साग रोपेर सास चलाउने साहस थियो
धान रोपेर मंसिर फुलाउने विश्वाश थियो
कहिले पानीले साथ दिएन
कहिले मलले राहत दिएन
जब राज्य बिउको ब्याज लिन प्वाँख उखेल्न थाल्यो
अनिकालको डरले पेट पाल्न पखेटा चलायौ।
कुखुरा पालेर परिवार पाल्ने जाँगर थियो
अन्डा बेचेर अन्न किन्ने रहर थियो
कहिले दीनले उठ्न दिएन
कहिले रिनले उठ्न दिएन
जब राज्य ब्याज लिन प्वाँख उखेल्न थाल्यो
हामीले बर्डफ्लुमै पखेटा चलायौं।
मजदुरी गर्न कुनै लाज थिएन
पसीना बगाउन केही अल्स्याइँ थिएन
आपतमा साउँले साथ दिएन
कानूनले केही काम दिएन
महँगीको पत्ती देखाउँदै फेरि प्वाँख कोतर्न थालियो
हामीले त्यही कोरोनामा पखेटा चलायौ।
कथाको चराजस्तै प्वाँख बेचेर पेट पाल्न पनि सक्थ्यौ
इमान बेचेर नक्कली सम्मान पाउन सक्थ्यौ
तर हामीलाई प्वाँख विनाको निरस जीवन चाहिएन
इज्जत विनाको निरस प्रहर पनि चाहिएन
जब राज्य कार्यालयमै उभिएर प्वाँख उखेल्न थाल्यो
भ्रष्टचारको भँगालोमा पखेटा चलायौ।
चरालाई पखेटाले हैन पेटले उडाउँछ रे।
मान्छेलाई पनि खुट्टाले हैन, पेटले हिंडाउँछ रे
देउसी–भैलोको दिन आउँदै छ
हामी पनि त्यसै उडेनौ
‘बलिया राजा’ले जब भावनामा भाला चलायो
हामी भाव शून्य हुँदै पखेटा चलायौं।
प्रकाशित: ७ आश्विन २०८० १२:०२ आइतबार