२०८० असोजमा उपन्यासकार अतुल पोखरेलको तेजस्विनी सदन उपन्यासको लोकार्पण कार्यक्रममा म पनि साक्षी बनेकी थिएँ। गुरु बलराम पोखरेलका छोरा र विराटनगर, मेरा माइती ठाउँका स्रष्टा भनेपछि लेखकलाई भेट्ने मभित्र उत्कण्ठा जागेको थियो, पूरा गरें। त्यही समय विमोचित कृति हात परेको थियो। केही दिन खर्चिएर बल्ल पढेर तुर्याएँ। ६१ अध्याय र ५३९ पृष्ठमा लेखिएको पुस्तक बाहिरबाट हेर्दा नै भव्य देखिन्छ। आकर्षक आवरण चित्र र शीर्षकले मलाई पढ्ने हुटहुटी जगायो। पढेँ र पाठक प्रतिक्रिया लेख्न मन लाग्यो।
स्रष्टाले प्राक्कथनमा स्विकारेका छन्, प्रस्तुत उपन्यास प्रेमको एक पोको मात्रै हो। स्रष्टा र पाठक बीचको प्रेमानुभूति साटासाटको प्रयास हो।
साँच्चै किताब पढिसक्दा मलाई लाग्यो, यहाँ त मृदुल र सरोजिनीको प्रेम, सुचित्राको एकराजप्रतिको प्रेम, एकराजको सिमरिकाप्रतिको प्रेम, तेजस्वीनी र शार्दुलप्रतिको प्रेम अचम्मको घटना र परिघटनाको समागम बनेको छ, सिङ्गो उपन्यास।
एकराज एउटा गोठालो हो, जो बाँसुरी मीठो बजाउँछ। उसको बाँसुरी नै उसको परम मित्र हो। एकदिन उसले जङ्गलमा बाँसुरी बजाउँदै गर्दा सदनभित्रको मचानमा एउटी सुन्दरी सिमरिकालाई देख्छ। ऊ उसको सौन्दर्यमा मोहित हुन्छ। प्रेममा फस्छ।
उनलाई पाउने उसको जीवनको लक्ष्य बन्छ। ऊ बाँसुरी बेचेर, आफ्नो घर, गाईवस्तु छोडेर सदनभित्र कामको खोजीमा पस्छ। काम पाउँछ। बिस्तारै उसले त्यहाँका ठूलासाना सबै सदस्यको मन जित्छ। ऊ उनलाई पाउन हरेक दुखद् र कठोर अवस्थालाई पनि स्विकारेर आशालाई मर्न नदिइ पर्खिरहन्छ। सदनका माथिल्ला तप्काका पात्रले समेत सिमरिका उसैको हुनेछे भन्ने भरोसा दिएका थिए तर समयको उतारचढावमा के भयो जान्नका लागि पढनुस्, तेजस्विनी सदन।
तेजस्विनी सदन उपन्यासभित्र एकराजको कथा मात्र होइन, बहुल पात्रको प्रेमकथा व्यक्त भएको छ। जङ्गलको बीचमा रहेको तेजस्विनी सदनभित्रको भव्य परिवेश उपन्यासमा पढ्दै गर्दा संभ्रान्त परिवार, कुनै दरबार वा अझ भनौं राणाकालीन पात्र,चरित्रको झझल्को आउँछ। परिवारको जेष्ठ पात्र मृदुल, उनकी पत्नी तेजस्विनी हुन्। दुनियाँको नजरमा सिमरिका, उनीहरूको सन्तान भए पनि खासमा मृदुलका भाइ शार्दुल र तेजस्विनीका सन्तान हुन्।
उपन्यासका केही अध्यायमा देवरभाउजूको अनौठो प्रेम पोखिएको छ। शार्दुलकी पत्नी सुचित्रा पतीबाट तिरस्कृत छिन्। उनीहरूको बीचमा दम्भको पर्खाल छ जसले नाम मात्रको पतीपत्नी रहेका छन्। शार्दुल एउटा उदण्ड पात्रको रूपमा प्रस्तुत भएको छ। अन्यत्र स्वास्नी राख्दै हिंडने घिनलाग्दो बहादुर हो, ऊ।
सुचित्रा एकराजप्रति प्रेम दर्शाउँछिन् तर सिमरिकाको प्रेममा ऊ अन्धो छ। भव्य र आलिशन महलभित्रका पात्रहरूको मनोविज्ञान र यौन उत्कण्ठालाई उपन्यासले खोतलेको छ। पारिवारिक स्नेहको अभावमा कसरी पात्रहरू विक्षिप्त बन्नुपरेको छ? त्यस अवस्थालाई उपन्यासकारले मीठो प्रस्तुति दिएका छन्।
