१७ फाल्गुन २०८० बिहीबार
कला

‘यस् म्यान’ धेरै माथि पुग्न सक्छ तर नेता बन्न सक्दैन

साम मानेक्श (बाँया) र चलचित्र साम बहादुरमा साम मानेक्शको भूमिकामा रहेका अभिनेता विक्की कौशल। तस्बिरः सामाजिक सञ्जाल

‘यदि कसैले मर्नबाट डराइरहेको छैन भन्छ भने कि उसले ढाँटिरहेको छ कि ऊ गोर्खा हो’, यसरी गोर्खाली वीरताको गाथा कहने साम मानेक्श (सन् १९१४–२००८) यतिबेला फेरि चर्चामा छन्। कारण, भारतीय सेनाका सेनाध्यक्ष तथा फिल्र्ड मार्सलसमेत रहेका उनको जीवनमा आधारित चलचित्र ‘साम बहादुर’ अहिले चलिरहेको छ। संयोग के भने भारत स्वतन्त्र भएलगत्तै आठौं गोर्खा राइफल्सको कमान्डमा खटिएका उनले आफ्नो नयाँ नाम त्यहीँका गोर्खाली सैनिक हर्क गुरुङबाटै पाएका थिए। आफ्नो सैन्य जीवनमा दृढ र निडर मानिएका उनै मानेक्शले ‘नेतृत्वका गुण’बारे एक गहन मन्तव्य दिएका थिए, प्रस्तुत सामग्री त्यसैको सम्पादित रूप हो।

मेरो परिवारमा म मात्र एक्लो अपठित थिएँ। आज सेन्ट जेभियर्स कलेजले जब मलाई सम्मान गर्‍यो, मेरी पत्नी यहाँ हुनुपथ्र्यो भन्ने लागिरहेको छ किनभने उनले यो देख्न पाएकी भए मलाई अलि सम्मान गर्थिन् कि?

म अपठित हुँ भन्दा अतिशयोक्ति हुँदैन किनभने मेरो परिवारमा सबैभन्दा कम पढेको म नै हुँ। मैले प्रवीणता तह विज्ञान विषय पढेको थिएँ र मुस्किलले थर्ड डिभिजनमा पास भएको थिएँ। कम पढेलेखेको व्यक्तिले यो कार्यक्रममा यत्तिका पढेकामाझ बोल्न पाउँदा खुसी लागेको छ।

मैले भारतमा लामो समयदेखि अभाव नियालिरहेको छु, जेको पनि अभाव, पेट्रोलियमको अभाव, खाद्यान्नको, वैदेशिक मुद्रा, स्कुल–कलेजको आदिआदि। यो सूची लामो हुन सक्छ। तर यी सारा अभावबीच एउटा अभावको चाहिँ खासै चर्चा भएको म पाउँदिनँ, जुन यी सारा अभावको मूल हो। त्यो हो, नेतृत्वको अभाव।  

सभाध्यक्ष! कृपया मलाई गलत नबुझियोस्। यहाँ उपस्थित पत्रकार मित्रहरू! कृपया मलाई गलत उद्धरण नगरियोस् किनभने तपाईंहरू त्यसमा जहिल्यै माहिर र सक्षम हुनुहुन्छ। र, त्यो निरन्तर गरिरहनुभएकै छ।  

मैले भन्न खोजेको नेतृत्वको अभाव जीवनका हरेक क्षेत्रमा छ, चाहे त्यो राजनीतिक होस् या प्रशासनिक, शैक्षिक संस्थाको नेतृत्व होस् या खेलकुदका संस्था, हाम्रा उद्योग हुन् या मजदुर, कानुन र प्रशासन होस्, हरेक आकस्मिक क्षेत्रमा नेतृत्वको सर्वथा अभाव खट्किने गर्छ।

नेतृत्व जन्मन्छन् कि बनाइन्छन् ? मलाई थाहा छैन। एउटा सिद्धान्त प्रचलित छ, नेतृत्व पेटबाटै जन्मन्छन्। हाम्रो देशमा ७ अर्ब ८० करोडभन्दा बढी जनसंख्या छ। (अहिले १४ अर्बभन्दा बढी छ।) हामी हरेक वर्ष एउटा अस्ट्रेलियाको जनसंख्या बराबर सन्तान जन्माउँछौं, र पनि नेतृत्वको अभाव छ। उसो भए नेतृत्व जन्मँदैनन् भने नेतृत्व बनाउन सकिन्छ त ? एउटा ‘तर्कसंगत समझ’ र ‘शिष्टता’ भएको कोरा मान्छेबाट गज्जबको नेतृत्व निर्माण गर्न सकिन्छ।

