१४ असार २०८१ शुक्रबार
image/svg+xml
कला

प्रकृति-मानव तादात्म्य: छठ

संस्कृति

ॐ एहि सूर्य सहस्त्रांशो तेजोराशे जगत्पते,

अनुकम्पय मां भक्त्या गृहाणाघ्र्यं नमोस्तुते।

हे सूर्य देवता, ब्रह्माण्डका तेजस्वी ऊर्जा शक्ति, सबै रोगहरूको नास गर्ने, शान्तिको भण्डार हुनुहुन्छ। म तपाईंलाई प्रणाम गर्छु। तपाईं आफ्ना भक्तहरूलाई दीर्घायु, स्वास्थ्य र समृद्धिको आशीर्वाद दिनुहोस्।

सूर्य देवताको पूजा आराधनामा केन्द्रित छठ पूजा सनातन हिन्दु धर्मावलम्बीहरूले वैदिक कालदेखि नै मान्दै आएको एक प्रमुख पर्व हो। मानिसको जन्मदेखि मृत्युसम्म पञ्च तत्व र प्रकृतिको सम्बन्ध रहने हुँदा प्राचीन कालदेखि प्रकृति पूजन चल्दै आएको छ, जसमा सूर्य, अग्नि, वायु, जल, पृथ्वी सबैलाई दैविक शक्तिका रूपमा पूजा र आराधना गर्दै आइएको छ। अन्धकारमय जगत्मा सूर्यको उत्पत्तिबाट सृष्टि चलेको हुनाले सृष्टिको आदिकालदेखि नै साक्षात् सूर्यको वन्दना गर्ने प्रचलन रही आएको मानिन्छ। वैदिक साहित्यमा ‘तमः आसित’ अर्थात् सृष्टिको उत्पत्ति हुनुअघि सर्वत्र अन्धकार थियो।

हिरण्यको गर्भबाट एउटा दिव्य तेज गोलाकार रूपमा प्रकट भयो। त्यो तेज दिगन्त व्यापक भएकाले ‘सूर्य आत्मा जगस्तस्युषश्य’ भनेर नै ऋग्वेदमा व्याख्या गरिएको छ।

 सूर्यको प्रकाशले सबै अन्धकार त मेटायो नै, शारीरिक, मानसिक, आत्मिक उपचारमा पनि आधुनिक चिकित्साले समेत सूर्यको प्रकाशको महत्त्व दर्साएको छ।

यो जीवनमा यथार्थ बनेको छ। सूर्यका सात किरणबाट सप्त किरण र तिनै सप्त किरणबाट सात रङ बनेको आधुनिक वैज्ञानिकको समेत भनाइ छ। मानव शरीरमा उष्णता प्रदान गर्ने, छाला सम्बन्धी रोग निर्मूल गर्ने, नकारात्मक ऊर्जालाई सकारात्मक ऊर्जामा परिणत गर्ने रहस्यमय शक्ति भएकै कारण सिन्धु घाँटीको सभ्यतादेखि लिएर पुराण र शास्त्रमा समेत सूर्यदेवको महत्त्व र तमसोमा ज्योतिर्गमयको भावलाई मानव जीवनसँग आत्मसात गरिँदै आइएको छ।

मिथिला संस्कृति र सनातन वैदिक परम्परा

छठ पर्व तराईवासीले मान्ने पर्व, विशेष गरी मिथिलामा सूर्य उपासना मिथिला वैदिक धर्मको सर्वाङ्गीण अभ्यूथानका लागि प्रसिद्ध थियो भनेर बुझिन्छ तर आजकल नेपालका सबै भूभागमा छठ पर्व मानिन्छ।

काठमाडौंको वाग्मती नदी किनारदेखि लिएर सबै ठाउँमा छठलाई प्रकृति पूजासँग जोडेर हेरिन्छ। अब यो मिथिलाको मात्र नभएर राष्ट्रिय पर्व बनेको छ। उपनिषद्कालीन मिथिला विशेष रूपमा आध्यात्मिक चिन्तकको उद्भव भूमि थियो भनेर व्याख्या गरिएको पाइन्छ। जसको पोषक राजा जनक याज्ञवल्कय मैत्रेयी, गार्गी अष्टावक्र, सदानन्द आदि थिए।

