गहुँगोरी, ससाना आँखा, सानो निधार, अलि कालो ओठ अनि भित्र पसेको चिउँडो, लामो कपाल, मोटो शरीर र बढेको पेट। झट्ट हेर्दा उनको शारीरिक बनावट यस्तै थियो।
सबैले राधी भनेर बोलाउँथे तर म उनलाई राधा दिदी भन्थें। मैले बोलाउँदा उनी हाँसेर मलाई काखमा राखूँलाझैं गर्थिन्। खुब प्रेमले मेरो गाला सुमसुम्याई रहन्थिन्।
म पनि सानै थिएँ। ६ कक्षा पढ्दै गर्दा माओवादी नाराले प्रभावित भएर देश र जनताको मुक्तिका खातिर भनेर पार्टीको काममा लागेकी थिएँ।
पार्टीका मान्छेको खबर पुर्याउन खटिन्थें। यसै क्रममा सेनाले पक्रेर जेल हालेको थियोे। म आस्थाको बन्दी, सानी केटी, त्यसैमाथि बिरामी पनि। त्यसैले प्रायः सबैले माया गर्थे। राधा दिदी पनि मलाई खुब माया गर्थिन्। उनलाई लेख्न, पढ्न आउँदैनथ्यो। उनको चिठी आएपछि म नै पढिदिन्थें र जवाफ पनि लेखिदिन्थें। जेलमा लेख्न, पढ्न नसक्ने सबैको चिठी लेखिदिन्थें, पढिदिन्थें। चिठी पढिदिए, लेखिदिएबापत कहिलेकाहीं उनीहरूको घरबाट कोसेलीपात आउँदा मैले पनि मायाको एक भाग पाउँथें अनि स्नेह र आशीर्वाद मिल्थ्यो।
‘भाग्यमानी हुनू सानी !’
म सानी केटी, पातलो जिउ, सुकेका हात...। मेरो कपाल लामो थियो। बिहानै राधा दिदीले बाटिदिन्थिन्। मलाई फकाएर भए पनि रिबनको फूल बनाएर लगाइदिन्थिन्।
जेलमा उनको छुट्टै चुलो थियो। उनले छोएको प्रायः कसैले खाँदैनथे। हामी आस्थाका बन्दीबाहेक किनकि उनी राधा परियार थिइन्।
साँझमा जेलको एक कुनामा बसेर रुने उनको नियमित काम थियो। सिँगान तान्दै रोइरहेकी राधा दिदी देख्दा मलाई नमिठो लाग्थ्यो तर थाहा थिएन किन रुन्थिन् उनी।
आज रुनुको कारण चाहिँ मलाई पनि थाहा थियोे। बिहानै महिला जेलकी चौकीदार मिनाले राधा दिदीलाई पिटेकी थिइन्, कलमा पानीको बाल्टिन छोइदिएको भनेर। सानोतिनो भिडन्त नै परेको थियोे। हामीले चौकीदारको कार्यप्रति असन्तुष्टि जनाएका थियौं (आस्थाका बन्दीहरूले)।
जेलमा उनको छुट्टै चुलो थियो। उनले छोएको प्रायः कसैले खाँदैनथे। हामी आस्थाका बन्दीबाहेक किनकि उनी राधा परियार थिइन्।
हाम्रो एकजना साथीले त चौकीदारको बाल्टिन नै फुटाइदिनुभएको थियो।
बिहानभरि बाल्टिनको पैसा तिर्ने र नतिर्ने विषयमा धेरै गलफती भएको थियो तर प्रहरी प्रशासनले हस्तक्षेप गर्नुअगाडि नै झगडा सामसुम भयो। सम्भावित दुर्घटना टरेको थियो।
हाम्रा साथीहरू पनि के कम ! चौकीदारले राधा दिदीसँग माफी मागे हामीले नै नयाँ बाल्टिन किनिदिने नत्र राधा दिदीलाई बाल्टिन किन्न लाए सबै बाल्टिन फुटालिदिने भने।
चौकीदार अन्य कैदीबन्दीप्रति निरंकुश बन्न खोज्थिन्। हामी आस्थाका बन्दीलाई त झन् फुटेका आँखाले पनि नहेरूँलाझैं गर्थिन्।