उसो भए नेतृत्वको गुण र विशेषता के हुन् त ? वास्तवमा नेतृत्वका कैयौं गुण र विशेषता हुन्छन् तर मुख्यतः व्यावसायिक ज्ञान र व्यावसायिक दक्षताले नै उसलाई नेतृत्वको गुण दिन्छ। व्यावसायिक ज्ञान लिएर कोही पनि जन्मेको हुँदैन भन्नेमा तपाईं सहमत हुनुहोला। मन्त्रीको छोरो, सांसदको आफन्त वा फिल्ड मार्सलका आकांक्षी, यी सबैले व्यावसायिक ज्ञान निकै कठिनतासाथ सिक्छन्, हासिल गर्छन्। यसका लागि नियमित अध्ययन गरिनुपर्छ। 

प्राध्यापक, इन्जिनियर, डाक्टर, तिनले निरन्तर अध्ययन गरिरहेका हुन्छन्, तिनले विज्ञताका लागि निरन्तर सिकिरहेका हुन्छन्। तर भारतमा जब हामी सचिव हुन्छौं, मन्त्री बन्छौं, सैन्य–प्रहरीको चुचुरो हुन्छौं वा शक्तिमा पुग्छौं, हामी ज्ञानले पूर्ण छौं भन्ने भ्रममा पर्छौं। व्यावसायिक ज्ञान प्राप्त गर्न कठिन अभ्यास गर्नुपर्छ। त्योबिना तपाईंमा व्यावसायिक दक्षता प्राप्त हुन सक्दैन। त्योबिना तपाईं नेतृत्व वा अगुवा बन्न सक्नुहुन्न।  

यो मुलुकको रक्षा मन्त्रालयका कर्मचारीले विरलै सैन्य विषयको किताब पढेको हुँदो हो। तिनलाई एउटा बन्दुक र होविट्जर (तोप) बीचको फरक थाहा होला भन्नेमा मलाई शंका लाग्छ। एक दिन एक मन्त्रीले मकहाँ आएर सोधे, ‘यो होविट्जर के हो ?’ मलाई पनि थाहा भएन, त्यो भन्या के हो ? पछि मलाई उसबाट होविट्जर भनेको भन्ने थाहा भयो।  

मैले उनलाई भनेँ, ‘तपाईंले मलाई किन सोध्नुभयो? प्रधानसेनापति र अरूलाई नै किन सोध्नुभएन?’

‘प्रधान सेनापतिलाई मैले कसरी सोध्नु ? म त रक्षामन्त्री हुँ। मैले उनलाई कसरी सोध्न मिल्छ ? तिमीलाई पो म बेबकुफ हुँ भन्ने थाहा छ।’ ती मन्त्रीलाई ‘मोटर’ र ‘मोर्टार’को फरक थाहा होला भन्नेमा पनि मलाई शंका छ। ‘गोरिल्ला’ र ‘गुरिल्ला’ बीचको फरक उनलाई पक्कै थाहा छैन।  

तपाईं अगुवा वा नेता हुन चाहनुहुन्छ भने व्यावसायिक ज्ञान तपाईंका लागि अनिवार्य चिज हो। तपाईं सेनामा हुनुहोस् या शिक्षण पेसामा, उद्योगमा होस्, व्यावसायिक ज्ञान र दक्षताबिना तपाईं नेता बन्न सक्नुहुन्न। र, यो प्राप्त गर्न कठिन अभ्यास गर्नुपर्छ, जीवनभर अध्ययन गरिरहनुपर्छ।

