१२ असार २०८१ बुधबार
image/svg+xml
कला

जीर्ण बन्दै डोरबहादुर विष्टले बनाएका संरचना

मानवशास्त्री डोरबहादुर विष्टले पातारासीमा खोलेको कर्णाली इन्स्टिच्युट। तस्बिर: गोल्डेन/नागरिक

पातारासी गाउँपालिका-५ चौधबीसस्थित जप्नगाउँका ६२ वर्षीय पूर्णबहादुर बुढाले मानवशास्त्री डोरबहादुर विष्टको प्रतीक्षा गर्न थालेको झन्डै २६ वर्ष पुग्न लाग्यो। ‘न कसैले खोजे, न केही खबर पाइयो,’ बुढाले भने, ‘अझै पनि उनी फर्किन्छन् भन्ने आशा छ।’

उनका छिमेकी हरिचन्द्र बुढा पनि चौधबीस क्षेत्र बदल्ने डोरबहादुरको प्रतीक्षामा छन्। ‘विष्ट अहिले हामीसँग त छैनन् तर उनले गरेका काम हाम्रा लागि प्रेरक छन्,’ उनले भने, ‘उनका काम आँखाअगाडि देख्दा डोरबहादुरलाई बिर्सिनै मुस्किल हुन्छ।’ स्थानीयका अनुसार विष्ट चौधबीस क्षेत्रका भविष्य-रेखा हुन्।

मानवशास्त्री विष्टले पातारासी-५ डोलकाटीमा २०४८ सालमा कर्णाली इन्स्टिच्युट खोले। उनको गाउँलाई नै अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने धोको थियो। डोरबहादुरले पहिलोपल्ट गाउँमा शिक्षक ल्याएर चौधबीसमा शिक्षाको ज्योति फैलाएका थिए। उनले ऋणमोक्ष मावि स्थापना गरी विद्यार्थीको सहज पठनपाठनमा साथ दिए।

२०५० सालमा नजिकैको लम्केली खोलामा विद्युत् निर्माण गरी गाउँ झिलिमिली बनाइदिए। चौधबीसको विकासका लागि उनले विदेशी दाताहरू गाउँमा ल्याए। उनको सक्रियतामा हेलिप्याड बनेपछि आएको हेलिकोप्टर हेर्न आसपासका गाउँलेहरूको पनि भिड लागेको थियो।

‘विष्टको चौधबीस बदल्ने ठुलो सपना थियो,’ हरिचन्द्रले भने, ‘तर त्यो सपना कहाँ गयो? कुन दैवले टुटायो? पत्तै भएन।’ विष्टले स्थानीयलाई विभिन्न कृषि उत्पादनसँग जोडे भने चौधबीस क्षेत्रबाट सडक खनेर सदरमुकाम खलंगा पुर्‍याउने योजना बुनेका थिए।

हेलिकोप्टरबाट गाडी ल्याएर गाउँदेखि खलंगासम्म सवारी आवागमन सुरु गर्ने उनी बताउँथे। चौधबीसका ६९ वर्षीय कन्नबहादुर बुढाका अनुसार पातारासीको लासीमा बृहत् पर्यटकीय भवन बनाएर चौधबीस क्षेत्रका हरेक पर्यटकीयस्थलको अभिलेखीकरण गर्ने काम पनि विष्टले थालेका थिए।

‘खस भाषा बचाउनेदेखि चौधबीसको समग्र समृद्धिको खाका कोर्ने काममा उनले धेरै काम गरेका थिए,’ कन्नले भने, ‘गाउँमा पहिलोपल्ट इन्जिनियर ल्याएर विभिन्न विकास निर्माणका योजना उनैले बनाएका हुन्।’

डोरबहादुर भएको भए अहिलेसम्म पातारासीको मुहार फेरिन्थ्यो। डोरबहादुरका छोरा केशर र नाति विराज पनि चौधबीसमा पुगे। उनीहरू सरकारी लाभको पदमा समेत थिए तर छोरानातिले पनि बाबुले थालेका कामलाई निरन्तरता दिन नसकेको स्थानीयको गुनासो छ।

कन्नबहादुर अहिले पनि दैनिक डोरबहादुरको निवाससमेत रहेको कर्णाली इन्स्टिच्युटमा पुग्छन्। खरायोका लागि घाँस काट्छन् र डोरबहादुरलाई सम्झिँदै घर फर्किन्छन्। उनी हराएको लामो समय बित्दा पनि सरकारले कुनै पहल नगरेको उनको गुनासो छ।

डोरबहादुर हराएपछि उनले बनाएका संरचना जीर्ण बन्दै गइरहेका छन्। २०४७ सालको अन्त्यतिर जुम्ला पुगेका विष्टले चौधबीस क्षेत्रको विकास र सामाजिक रूपान्तरण गर्न पातारासी-५ डोलकाटीलाई स्थायी कर्मथलो बनाउने निधो गरेका थिए।

विष्ट २०५२ पुस २५ गते नेपालगन्ज जान्छु भनेर गाउँबाट हिँडे पनि अहिलेसम्म सम्पर्कमा छैनन्। उनले कर्णाली इन्स्टिच्युटका सचिव पूर्णबहादुर बोहोरालाई संस्था जिम्मा लगाएर हिँडेका थिए।  

प्रकाशित: १७ कार्तिक २०८० ०२:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App