उनी सबैभन्दा ठुलो शत्रु ठान्थिन् हामीलाई।
‘मर्न ठिक्क परेर हिँडेका मान्छेहरू हौं। यी जेलभित्र तिम्रा हैकम हामी सहन्नाैं है। सारा दुनियाँ, राज्यसत्तासँग नझुकेका हाम्रा शिरहरू एउटी अपराधीका अगाडि झुक्दैनन्, ख्याल गर्नू। मान्छेलाई मान्छेको व्यवहार गर्नुस् र मान्छे भएर बाँच्न दिनुस्। यो जेल त केही होइन, आधा धर्ती, आधा आकाश हाम्रो हो।’ यति सुनेर मिना रिसले फतफताउँदै आफू बस्ने १ नम्बर कोठातिर लागिन्।
राधा दिदी रुँदै थिइन्। मलाई पनि नरमाइलो लाग्यो। त्यसदिन उनलाई हाम्रै मेसमा खाना दियौं। हामी आस्थाका बन्दीको छुट्टै मेस (भान्छा) थियो। रुँदै आँसुले मुछेर अलिकति भात खाइन्। दिउँसो म अरूतिर नै व्यस्त भएँ।
कहिले नाँच्न, कहिले टिभी हेर्न, सुत्न, खेल्न बालापन गएको कहाँ थियोे र मेरो? हाँस्न, नाँच्न, खेल्न मन लाग्थ्यो। मेरो उमेरका कोही थिएनन् तर पनि केही साथीहरू मजस्तै थिए। फूल, तरकारी रोपेका थियौं। फूल गोडमेल गर्न, सागमा पानी लाउन पालो राखेका थियौं हामीले।
म कहिले कुन कुनामा, कोठामा, किचेनमा, धारामा, फूलबारीमा पुगिरहेकी हुन्थें।
‘पुतली उडिरहेको छ’ भन्दै जेलका दिदीहरू, आमाहरू भन्थे।
मेरा लागि जेल जेलजस्तो लाग्दैनथ्यो। फरक यति थियोे कि म चारघेरा र काँडेतारबाहिर जान मात्रै सक्दिनथें। जेलमा सबैभन्दा सानी भएका कारण सहानुभूति र स्नेह पाएकी थिएँ। घरबाट प्रायः भेट्न आउनुहुन्नथ्यो। घर टाढा भएका कारण कहिलेकाहीं घरको न्यास्रो लाग्थ्यो। आकाशतिर फर्केर हेर्थें। त्यो नयाँ ठाउँ विराटनगरदेखि इलाम कता पर्छ भन्ने पनि थाहा थिएन।
आकाश हेरेपछि घरको याद झन् गाढा बन्थ्यो। पढ्दै गरेको ६ कक्षाका साथीहरू, इलामको चिया र धुपी सल्ला, चाँपको यादले खुब सताउँथ्यो। त्यसैले म हत्तपत्त आकाशतिर फर्केर हेर्दिनथें।
रुँदै गरेकी राधा दिदीको छेउमा गएर उभिएँ। कसरी सहानुभूति पोख्ने ? मलाई थाहै थिएन। ठिंग उभिएँ निकैबेर। पछि बल्ल देखिन् राधा दिदीले। छेउमा तानेर बसाइन् अनि फेरि रोइन् घुँक्कघुँक्क।
राधा दिदी रुँदै थिइन्। मलाई पनि नरमाइलो लाग्यो। त्यसदिन उनलाई हाम्रै मेसमा खाना दियौं। हामी आस्थाका बन्दीको छुट्टै मेस (भान्छा) थियो। रुँदै आँसुले मुछेर अलिकति भात खाइन्। दिउँसो म अरूतिर नै व्यस्त भएँ।
म उनलाई कसरी सम्झाउन सक्थें र ? म आफै सांसारिक मायाजाल, धोकाधडीबाट अनजान थिए। जे भए पनि उनी रोएको मनै पर्दैनथ्यो मलाई, नराम्रो लाग्थ्यो।
‘नरुनु न दिदी’ मैले भन्ने शब्दहरू यति नै थिए।
