२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

जैमिनीमा शिल्पी संग्रहालय बन्ने

जिल्लाको जैमिनी नगरपालिका-७ ,जैदीमा राष्ट्रिय दलित संग्रहालय तथा अनुसन्धान केन्द्र निर्माण गरिने भएको छ। जैमिनी नगरपालिकाले संग्रहालय तथा अनुसन्धान केन्द्र निर्माण गर्ने भएको हो। संग्रहालयमा दलित समुदायभित्रका विभिन्न जातिको कला कौशल र सीपसँगै वेशभूषा, भाषा संस्कृति र चालचलन दर्शाउने वस्तुहरूको संग्रह गरिने छ।

त्यस्तै दलित समुदायको बृहत अध्ययनका लागि अनुसन्धान केन्द्र बनाउन लागिएको जैमिनी नगरपालिका-७ का वडाध्यक्ष केन्द्रबहादुर सुनारले बताए।

‘विभिन्न ठाउँमा गएर विभिन्न जाति र समुदायको संग्रहालय हेरियो,’ वडाध्यक्ष सुनारले भने, ‘दलित समुदायको कला, संस्कार, संस्कृति समावेश गरिएको संग्रहालय देखिएन। त्यसपछि यहाँ राष्ट्रियस्तरको दलित संग्रहालय निर्माण गर्ने योजना बनाएका हौं। यसलाई जैमिनी नगरपालिकाले अपनत्व लिएर अगाढि बढाउने भएको छ।’

जातिय विभेदका कारण दलित समुदाय आफ्नो सीप र क्षमताबाट विस्थापित हुँदै गएकाले संग्रहालयको आवश्यकता परेको उनी बताउँछन्। ‘दलित समुदाय शिल्पी हो, हिजोका दिनमा पेसाका आधारमा जात निर्माण गरिएको र त्यसैका आधारमा गरिएको विभेदले गर्दा आफैंमा इन्जिनियर दलित समुदाय आफ्नो पेसाबाट टाढा हुँदै जाने स्थिति पैदा भएको छ,’ उनी भन्छन्, ‘शिल्पी समुदायको कला, संस्कृति, सीपको संरक्षण गर्ने र पछाडि पारिएको यो समुदायका बारेमा अध्ययन र अनुसन्धान गर्ने थलो बनाउने हाम्रो योजना हो।’

राष्ट्रिय दलित संग्रहालय तथा अनुसन्धान केन्द्र निर्माणका लागि जैमिनी नगरपालिकाले प्रारम्भिक चरणको छलफल चलाएको छ। बागलुङका १० वटै पालिका र दलित अधिकारकर्मीहरूबीच अवधारणा प्रस्तुतीकरण र छलफल गरिएको छ।

संग्रहालय निर्माणका लागि विभिन्न चरणमा दलित अधिकारकर्मीसँग छलफल चलाएको जैमिनी नगरपालिका कार्यपालिका सदस्य लालबहादुर परियारले बताए। ‘हामीले संग्रहालय निर्माणका लागि दलित अधिकारका क्षेत्रमा काम गर्ने अधिकारकर्मीसँग विभिन्न चरणमा छलफल चलाएका छौं,’ उनले भने, ‘त्यही अभियानका क्रममा बागलुङका सबै स्थानीय सरकार र यहाँका दलित अधिकारकर्मीसँग पनि छलफल गरिएको हो। यो योजनालाई जैमिनी नगरपालिकाले औपचारिक रूप दिएपछि छलफल सम्भव भएको हो।’

राष्ट्रियस्तरको दलित संग्रहालय निर्माणलाई मूर्त रूप दिन सबैको सहयोग आवश्यक रहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा बताउँछन्। ‘यहाँ संग्रहालय निर्माण गर्ने कुरा हिजोका दिनसम्म केही साथीहरूको सपना थियो, अहिले त्यसलाई सिंगो जैमिनी नगरपाकिाको सपना बनाएर योजनाका साथ अगाडि बढिरहेका छौं,’ शर्माले भने, ‘यसलाई समग्र बागलुङ र नेपालकै सपना बनाएर पूरा गर्नुपर्नेछ। हामीले केवल संग्रहालय मात्र बनाउने भनेका छैनौं, अध्ययन र अनुसन्धान केन्द्र पनि बन्नेछ।’

यो अभियानलाई सर्वस्वीकार्य बनाउँदै अन्तरपालिका सहकार्यका लागि छलफलसमेत थालिएको उनले बताए। ‘एउटा पालिकाले सञ्चालन गर्ने महत्वपूर्ण योजनामा अर्को पालिकाबाट पनि सहयोग र सहकार्य हुने वातावरण मिलाउन पनि छलफल थालिएको हो,’ उनी भन्छन्।