नेताको अर्को गुण भनेको कुनै कुराको सुनिश्चितता र निर्णय क्षमता हो। निर्णय लिइसकेपछि त्यसको जुन परिणाम आउँछ, त्यसलाई पूरै जिम्मेवारी लिने क्षमता पनि नेतृत्वमा हुनुपर्ने गुण हो। निर्णय लिन नसक्नेहरूबाट अरू प्रताडित हुनुपर्छ। गलत निर्णय लिनुभन्दा निर्णय नै लिन नसक्नु खराब कुरा हो। निर्णय लिनाले तपाईंको कामलाई सही ठाउँमा पुर्‍याउन सक्छ तर निर्णय नलिनुले मान्छेलाई कहीँ पनि पुर्‍याउँदैन।

निर्णय नलिनुका पनि आफ्नै कारण हुन्छन् तर मान्छेले किन निर्णय लिँदैन त ? किनभने उसमा आत्मविश्वासको कमी हुन्छ। कमी किन हुन्छ ? किनभने, उसमा व्यावसायिक ज्ञान र दक्षताको कमी हुन्छ।  

जुन बेला म प्रधानसेनापति थिएँ, म डुल्दै जनरलहरूकहाँ पुग्थें। त्यसपछि म कुनै विषय उठाउँदै यसबारे तिमी के गर्दैछौ भनी सोध्थें। उनीहरूले म यसबारे यस्तो सोच्दैछौं, सोच्नेबारे सोच्दैछु भन्थे। त्यसपछि म तिनै कुरालाई यस्तो बनाउँथें कि त्यसलाई ‘मानेकसाइज्म’को रूप दिन्थें। म उनीहरूलाई भन्थें, ‘बेवकुफ, सोच्ने होइन, गर्ने कुरा सुनाऊ। कामको पूरापूर जिम्मेवारी लेऊ।’

तपाईंलाई थाहा छ, यो देशमा कुनै निर्णय लिन नसक्दा कति पैसा खर्च हुन्छ? वर्षौंवर्ष कुनै पनि निर्णय लिइँदैन तर आखिरमा निर्णय त लिनैपर्छ। जब निर्णय लिइन्छ, त्यतिन्जेल यसको खर्च १० गुणाले बढिसक्छ। त्यो बढेको खर्चको मूल कारण नै निर्णय लिन नसक्नु हो। कसैको अनिर्णयका कारण १० गुणा खर्च बढ्दा त्यसबाट को पीडित हुन्छ ? हामी जनता पीडित हुन्छौं। त्यसैले नेतृत्वको गुण भनेको निर्णय लिनु र त्यसको पूरापूर जिम्मेवारी ग्रहण गर्नु हो। त्यसैले तपाईं यदि निर्णय लिनुहुन्न र आफ्ना सहायकलाई त्यसको दोष दिनुहुन्छ भने तपाईं अक्षम नेतृत्व हो।

नेतृत्वको अर्को गुण विभेदरहित व्यवहार र न्याय हो। कुनै पनि व्यक्ति दण्डित हुन चाहँदैन। हरेक व्यक्तिले आफ्नो अपराधका लागि त्यो दण्ड स्विकार्छ, जसको भागीदारी सबै भइरहेकै हुन्छन्। आफू मात्रै दण्डित भएको ऊ चाहँदैन। आफ्नो अपराधका लागि दिइएको दण्ड उसले मन नपराउन सक्छ, उसले दण्डाधिकारीलाई पनि नरुचाउन सक्छ तर दण्डलाई उसले स्वीकार्छ किनभने अरूले पनि उस्तै दण्ड पाएको देखिरहेको हुन्छ। 

कसैलाई पनि दण्ड मन पर्दैन तर उसलाई बकाइदा नियमसंगत तरिकाले दण्डित गरिएको छ भने उसले त्यसलाई स्वीकार गर्छ।

हामीमाथि ठुलो दबाब छ। हाम्रो परिवार ठुलो छ। त्यो बृहद् परिवारबाट दबाब आउँछ। हामीलाई संसद्बाट दबाब आउँछ। हामीलाई अनेक किसिमका ठाउँबाट दबाब आउँछन्। तर हामीमा त्यो दबाब झेल्ने साहसको अभाव हुन्छ। भारतजस्तो मुलुकमा यो झेल्न निकै कठिन छ। नेतृत्वको नैतिक र शारीरिक साहस अर्को गुण हो। 

