४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
कला

‘एनआरएन द सिङगर’ का सेमिफाइनलिस्टकाे टुंगो

‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाजको’ मूल नारासहित संचालन भइरहेको रियालिटी सो ‘एनआरएन द सिङगर’ का सेमिफाइनलिस्टहरुको टुंगो लागेको छ।

प्रतियोगिता अन्तर्गत १२ जना प्रतिस्पर्धीहरू मध्येबाट अनलाइन भोट र निर्णायकहरूको मूल्याङ्कनबाट उत्कृष्ट १० जनाको छनोट गरिएको हो। उत्कृष्ट १० बाट अब ग्रान्ड फिनालेका लागि ५ जना छनोट हुने छन्। त्यसका लागि अनलाइन भोटिङ खुला भएको कार्यक्रम उत्पादक युनिटेकका सुरज राईले जानकारी दिए।

आयोजकका अनुसार झापा घर भएका युएई बस्ने भीम शेर्मा लिम्बूले उत्कृष्ट १० मा स्थान बनाएका छन्। ३६ वर्षीय लिम्बूले शिव परियारले गाएको ‘रित्तो रित्तो छु म’ भन्ने बोलको गीत प्रस्तुत गरेका थिए।

यस्तै, काभ्रे घर भई जापान बस्ने ३० वर्षीय कर्मा दोङ तामाङले विक्रम गुरुङको शब्द तथा अरुण थापाको स्वरमा रहेको ‘आँखाको निंद खोसिएला नि’ बोलको गीत प्रस्तुत गर्दै उत्कृष्ट १० मा स्थान बनाउन सफल भए।

त्यसैगरी पोर्चुगल बस्ने दाङ घर भएका सुवास चन्द्र पुन मगरलाई स्वरसम्राट नारायण गोपालको ‘सल्ला झैं आमा सुसाइ रहिन, अल्झेछ क्यारे पछ्यौरी’ बोलको गीतले टप १० मा प्रवेश गराएको छ।

मोरङ घर भई हाल कतारमा बसोबास गर्ने लोकेन्द्र दूधराजले नारायण गोपालले गाएको ‘वीरताको चिनो’ बोलको गीत प्रस्तुत गरेका थिए। त्यसैगरी नर्वे बस्ने चितवनका विष्णु क्षेत्रीले गुलाम अलिले गाएको ‘लोलाएका दुई ती तिम्रा ठूला नयन’ बोलको गजल प्रस्तुत गर्दै अन्तिम १० मा स्थान पक्का गर्न सफल भएका थिए।

दक्षिण कोरिया बस्ने पाँचथरको प्रदीप कोयु राईले दीपेश किशोर भट्टराईको ‘मलाई माफ गरिदेऊ मेरा लोभी नजर’ बोलको गीत प्रस्तुत गर्दै आफूलाई सेमिफाइनलमा पुर्‍याएका छन्।

जर्मनी बस्ने काठमाडौंका केदार कार्कीले नारायण गोपालको गीत ‘आजै र राती के देखेँ सपनी मै मरी गएको’ गीत गाउँदै अन्तिम १० मा स्थान बनाए। यसैगरी काठमाडौं घर भएकी युके बस्ने १७ वर्षिया युक्ती बलामी, मोरङ घर भई युएई बस्ने कृष्ण खवास र भोजपुर घर भई कतार बस्ने गुन मगर निशुले पनि अन्तिम १० मा स्थान बनाएका छन्।

अब उनीहरु उत्कृष्ट ५ मा पर्नका लागि अक्टोबर ९ सम्मका लागि अनलाइन भोटिङ खुला भइसकेको छ।

ग्रान्ड फिनालेमा पुग्ने ५ जनाको छनोट उत्कृष्ट १० बाट ग्रान्ड फिनाले (फाइनल) मा पुग्ने ५ जनाको छनोट गर्दा ७५ प्रतिशत भोटिङ र २५ प्रतिशत निर्णायकको अंकले काम गर्ने छ। ग्रान्ड फिनालेमा ५ जनाबिच प्रतिस्पर्धा हुँदा सर्वाधिक भोट ल्याउनेले नै ‘एनआरएन द सिंगरको’ पहिलो उपाधि जित्ने छन्।

उपाधि जित्नले नगद ५ लाख प्राप्त गर्दा फस्ट रनरअपले  २ लाख र सेकेन्ड रनर अफले १ लाख नगद पुरस्कारका साथै ट्रफि र प्रमाणपत्र पाउने छन्।

प्रकाशित: २० आश्विन २०८० १३:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App