सधैंभरि रुवाइन्, हिजो पनि, आज पनि। झन् अब त सधैंभरि रोइरहने पारेर गइन्।
यसो हेर्छु उनको लामो केश, हँसिलो मुहार अनि निधारको रातो टीका जस्ताको तस्तै थियोे। त्यो कोमल ओठ अहिल्यै बोलिहाल्छ जस्तो लागेर म गहिरिएर हेरिरहन्छु।
एक्कासि उनको ओठ चलमलाएजस्तो लाग्छ। ती ठुल्ठुला आँखाका परेली हल्लिएजस्तो लाग्छ।
‘अब तँ ठुलो मान्छे भइस्, के भनेर बोलाउनु? इन्सपेक्टर साब भन्छु ल?’ सानीले मधुर ओठ खोलेर भनेकी जस्तो लाग्छ।
उनको लासलाई डोरी काटेर उनकै बेडमा राखिएको छ।
म थचक्क कुर्सीमा बस्छु।
माया अथाह थियो। मैले सानीलाई गरेको जति प्रेम कसैले कसैलाई गरेको थिएन जस्तो लाग्थ्यो तर जीवनमा फेरि साथ दिन असमर्थ थिएँ। उनको आफ्नो दुनियाँ थियो। मलाई सबैभन्दा बढी उनकै तस्बिरले रुवाउँथ्यो। एक पल पनि बिर्सन सक्दैनथें। उनी अति संवेदनशील लाग्थिन् पछिल्लो समय। सानै कुराले खुसी हुने उनी दुःखी पनि सानै कुराले हुन्थिन्।
सहनशील, प्यारी, मायालु लाग्थिन्। हिजोसम्म उनी खुसी होलिन्, सामान्य पारिवारिक समस्या होला जस्तो मात्रै लागेको थियो। त्यो भ्रम आज टुटेको थियो।
सानीको लास पोस्टमार्टमका लागि जिल्ला अस्पताल भद्रपुरतर्फ लैजाने तयारी हँुदै थियो। अन्तिमपटक उनको अनुहार हेरें। शान्त, सौम्य थियो। मुटु चुँडियो।
‘सानी, कसरी यस्तो निर्णय गरिस्? आत्महत्याजस्तो जघन्य अपराध किन गरिस्?’
मेरा आँसु खसे। मैले प्रेम गरेकी उनी अनन्तमा हराइसकेकी थिइन्, केही मानिसहरूले उनको लासलाई गाडीमा हालिसकेका थिए। लास गह्रौं भएर होला, गाडीमा ठुलो आवाज आयो। म झसंग भएँ। लाग्यो-सानीलाई कति दुख्यो होला!
म अलि पर थिएँ, सबैजना मलाई प्रश्न गरिरहेका थिए तर म आफै निःशब्द छु।
सानीका ठुला आँखा हेर्न मन लाग्छ। उनको लामो कपाल फेरि हावामा उडिरहेजस्तो लाग्छ। सधैंभरि हाँस्न तम्तयार ओठहरू, लामा लामा खिरिला मुलायम हातका औंलाले मेरै कपाल सुमसुम्याए जस्तो लाग्छ।
सयौंको भिडमा पनि एक्लै उभिएको महसुस भइरहेको थियो मलाई। सानीको सुसाइट नोटका प्रत्येक शब्द आँखामा नाँचिरहन्छन्।
‘मलाई बाँच्न पुगिसक्यो। मैले आफ्नै खुसीले यो निर्णय लिएकी हुँ। यसमा कसैको दोष छैन। आमा मलाई माफ गर्नू है!’
