४ पुस २०८१ बिहीबार
image/svg+xml
कला

चाँदनीमा चाँद खोज्दा

पुस्तक

साहित्य समाजको ऐना हो। खुला आँखाले नदेखेको वा देख्न नसकेको कैयौं विषयवस्तु साहित्यकारहरूको मनमस्तिष्कले देखेको हुन्छ र उनीहरूको कलमको माध्यमबाट यस्ता कैयौं घटना तथा विषयवस्तु साहित्यको विधा बनेर समाजमा आउने गर्दछ। साहित्य संस्कार, संस्कृति, पहिचान लगायत परिवर्तनका अनेक सम्वाहक बनेको उदाहरण प्रशस्तै छन्। साहित्यकारहरूको पहिलो रोजाइको विषय नै प्रेम हुन् भन्दा फरक नपर्ला।

प्रेम शब्द जति सुन्दर र आत्मीय लाग्छ तर त्यसको परिणाम प्रेम जस्तै रसिलो र गुलियो नहुन पनि सक्छ। दुई आत्माको मिलनबाट प्राप्त हुने सुखानुभूति नै प्रेम हो। तर कहिलेकाहीं प्रेमले प्रलय ल्याइदिन्छ र जिन्दगी नै तहसनहस हुन सक्छ।

किनकि गुलियो वस्तु सबै हितकारी नै हुन्छ भन्ने छैन। यस्तै अनेक कथाव्यथा लुकेको उपन्यास हो चाँदनी।

साहित्यकार नारायण थापा कल्पितको कृति चादनीले प्रलय त ल्याएको छैन, तर चिनी जस्तै गुलियो पनि छैन। यो कृति हाम्रोसामु समयको दस्तावेज भएर आएको छ। यसले नेपाली साहित्य जगतमा नयाँ आयाम थपेको छ।

उपन्यासकार कल्पितको उपन्यास चाँदनी नेपाली उपन्यास लेखनमा परम्परागत शैलीभन्दा अलि भिन्न शैलीमा नयाँ स्वादसहित आएकाले छुट्टै पहिचान दिनेमा दुई मत छैन।

कल्पित नेपाली साहित्य जगतमा उदियमान साहित्यकार हुन्। उनी लामो समयदेखि साहित्यका सबै विधामा कलम चलाउँदै आएका एक साहित्य साधक हो। कविता, गीत, कथा लगायत विविध विधामा आफ्नो साहित्य छवि उजागर गर्दै उपन्याससम्म आइपुग्दा साहित्य लेखनको क्षेत्रमा उनको लेखन लोभलाग्दो र आशालाग्दो देखिन्छ।

पिता लक्ष्मण थापा तथा माता कमला थापाको सुपुत्रको रूपमा महालक्ष्मी नगरपालिका वडा नं. ८, लुभु, ललितपुरमा २०२६ साल साउन ४ गते जन्मिएका थापाले योभन्दा अघि सृजना-सरिता कवितासंग्रह-२०६१, सृजना-सरिता कथासंग्रह-२०७६, आँखा स्वास्थ्य एक अध्ययन-२०७६, विभिन्न समयमा गीतहरू समेत लेख्नुको साथै थुप्रै पत्रपत्रिका र सामाजिक संजालहरूमा आफ्नो लेखरचना एवं अन्तर्वाताहरू प्रकाशन तथा प्रसारण गरेका छन्।

उनको भर्खरै प्रकाशित चाँदनी उपन्यास चौथौ कृति हो। यसको साथै साहित्यकार थापाको प्रकाशोन्मुख कृतिहरूको फेहरिस्त पनि लामै देखिन्छ।

प्रस्तुत कृति चाँदनी सरसर्ती पढिसकेपछि केही लेख्ने इच्छा भयो। यो सच्चा पाठकको धर्म पनि हो। तर कृतिमाथि केही चर्चा गरिरहँदा पुस्तकको समीक्षा गरेको भनेर नठान्नु होला। ममा उपन्यासको समीक्षा गर्न सक्ने हैसियत छैन। किनकि मैले अहिलेसम्म कुनै उपन्यास लेखेको छैन। तथापि विवाह नै नगरे पनि धेरै पटक जन्ती गएकाले धेरथोर विवाहको विधिविधान थाहा पाएको हुन्छ भने जस्तै दुईचार उपन्यास पढिसकेकाले उपन्यासको ढाँचा धेरथोर थाहा भएको आधारमा यो कृतिबारे केही लेख्दै छु।

उपन्यासको प्राविधिक तथा सैद्धान्तिक नीतिनियम वा दायरा के हुन्छ र कस्तो हुनुपर्छ भन्ने थाहा नभएकाले पनि समिक्षा नै नभनी यो आलेख समिक्षा नभै पुस्तकबारे एउटा पाठकको विचार भनी बुझ्न अनुरोध छ।