नैतिक र शारीरिक साहसमध्ये कुन चाहिँ ठुलो साहस हो, त्यो मलाई थाहा छैन। जब म जवानहरूसँग गफ गरिरहेको हुन्छु, म शारीरिक साहसको कुरा गर्छु। तर जब म केही सीमित जवानसँग कुरा गरिरहेको हुन्छु, नैतिक र शारीरिक दुवै साहसको कुरा गर्छु। जब सामान्य मानिससँग कुरा गरिरहेको हुन्छु, म नैतिक साहसको मात्र कुरा गर्छु।

उसो भए नैतिक साहस के हो त? नैतिक साहस भन्नु सही कुरालाई गलतहरूका माझबाट फरक देखाउन सक्ने खुबी हो। जब गलत र सही कुराबीचको फरक खुट्याउन सकिन्छ र त्यसलाई व्यक्त गर्न सकिन्छ, त्यो बेला जुरुक्क उठेर आफ्नो कुरा भन्न सकिन्छ । यसो गर्दा तपाईंको वरिष्ठ अधिकारीले के भन्छन्, साथीले के सोच्छन्, त्यसलाई मतलब गर्दैन भने त्यो असली नेतृत्व हो।

‘यस् म्यान’ सबैभन्दा डरलाग्दो मानिस हो। त्यस्तालाई त्याग्नु नै उचित हुन्छ। ऊ धेरै माथि जान सक्छ, मन्त्री बन्न सक्छ, ऊ फिल्ड मार्सल बन्न सक्छ तर नेता बन्न सक्तैन। उसलाई उसका वरिष्ठ अधिकारीले प्रयोग गर्नेछन्, उसलाई आफ्ना साथीभाइले मन पराउने छैनन्। उसका कनिष्ठले उसलाई सम्मान गर्नेछैनन्। एउटा नेतृत्वका लागि नैतिक साहस अति महत्त्वको हुन्छ।  

सन् १९७० ताका पाकिस्तानका जनरल याया खानले सारा दबाब त्यो बेलाको पूर्वी पाकिस्तानमा दिन थाले, त्यसपछि ठुलो संख्यामा त्यहाँबाट शरणार्थीहरू भारत छिर्न थाले। यसपछि तत्काल मन्त्रिमण्डलको बैठक बस्यो। २८ अप्रिलका दिनको त्यो बैठकमा मलाई पनि साढे १० बजे बोलाइएको थियो। त्यो बेला प्रधानमन्त्री इन्दिरा गान्धी हुनुहुन्थ्यो, निकै सशक्त प्रधानमन्त्री। साराका सारा मन्त्रीहरू त्यहाँ उपस्थित थिए। उहाँले मलाई भन्नुभयो, ‘यत्रा शरणार्थीहरू ओइरिरहेका छन्। त्रिपुराका मुख्यमन्त्री, पश्चिम बंगालका मुख्यमन्त्री, सबै सीमावर्तीका मुख्यमन्त्रीले मलाई टेलिग्राम गरेर यस्तो भयो भनिरहेका छन्, के छ तिम्रो कार्यक्रम ?’

‘यसमा मेरो कुनै लिनुदिनु छैन,’ मैले भनेँ।

‘यत्रा शरणार्थी ओइरिरहेका छन्, तिमीले त केही गर्नैपर्छ,’ प्रधानमन्त्री गान्धीले भन्नुभयो।

‘यसको अर्थ के हो, तपाईंलाई थाहा छ ?’ मैले उहाँलाई सोधें।

‘के हो ? मलाई थाहा छैन,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘तिमी नै भन न!’

‘यसको अर्थ हो, युद्ध,’ मैले भनें, ‘म त्यहाँ जानु भनेको युद्ध छेडिनु हो। पाकिस्तानसँग युद्ध गर्नु हो।’

‘शरणार्थी व्यवस्थापन गर्दा युद्ध हुन्छ भने होस्,’ प्रधानमन्त्री गान्धीले भन्नुभयो।

‘उसो भए म बाइबलको एउटा लाइन भनूँ ?’ मैले प्रधानमन्त्रीतिर हेर्दै भनें, ‘ईश्वरले भने– उज्यालो होस्, अनि झलमल्ल उज्यालो भयो। तपाईं भन्नुहुन्छ, युद्ध भए होस्। तपाईं भन्नुहुन्छ भने ठीक छ। अब युद्ध हुन्छ।’

प्रधानमन्त्रीले भन्नुभयो, ‘यसका लागि तपाईं तयार हुनुहुन्छ त?’