रुवाबासीबिच उनको लास गाडीमा राखेपछि म पनि आफ्नो गाडीमा बसें।
‘इन्सपेक्टर साब जाऊँ।’
सानीको आवाज कानमा गुन्जियो। म झसंग भएँ। हाम्रो गाडीलाई सानीको लास बोकेको गाडीले पछ्याउँदै थियो।
धनी केटासँग बिहे गरेर गएकी सानीले आफ्नै सुत्ने कोठामा झुन्डिएर आत्महत्या गरेकी थिइन्। संयोग कस्तो, त्यो सानीले हेलाँ गरेर छोडेकी अनुप उनकै दुःखद् घटनाको अपराध अनुसन्धान अधिकृत भएर उभिएको थियो।
पोस्टमार्टमपछि सानीको लास परिवारलाई जिम्मा दियो प्रहरीले। पोस्टमार्टम रिपोर्टमा घाँटीमा लागेको पासोले सास रोकिएर मृतकको मृत्युु भएको जानकारी थियो।
अब सानीको अन्तिम संस्कारका लागि माईखोला लैजाने कुरा भइरहेको थियो। इलाम गाउँदेखि मेरा बुबालगायत गाउँका आफन्तहरू आइपुग्नुभएको थियो। म पनि अफिसमा जानकारी गरेर आर्यघाटसम्म जानका लागि सानीको लाससँग बसें, सानीको मलामी बनेर।
चितामा जतन गरेर सुताइएको उनको लास हेर्छु। छातीमा पृथ्वीभन्दा ठुलो पीडाले थिचेको छ मलाई। उनको लामो कपाल फिँजारिएको छ। मलाई उनको कपाल बाटिदिन मन लाग्छ।
‘सानी, एकपटक हेर न मलाई,’ छातीभित्र कोलाहल मच्चियो। सधैंभरि हाँसिरहने ओठका रङ परिवर्तन भइसकेका छन्। अनुहार रङ उडेर फुस्रो भएको छ। उनको गुलाबी ओठ, मलाई सबैभन्दा मन पर्ने।
त्यो ओठले मेरो नाम लिएर कहिल्यै थाक्दैनथ्यो-‘अनुप! छिटो आइज, अनुप! छिटो काम गर, अनुप! मलाई घाँस काट्न सघाई है, अनुप! तँ र म शनिबार पल्लोबारी जाने, अनुप! त्यो गगनले मलाई जिस्काउछ, अनुप अनुप !’ शान्त छ त्यो वाचाल ओठ।
कालो प्लास्टिकमा पोको पारिएको उनको लास देख्दा लाग्यो-म म नै होइनँ। माइखोला आर्यघाटमा उनको अन्तिम संस्कार हुँदै थियो। म शून्य थिएँ। उनको चितामा आगो लागिसकेको थियो। सबैभन्दा अगाडि उनको लामो कपाल जलेर खरानी भयो। धुवाँ बनेर सानी अनन्तमा हराउँदै थिइन्।
‘सानी, तँ खुसीसाथ स्वर्गमा हराउनू, तेरै लोकमा रमाउनू, मसँग गुनासो नराखी जा सानी। तँलाई म कति प्रेम गर्थें, मलाई मात्रै थाहा छ,’ म उनको चिता नजिकै रोइरहेको थिएँ।
बलिरहेको चितामा हाम फालेर मलाई पनि सानीसँगै खरानी बन्न मन लागेको थियोे तर रोक्नलाई तम्तयार थिए जिम्मेवारी, कर्तव्य, परिवार र अनुशासन। कस्तो कस्तो उल्झनमा बाँच्नुपर्दो रहेछ मान्छे।
चिता बलिरहेको थियो। उनको अब कुनै अस्तित्व रहने छैन, भौतिक शरीरका कुनै अवशेष रहने छैनन्। म अब कहिल्यै उनलाई अँगालो हालेर रुन पाउने छैन, छुन पाउने छैन। कस्तो नमिठो कुरा!