‘हाम्रो सत्ता आएपछि जेल हुँदैन। तपाईंलाई नराम्रो गर्नेहरूलाई भाटै भाटा हान्नुपर्छ अनि श्रम शिविरमा पठाउनुपर्छ, हाम्रो कमान्डरलाई भनेर,’ मैले भनेको सुनेर राधा दिदी सिँगान पुछ्दै हाँस्थिन्। उनी हाँसेको देखेर मलाई पनि आनन्द लाग्थ्यो। जेलमा सबै मुद्दा महिलाहरूका थिए। म सबैलाई आमा, दिदी सम्बोधन गर्थें। त्यो सम्बोधनमा अलिकति आत्मीयता भेटेर होला, उनीहरू पनि खुसी भएझैं लाग्थ्यो मलाई। कर्तव्य ज्यान, गर्भपतन, चेलीबेटी बेचबिखन, अपहरण तथा बन्धक, अवैध जिउ मास्ने, बेच्ने मुद्दामा कैदी बनेर सजाय काटिरहेका महिलाहरू थिए।
अनि हामी आस्थाका बन्दी अलि धेरै थियौं।
जेलभित्र पनि हामी कामसँग जोडिएका थियौं। साथीहरू कोही धागोबाट टोपी, मोजा बुन्थे, कोही बाती कात्थे, कोही पढ्थे। म आफ्नै मनको मालिक थिएँ। सुत्नु, नाँच्नु, गाउनु, टिभीमा उसबेलाका चर्चित भारतीय टिभी सिरियल ‘कसौटी जिन्दगीकी र कुमकुम भाग्य’ हेरेर रुनु रुटिनजस्तै थियो।
बेलाबखत पढ्ने गर्थे बन्दी पुस्तकालय पुगेर। ‘सेतो बाघ’ पढेर जगत्जंग (जंगबहादुरका जेठा छोरा)को मायाले खुब रोएको अनि राधा दिदीले मलाई फकाएकी थिइन्। पछिसम्म ‘जगतेको माया छ कि छैन ?’ भन्दै मलाई जिस्काउँथिन्।
जेलमा प्रत्येक सेकेन्डले मलाई परिपक्व बनाउँदै लग्यो। म पनि उमेरभन्दा अगाडि नै अलि बुझ्ने भएको हुँ कि जस्तो लाग्थ्यो।
जस्तै भए पनि कसैको आँसु देखेपछि मनलाई छोइहाल्थ्यो। त्यहाँ भएका सबैको पीडा मन छुने नै थियोे। सबैप्रति सहानुभूति राख्ने मेरो मनले चेलीबेटी बेचबिखन (केटी बेच्नेलाई)लाई घृणा गथ्र्यो तर विराटनगर महिला जेलको आन्तरिक प्रशासनको चौकीदार सोही मुद्दाकी महिला थिइन्। उनको नजिक पर्न मन लाग्दैनथ्यो, साह्रै घृणा लाग्थ्यो।
एक दिन झट्ट सुने, ‘त्यो राधाले त आफैले जन्माएर बच्चा मारेकी रे ...।’
संसारै अँध्यारो लाग्यो। फर्केर हेरें। यति मायालु राधा दिदीले कसरी त्यस्तो अपराध गरिन्?
बिस्तारै राधा दिदीप्रति मन चिसिँदै गयो। मेरो उस्तो आत्मीयता बाँकी रहेन।
‘जन्मिनेबित्तिकै बच्चाको घाँटी कचियाले रेटेर दुई टुक्रा बनाएकी रे !’ सुनेदेखि राधा दिदीसँग डर लाग्थ्यो। उनी जहाँ पनि मलाई खोज्दै आउँथिन्। म उनले खोज्दै छिन् भन्ने थाहा पाउनेबित्तिकै सुतेकोजस्तो गर्थें। उनी नबोलाई फर्कन्थिन्।
म कहाँ सही र गलत छुट्याउने भइसकेकी थिएँ र? जसले जे भन्यो त्यही होजस्तो लाग्थ्यो। फेरि कसैले होइन भन्यो भने होइनजस्तो लाग्थ्यो। हुन त यी सबै जानेको भए म यति सानो उमेरमा कहाँ जेलमा हुन्थें र? आफ्नै दुनियाँमा रमाइरहेकी हुन्थें नि!
विराटनगरको गर्मी, लामखुट्टे, जेलको दुर्गन्ध उफ् जिन्दगी!