कृतिकारले आफ्नो भूमिकामा अन्य साहित्यकारहरूले उपन्यास कसरी लेख्छन् त्यतातिर नलागी मैले आफ्नै तवरले उपन्यासको रूपमा मेरा सिर्जना लिपिबद्ध गरी उपन्यासको रूप दिने कोसिस गरेको हुँ।

चाँदनी उपन्यास कृतिलाई जगतले मानिदिए हुन्थ्यो भनी लेखेका छन्। यस अर्थमा पनि उपन्यासको विधिविधान यस्तै हुनुपर्छ भन्ने कुनै कानुन छ जस्तो मलाई पनि लाग्दैन।

किनकि उपन्यासमा हुनुपर्ने निश्चित पृष्ठ संख्या, घटना, परिघटना, सम्वाद, बहुपात्रहरूको उपस्थिति जस्ता कुराहरू पूर्ण नै देखिन्छ।

जस्तोसुकै विवाहको विधि अपनाएर कसैले श्रीमती भित्र्याइन्छ भने विवाह भोज खाना नपाए पनि समाजले उसकै श्रीमती हुन् भनी स्विकार्नुपर्छ। त्यसैले लेखकको जिकिरलाई समर्थन गर्दै उपन्यासको रूपमा प्रकाशित यो कृतिले नेपाली उपन्यास लेखनयात्रामा नौलो आयामको थालनी गरेकामा लेखकलाई धन्यवाद पनि दिन्छु।

उपन्यासकार कल्पितको पहिलो उपन्यास भएकाले सैद्धान्तिक हिसावले यो उपन्यास पूर्ण छ/छैन भन्ने कुरा भविष्यमा विद्वान साहित्यकारहरूको समीक्षा तथा मूल्याङ्कनले तय गर्नेछ। तर, मेरो हिसावले यो कृति उत्कृष्ट उपन्यास हो। यो पुस्तक त्यस्तो प्रेमकहानीले युक्त छन् कि प्रेममा विश्वास गर्ने जो कोहीले पनि एकपटक पढ्नै पर्ने देखिन्छ।

आकर्षक कभर डिजाइनमा १०४ पृष्ठे यो उपन्यास आरम्भबाहेक १७ परिदृश्यमा फैलिएको छ।यो उपन्यास सूचना प्रविधिको रूपमा हुलाक मात्रै एक माध्यम समयको प्रेमकहानीमा आधारित छ।

पत्रमित्रताको माध्यमबाट सुरु भएको प्रेमिल यात्राको तितामिठा आरोहअवरोहले भरिपूर्ण दस्तावेजयुक्त कहानीमा द्रवित उपनाम गरेको केटा र चाँदनी उपनाम गरेकी केटी बिचको प्रेमका अनेकौं आयाम लिपिबद्ध गरिएको उपन्यासमा प्रेम छ, खुशी छ, उपमा छ, अलंकारका शब्दभण्डार छ।

त्यसैले यो ज्ञानवर्द्धक क छ। पीडा छ, रोदन छ, चोट छ, त्यसैले यो शिक्षाप्रद छ। प्रेम छ, कला छ, सम्वाद छ, विचार छ, त्यसैले यो मनोरञ्जनात्मक छ। त्यसैले यो उत्कृष्ट छ।

उपन्यासका मूल पात्र द्रवित आफ्नो कार्यालयमा काम गरिरहेको बेला अचानक भेट्न आइपुगेकी पूर्व प्रेमिका चाँदनीलाई नचिने जस्तो व्यवहार गरी विगतका अनेकौं यथार्थ उनैको मुखबाट सत्य कुरा ओकल्न बाध्य पारिएको लेखकको चलाखीपनले मनोरञ्जन दिएको छ।

जीवनको उत्तरार्द्धमा आएर मिलनको त्यान्द्रो फुकाउन आएकी प्रेमिकालाई नचिनेझैं गरी सम्बन्ध जेसुकै भए पनि र मैले तिमीलाई नचिने पनि तिमीले मलाई चिनेको नाताले मेरो प्रेम कहानीयुक्त विगतका दस्तावेजपूर्ण मेरो कृति पढेर आउनु भनेर आफूले लेखेको पुस्तक थमाएर पूर्व प्रेमिकालाई विदा गर्छ।