जैमिनी नगरपालिका प्रमुख नरबहादुर पुन वर्षौंदेख विभेदमा पारिएको दलित समुदायलाई मूलधारमा ल्याउन रहेको बताउँछन्। ‘हिजोका दिनमा के कसरी विभेदको सुरुवात गरियो, त्यसबारेमा पनि अनुसन्धान गर्नुपर्नेछ,’ उनी भन्छन्, ‘अहिलेको समयमा विभेदको अन्त्य गर्दै समतामूलक समाज निर्माण गर्नुपर्छ। त्यसका लागि हामीले संग्रहालयलाई अध्ययन अनुसन्धान केन्द्र पनि बनाउने तयारी थालेका छौं।’

अहिले प्रारम्भिक चरणको काम भइरहेको र अब डिपिआर बनाएर निर्माणका लागि आर्थिक स्रोत जुटाउने अभियानमा लाग्ने उनी बताउँछन्। ‘यो एउटा ठूलो परियोजना हो, त्यसैले नगरपालिकाको बजेटबाट मात्र निर्माण सम्भव छैन,’ उनले भने, ‘अन्तरपालिका सहकार्य, प्रदेश र संघ सरकारको सहयोगमा हामीले यो काम सम्पन्न गर्ने योजना बनाएका छौं। स्रोत जुटाउने र निर्माण अगाडि बढाउने गरी अहिले छलफल थालिएको छ।’

छलफल कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले कामको सम्मान नहुँदा जातीय विभेद बढेको बताए। ‘मानव जीवनमा आवश्यक उपकरण र सामग्री बनाउने दलित समुदायमाथि विभेद हुनु भनेको कामको सम्मान नहुनु हो,’ उनले भने, ‘कामको सम्मान नभएकै कारण दलित समुदाय पेसाबाट विमुख भएका छन्।’

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले नागरिकको जीवनस्तर उकास्ने विषयमा आवश्यक सहयोग र सहकार्य गर्दै अगाडि बढ्ने बताए। ‘हिजोका दिनमा जातका आधारमा विभेदको सुरुवात गरियो, हाम्रो समाजमा अहिले पनि त्यो प्रथा कायमै छ,’ उनले भने, ‘त्यही विभेदका कारण सिंगो समुदाय नै पछाडि पर्‍यो। पछाडि पारिएको समुदायको उत्थानका लागि एकआपसमा सहयोग र सहकार्य गर्दै अगाडि बढ्नेछौं। 

’निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले विभेद गरिएकाले दलित समुदायले आफ्नै पेसामा गर्व गर्न नसकेको बताए। ‘आरन चलाउने, बाजा बजाउने कुराबाट दलित समुदाय विमुख हुँदै गएपछि अहिले ती पेसामा अन्य समुदायका मानिस लाग्न थालेका छन्,’ उनले भने, ‘विभेदको कारण पेसालाई बनाउँदा समस्या देखिएको छ।’

गलकोट नगरपालिका कार्यपालिका सदस्य रामप्रसाद विकले बाहिरबाट हेर्दा विभेद सामान्य हुँदै गएको जस्तो देखिए पनि भोग्नेलाई निकै गहिरो भएको बताए। ‘विभेद जसले भोगेको छ, उसले थाहा पाएको छ कति गहिरो छ भनेर,’ विकले भने, ‘देख्नेलाई सामान्य लाग्न सक्छ।’ छलफलमा बागलुङका सबै पालिकाले जैमिनीमा निर्माण हुने राष्ट्रिय दलित संग्रहालय र अनुसन्धान केन्द्रका लागि आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाए।

छलफलमा दलित अधिकारकर्मी टीकाकुमारी विश्वकर्मा हिजोका दिनमा राज्यले नीति नै बनाएर विभेद गरेकाले अहिले कानुनबन्दा पनि विभेद नरोकिएको बताउँछिन्। ‘कानुनी रूपमा जातीय विभेद उन्मुलन भएको धेरै भयो तर व्यावहारिक रूपमा अझै हुन सकेको छैन, समाजमा गहिरो जरा गाडेर बसेको यो समस्या समाधानका लागि कानुन कार्यान्वयन नहुँदा पनि बाधा भएको छ,’ उनले भनिन्। 

प्रकाशित: २१ आश्विन २०८० ०३:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App