रातमा गेटमा ताला लागेपछि म गेटमा बसेर बाहिर हेरिरहन्थें। इलाम सम्झिरहन्थें। आमालाई सम्झेर रुँदै बस्नुबाहेक अन्य विकल्प केही थिएन। टिभीमा कहिलेकाहीं इलाम देखिँदा बेसरी रुन्थें म। फलामे डन्डीको गेट र वरिपरिको काँडेतार काटेर मन सधैंभरि खुला आकाशमा उडिरहन्थ्यो। मनलाई उड्न के को आइतबार ! उडिरहन्थ्यो, उडिरहन्थ्यो तर मन उडेपछि शरीर चाहिँ साह्रै दुखेजस्तो लाग्थ्यो। म जेलको भिडभाडमा पनि एक्लै हराइरहेकी हुन्थें।
जेलभित्र पनि हामी कामसँग जोडिएका थियौं। साथीहरू कोही धागोबाट टोपी, मोजा बुन्थे, कोही बाती कात्थे, कोही पढ्थे। म आफ्नै मनको मालिक थिएँ। सुत्नु, नाँच्नु, गाउनु, टिभीमा उसबेलाका चर्चित भारतीय टिभी सिरियल ‘कसौटी जिन्दगीकी र कुमकुम भाग्य’ हेरेर रुनु रुटिनजस्तै थियो।
धाराबाट आएको पानी जसरी नालीबाट जेलबाहिर जान्थ्यो, मलाई पनि पानी बनेर जेलबाहिर जान मन लाग्थ्यो तर मनले चाहेजस्तो कहाँ थियो र परिस्थिति?
बाल्टिन कान्डपछि म राधा दिदीसँग त्यति खुल्नै सकेकी थिइनँ।
मैले मनलाई सम्झाउनै सकिरहेकी थिइनँ। मलाई यति धेरै माया गर्ने राधा दिदीले कसरी आफूले जन्माएको बच्चाको घाँटी कचियाले रेटिन् होला? कसरी एउटी आमाले आफ्नो सन्तानको घाँटी रेट्न सक्छिन्? म यी सबै प्रश्न राधा दिदीलाई सोध्न चाहन्थें तर सोध्न सकिनँ। भन्न मन थियो–‘दिदी आफूले जन्माएको बच्चाको घाँटी रेट्दा हात काँपेनन्? बच्चा मार्नुपर्ने त्यस्तो के कारण थियो? तपाईंको आफन्त किन कहिल्यै भेट्न आएनन्?’
म अलि कम बोल्ने भएका कारण पनि केही सोध्न सकिनँ।
धेरै दिनसम्म आँखाभरि सानो बच्चाको टाउको छिनालिएको रगताम्मे शरीर मात्रै नाँचिरह्यो। एक प्रकारले मन विक्षिप्त बनेको रहेछ अहिले बुझ्दा।
उकुसमुकुस हुन्थ्यो मन। कसैलाई केही भन्न सक्ने अवस्था पनि थिएन। सबैका आआफ्नै कथाव्यथा थिए। कसको कथा कसले सुनिदिने?
राधा दिदी प्रायःजसो बिरामी हुन थालेकी थिइन्।
बिस्तारै समय बित्दै गयो। म जेल परेको पनि २ वर्षभन्दा बढी भइसकेको थियोे। यसबीचमा जेलभित्र धेरै परिवर्तन भयो। कोही छुटेर गए, कोही नयाँ आए।
कहिलेकाहीं त म जेलमा नै मर्ने रहेछु जस्तो लागेर आउँथ्यो।
एकदिन कसो नछुटिएला भन्ने आशा थियोे। मान्छेलाई आशाले नै बाँच्न प्रेरित गर्दोरहेछ।
लगभग ३ वर्षको अवधिमा सबै कैदी बन्दीका आफन्त एक पटक त भेट्न आए तर राधा दिदीका कोही पनि आएनन्।
केही समयअगाडिसम्म त इलामदेखि प्रकाश नाम गरेका व्यक्तिले चिठी पठाउँथ्यो तर उसको पनि चिठी नआएको वर्ष दिन भइसकेको थियो।
राधा दिदीलाई टिबी (क्षयरोग) भएको थियो, बिस्तारै बिस्तारै उनी गल्दै गइरहेकी थिइन्।
महिला कारागार, विराटनगरको ३ नम्बर कोठाको एक कुनामा खोकिरहन्थिन्।
सबैले छिछि! भन्थे। छेउमा सम्म कोही जाँदैनथे। सोच्थें–मान्छेको मन कसरी ढुंगाजस्तो बन्छ?