‘छैन किनभने हामीले कुनै तयारी गरेका छैनौं। युद्धका लागि हामीलाई देशको सारा रेल चाहिन्छ, सारा डब्बा चाहिन्छ। देशको सारा खाद्यान्न चाहिन्छ। साराका सारा स्रोतसाधन चाहिन्छ, जुन हामीसँग तत्काल छैन। भोलि युद्ध भएपछि जुन भोकमरी लाग्छ, जुन अप्ठेरो सुरु हुन्छ, त्यसका लागि मलाई नझोस्नू,’ मैले भनें।

मैले थपें, ‘जब युद्ध सुरु हुन्छ, पाकिस्तानसँग सिधासिधा भिड्नुपर्छ। कथं चीन पनि यो युद्धमा मिसियो भने मैले दुईतिर भिड्नुपर्ने हुन्छ।’

त्यो बेलाका विदेशमन्त्री शरण सिंहले भन्नुभयो, ‘के चीनले हामीलाई युद्धको धम्की देला त?’

‘तपाईं विदेशमन्त्री हुनुहुन्छ, तपाईं भन्नोस् न! चीनले के गर्छ। चीनलाई रोक्न तपाईंसँग के कार्यक्रम छ ?’ मैले उहाँसँग सिधासिधा भनें।

रक्षामन्त्री जगजीवन राम हुनुहुन्थ्यो। उहाँ मेरो नाम पनि शुद्ध उच्चारण गर्न सक्नुहुन्नथ्यो। उहाँले सधैं मलाई श्याम भन्नुहुन्थ्यो। उहाँले भन्नुभयो, ‘श्याम मान जाओ न !’

‘यो मान्ने कुरा हो ?’ मैले भनें, ‘यी त वास्तविक समस्या हुन्। यदि अहिलेको अवस्थामा मान्ने हो भने सय प्रतिशत हार निश्चित छ। तापनि तपाईं युद्धको आदेश दिनुहुन्छ भने भन्नुस्, म युद्धका लागि तयार छु।’

मन्त्रिमण्डल बैठक शान्त भयो। एक शब्द कसैको मुखबाट निस्किएन। त्यसपछि प्रधानमन्त्री गान्धीले भन्नुभयो, ‘बैठक अब ४ बजे बस्छ।’

यसपछि सबै मन्त्री बैठकस्थलबाट बाहिर निस्किए। म त सबैभन्दा कनिष्ठ थिएँ। त्यसैले सबैभन्दा पछाडि निस्कने नै भएँ । प्रधानमन्त्री गान्धीले भन्नुभयो, ‘तपाईं एक छिन बस्नोस्।’

उहाँले ढोका बन्द गर्नुभयो र कुर्सीमा बस्नै लाग्दा मैले भनेँ, ‘प्रधानमन्त्रीज्यू, तपाईंले केही भन्नुअघि म केही बोलिहालूँ।’

उहाँले पुलुक्क हेर्नुभयो। मैले भनें, ‘के तपाईंले मेरो मानसिक, शारीरिक तथा अन्य कारणले भएको अशक्तताको कारण दर्साई राजीनामा दिऊँ?’

‘चुप लाग, ल बस,’ प्रधानमन्त्रीले लामो श्वास तान्दै भन्नुभयो, ‘सन् १९६२ को लडाइँका बेला मेरा बाको ठाउँमा म र तपाईंको बुवाको ठाउँमा तपाईं हुनुभएको भए त्यो युद्ध हारिने थिएन। देशले बेइज्जती खेप्नुपर्ने थिएन। त्यो बेलाका सेनापतिसँग हामी युद्ध हार्छौं, यो युद्ध जरुरी छैन भन्ने नैतिक साहस भएको भए हामी पतित हुनुपर्ने थिएन। तिमीले मलाई हार्नुपर्ने पर्याप्त कारण दिएर नलड्ने सुझाव दियौ। गर्नुपर्ने तयारी दियौ। तर यो युद्ध लड्नैपर्छ।’

