२२ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

नेपालीको नियतिको कथा ‘परदेशी २’

बागलुङमा आयोजना गरिएको चलचित्र परदेशी-२ को प्रिमियर सो। तस्बिर: नागरिक ।

अघिल्लो साँझसम्म चुपचाप रहेको बागलुङ शुक्रबार बिहान अचानक तरङ्गित बन्यो। चलचित्र परदेशी-२ मार्फत नायकको रुपमा ‘डेब्यु’ गरेका कलाकार प्रकाश सपुत चलचित्रको प्रचार प्रसारका लागि बागलुङ आउने खबर फैलिएपछि बजार एकाएक गर्माएको थियो।

हिजो गाउँघरमा विभिन्न हिरोहरुको अभिनय गर्दै साथीभाइसँग रमाइलो गर्ने प्रकाश साँच्चिकै चलचित्रको हिरो बनेर बागलुङ आउने थाहा पाएपछि उनका साथीभाइ र शुभेच्छुकहरू सपुतको स्वागतको तयारीमा जुटे।

दिउँसो ३ बजे चलचित्र प्रदेशी-२ को बागलुङमा ग्रान्ड प्रिमियर हुने प्रचार प्रसार सुरु भयो। आफूले अभिनय गरेको पहिलो चलचित्रको प्रिमियर सो बागलुङमा गर्ने मनसायका साथ प्रकाश बागलुङ हानिएका थिए।

पोखराबाट उनी बागलुङ आउँदै गरेको खबर फैलिएपछि उनका आफन्त शुभेच्छुक र साथीभाइ ट्राफिक चोकमा भेला भए। दिनको ३ बजे प्रकाश सपुत चलचित्र परदेशीका नायिका केकी अधिकारी, निर्माता निर्देशक नारायण रायमाझी सहित बागलुङ आइपुग्दा फूलमाला र बाजागाजा सहित तामझामले स्वागत गरियो। स्वागत सम्मान र प्रिमियरको प्राविधिक तयारी सकिँदा बेलुकाको साढे पाँच बज्यो। बागलुङको बिएसआर मुभिजको हल खचाखच भरिएपछि बत्ती निभ्यो, पर्दामा दृश्य दौडिन थाले।

चलचित्र परदेशी-२ नेपालमा स्नातक तहको शिक्षा लिएपछि स्नातकोत्तर तह अध्ययनका लागि अमेरिका जाने युवाको सपनाबाट सुरु हुन्छ। अध्ययनका लागि अमेरिका जाने सपना बोकेर अन्तर्वार्ताका लागि अमेरिकी दूतावास जान तम्सेको युवाको रुपमा प्रकाश सपुतको इन्ट्री हुँदा दर्शकको रुपमा उपस्थित बागलुङले चर्को सिट्ठी र हुटिङले स्वागत गरे।

चलचित्र परदेशी-२ का संस्कार अर्थात् नायक प्रकाश सपुतको अमेरिका सपना र त्यहाँ पुगेपछि भोगेका दुःख पीडा र बुढेसकालमा सन्तानसँग बिछोडमा तड्पिएका बाबु आमाको पीडा वरिपरि चलचित्रको कथा घुम्छ।

नेपालीहरु परदेशीनु अहिले नियति नै बनिसकेको छ। त्यही नेपालीको नियतिको कथालाई परदेशी-२ चलचित्रले पर्दामा उतारेको छ। देवेन्द्र बब्लुको हाँस्य भूमिकाले भूमिकाले कतिपय ठाउँमा दर्शकलाई मुस्कुराउने अवसर दिएको छ। दुई घण्टा २० मिनेटको चलचित्रको अधिकांश कथा र पात्रको भोगाइले दर्शकको मन धुजाधुजा बनाउँछ र अनायास थाहै नपाई दर्शकको आँखाबाट आँसु बगाउँछ। नेपाल र नेपालीको नियति बनेको यहाँको माटो सुहाउँदो कथावस्तु भएकाले चलचित्र हेर्दा ‘बोर’ लाग्दैन।

गोर्खा पल्टन र प्रदेशी चलचित्र मार्फत नेपाली दर्शकको नाडी छामिसकेका निर्माता निर्देशक नारायण रायमाझीले नेपाली दर्शकको मनभित्रको कारुनिकतालाई मज्जैले पर्दामा उतारेका छन्। पहिलो पटक चलचित्रको नायक बनेको भए पनि प्रकाशले म्युजिक भिडियोको अनुभवलाई राम्रैसँग उपयोग गरेका छन्। हरेक कलाकार आफ्नो भूमिकामा फिट देखिन्छन्। लोकदोहोरी क्षेत्रको अब्बल सर्जक कलाकार भएका कारण नारायण रायमाझीको लोक ‘फ्लेबर’ चलचित्रमा पनि पाइन्छ।

चलचित्रमा परदेशीको वियोगान्त कथा मात्र होइन प्रेम, समर्पण र शंकालाई पनि जोडिएको छ। चलचित्र गोर्खा पल्टनसंगको ‘लिगेसी’ जोड्न प्रशान्त तामाङको फौजी भूमिका राखिएको छ। संस्कार संस्कृति नायक प्रकाश सपुत र नायिका केकी अधिकारी चलचित्रका मुख्य पात्र हुन्।