कहिलेकाहीं उनलाई पुरानो झोलामा भएका २–३ वटा चिठी पढ्न नजाने पनि सुमसुम्याइरहेको देख्थें। त्यो देखेर मेरो मन तितो हुन्थ्यो अनि गएर पढिदिन्थें। अलिकति उनको आँखामा जीवन झल्किन्थ्यो अनि मुसुक्क हाँस्थिन्।
मेरो मन चिसो बन्थ्यो।
उनको चिठीमा लेखिएअनुसार प्रकाश टाढाको साथी थियो। ऊ राधा दिदीलाई सम्झिरहेको हुन्थ्यो। मायाले पर्खिरहेको थियोे। केरमेट गर्दै लेखेको शब्द केलाइदिन्थें म।
‘प्रकाश को हो दिदी?’ एक दिन मैले सोधेकी थिएँ।
‘मेरो टाढाको साथी,’ प्राण नै जालाजस्तो गरेर खोक्दै राधा दिदीले भनिन्।
‘किन तपाईंलाई भेट्न आउँदैन ऊ?’
‘अब म अपराधीलाई भेट्न किन आउथ्यो र?’ सुक्खा आँखा छोप्दै बोलिन् राधा दिदी।
‘दिदी, म एकचोटि चिठी लेखिदिऊँ? तपाईं यहाँ बिरामी हुनुहुन्छ भनेर?’
‘पर्दैन सानी, अब उसलाई मेरो कुनै खबरले फरक पर्दैन,’ राधा दिदीले भन्न त धेरै कुरा भनिन् तर मैले सारमा यति नै बुझें।
‘किन दिदी?’
‘उसले बिहे गरिसक्यो। मेरा लागि ऊ किन दुःख बेसाउँथ्यो र? म अपराधीलाई पर्खेर के काम?’
‘प्रकाशले बिहे गरेको कसरी थाहा पाउनुभयो ?’ मलाई अचम्म लाग्यो।
‘सपनामा देखें। अब उसले कहिल्यै चिठी लेख्दैन,’ अनि खुब रोइन्।
मलाई पनि मनभित्र पीडा भयो।
जेलको कुनामा रुँदै खोकिरहनु उनको दिनचर्या थियो। सुक्दै गएको शरीर, गढेका आँखा, त्यति मोटो गालामा अब हड्डीबाहेक केही थिएन। उनलाई नियालेर हेरिरहँदा एक प्रकारले डर लाग्थ्यो भने एक प्रकारले माया पनि। म आफ्नो भागको खानेकुरा लगेर उनलाई दिन्थें। उनी पकाएर खान पनि नसक्ने भइसकेकी थिइन्। छेउमा जान पनि गाह्रो भइसकेको थियो शरीर गनाएर।
जेल प्रशासनले पनि उपचारमा खासै ध्यान दिएजस्तो लाग्दैनथ्यो। सामान्य औषधी गरिरहेकोजस्तो लाग्थ्यो। म पनि के गर्न सक्थें र ? एउटी बन्दी त थिएँ। तैपनि सकेको ख्याल राख्थें।
‘पाप कराएको,’ जेलको अर्को कुनामा गफ चलिरहेको हुन्थ्यो। सबैले राधा दिदीलाई पापिनी भनिरहेका हुन्थे। मलाई अचम्म लाग्थ्यो। त्यहाँ सबैले एकअर्कालाई अपराधी, पापिनी देखिरहेका हुन्थे।
‘मलाई त पुलिसले, आफन्तले, साथीले फसाएको’ प्रायः सबैको स्पष्टीकरण हुन्थ्यो। जेलका मान्छेको मन बिस्तारै ढुंगा बन्दैबन्दै जाँदोरहेछ। म पनि अनुभव गर्दै थिएँ।
माघको चिसो सिरेटो, हुस्सु विराटनगरको। म ओछ्यान छोड्न सकिरहेकी थिइनँ। उठ्न मनै लागेको थिएन। प्रायः साथीहरू उठिसक्नुभएको थियो। अल्छी मानेर सुतिरहें। घरमा भएको भए पो घाँस काट्न जानुपर्ने, काम गर्नुपर्ने अनि स्कुल जानुपर्ने। आमाले सधैंभरि कराउँदै उठाउनुहुन्थ्यो। आमाको गाली नखाएको पनि वर्षौं भइसकेको थियोे। तर आमाको गाली कानमा गुन्जिरहन्थ्यो। मैले आमालाई खुब रुवाएँजस्तो लाग्थ्यो। परिवारलाई दुःख दिएँजस्तो लाग्थ्यो। म घर सम्झेर टोलाउँदै सुतिरहेकी थिएँ। बाहिर ३ नम्बर कोठामा होहल्ला भइरहेको थियो। म २ नम्बर कोठामा बस्थें।