‘लड्नु नै छ भने यो युद्ध गर्न मलाई मेरो शैलीमा दिइनुपर्छ,’ मैले भनें। बाँकी इतिहास साक्षी छ, युद्ध जितियो। मैले यहाँ नैतिक साहसको कुरा गरेको हुँ। प्रधानमन्त्रीसमक्ष युद्ध गर्नैलाई राखिएको सेनापतिले युद्ध लड्न किन सकिँदैन भन्न सक्नुपर्छ। त्यति नैतिक साहस ऊसँग हुनुपर्छ। मात्र लड्न राखिएको हो भन्दैमा दौडिएर दुस्मनलाई हानिहाल्नुपर्छ भन्ने होइन।  

अब कुरा गरौं, शारीरिक साहसको।

मानिसको जीवनमा भोक र यौनजस्तै डर पनि स्वाभाविकता हो। जसले मलाई डर लाग्दैन भन्छ, ऊ झुटो हो। अपवादमा सम्भवतः गोर्खालाई लिन सक्छौं। हरेक मानिस डराउँछन्। कोही ज्यादै डर देखाउँछन्, कोही देखाउँदैनन् तर डराएका हुन्छन् नै ! एक पटक तपाईंले कसैका अघिल्तिर डर देखाउनोस्, तिनले काम छाडिदिन्छन्।  

सन् १९४२ ताका म बर्मामा हुँदा म सिख कम्पनीलाई कमान्ड गर्थें। तिनलाई सम्हाल्न निकै गाह्रो हुन्थ्यो। सोहन सिंह थिए, अग्ला, बलिया। शारीरिक बलकै कारण उनले पटकपटक पदोन्नति खाइसकेका थिए। अर्को पटक जब उनलाई फेरि पदोन्नति गर्नुपर्ने अवस्था आयो, मैले हुँदैन भनें।  

यसलगत्तै हामी जंगलमा जानुपर्ने थियो। मेरो वरिष्ठ सहायक बलवन्त सिंह छेउ आए र भने, ‘हजुर, सोहन सिंहलाई कैदमा राखिएको छ।’

‘किन ?’ मैले सोधें। ‘उसले आज म सामलाई नमारी छाड्दिनँ, त्यसले मेरो प्रमोसन रोक्यो भनेर जहाँतहीँ हिँडिरहेको थियो,’ बलवन्तले भने। ‘उसलाई मकहाँ ल्याऊ,’ मैले भनें। उसलाई मेरासामु ल्याइयो। ‘सोहन सिंह, के भयो ?’ मैले उनलाई भनें।

‘गल्ती भयो हजुर,’ सोहन सिंहले भने।  

‘तिमीले त मलाई गोली हान्छु भन्यौ रे ?’ आँखामा आँखा जुधाएर मैले भनेँ। मैले मेरो पेस्तोल निकालें। धडाधड त्यसमा गोली भरें र उसलाई दिँदै भनें, ‘तिमीलाई गोली हान्न मन लागेको छ भने हान।’

‘होइन हजुर, गल्ती भयो। माफ पाऊँ,’ उसले भन्यो।

‘ल ठीक छ, जाऊ, आफ्नो काम गर,’ मैले ढाड थप्थपाउँदै भनें।

त्यसपछि मेसमा गएँ, खाएँ, यताउति डुलें। जवानहरू मेराबारे चिन्तित थिए। सुबेदार बलवन्तले भने, ‘तपाईंले उसलाई यत्तिकै छाड्न हुन्थेन। आज राति तपाईंलाई उसले सिध्याइदिन्छ।’

विचरा बलवन्त मेराबारे चिन्तित थिए। तर म चिन्तित थिइनँ।  

‘सोहन सिंहलाई बोलाऊ,’ मैले भनें।

सोहन हाजिर भएपछि मैले भनें, ‘आज मेरो सेन्ट्रीमा रुँग्ने काम सोहनले गर्नेछन्। अरू कसैले गर्नुपर्दैन। भोलि बिहान ५ बजे, एक कप तातो पानी र दाह्री काट्ने सामान लिएर आऊनू। मेरो दाह्री चुस्सिएको छ।’