चाँदनीलाई विदा गरिसकेपछि द्रवित पुराना दिनहरूको यादमा सोचमग्न हुन्छ। पात्रको माध्यमबाट मित्र हुँदै जीवनको गोरेटोमा सँगै यात्रा गर्ने, सँगै बाँच्ने, विभिन्न देवीदेवताको मठमन्दिरमा भगवान् साँची राखी सँगै मर्ने बाचाकसम खाएर दुई आत्मा मात्रै होइन दुई शरीर एक भैसकेर पनि प्रेमिकाले धोका दिएको र कथित प्रेमिकाको कारण अनेक हन्डर खानुपरेको, अपमान सहनुपरेको र आत्महत्या गर्नेसम्मको अवस्थामा पुगेको द्रविद विस्तारै जीवनको लयमा फर्केको र विगत बिर्सिदिएर घरजम गरी आफ्नो जीवन अगाडि बढाएको देखिन्छ।

यसैको प्रमाणस्वरूप विगतमा आदानप्रदान गरेको चिठ्ठी प्रेमपत्र को चाङ फुकाएर हेर्न पुग्छ द्रवित। यो उपन्यास ती प्रेमपत्रहरूको सँगालो जस्तो लाग्छ। ती प्रेमपत्रहरूमा कोरिएका शब्दहरूले त्यो समयको बोध गराउँछ, जुन बेला मानिसले आफ्नो भावना सुनाउने र बुझाउने माध्यम चिठ्ठीपत्रको विकल्प थिएन। पत्रमा कोरिएका शब्दहरूले पाठकलाई आफ्नो शब्दभण्डार बढाउन उपयुक्त माध्यम देखिन्छ यो कृति।

कतै निवेदन जसरी, कतै विन्तीपत्र जसरी त कतै आदेशपत्र जसरी लेखिएका दुईतर्फी प्रेमपत्रहरू हेर्दा आजको बनावटी प्रेम, नाटकीय सम्बन्धहरू र जेमा पनि स्वार्थको मोलमोलाइ भएको समाजलाई सिकाउन आएको दस्तावेज हो जस्तो लाग्छ।

प्रेममा विश्वास हुनुपर्छ, समर्पण हुनुपर्छ, त्याग हुनुपर्छ, जिम्मेवारी हुनुपर्छ अनि एक अर्काप्रति सदभाव र सहयोगी हुनुपर्छ। जब शंका हुन्छ, प्रेममा दरार पैदा हुन्छ। समयले दिएको मौकालाई जिम्मेवारीबोध गरिएन भने पछुताउनु बाहेक अरू विकल्प छैन।

त्यसैले चाँदनी प्रेमिका कम समयको ज्वारभाटाले ल्याएको कसिंगर ज्यादा बनिन्। कहिले कता कहिले कता भौतारिंदै फेरि त्यही गोरेटोमा देखापरिन्। तर, समयले कसैलाई पर्खदैन भनेझैं गुज्रेको समयलाई पछ्याउने तागत दुवैमा थिएन। त्यसैले पछुताउनु र सान्त्वनाका दुईचार शब्दबाहेक चाँदनीको भागमा उपन्यासभित्र अरू केही परेन।

द्रवितले दिएको इतिहासरूपी दस्तावेज पढिसकेपछि केही महिनापछि चाँदनी पुनः पूर्व प्रेमीको कार्यालयमा हाजिर हुन्छ र किताब उनीहरू दुवैको प्रेमकहानीको दस्तावेज भएको र त्यसको मूल पात्र आफै रहेको र आफैले धोका दिन पुगेकामा पछुताउँदै रोएकी र माफी मागेकी छ भने पुरानो गल्तीलाई सच्याएर फेरि नयाँ जीवन सुरु गरौं र बाँकी जिन्दगी सँगै जिउन अनुरोध गरेकी छन्।

पूर्व प्रेमी द्रवितले आफ्नो घरपरिवार भएको र समय हाम्रो वशमा नभएकाले त्यसो गर्न नैतिकताले, परिवारिक जिम्मेवारीले र समाजले नदिने हुँदा दुवैको हितका लागि त्यो गर्न नसकिने र विगतलाई बिर्सेर आआफ्नो वर्तमानमा जिउन सुझाव दिंदै उपन्यासको विट मारेको देखिन्छ। यस हिसावले उपन्यास पढ्नयोग्य छ।

अन्त्यमा,यसरी यो कृतिको चर्चा गरिरहँदा सबै विषयवस्तुलाई समावेश गर्न असमर्थ छु। उपन्यासकार कल्पितको कृति चाँदनी पढिसकेपछि आजको युवा पुस्ताको माया प्रेम गर्ने तरिका, प्रेम अभिव्यक्त गर्ने कला, प्रेममा पनि सम्झौता गरेको देख्दा वर्तमान युस्तामा नैतिकता, इमान र इज्जत  सकिंदै गएको महसुस हुन्छ।

