१३ असार २०८१ बिहीबार
image/svg+xml
कला

यसैले ऊ अखबारलाई गाली गर्छ

कविता

हरेक बिहान चियाको चुस्कीसँगै

ऊ पहिला अखबार खोज्छ

प्रत्येक पाना जीवनको पाठजस्तै

एकएक गरी पल्टाउँछ

अनि ऊ अखबारलाई गाली गर्छ

सायद ऊ अखबारलाई माया गर्छ।

   -           -            -           -        

उसले नियालेर के खोजेको हो?

उसले गहिरिएर के सोचेको हो?

पाना पल्टाउँदै अँध्यारो अनुहार लगाउँछ

अखबारमै समाचारसँग लडाैंलाजस्तै गर्छ

अनि निराश हुँदै

अखबारलाई गाली गर्छ

सायद ऊ अखबारलाई माया गर्छ।

     -           -           -           -         

अखबारसँग उसको अथाह अपेक्षा भएर होला

चुच्चे नक्सा पारित हुँदा

पत्रिका किन चुच्चो नछापेको भन्छ

विदेशिनेको भिडको तस्वीर नियाल्दै

फोटामै किन बार नलगाएको भन्छ

हारेका समाचारमा पनि

जीतको चर्चा किन नगरेको भन्छ

ऊ कालो बादलमा चाँदीको घेरा खोज्छ

त्यसैले ऊ अखबारलाई गाली गर्छ।

सायद ऊ अखबारलाई माया गर्छ।

     -           -          -           -       

नेताको बोलीलाई

किन लगाम नलगाएको भन्छ

मूल्य वृद्धिको समाचारलाई

त्यही च्यातौला जस्तो गर्छ

जनताका समस्यासँग

पानामै लडौंलाजस्तो गर्छ

भोकमरीका समाचारलाई चियासँगै

चोपौलाजस्तो गर्छ

अनि अखबारलाई गाली गर्छ  

सायद उ अखबारलाई माया गर्छ।

     -           -          -           -   

उसको आलोचनाले

अखबारले रचना पाएको छ

उसको गालीले

अखबारले ताली पाएको छ

जुन दिन उसले गाली गर्न छाड्छ

त्यो दिन समग्र अखबार मर्छ

त्यसैल ऊ बारम्बार

अखबारलाई गाली गर्छ

सायद ऊ अखबारलाई अथाह माया गर्छ।

प्रकाशित: १५ मंसिर २०८० ०४:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App