प्रत्येक अध्यायले नयाँ पात्र जन्माउँछ र पात्रले घटना, परिघटना निर्माण गर्दै उपन्यास अघि बढेको छ जसले कौतुहूल र रोचकता थपेको छ तर पात्रहरूको बाहुल्य र केही अध्यायमा जङ्गल र प्रकृतिको अनावश्यक वर्णनले झर्को पनि लाग्ने गर्छ। कतिपय लेखकीय विचारले मन छुन्छ। लेखकको जन्मभूमि नेपाल र कर्मभूमि विदेश भएर होला, उपन्यासमा पूर्वीय र पाश्चात्य चिन्तनको प्रभाव परेको छ।
उपन्यासको अन्तिमतिरको चरणमा आइपुग्दा शार्दुललाई जङ्गली घिसिङहरूले मारिदिन्छन्। घिसिङ महिलाहरूप्रतिको कुकृत्यले उसको जीवनलीला सकिन्छ। उसै बेला अनेक प्रपञ्च रचेर मृदुल माझीकी छोरी सरोजिनीसँग बिहे गरेर गृहत्याग गर्छन्। एकैपटक घटेका यी घटनाहरूले तेजस्विनी सहन सक्दिनन् र बहुलाउँछिन्। एकराज सदन छाडेर हिंड्छ। सुचित्रा एक्लै परेको अवस्थामा कथा सकिन्छ।
कथा दुखान्तमा सकियो भनेर पाठकको मन खल्लो हुन्छ। मेरो मनले सुटुक्क भन्छ, ‘पाश्चात्य शैलीको मान्यतालाई बोकेको सिर्जना!’तर त्यो होइन रहेछ। जब उपसंहार पढें, अलिकति रहस्य,अलिकति पूर्णता पाएँ।
स्रष्टाको यो खण्डमा २१ वर्षपछिको घटनालाई लेखकले सुटुक्क वर्णन गरेका रहेछन्।
मैले बुझे अनुसार उपन्यास भनेको एउटा सिङ्गो जीवनको चित्रण हो। मुख्य पात्रको जीवनमा घटेका घटनाहरू उतारचढावको चित्रण हो। पुस्तक पढिसकेपछि आफैसँग प्रश्न गरें, यसमा प्रमुख पात्र को हो? एकराज, मृदुल, शार्दुल, तेजस्विनी, सिमरिका या सुचित्रा? लाग्यो, उपन्यासमा नयाँ प्रयोग होला। उपन्यास सहज र सरलभन्दा बाङ्गाटिङ्गा बाटाहरूबाट बगेको प्रतीत हुन्छ।
लेखकका अनुसार लघुकथालाई उपन्यासको रूप दिएको हुँ। वास्तवमा कृतिको समपान पनि कताकता लघुकथाको जस्तै बनेको छ। पाठकका मष्तिष्कहरू समाधान खोज्न जुर्मुराउने पारेको छ। जिज्ञासाहरू एकाएक खडा गर्ने अवस्था उत्पन्न गरेको छ।
रघुनाथ को हो? जारको छोरा रघुनाथको बिहेमा मृदुल किन सदन आए र किन बाहिरिए? सदन छाडेर हिंडेको एकराज कसरी र कहिले आइपुग्यो? उपन्यासको एउटा पात्र बूढो किसानले भनेजस्तै एकराजको ‘के थाहा! दुर्भाग्य हो कि सौभाग्य हो?’
चन्द्रकान्त, रत्नमणि र विश्वराज तीन दाजुभाइ कसका छोरा हुन्? सुचित्राले सम्बोधन गरेको माइला पिताज्यू को हुन्? प्रियम्बदा र शशिकला सुचित्राकी छोरी हुन् तर बाबू को हो? सबैसबै जिज्ञासाको समाधान खोज्न उपन्यासको उपसंहार खण्ड पढ्न पाठकले छुटाउनै नहुने रहेछ।
जे होस्, सिमल बुक्स पब्लिकेशनको प्रकाशन रहेको प्रस्तुत उपन्यास पठनीय र सङ्ग्रहणीय छ। मूल्य ११००।-रूपैयाँ तिरेर पढ्दा पछुताउनुपर्ने अवस्था छैन।
प्रकाशित: ११ मंसिर २०८० ०७:०५ सोमबार