साहित्यमा रुचि र साहित्य लेखनमा कलम चलाएकाहरूका लागि अत्यन्तै उपयोगी, मनोरञ्जनात्मक र लाभदायी यो पुस्तक सबैले पढ्नुपर्ने खालको छ। पुस्तकमा केही कमीकमजोरी नभएको होइनन्। तर सबै पाठकको विचार एउटै हुन्छ भन्ने पनि छैन।

मैलै पुस्तकलाई पढिसकेपछि नितान्त पाठकको रूपमा केही विचार मात्र लेख्न खोजेको हुँ, यो नै सही भन्ने पनि होइन। पुस्तकको प्रारम्भ अलि असान्र्दभिक घटनाबाट गरिएको पाइयो।

जस्तो एउटी सानी छोरी निन्द्राबाट बिउँझिएर सुतिरहेको बाबालाई झकझकाउँदै उठाएर प्रेमबारे अनगिन्ती प्रश्न सोधिन् भन्नेबाट सुरु गरेको छ।

प्रासङ्गिक घटनाबाट कथा सुरु भएको भए अलि राम्रो हुन्थ्यो कि? जस्तो आज फलनाले मलाई चिठ्ठी दिएको थियो तर मेरो हातमा नपर्दै मिसको हातमा प¥यो तर मलाई दिएन। के हो? भन्दा प्रेमपत्र रे, लेख्नेलाई गाली गर्नु भयो। तर प्रेम भनेको के हो भनेर सोध्दा गाली गर्नुभयो तर भन्नुभएन। बाबा प्रेम भनेको के हो? बाट सुरु गरेको भए अझ राम्रो हुन्थ्यो कि?

पुस्तक पढ्दै जाँदा घटना र परिघटनाहरूको क्रमिक तालमेल हुन सकेको छैन। पुनः वाक्य वा हरफ नै दोहोरिएर आएको पनि छ। त्यसले कतै खल्लो महसुस हुन्छ। स्थान विशेयाका नामहरू काल्पनिक नै भए पनि चलन चल्तीको भए बेस हुन्थ्यो। उपन्यासभित्रका प्रेमपत्रहरू केलाउँदा केटीले नै धोका दिएको रहेछ भनी किटान गर्न सक्ने खास आधारहरू भेटिंदैन।

अन्त्यमा स्वयं केटीले नै गल्ती स्विकारेकाले मात्रै केटीले नै धोका दिएकी रहेछ भनेर भन्न सक्छौं। शब्दहरू केलाउँदा माकुराको जालोझैं पाठक अलमलिने खालको पनि लाग्छ। प्रेमपत्रहरू पढ्दै जाँदा कतैकतै प्रेमपत्र कम, विन्तीपत्र वा निवेदन ज्यादा लाग्छ।

उपन्यासको टुङ्ग्याउनीमा पनि अलि खल्लो लाग्यो। चाँदनीले विगतलाई बिर्सेर फेरि नयाँ जीवन सुरु गरौं भन्दा केटाले उसैसँग प्रेम गरेकाले अरू कसैसँग सम्बन्ध नगाासेको र त्यस दिनसम्म उसैका लागि कुमार नै बसेको देखाएर सच्चा प्रेमी सावित गरी पुनः मिलन गरेको देखाएको भए अझ सुन्दर टुङ्ग्याउनी बन्थे कि? मेरो विचार।

कृतिले बौद्धिक तथा जिज्ञासु पाठकलाई बौद्धिक खुराक उपलब्ध गराउने पक्का छ। नेपाली साहित्य जगतमा यो कृतिले नयाँ आयाम थपेको छ। नयाँ पुस्ताका लेखकहरूलाई शब्दभण्डार अनि लेखकीय क्षमता अभिवृद्धि गर्नमा यो पुस्तकले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा दुई मत छैन।

अन्त्यमा यति सुन्दर ग्रन्थ पाठकलाई उपहार दिनुभएकोमा लेखकलाई हार्दिक धन्यवाद तथा बधाई दिन्छु। साथै लेखकीय कार्य निरन्तर अघि बढिरहोस्, मेरो शुभकामना।

लेखक: नारायण थापा कल्पित

पुस्तकको नाम: चाँदनी

विधा: उपन्यास

सम्पादक: वसन्तराज अज्ञात

प्रकाशक: कल्पना अधिकारी (थापा)

सर्वाधिकार: लेखकमा सुरक्षित

संस्करण: प्रथम, विसं २०८०

मुद्रक: आवृत्ति छापाखाना प्रालि., काठमाडौं

मूल्य: रू.२५०।–

समीक्षक - चन्द्रलाल तामाङ

प्रकाशित: २८ भाद्र २०८० ०६:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App