बिस्तारै आगाको लप्का कोइला र खरानीमा परिणत हुँदै छ। मन त मेरो पनि डढेर खरानी नै भइसकेको थियो। कति निर्दयी त्यो आगो, जसले फूलजस्ती सानीलाई जलाइदियो, खरानी बनाइदियो। बिस्तारै उठेर चिता बलिरहेको ठाउँमा जान्छु, आगाको रापले अनुहार तातो हुन्छ। यो तातो नै सानीको अन्तिम स्पर्शजस्तो लाग्यो।
प्रायःजसो मलामीहरू फर्किसकेका छन्। कोही अलि पर बसेर स्याउ, फ्रुटी खाइरहेका थिए, त्यस्तो माघे चिसोमा पनि। कोही रोइरहेका छन्, चिता बलिरहेको छ,। मान्छे कसरी निस्फ्रिक्री स्याउ चपाइरहेछन्, फ्रुटी निलिरहेछन्।
बल्न बाँकी दाउरा पनि बलिसके।
‘जाऊँ अनुप,’ सबैको आग्रह नकारेर म एक्लै उभिइरहें। बुबा पनि फर्किनुभयो।
घाम अस्ताउन लागेको थियोे। सानी जलेर खरानी भइसकेकी थिइन्। चिता पखालियो। म हुरुक्क भएँ। काकी रोइरहनुभएको थियो। माईखोला बगिरह्यो।
‘अनुप, हिँड बा जाऊँ,’ काकीले रुँदै मेरो हात समातेर भन्नुभयो।
म चुपचाप छु। अरू आफन्तले काकीलाई लगेर गाडीमा चढाए।
‘ठिक छ, जाँदै गर्नुस्। म आएँ,’ मैले भनें। सबै जना फर्किए। मलाई भने पटक्कै फर्कन मन थिएन।
‘जाऊँ सर,’ सहयोगी प्रहरी जवान भाइको आग्रह पनि नसुनेर उभिइरहें।
‘जाऊ, तिमी उता बस्दै गर। म आइहाल्छु।’
बिस्तारै वरिपरिका मन्दिर, घरहरूमा बत्ती बल्ल थाले। आर्यघाट सुनसान भयो। म फेरि सानी जलेको चितामा हात राख्छु। तातो लाग्छ।
‘सानी!’ म रुन्छु। ‘पापिनी, तैंले मलाई सधैंभरिलाई छोडेर हिँडिस्। पहिला निकम्मा गरिब भनेर छोडिस्। सँगसँगै नभए पनि एउटै आकाश ओढेर बाँचेका छौं भन्ने सम्झेर मन बुझाउँथें। अब त त्यो पनि रहेन। अरू जे भए पनि घाँटीमा पासो लगाउँदै गर्दा पनि मलाई सम्झिनस् है? तैंले अलिकति भनेकी भए म दुनियाँ एकल्याउन तयार थिएँ। सानी, पहिला मलाई छोडेर गइस्, तँलाई खुसी खोज्ने अधिकार थियो। गुनासो थिएन। तँ जहाँ भए पनि खुसी छेस् जस्तो लाग्थ्यो तर अहिले म बाँचेर पनि बाँचिरहेको जस्तो पटक्कै नलाग्ने गरी गइस्। अपराधी, तैंले सधैं ममाथि मनोमानी गरिस्।’
अँध्यारो झपक्कै भयो। म एकछिन सानीको चितालाई छुन चाहन्थें, रुन चाहन्थें। धेरै बेरपछि म आफ्नो दुनियाँमा फर्किएँ।
‘इन्सपेक्टर साब!’ सानीले मलाई जिस्काएर भनिरहेकी छिन् जस्तो लाग्यो।
‘पापिनी!’
‘तैंले जे भन्,’ सानी मुसुक्क हाँसिन्।
‘म एक्लै भएँ अपराधी,’ म रोएँ।
‘केटाकेटीजस्तो कति रुन्छस्? रुन्चे तँ रोइस् भने म नि रुन्छु, अलपत्र पर्छु,’ सानी सधैंभरि यसै भन्थिन्।
‘मलाई पो सधैंभरि अलपत्र पारिस् तैंले। पहिले गरिब भनेर छोडेर गइस्। अहिले के भनेर छोडिस्?’
म सानीको पखालिएको चिता हेरेर रोइरहेको छु।
‘सर, जाऊँ।’
‘सरी भाइ।’
म एकछिन नबोली चिता हेरिरहन्छु। निःशब्द!
रेडियो सेटको सिग्नलले मलाई झसंग बनाउँछ। अन्तिम पटक सानी खरानी भएको चिता स्पर्श गरेर म बिर्तामोड फर्कन्छु।
०००
‘ओई सानी, म के सुन्दै छु?’ मैले बेलुकी नै सानीको बिहेको कुरा सुनिसकेको थिएँ।
‘के भन्?’ सानीले अनुहार रातो बनाएर भनिन्।
‘तेरो घरमा हिजो झापादेखि आउने मान्छेहरू को हुन्?’
