१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

साहित्यमा यौनिकता

चिन्तन

साहित्यमा धेरै लेखिएको तर विवादित विषयमा पर्छ यौन–साहित्य। विश्वभरि नै यौन–साहित्य लेख्नेहरूको सख्या धेरै छ।

नेपाली भाषा–साहित्यमा पनि यौन साहित्यको स्थान कम छैन। यस्तो साहित्यमा नारी छविको ख्यालै नगरी नारीलाई वस्तु मात्रका रूपमा प्रयोग गरिएको पाइन्छ। विशेषगरी यौनवादी कथाकारहरूले नारीलाई कामसूत्रको पात्र बनाउने गरेको पाइएको छ। सर्जक नै अराजक कल्पनामा डुबेर नारी पात्रलाई नङ्ग्याउँछ।

यौनलाई विषय बनाएर लेख्ने लेखकहरूको लर्को अटुट छ। तैपनि विश्व साहित्यको पृष्ठभूमि नियाल्दा नेपाली साहित्यमा यस्ता लेखकहरू कम नै रहेको पाइन्छ। जति छन् ती सबैमा पुरुष मानसिकता व्याप्त छ भन्दा फरक नपर्ला।

रूढिवादी सामाजिक संरचनाको प्रभाव यौन-साहित्यमा परेको पाइन्छ। साहित्यमा नारी सौन्दर्य, वासना, शृंगार, अङ्गप्रत्यङ्गकै बढी वर्णन गरिएको पाइन्छ। लेखकहरू नारीमा नैसर्गिकताका कुरा देख्दैनन्, लेख्दैनन्। उनीहरू फ्रायडदेखि कार्ल गुस्ताव जुडको सन्दर्भ जोड्न तँछाड मछाड गर्छन्। नारी वस्तु हुन् भन्नेमा उनीहरूको मौन समर्थन रहेको पाइन्छ।  

लेखक पुष्कर लोहनीसँग केही वर्ष अघि भएको कुराकानीमा यौन कथा लेख्दा किन महिला पात्रलाई नै बढी अगाडि सारिन्छ र उनीहरूको विषयमा बढी केन्द्रित भएर लेखिन्छ? भनेर सोधेको थिएँ। उनले भनेका थिए-किनकि सामाजिक-सांस्कृतिक परम्पराका कारण महिला पात्रमा यो विषय उठाउन सजिलो हुन्छ। उनीहरूप्रति केन्द्रित हुँदा समाजका विसङ्गति पनि देखाउन सकिन्छ।

पौराणिक कथा हेर्नुहोस्-द्रौपदीलाई पाँच पाण्डवमा भाग लगाइयो। राजदरबारमा उनको इज्जत लुटियो। उनलाई वेश्या भनियो। ऋषिमुनिहरूले आफ्नै प्रकारले कामवासनाको मजा लिएको कथामा पढ्न पाइन्छ। इतिहास साक्षी छ-एक राजाले सयवटी रानी विवाह गरे, दासीसँग प्रेम मोहमा परे, ती दासीहरू कुमारी आमा बने। यस्ता थुप्रै घटना समाजमा देख्न र सुन्न पाइन्छ। साहित्य यस्तै घटनाबाट पे्ररित भएर पनि हुन सक्छ। साङ्केतिक रूपले विषय उठाउन पनि सजिलो हुने भएकाले महिला पात्र अघि सारिएको हुनुपर्छ।

यौनलाई परापूर्वकालदेखि नै लेखन र चित्रकलाको मुख्य विषयका रूपमा लिने गरिएको पाइन्छ। पूर्वीय संस्कृत साहित्यमा पनि प्रत्यक्ष–अप्रत्यक्ष रूपमा यौनलाई सिर्जनाको विषय बनाएको छ। वास्तुकला, मूर्तिकलाका साथै ठुल्ठुला ग्रन्थहरू यौनिकतालाई केन्द्रीय विषय बनाएर तयार पारिएका छन्।

यौन पौराणिक कालदेखि सिर्जनात्मक विषय बने पनि हाम्रो सङ्कुचित मानसिकताका कारण खुला बहसको विषय बन्न सकेन। यो पूर्णतः गोप्य वा अगोचर पनि बन्न सकेन। सधैं विवादको  विषय बनिरह्यो।

