२८ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
समाज

फास्ट ट्र्याकको गाडी दुर्घटना : आयोजनाका इन्जिनियरसहित दुई जनाको मृत्यु

मकवानपुरको भिमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकमा भएको पिकअप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार बुधबार राति करिब १०ः५० बजे माण्डु हाइड्रोपावरतर्फबाट ईपा जाँदै गरेको बा.प्र.०१–०३३ च २१४४ नम्बरको योद्धा पिकअप (फास्ट ट्र्याकमा प्रयोग हुने सवारी) अनियन्त्रित भई सडकबाट करिब १०० फिट तल खोलामा खसेर दुर्घटना भएको हो।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी र नेपाली सेना काठमाडौं–तराई द्रुतमार्ग सिस्नेरी बेस क्याम्पबाट संयुक्त उद्धार टोली घटनास्थल पुगेको थियो। उद्धार टोलीले गाडीमा सवार दुई जनालाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पठाएको थियो।

दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमान निवासी करिब ४०/४२ वर्षीय बोधराज बुढाथोकी र बारा जिल्लाको पचरौता नगरपालिका–७ निवासी २१ वर्षीय सूर्य यादव गम्भीर घाइते भएका थिए। बुढाथोकी नेपाली सेनाका पूर्व हवल्दार हुन् भने यादव फास्ट ट्र्याक आयोजनामा इन्जिनियरका रूपमा कार्यरत रहेका थिए।

घाइते दुवै जनालाई बिहीबार बिहान करिब ५ बजे हेटौंडा अस्पताल ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकहरूको शव हाल हेटौंडा अस्पतालमा राखिएको छ भने आफन्तलाई जानकारी गराइसकिएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि चालकहरूलाई सवारी चलाउँदा गति नियन्त्रणमा राख्न, मदिरा वा लागू पदार्थ सेवन गरी सवारी नचलाउन, थकान लागेको अवस्थामा विश्राम गरेर मात्र यात्रा गर्न तथा सडकको अवस्था र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।

प्रकाशित: २८ जेष्ठ २०८३ ०८:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App