‘पाहुना हुन्।’
‘तँलाई हेर्न आएका रे त? मलाई छोडेर नजा है।’
‘नहुने कुरा नगर्, हिँड् छिटो।’ सानीले मलाई घचेट्दै भनिन्। दुवै स्कुल पुग्न लागेका थियौं। म सानीको मुहार अलि मलिन देख्छु। करफोक स्कुलमा पढ्थ्यौं। म १० कक्षामा पढ्थें भने सानी ८ कक्षामा।
‘भरे मलाई पर्खिराख है सानी’ भनेर म आफ्नो कक्षातिर लागें। अलि पर पुगेर हेरें, सानी मलाई नै हेरिरहेकी थिइन्।
कतिखेर स्कुल छुट्टी हुन्छ भन्ने मात्रै ध्यान थियो। बल्ल स्कुल छुट्टी भयो। कुद्दै मलाई सानीले पर्खिने ठाउँमा गएर हेरें। त्यहाँ नदेखेर चियाबारीमा खोजें, भेटिन अनि कुदें ओरालो। ३० मिनेट लाग्ने बाटो १० मिनेटमा घर पुगें। फ्यात्त किताब फालेर सानीको घरतिर कुदें।
‘सानी खै काकी?’
‘ल तँलाई भनिनँ? सानी त आफ्नो घर गई।’
मेरा पाइला लर्खराए। म फेरि बरडाँडातिर कुदें।
‘अनुप, खाजा खाएर जा,’ काका मलाई भन्दै हुनुहुन्थ्यो। बरडाँडा सुनसान थियो। बरको फेदमा बसेर रोएँ, घाम अस्ताएर पारी कन्यामको डाँडामा पुगेको थियोे। साँझ परेपछि घर फर्किएँ। आमाले झन्डै कुट्नुभयो।
‘गाउँभरि खोजें। कहाँ गएको थिइस्?’ म सुक सुक रोएको देखेर आमाले फेरि भन्नुभयो, ‘सानीले छोडेर गई भनेर हो? अब धनी केटा, जात मिल्ने भेटाए दिए नि ! सानीले सुख पाउने भई। केटा विदेशी रे।’
मैले केही सुन्न चाहिनँ। म गोठतिर लागें। सानीले मलाई शून्य पारेर गइसकेकी थिइन्। म एक्लै भएँ।
आमाले राति मकैको भात पकाउनुभएको रहेछ। यसो भातको सिलबरे थाल हेरें, लाग्यो यही सिलबरे थाल र मकैको भात देखेर सानीले मलाई छाडेकी हुन्। भात निल्नै सकिनँ।
‘किन भात नखाएको यो केटोले ?’ बुबा कराउँदै हुनुहुन्थ्यो।
‘सानीको पिरले होला, साह्रै मिल्थे।’
‘अब धनी देखेर दिइहाले। यसो १० सम्म पढाएको भए हुन्थ्यो।’
‘अब मागी नै भए पनि भगाएरै लानुपर्छ रे केटी। त्यै भएर आजै सानीलाई लगेको रे !’ आमा भन्दै हुनुहुन्थ्यो।
‘जे भए पनि पढाउनुचाहिं पर्थ्याे सानीलाई,’ बुबाको आवाज आयो।
‘अब धनी देखे।’ धारामा जाँदै गर्दा सुनें। यसपटक मलाई संसारमै सबैभन्दा गरिब हुँ जस्तो लाग्यो।
सानीको बिहेको अघिल्लो दिन सानीलाई भेट्न गएँ। पराई भइसकेकी उनलाई भेट्दा थररर हात गोडा काँपे मेरा।
‘बस् न अनुप, आइज,’ सानीले मेरो मुखै नहेरी भनिन्।
‘तँलाई मेरो माया लागेन है सानी? म एक्लै भएँ। धन त म पनि कमाउने थिएँ एकदिन। सुख खोजेकी भए संसारको खुसी तेरो पोल्टामा हालिदिन्थें। मेरो घरको मकैभात र सिलबरे थाल देखेर तँ गएकी होइनस्?’