भोलिपल्ट बिहान सोहन सिंहले मलाई उठाए, उनको हातमा मगमा तातो पानी थियो र साथीमा दाह्री काट्ने सामग्री पनि। तपाईंलाई लाग्दो हो, त्यो बेला मलाई डर लागेन, यसले मारिदियो भने के गर्ने भन्ने चिन्ताले जरो गाडेको थिएन भने तपाईं गलत हुनुहुन्छ। मलाई निकै डर लागेको थियो। तर मैले त्यति नगरेको हुन्थें भने सम्भवतः सोहन सिंहले अरूलाई ध्वाँस दिइरहेको हुने थियो, ‘देख्यौ, तिम्रा हाकिम मसँग डराउँछन्।’

कैयौं अवस्थामा एउटा जवान हातमा जम्माजम्मी लाठी बोकेर दंगा नियन्त्रण गर्न निस्किएको हुन्छ। के उसलाई डर लागेको हुँदैन र ? तर उसले त्यहाँ साहस देखाइरहेको हुन्छ। त्यसैले शारीरिक साहस अति अनिवार्य हुन्छ।

नेतृत्वको अर्को गुण निष्ठा वा बफादारी पनि हो। हामी सबै जना सबैबाट निष्ठा वा वफादारी अपेक्षा गर्छौं। बफादारी दुई पक्षीय हुन्छ। जसप्रति बफादार हुन्छौं, उनीहरू पनि आफूप्रति बफादार रहून् भन्ने चाहन्छौं। वास्तविक लिडरले निष्ठा चाहन्छ, निष्ठा दिन्छ पनि।

नेतृत्व भनेको व्यक्ति र सामग्रीको व्यवस्थापन हो। मान्छेसँग धेरै समस्या हुन्छन्। तिनका कारण तिनीहरू सजिलै भड्किन सक्छन्। उनीहरूको निराशा, अपेक्षा, क्रोधजस्ता कुरालाई नेताले चिन्नुपर्ने हुन्छ। तिनलाई नेतृत्वले व्यवस्थापन गर्नुपर्ने हुन्छ। व्यवस्थापन मानवीय संवेदनाका साथ गर्नुपर्ने हुन्छ। त्यसका लागि तपाईंले ‘सेन्स अफ ह्युमर’ प्रयोग गर्न सक्नुहुन्छ। त्यसको उपयोगबाट तपाईंले तिनको निराशा, दुश्चिन्ता र अनेक मानवीय संवेदना व्यवस्थापन गर्न सक्नुहुन्छ। हाम्रा नेतृत्वमा प्रायः यसको अभाव देखिन्छ। उनीहरूले प्रयोग गर्ने भनेको बलजफ्तीका कुरा मात्र हुन्। त्यो गर्न सजिलो पनि छ।

जुलियस सिजर एक पटक युद्धबाट फर्केर रोम आइपुग्दा उनका सिनेटरहरूले आफ्ना श्रीमतीहरूलाई थुनेर काममा जान्थे। ताकि सिजरले तिनका श्रीमतीसँग रंगरेलिया नमनाऊन्। नेपोलियन हुन् या बेलायती महान् नेल्सन, सबैमा केही न केही अवगुण थिए। हामीले तिनबाट पाठ सिक्दै अनुशासन र चरित्रलाई बढी महत्त्व दिइनुपर्छ।  

अनुशासन कहाँबाट आउँछ ? यही समाजबाट आउँछ। हाम्रा धर्मशास्त्र, संस्कृतिबाट आउँछ। तिनले हामीलाई कसरी अनुशासित हुने भनी सिकाउँछन्। के गर्ने, के नगर्ने सिकाउँछन्। समयमा नपुग्नुलाई हामी अनुशासनहीन भन्छौं। यो देश, समाज र व्यक्तिका लागि खतरनाक साबित हुन सक्छ।

समयमा आउनु, कार्यक्रमअनुसार मानिसहरूसँग कुरा गर्नु र तिनका लागि उपयुक्त काम कुरा गर्नु नेतृत्वको गुण हो। स्वतन्त्रता पाएँ भन्दैमा अनुशासनहीन काम गर्नु, समाजमा थप अनुशासनहीनता जन्माउनु हो। आफूलाई चिन्नु ठुलो चरित्र हो। तर अधिकांशलाई यो चरित्र थाहा हुँदैन।

(साम मानेक्शको भनाइ भावानुवाद गरिएको)

प्रकाशित: १९ मंसिर २०८० ०१:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App