‘धर्मस्य निर्णयोज्ञेयः मिथिला व्यवहारतः’ भन्ने उक्तिले यसलाई प्रमाणित गर्छ। यसै वैदिक परिवेशमा मिथिलामा सूर्य पूजा प्रारम्भ भएको मानिन्छ। कात्तिक महिना शुक्ल पक्षको षष्ठी तिथि जुन अपभ्रंश भई छठ भएको हो। षष्ठी–छठि–छठ हुँदै छठ पर्व भएको मानिन्छ। सूर्यसँग षष्ठी तिथिको सम्बन्धको चर्चा ब्रह्मवैवर्त पुराणमा उल्लेख भएको छ।

 यस पुराणअनुसार प्रकृतिदेवीले आफूलाई पाँच भागमा विभाजित गरिन्-दुर्गा, राधा, लक्ष्मी, सरस्वती र सावित्री। यिनी पूर्ण प्रकृतिदेवी हुन्। यिनका अंश र कलाबाट अनेकौं देवीहरूको उत्पत्ति भयो, जस्तो कि मार्कण्डेय पुराणमा भनिएको छ-‘स्त्रियः समस्ता सकला जगत्सु’। प्रकृतिदेवीको एउटा प्रधान अंशलाई देवसेना भनिएको छ, जसलाई श्रेष्ठ मातृका मानिएको छ। यसलाई समस्त शिशुहरूको रक्षिका देवी मानेको छ।

प्रकृतिमा छैटौं अंश भनेका कारण यसलाई षष्ठी देवी भनेको छ। शिशु रक्षिका भएको हुनाले यी देवीको पूजा विशेष रूपमा हुन्छ।

यो बच्चा जन्मेका छैटौं दिन होस् वा कात्तिक शुक्ल पक्षको षष्ठी तिथिको होस्। मिथिलामा यी देवीको नाम ब्रह्मवैवर्त पुराणको प्रकृति खण्डमा काव्यायानी भनेको छ। अर्थात् ‘षष्ठा प्रकृतये चसा च षष्ठी प्रकृर्तिता’। एकातिर देवी र नारी शक्तिको महिमा, अर्कोतिर प्रकृति र प्रेमलाई साथसाथ महत्त्व दिएकाले पनि यो सनातन धर्म र परम्पराको हिस्सा बनेको छ र सबैले छठ पर्वलाई प्राकृतिक पर्वका रूपमा समेत मान्न थालेका छन्।

छठ पूजा विधि र आस्था

सन्तान सुख, सौभाग्य र परिवार सुखका साथै समृद्धि एवं ऐश्वर्यले परिपूर्ण हुनका लागि सूर्य भगवान्को आराधना जरुरी छ भनी छठको पूजा र व्रत गर्ने श्रद्धा र आस्था परम्परागत प्रचलन हो।

षष्ठी तिथिभन्दा पहिले नै तीन दिन कठोर व्रत बसी पञ्चमीको दिन एक छाक नुनरहित भोजन गरेर, षष्ठीको दिन निर्जला व्रत अर्थात् जल पनि नपिएर अस्ताउँदो सूर्य नारायणको विधिपूर्वक पूजा गरी अर्घ दिने र सप्तमीको प्रातःकाल, बिहानै महिलाहरू पवित्र नदी किनारमा गएर स्नान गरी उदाउँदो सूर्यलाई अर्घ दिएर मात्र जल ग्रहण गर्ने र पूजा विधि समाप्त गर्ने प्रचलन छ। अर्थात् छठ पर्व चार दिनसम्म मनाइन्छ।

पहिलो दिन अर्थात् चतुर्थी दिनलाई अरवा–अरवाइन तथा नुहाईखुवाई भन्दछन्। यो दिन व्रत बस्नेले भोजनमा माछामासु, लसुन, प्याज, कोदो, मासुर आदिको त्याग गर्छन्। नङ कटाई, नुहाईधुवाई गरी सर्वाङ्ग शुद्ध भई यसै दिनदेखि व्रत बस्न थाल्छन्।