सानी केही बोलिनन्। हातका चुरा मात्रै खेलाइरहिन्।
‘म गरिबले तँलाई के दिन सक्थें र? अस्ति तैंले तीनघरे बजारमा मन पराएको कुर्था थियो नि, त्यहीं ल्याइदिएको छु। राम्रो सिलाएर कहिलेकाहीं लगाई है।’
सानी केही नबोलेपछि म फर्कन लागें। अर्काकी भइसकेकी उनीसँग बसिरहन राम्रो पनि मानिँदैनथ्यो। ढोकामा पुगेपछि सानी बोलिन्, ‘अनुप, तँ धेरै पढ्नू, ठुलो मान्छे हुनू।’
‘मैले तँलाई माया गरेको थिएँ सानी। तँ सधैंभरि खुसी हुनू,’ म फरक्क फर्कें र घरतिर लागें। सानीसँगै मेरा खुसीहरू बसाइँ सरेर गइसकेका थिए। म बिरामीजस्तै बनेको थिएँ।
समय बित्दै गयो। सानी प्रायः माइतीमा नै बस्थिन्। म आफ्नो पढाइलाई अगाडि बढाउदै गएँ। मुटुको कुनामा सानी दुखिरहन्थिन् तर म कहिल्यै सानीका अघि देखा परिनँ। अब उनको भौतिक उपस्थितिप्रति कुनै आशक्ति थिएन।
‘ज्वाइँ विदेश हुनुहुन्छ रे,’ आमा र बुबाको कुरा कहिलेकाहीं सुन्थें म।
दुःखसुख गरी बुबाआमाले मलाई एसएलसीपछि काठमाडौं पठाउनुभयो। म काठमाडौं लागेको थिएँ मुटुको कुनामा दुखिरहने सानीलाई लिएर।
०००
प्रहरी निरीक्षकमा नाम निस्किएपछि सबैभन्दा अगाडि मैले सानीलाई सम्झेर रोएको थिएँ। यतिका वर्ष बितेर गए पनि उनको खालीपन र सम्झना घट्दै घटेन, झन् बढ्यो।
तालिमपछि मैले गौशला प्रहरी वृत्तको जिम्मेवारी सम्हालेको थिएँ। लामो समय भइसकेको थियोे इलाम नगएको। म घर पुगेपछि मेरा बुबाआमाको मुहारमा बल्ल खुसी पोतिएको थियो। साँझबिहान नभनी काम गरेर मलाई काठमाडौंजस्तो सहरमा राखेर पढाउनुभएको थियो। मैले पनि धेरै दुःख गरेको थिएँ काठमाडौंमा।
केही दिन घर बसें। आमाले सानीका बारेमा नमिठो खबर सुनाउनुभयो, ‘सानी र ज्वाइँको सम्बन्ध राम्रो छैन। प्रायः सानी यतै हुन्छे। ज्वाइँ विदेशका विदेश नै। बाआमाको आधा मासु भएको छ। सानीलाई भाउजूहरूले निको मान्दैनन्।’ मेरो कानमा बम पड्केजस्तै भयो। हजारौं सियाले मुटु घोचेजस्तो लाग्यो।
‘आमा, मलाई सानीको कुरा नसुनाउनू ल अबदेखि,’ म आँखा पुछ्दै बोलें। आमा निःशब्द भएर मलाई हेरिरहनुभएको थियो।
‘म सानीलाई कति माया गर्थें आमा। पापिनीले मलाई गरिब भन्दै हेलाँ गरी छोडेर गए पनि त्यो खुसी भएको हेर्ने मन छ मलाई,’ म आमाको काखमा पहिलोपटक रुदै थिएँ।
म कार्यक्षेत्र फर्कने दिन संयोगवश सानीसँग फिक्कल बजारमा भेट भयो। म झापा जाने गाडी पर्खंदै थिएँ। उनी झापाबाट माइत हिँडेकी रहिछन्। मायालाग्दो अनुहार, सामान्य लाग्ने कुर्थामा थिइन्। मलाई झन् उकुसमुकुस भयो।
‘सानी!’
‘अनुप तँ? कहिले आइस् काठमाडौंबाट?’
‘अनि तँ एक्लै? खै तेरो श्रीमान्?’
‘घरमै छ।’
‘किन एक्लै?’
‘घर कस्ले हेर्छ?’