‘सानी कति सुतिरहेकी, राधा मर्न लागि’ कानमा ठोक्किए नमिठो कुरा।
हत्तपत्त उठेर २ नम्बर कोठातिर लागें। सबैजना राधा दिदीलाई हेरिरहेका रहेछन् अलि परबाटै। राधा दिदी सासै रोकिएला जसरी खोकी रहेकी रहिछन् एकोहोरो। मुखमा अलिकति रगत पनि आएकोजस्तो लाग्यो। फुंग उडेको अनुहार, सुकेका हातगोडा, अनुहारमा हड्डी र छालाबाहेक केही थिएन।
‘हैन किन अस्पताल नलगेको? मान्छेलाई जेलभित्रै मार्न लागेको हो कि?’ साथीहरू होहल्ला गर्न थाल्नुभयो। चौकीदारले बाहिर खबर गरिसकेको जानकारी दिइन्।
‘छिटो अस्पताल लैजानुपर्यो, कि मरेपछि मात्रै देख्छ प्रशासनले?’
होहल्ला बढ्दै थियो।
‘जेलका बन्दीहरू मान्छे होइनन्?’ यी सबै होहल्लादेखि बेखबर थिइन् राधा दिदी। आँखा चिम्लेर सायद उनी आफ्नै मनसँग कुरा गर्दै थिइन्।
‘बाँच्दिन यो राधा! आ मरोस्। यति दुःख खपेर बाँच्न भन्दा त !’
‘यहाँभन्दा बरु अस्पतालमा मरे हुन्थ्यो।’
‘रोग सर्ला भन्ने पिर !’
उफ्! मान्छे कति संवेदनाहीन? मलाई साह्रै माया लाग्यो। छेउमा गएर सोधें–‘दिदी! गाह्रो भयो ? पानी खानुहुन्छ?’
उनले बिस्तारै आँखा खोलेर हेरिन्। सायद मलाई छेउमा देखेर होला, उनका आँखा रसाएर आए।
‘पानी खाने?’
उनले ‘अँ’ को भावमा टाउको हल्लाइन्। हाम्रो साथी प्रेरणा दिदीले मन तातो पानी ल्याएर हामीले खुवाइदियौं। मैले कपडा भिजाएर अनुहार पुछिदिएँ, कपाल मिलाइदिएँ। साथीहरूले कपडा फेरिदिनुभयो। राधा दिदीले मेरो हात बेसरी समाइन् तर केही बोल्न सकिनन्। मैले उनको आँखामा हेरिरहें। दुवै आँखा रसाए अनि आँसु टलपल भयो। फेरि खोक्न थालिन् मुख छोपेर। मेरो मुटु कटक्क खायो पीडाले।
म के पो गर्न सक्थें र? जेलको गेट खोलियो। प्रहरीहरू, जेलका कर्मचारीहरू, जेलका नाइके, चौकीदारहरू भित्र पसे। स्ट्रेचर पनि लिएर आएका रहेछन्।
‘लल राधालाई बाहिर ल्याउन सहयोग गर्नुस्।’ हामीले उनलाई स्ट्रेचरमा राख्न सहयोग गर्यौं। राधा दिदी एकोहोरो खोकिरहेकी थिइन्। मेरो हात यति दह्रो समातेकी थिइन् कि दुई जना प्रहरीलाई पनि छुटाउन गाह्रो भएको थियोे। बारम्बार मलाई हेर्दै आँसु खसाल्दै थिइन् उनी। मेरो त सास रोकिएजस्तो भयो। उनको हात समातेर जेलको गेटसम्म आएँ। बाहिर यसो हेरें। प्रहरी भ्यान अस्पताल जान ठिक्क परेको रहेछ। छुट्ने बेलामा फेरि एकपटक मेरो अनुहार हेरेर बरर आँसु खसालिन् उनले। केही भन्न खोजेजस्तो लाग्यो।
‘दिदी म प्रकाशलाई चिठी लेखिदिन्छु है।’
