१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

तिहारमा लक्ष्मी-पूजन

संस्कृति

मानव जीवनका दुई प्रमुख चाहना छन्। पहिलो वैभव–प्राप्ति र दोस्रो मोक्ष–प्राप्ति। सनातन हिन्दु धर्ममा सबै प्रकारका इच्छा प्राप्तिका लागि छुट्टाछुट्टै मन्त्र साधनाको विधान छ। त्यस्तै धन–प्राप्तिका लागि आमा लक्ष्मीको मन्त्र जप र पूजन गर्ने विधान छ। यसका लागि प्राचीन धर्म ग्रन्थहरूमा खास मुर्हूतमा मन्त्र जप, विशेष पूजा र साधनाका लागि वर्णन गरिएको छ। यसको साथ–साथ हामीहरूको आचार–विचार, वाणी–व्यवहार तथा भाव र कर्मशुद्धिका लागि पनि वर्णन गरिएको छ, किनकि हाम्रो विचार र सोचाइ, वाणी र व्यवहार, कर्म र कर्तव्यले नै हाम्रो भविष्यको निर्माण गर्छ तथा सफलताको बाटो खोल्छ।

तिहारमा लक्ष्मी पूजाको इतिहास धेरै पुरानो हो। यो नेपालको प्रमुख पर्व हो। कात्तिक आमावास्यको दिन यो पर्व मनाउने गरिन्छ। शुभ मुर्हूतमा विधिविधानअनुरूप धनकी देवी लक्ष्मीको पूजा गर्नुपर्छ। राम र सीता जब वनवासकाल समाप्त गरेर अयोध्या आए, त्यस उपलक्ष्यमा अयोध्यावासीले दियो बालेर स्वागत गरे।

ऋग्वेदको पुरुषसूक्तमा सबैभन्दा पहिला लक्ष्मी शब्दको उपयोग गरिएको थियो। विष्णु र लक्ष्मी एक अर्कामा अभिन्न छन्। दुर्गाका हजार नाममध्ये एउटा लक्ष्मी हो। स्त्रीका चौंसट्ठी कला हुन्छन् भन्ने मानिन्छ। सम्पूर्ण कलाले विभूषित छिन् लक्ष्मी। ‘लक्ष्मी’ शब्दको अर्थ सम्पन्नता, सौभाग्य र सुन्दरता भन्ने हुन्छ।

लक्ष्मीको स्वभाव धेरै नै चञ्चल छ। उनको कृपा प्राप्तिका लागि तिहारको राति थिर मुहूर्तमा विशेष पूजा गर्ने परम्परा प्राचीनकालदेखि चलिआएको छ। ज्योतिष विज्ञानअनुसार वृश्चिक, कुम्भ, वृष र सिंह लग्नलाई थिर मानिन्छ। यस लग्नमा पूजा र साधना गरे महालक्ष्मी प्रसन्न हुन्छिन् र धन प्राप्तिको आर्शीवाद दिन्छिन्।

आचार्य चाणक्य भन्छन्:

मूर्खाः यत्र न पूज्यन्ते,धान्यं यत्र समन्वितम्,

दाम्पत्ये कलहो नास्ति, तत्र श्री स्वयमागता।

अर्थात् जुन ठाउँमा मूर्खहरूको पूजा हुँदैन, श्रीमान्–श्रीमतीमा व्यर्थ कलह र विवाद हुँदैन, त्यहाँ सदैव लक्ष्मी रहन्छिन् र धनको भण्डार रहन्छ। यसको सिधा अर्थ हुन्छ-समाजमा महापुरुष, विद्वान् र ज्ञानीहरूको आदर गर्नुपर्छ। परिवारमा नारीलाई सम्मान दिनुपर्छ। जसले गर्दा धन आगमनको बाटो खुला रहन्छ।

ऋग्वेद सबैभन्दा पुरानो धर्मग्रन्थ हो। यसमा लेखिएको छ-‘भदैषां लक्ष्मीनिहताधिवाची’। यसको अर्थ हुन्छ-महापुरुषको वाणीमा लक्ष्मीको वास हुन्छ। यसकारण महापुरुषको मार्गदर्शनमा हिँडियो भने सफलता र समृद्धिको बाटो खुला रहन्छ।

दुर्गा सप्तशतीको चतुर्थ अध्यायमा लेखेको छ:

या श्री स्वयं सुकृतिनां भवनेष्वलक्ष्मी,

पापात्मनां कृतधियां ह्दयेषु बुद्धि।

श्रद्धा सतां कुलजन प्रभवस्य लज्जा,

तां त्वां नताः स्म परिपालय देवि विश्वम्।

अर्थात् पुण्यात्माहरूको घरमा भगवती स्वयं लक्ष्मीका रूपमा विधमान रहन्छिन् र पापी, अधर्मी एवम् दुष्कर्म गर्नेहरूसँग सधैं दरिद्रता रहन्छ।

लक्ष्मी पूजामा उपयोग हुने सामग्री

कमलको फूल: शास्त्रानुसार कमलको फूल भगवान् विष्णुको नाइटोबाट उत्पन्न भएको मानिन्छ। कमल हिलोमा उत्पन्न हुन्छ। यसबाट जीवनको संघर्षबाट जित्ने प्रेरणा पाइन्छ। सायद यिनै दुई कारणले गर्दा महालक्ष्मी पूजनमा कमल-पुष्पको विशेष महत्व छ। कमल पवित्रताको पनि प्रतीक हो। कमल-पुष्पमा आठ पात हुन्छन्। यो मानवीय यी आठ गुणको प्रतीक हो-दया, शान्ति, पवित्रता, मंगलकामना, प्रेम, सरलता, उदारता र सर्वकल्याण। मान्छेमा जब यी आठ गुण समाहित हुन्छन्, ईश्वरको कृपा प्राप्त हुन्छ।