चलचित्रको ग्रान्ड प्रिमियर सो सकिँदा अधिकांश दर्शकको गहभरी आँसु थियो। परदेशीको कथा व्यथा बागलुङेका लागि नौलो विषय होइन। बागलुङको जून कुनामा पुगे पनि घरको एक जना प्रदेशमा नभएको घर भेट्टाउन मुस्किल छ। त्यसले गर्दा पनि यहाँका दर्शकलाई परदेशी-२ ले सहजै छोएको देखिन्थ्यो।

प्रिमियर सो सकिएपछि बागलुङ नगर प्रमुख वसन्त कुमार श्रेष्ठले नेपाल र नेपालीको यथार्थ कथावस्तुले चलचित्र उत्कृष्ट बनेको बताए।

‘हामीले यहाँबाट अमेरिका जाने भन्छौं,’ उनले भने, ‘तर यहाँबाट कल्पना गरे जस्तो अमेरिका छैन। अमेरिका मात्रै किन विश्वकाे अन्य कुनै पनि देश सजिलो छैन। नेपालीको यथार्थ पीडालाई देखाएकाले चलचित्र राम्रो बनेको छ।’

बाल्यकालमा गाउँघरमा साथीभाइबिच विभिन्न नायकको अभिनय गरेर ‘हिरो पल्टिने’ गरेका प्रकाश साँच्चिकै हिरो बनेकोमा बाल्यकालका साथीहरु पनि दङ्ग छन्।

‘हिरो बन्ने सोख उसको पहिले देखि नै थियो, अहिले साँच्चै बन्यो खुसी लागेको छ,’ सपुतका बाल्यकालका दौतरी सुरेश श्रेष्ठले भने, ‘म पनि ६/७ वर्ष प्रदेशमा बिताएर आएको हुँ। हाम्रै कथा व्यथा बोकेको चलचित्र राम्रो बनेको रहेछ। अझ त्यसमा आफ्नै साथी हिरो हुँदा फिल्मले झन् धेरै छोयो।’

विद्यार्थी नेता मनिष थापाले चलचित्र उत्कृष्ट लागेको बताए। ‘चलचित्रको कथावस्तु गज्जबै छ, अभिनय पनि परिपक्व नै देखिन्छ, इन्डिङमा अलिकति मिलाउन पाए हुन्थ्यो भन्ने लाग्छ,’ उनले भने। चलचित्रको प्रिमियर सो हेर्न नायक सपुतको बा-आमा श्रीमती सहित आफन्तहरु समेत आएका थिए। सपुतकी आमा मिना विश्वकर्माले छोराको चलचित्रले आफूलाई रुवाएको बत्ताइन्।

‘फिल्म हेरुन्जेल म रोएँ, छोरा साथमै हुँदा खुसी हुन्छ, उसले गरेको कामले रुवायो,’ उनले भनिन्।

हलको गेटमै बसेर दर्शकको प्रतिक्रिया सुनिरहेका चलचित्रका निर्माता निर्देशक नारायण रायमाझीले दर्शकको सुरुवाती प्रक्रियाले आफू उत्साहित भएको बताए।

‘हामी प्रचार प्रसारका लागि देशका विभिन्न ठाउँमा जाँदा हाम्रो चलचित्रलाई दर्शकले प्रतीक्षा गरिरहेको थाहा पाउँदा खुसी लागेको छ,’ उनले भने, ‘चलचित्र हेरेपछि यहाँका दर्शकले दिएको प्रतिक्रियाले असाध्यै उत्साही बनाएको छ।’

चलचित्रकी नायिका केकी अधिकारीले बागलुङमा पाएको प्रतिक्रियाले चलचित्रमा भरोसा दिलाएको बत्ताइन्। नायक प्रकाश सपुतले आफू साँच्चै हिरो भएको अनुभव भएको सुनाए। 

‘मेरो इन्ट्रीमै सबैले सिट्ठी बजाएर हुटिङ गरेर हौसला बढाउनुभयो। साँच्चै हिरो भएको अनुभव भयो,’ उनले भने।

हरेक नेपालीको कथा चलचित्रले बोल्ने भएकाले यसबाट सफलता पाउनेमा आशावादी रहेको उनले बताए। चलचित्र प्रदेशी दसैँको छेको पारेर यही असोज २६ गतेबाट देशभर प्रदर्शन हुँदैछ।

चलचित्रमा प्रकाश सपुत, केकी अधिकारीसँगै वर्षा शिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, सबिन बास्तोला, रमा थपलिया, देवेन्द्र बब्लु, सुशिल पोख्रेल, रोशनी कार्की लगायतको अभिनय छ।

चलचित्रको कथा रमेश बिजीले लेखेका हुन्। चलचित्रमा बीबी अनुरागी र नारायण रायमाझीले संगीत दिएका छन् भने निर्माण राजेश वंशल र निर्देशन नारायण रायमाझीको छ।

प्रकाशित: १३ आश्विन २०८० १०:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App