१२ असार २०८१ बुधबार
image/svg+xml
कला

नेपालभाषाको उपन्यास ‘कुमारी’ सार्वजनिक

कुमारी रथजात्राको छेको पारेर नेपालभाषाको उपन्यास ‘कुमारी’ सार्वजनिक गरिएको छ। वरिष्ठ उपन्यासकार मल्ल के सुन्दरद्वारा लिखित सो उपन्यास बिहीबार पाँच पूर्वकुमारीले संयुक्त रूपमा विमोचन गरेका हुन्। उक्त उपन्यासमा कुमारीको ऐतिहासिक–सांस्कृतिक पक्षको उजागार गरिएको छ।

विमोचन कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार सुरेश मानन्धरले मल्ल के सुन्दरको यो कृति उपन्यास मात्र नभई एउटा ऐतिहासिक दस्तावेज रहेको बताए। लेखकले कुमारीसम्बन्धी धेरै अध्ययन अनुसन्धान गरी उपन्यास लेखेको बताउँदै उनले यस उपन्यासबाट कुमारीको ऐतिहासिक पक्षसम्बन्धी धेरै ज्ञान लिन सकिने जानकारी दिए।

‘यो उपन्यास पढेर कुमारी संस्कृति के हो, कुमारी संस्कृति कहाँबाट सुरु भयो भन्ने बुझ्न सकिन्छ,’ उनले भने, ‘यो कुमारीको इतिहास रहेको, कुमारीको ऐतिहासिक कथामा बुनिएको उपन्यास हो।’

एड जोन प्रालिबाट प्रकाशित उपन्यासको समीक्षा गर्दै वरिष्ठ समालोचक डा. ज्योतिप्रभा तुलाधरले नेपालको संस्कृतिमा रहेको नारी शक्तिको प्रतीक कुमारीको कथामा लेखिएको यो उपन्यास अन्तर्राष्ट्रिय रूपले चर्चायोग्य रहेको बताए।

‘नारी शक्तिलाई लिएर उपन्यास लेखिने चलन अन्तर्राष्ट्रिय रूपमा रहेको छ। यो उपन्यास पनि नेपालको संस्कृति, परम्परामा रहेको नारी शक्तिलाई महत्त्व दिई लेखिएको उपन्यास हो,’ उपन्यासबारे बोल्दै उनले भने, ‘कुमारी नेपालमा पुजिने देवी मात्र होइन, नारी शक्तिको प्रतीक, नारी शक्तिको केन्द्र हो। यसलाई उपन्यासकारले उपन्यासमा सुन्दर ढंगले प्रस्तुत गरेको छ।’

त्यस्तै उनले ‘कुमारी’बारे भनिँदा अहिलेसम्म जयप्रकाश मल्ल र तलेजु भवानीको सम्बन्ध मात्र प्रचारमा आएको बताउँदै यस उपन्यासले गुणकाम देवको पालादेखि नै कुमारी नारी शक्तिका रूपमा पुजिँदै आइरहेको महत्त्वपूर्ण तथ्यलाई अगाडि ल्याएको बताए।

कार्यक्रममा उपन्यासकार मल्ल के सुन्दरले कुमारी देशप्रेम, राष्ट्र प्रेम, धार्मिक सद्भावको प्रतीक रहेको बताउँदै तर यो पक्षलाई बिर्सँदै गइरहेकोले उपन्यासमार्फत यो पक्षलाई उजागर गर्ने कोसिस गरेको बताए। उनले भने, ‘हामीले आआफ्नो देशको रक्षाका लागि लडेका चीन, भारत, फ्रान्सका विरांगनाबारे विभिन्न फिल्म, कथा, उपन्यासमार्फत थाहा पाइराखेका छौं तर देशको लागि आफ्नै प्रेमलाई बलिदान दिने ‘कुमारी’बारे अनभिज्ञ छौं।’ यस उपन्यासमा देशको लागि आफ्नो प्रेमलाई बलिदान दिने ‘कुमारी’को त्यागलाई ऐतिहासिक, सांस्कृतिक पक्षसहित उजागार गर्ने कोसिस गरेको उनले बताए।

प्रकाशित: १२ आश्विन २०८० ०२:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App