म बोलिनँ।
मलाई त्यहाँ उनलाई उभ्याएर राख्न अप्ठ्यारो लाग्यो।
‘हिँड्, चिया पिउँदै गफ गरम्।’
उनी मेरो पछि पछि लागिन्। हामी नजिकै रहेको ‘मुस्कान क्याफे’मा बस्यौं।
‘तँ अब ठुलो मान्छे भएछस्। इन्स्पेक्टर साब भन्छु ल,’ मुसुक्क हाँसिन् सानी।
‘तँलाई जे भन्न मन लाग्छ।’
‘जे छ, त्यसलाई सम्हाल्न सिक् सानी। कतिपय कुरा भाग्यसँग होइन, कर्मसँग जोडिएका हुन्छन्। श्रीमान्सँगको सम्बन्ध सुधार्। जिन्दगी लामो छ। म सधैंभरि तँ खुसी भएर हाँसेको देख्न चाहन्छु,’ मैले चियाको अन्तिम घुट्की पिउँदै भनें।
धेरै वर्षपछि सँगै बसेर चिया खाइरहेका थियौं।
‘सानी, तेरो र श्रीमान्को सम्बन्ध के भएको ? हिजो आमाले भन्दै हुनुहुन्थ्यो।’
‘भाग्यमा जे छ, त्यो नै मिल्दो रहेछ अनुप,’ आँखाभरि आँसु पारेर भनिन् सानीले।
‘जे छ, त्यसलाई सम्हाल्न सिक् सानी। कतिपय कुरा भाग्यसँग होइन, कर्मसँग जोडिएका हुन्छन्। श्रीमान्सँगको सम्बन्ध सुधार्। जिन्दगी लामो छ। म सधैंभरि तँ खुसी भएर हाँसेको देख्न चाहन्छु।’ मैले चियाको अन्तिम घुट्की पिउँदै भनें।
‘अनि इन्स्पेक्टर साब, तँ चाहिँ बिहे गर्दैनस् ?’ आँखा पुछेर अलिकति हाँस्दै सानीले भनिन्।
‘तँलाई कसरी हटाऊँ सानी मेरो मनबाट!’
सानी रुन थालिन्।
‘तँ मेरो आत्माभित्र छेस् सानी। तँ ढुक्क हुनू, तैंले जस्तो म तँलाई छोडेर कहिल्यै कहीं जाँन्नँ। जीवनमा साथ दिन पो असमर्थ छु।’
हामी छुट्नै पथ्र्यो। बाटो फरक फरक थियो। गह्राैं मन लिएर छुट्टियौं। फोन नम्बर साट्यौं अनि फेसबुकमा एकअर्कालाई एड गर्यौं।
म कहिलेकाहीं सानीलाई कल गर्थें।
‘कल त गर्ने गर् मलाई। मलाई खुसी लाग्छ इन्स्पेक्टर साब,’ उनी जिस्किएर भन्थिन्।
‘तेरो र श्रीमान्को सम्बन्धमा झन् दरार आउला भन्ने डर लाग्छ नि सानी,’ म नचाहेर पनि भन्न बाध्य थिएँ।
इलाका प्रहरी कार्यालय, अनारमनी, बिर्तामोडमा मेरो सरुवा भयो। घरपायक, अझ सानीको गृह जिल्ला। खुसी लाग्यो।
म सरुवापत्र बुझेर झापातर्फ लागें। थाहा थिएन, म झापा पुग्न किन हतारिएको थिएँ।
म झापा पुगेर हाजिर जनाएँ अफिसमा। बिर्तामोड बजार चक्कर लगाउँछु। शनिश्चरे सडक देख्छु। यही बाटोबाट पुगिन्छ रे सानीको गाउँ। म झापा आएको १५ दिन बितिसकेको थियो। सानीलाई म झापा आएको खबर सुनाउन चाहन्थें तर उनको मोबाइल अफ थियो। फेसबुकमा पनि अपडेट केही थिएन।
‘सर, खुदुनाबारीबाट सुसाइड केस आएको छ।’
म गाडी चढेर घटनास्थलतर्फ लाग्छु। घटनास्थल पुगेर झुन्डिएको लास हेर्छु। त्यो लास नभएर मेरो दुनिया थियो, मेरी सानी थिई।
ममाथि पहाड खसेको थियो। हेर्छु सानीलाई, त्यो लासलाई। म किन हतारमा आएछु झापा। नमिठो लाग्यो। आँखाभरि सानीको पखालिएको चिता नाचिरह्यो।
प्रकाशित: २३ मंसिर २०८० ०१:५७ शनिबार