पञ्चमी तिथिलाई खरना (अखण्ड-संरक्षण) भनिन्छ। यस दिन व्रतालुले दिनभरि निर्जला बस्छन् र यति चन्द्रोदयपछि चन्द्रमालाई खिर अर्पण गरी सोही प्रसाद ग्रहण गर्छन्। यस दिनपछि व्रतालुले पूर्ण व्रत लिनुपर्छ भनिन्छ।

षष्ठीका दिन अपराह्नदेखि नै त्यस जलाशय पोखरी नदीमा परिवारका सदस्यहरू मिलेर पूजा सामग्रीहरू जम्मा गर्छन्। सन्ध्याकालीन अर्घका लागि पानीमा प्रवेश गर्छन्। स्नान गरी हातमा पूजा सामग्रीहरू लिएर पश्चिमतिर फर्की अर्घ दिन्छन्।

त्यस्तै सप्तमी तिथिमा प्रातःकालीन सूर्यलाई अर्घ दिइन्छ। यस अवसरमा महिलाहरूले मधुर कण्ठबाट छठी माताको गीत गाउँछन्। अर्घ सम्पन्न भएपछि परिक्रमा गरी घर फर्किने र घरमा गई सूर्यपुराण श्रवण गर्ने चलन पनि छ, यसरी छठव्रतको समापनको उल्लेख गरिएको पाइन्छ।

भविष्य पुराण र ब्रह्मवैवर्त पुराणमा छठी देवीको पूजाबारे चर्चा गरिएको छ। विद्यापति कृत वर्षकृतमा प्रतिहार षष्ठीका रूपमा सूर्य षष्ठीको चर्चा गरिएको छ। यस प्रकार छठ पर्वलाई छठी माता, सूर्यषष्ठी र प्रतिहार षष्ठी पनि भनेको छ। यी सबै नाममा षष्ठी तिथिको उल्लेख भए तापनि षष्ठी तिथि मुख्य नभई षष्ठीसँगै सप्तमी तिथिको पनि प्रधानता छ।

यसलाई प्रतिहार षष्ठी पनि भनेको छ। प्रतिहारको अर्थ अर्को दिन पूजाको ढोका खोल्नु हो। यस प्रतिहार शब्दले षष्ठी तिथिलाई गौण बनाई सप्तमी तिथिलाई महत्त्व प्रदान गरेको छ। जसलाई पूजाको समापनको दिन पनि भन्न सकिन्छ। सप्तमी तिथि सूर्यको तिथि हो र यसले रोग निवारक धन–धान्य प्रदान कर्ता दीर्घायू तथा सन्तान सुख प्रदान गर्ने तथा षष्ठी देवी सन्तान रक्षा गर्ने पर्वका रूपमा मान्दै आइएको उल्लेख छ।

जीवन र अनुशासनमा प्रकृति

जुनसुकै आस्था, धर्म, पूजा र आराधनाले पनि प्रकृति–पूजनलाई एक अभिन्न संस्कृतिका रूपमा मानेको विशिष्ट परम्परा छ। प्रकृति–पूजनले मानव र प्रकृतिबिचको सम्बन्ध र अनुशासनलाई बढाउँछ।

प्रकृति जोगाउनु नै पुण्य–कार्य हो। हाम्रा पुर्खाले यही सिकाएका थिए हामीलाई। अहिले बढ्दै गएको प्रकृति–दोहन, जलवायु परिवर्तनको असर र मानिसको जीवनमा नास हुँदै गएको अनुशासनलाई यथास्थानमा ल्याउन छठ पर्वले स्मरण गराएको छ। मानिस प्राकृतिक गुणमा मात्र रमाउन सक्छ, प्रकृतिबिना मानिसको अस्तित्व रहँदैन। त्यसैले कृत्रिमताबाट प्राकृतिक हुनका लागि छठ पर्वले मद्दत गर्नेछ र मनुष्य भएर जिउनुको अर्थ दर्साउनेछ।

प्रकाशित: २ मंसिर २०८० ०१:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App