श्रीयन्त्र: तिहारमा लक्ष्मी पूजनका बेला श्रीयन्त्रको पनि पूजा गर्नु धेरै कल्याणकारी हुन्छ। स्फटिकको श्रीयन्त्र स्थापित गर्नु राम्रो हुन्छ। हामीले आआफ्नो पूजा घरमा तिहारको राति शुभ मुर्हूतमा श्रीयन्त्रको स्थापना गरे धेरै राम्रो हुन्छ। स्थापित गर्ने बेला निम्नलिखित मन्त्रको ११ पटक उच्चारण गर्न लाभकारी हुन्छ:

ॐ श्रीं ह्रीं श्रीं कमले कमलालये प्रसीद प्रसीद श्रीं ह्रीं श्री ॐ महालक्ष्म्यै नमः।

एकाक्षी नरिवल: एक आँखा भएको नरिवललाई श्रीफल भनिन्छ। लक्ष्मी प्राप्तिका लागि यसको ठुलो महत्व छ। पूजा गर्ने बेलामा तामाको भाँडामा नरिवल राख्नुपर्छ।

दक्षिणावर्त शङ्ख: दायाँतिर मुख फर्केको शङ्खलाई दक्षिणावर्त शङ्ख भनिन्छ। यो पनि समुद्रमै निर्माण भएको हो। यो देवी लक्ष्मी र भगवान् विष्णुको अति प्रिय वाद्ययन्त्र हो। पूजाका बेला शङ्खलाई चाँदीको भाँडामा राख्नु कल्याणकारी हुन्छ।

लक्ष्मी पूजनका विविध सन्दर्भ

हिन्दुहरू राम, लक्ष्मण, सीतासहित वनवासबाट सकुशल अयोध्या फर्किनेको उपलक्ष्यमा तिहार मनाउँछन्। हिन्दु संस्कृतिमा यसबाहेक पनि धेरै प्रसङ्ग छन्। तिहारकै दिन श्रीकृष्णले नरकासुरको वध गरेका थिए। त्यही उपलक्ष्यमा गोकुलवासीले दीप बालेर खुसियाली मनाएका हुन्। त्यसै दिन युधिष्ठिरले राजसूय गरेका थिए। जनताले पनि राति दीप बालेर खुसी मनाएका थिए।

राजा बलिले पनि त्यसै दिन विष्णुलाई तीन पाइला जग्गा दान गरेका थिए। बलिको दानवीरताबाट खुसी भएर विष्णुले बलिलाई पाताल लोकको राजा बनाइदिए। सोही अवसरमा पृथ्वीवासीले दीप बालेर खुसियाली मनाए।

इसा पूर्व ५२७ को यसै दिन जैन धर्मगुरु महावीर स्वामीलाई निर्वाण प्राप्त भएको थियो। सत्य युगमा समुद्र मन्थनका क्रममा चौध रत्न प्राप्त भएको थियो। त्यसमा लक्ष्मी पनि एक रत्नका रूपमा थिइन्। विष्णुसित उनको विवाह भएपछि लक्ष्मीलाई सम्पूर्ण सृष्टिको धन र ऐश्वर्यकी देवी बनाइयो। यस उपलक्ष्यमा पनि लक्ष्मी पूजा गर्ने चलन चलेको हो।

तिहारमा महालक्ष्मी पूजनको सरल विधि

तिहारको राति शुभ मुर्हूतमा लक्ष्मी र गणेशको फोटो वा मूर्ति पहेंलो लुगा बिछ्याएर दुई फुटमाथि बनाइएको आसनमा राख्ने। त्यसपछि एघार पटक ‘ॐ गण गणपतये नमः’ मन्त्रले जप गर्ने। मूर्तिअगाडि शुद्ध घिउको दियो र धूप बाल्ने र ‘ॐ श्री महालक्ष्म्यै नमः धूपं दीपं दर्शयामि’ उच्चारण गर्ने। रातो पुष्प अर्पण गर्ने र ‘ॐ श्री महालक्ष्म्यै नमः पुष्पं समर्पयामि’ भन्ने।

फल र मिठार्ई चढाउने र ‘ॐ श्री महालक्ष्म्यै नमः नैवेधम निवेदयामि’ उच्चारण गर्ने। त्यसपछि यथाशक्ति १५ देखि २५ मिनेटसम्म ‘ॐ श्री महालक्ष्म्यै नमः’ मन्त्रोच्चारण गर्ने।

यस वर्ष तिहारको दिन साँझ ५ः५५ बजेदेखि ६ः४५ बजेसम्म शुभ मुर्हूत छ। यसै समय मन्त्र जप र पूजा गर्नुहोला।

कहिल्यै पनि पूजा वा मन्त्र जप उभिएर गर्नुहुँदैन। यसरी उभिएर जप गर्नाले कुनै लाभ प्राप्त हुँदैन। पवित्र आसनमाथि बसेर ध्यानपूर्वक पूजा र साधना गर्नुपर्छ। पूजाका बेला शरीर, मन र भाव शुद्ध रहनु जरुरी छ।

जो कोही पनि दैनिक रूपमा ‘ॐ हीं श्री लक्ष्मीभ्यो नमः’ बीज मन्त्रलाई प्रतिदिन जप गरे ऋणमुक्ति प्राप्त हुन्छ र धन लाभ हुन्छ।

 -स्वामी ध्रुव ‘सृष्टि साधना केन्द्र’का प्रमुख आचार्य हुन्।

प्रकाशित: २५ कार्तिक २०८० ०३:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App