पूर्वीय साहित्यकारहरूले नारी–रूप, सौन्दर्य, चाहना, कामसूत्र अनि वासनाको मात्र वर्णन गरिरहे। नारी त उपभोग गर्ने वस्तु मात्र हो भन्ने सन्देश मात्र फैलिरह्यो। पुरुषको चाहनालाई नै उच्च स्थानमा राखियो। नारीलाई उत्तेजित र द्रवित बनाउने उपायको व्याख्या पनि गरियो। नारीको शारीरिक रूप सज्जाको चित्रण गरियो, कामवासनाको साधनका रूपमा मात्र लिइयो तर नारीको सङ्घर्ष, पे्ररणा र जीवनशैलीबारे कमै लेखियो।

यौनलाई ऋषिमुनि र तपस्वीले पनि धेरै वर्णन गरे। सन्यासीहरूले पनि नारीका एक एक अङ्गको वर्णन गरे। भित्री–बाहिरी सबै कुरा खोलेर लेखे, चित्र कोरे। यतिसम्म उदाङ्गो पारेर नारीचरित्रको चित्रण गरियो कि नारी हातमा कब्जा गरेर राखिएको वस्तु हो।

यौन साहित्यले निरन्तर चर्चा पाइ नै रह्यो। यही विषयमा लेख्नेको संख्या पनि बढ्यो, पढ्नेले पनि धैर्यता साथ पढे। यौनवादी लेखकको ओइरो नै लागिरह्यो।

अहिले पनि यस्ता कथा लेखिएका छन् र चर्चा पनि पाएका छन्। तैपनि नारीको भावनामाथि कसैले न्याय गर्न सकेन। सम्मान पनि गर्न सकेन।

एउटा काल्पनिक सोचमा त नारी पीडित छे भने वास्तविक जीवनमा ऊ कति पीडित होली, विचार गरौं। नारी पात्रलाई किन हल्का रूपमा लिइएको छ। यस्ता यौन कथाले नारी छविमाथि ख्यालै नगरी आक्रमण गरेको देखिन्छ। नारी कथाकारहरू पनि यसमा नराम्ररी चुकेका छन्।  

सीता पाण्डे, पद्मावती सिंह, रत्न प्रजापति, राजकुमार थापा, पुष्कर लोहनी साहित्यमा यौनिकता घोल्ने साहित्यकार मानिन्छन्। मीरा प्रधान, निलम कार्की निहारिका, गायत्री विष्ट, सुधा बस्नेत, नारायण ढकालका रचनामा पनि यौन मसला त्यही रूपमा घोलिएको छ। नवराज पुडासैनी, गणेश प्रसाईं, तुलसीहरि कोइराला, देवीप्रसाद सुवेदी पनि यौन कथाकारका रूपमा परिचित छन्।

प्रायः सामाजिक परिवेशमा बाँधिएर लेख्ने यस्ता कथामा हाकिम, नोकर, पियन तथा अन्य मातहतका महिला कर्मचारीमाथि गरिने व्यवहार कथावस्तु हुने गर्छ।

शक्तिको आडमा मातहतका महिला कर्मचारीमाथि गरिने यौनजन्य क्रियाकलापलाई यौन साहित्यमा समेटिएको पाइन्छ। यसमा पनि महिला निस्क्रिय यौन प्रेरक बन्छे र पुरुषले आफ्नो इच्छालाई पूर्ण गरेको पाइन्छ। सायद मेरो भ्रम हुन सक्छ, पुरुषलाई नाङ्गो बनाएर पुरुषभित्रको पुरुषलाई पनि त उथलपुथल पार्दै चित्रण गर्न सकिन्छ तर पुरुषलाई चाहिँ किन चोखो राखिएको छ? नेपाली साहित्यका जुनसुकै विधामा महिलाकै अङ्ग मात्र किन वर्णन गरिन्छ? नेपालीमा यौन साहित्य एकोहोरो रोटीझैं पाकिरहेको छ।

यौन साहित्य आफैमा नराम्रो होइन। यो उच्च ओहोदाको साहित्य सिर्जना हो। विश्वले यौन साहित्यलाई उच्च स्थानमा राखेको छ। धेरै लेखिने र धेरै पढिने साहित्य भएर होला। यो विषयका पुस्तकहरू रोमान्टिक रूपमा पढिन्छन्। यस्ता पुस्तक चर्चित पनि छन्। यसैले होला, नयाँ पुस्ताका लेखकले पनि यौनलाई विषय बनाएर थुप्रै कृति लेखेका छन्। 

प्रकाशित: १८ कार्तिक २०८० ०२:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App