उनले आँखा नचाइन्। मलाई लाग्यो-राधा दिदीलाई एउटा आशा रहेछ प्रकाशको। चिसोमाथि चिसो भयो मेरो मुटु। प्रहरीले जबरजस्ती हात छुटाए। म विवश थिएँ। उनको वेदना बुझ्ने सामथ्र्य कहाँ थियो र? म राधादिदीलाई गाडीमा चढाएको हेरिरहेथें। नरमाइलो लाग्यो। मान्छेको जीवनमा कस्ता कस्ता क्षण आउँदा रहेछन्? म सोचिरहेकी हुन्छु।
‘सानी के विधि हत्ते गरेकी? रोग सरो भने? अरू मर्दै छ भनेर आफू हाम फाल्नुहुन्न नानी। मायाले जिन्दगी चल्दैन। संसार यस्तै हो। जाउ नुहाइधुवाइ गर,’ जेलकी नाइकेले भनिन्। म मन तितो बनाउँदै जेलभित्र फर्किएँ। केही साथीहरूले राधा दिदीको ओछ्यान पर लगेर डोरीमा टाँगिदिएछन्। उनको टिनको बाकस प्यासेजमा ल्याएर फिनेल छर्कंदै थिए भने जेलघर पूरै सरसफाइमा जुटेको थियोे। म नुहाउन बाथरुम पसें।
बरफजस्तै जम्यो मन मेरो! सबै रोग सर्छ भन्ने चिन्ता गर्दै थिए तर मलाई केहीजस्तो लागेको थिएन। बिरामी अवस्थामा आफ्नाहरू छेउमा नहुनुजस्तो पीडा केही हुँदैन रहेछ। यतिचाहिँ बुझें। अबदेखि स्वास्थ्यको ख्याल राख्छु भनेर मनैमा प्रण गरें। हामीलाई वरिपरिका प्रत्येक घटनाले केही न केही शिक्षा दिएर जाँदा रहेछन्।
म के पो गर्न सक्थें र? जेलको गेट खोलियो। प्रहरीहरू, जेलका कर्मचारीहरू, जेलका नाइके, चौकीदारहरू भित्र पसे। स्ट्रेचर पनि लिएर आएका रहेछन्।
दिन त्यसै बित्यो। साँझमा अस्पतालबाट दुःखद खबर आयो। राधा दिदीले यो दुनियाँ छोडिसकिछिन्। जेलभित्र स्तब्धता छायो, निःशब्द भएँ म।
जेल परेदेखिका कुरा आँखामा झलझली आए। पहिलो दिन म विराटनगर जेलमा पुग्दा मुसुक्क हाँस्दै इलामे साइनोले राधा दिदीले स्वागत गरेकी थिइन्।
जेल परेपछि म केही समय विक्षिप्त बनेकी थिएँ। खुब आत्मीयता देखाएर उनले मलाई त्यसबेला साथ दिएकी थिइन्। मेरो कपाल कोरीबाटी गरिदिने तिनै राधा दिदी अब मेरो अगाडि फर्केर आउँदिनन् भन्दा मन तितो भयो। कता हृदयमा गाँठो परेजस्तो लाग्यो। कताकता आँखा भरिएर आए। पर डोरीमा टाँगिएको उनको ओछ्यान त्यसै बेवारिसे बनिरहेको थियो।
जेल परेदेखिका कुरा आँखामा झलझली आए। पहिलो दिन म विराटनगर जेलमा पुग्दा मुसुक्क हाँस्दै इलामे साइनोले राधा दिदीले स्वागत गरेकी थिइन्।
सधैंभरि उनी बसेर रुने जेलको त्यो कुना हेरें। त्यहीं बसेर उनी रोइरहेजस्तो लाग्यो। म धेरै कुरा सोध्न चाहन्थें। सायद उनी पनि मलाई ती कुरा भन्न चाहन्थिन् तर मैले कहिल्यै सोध्न सकिनँ। अब त ती प्रश्नका जवाफ राधा दिदीसँगै हराए, बिलाए। आफ्नै मनलाई छि ! भनें। लाग्यो– मनमा लागेका कुरा गरिहाल्नुपर्ने रहेछ मान्छेले जीवनमा नत्र धेरै कुरा अधुरै रहने रहेछन्।
राधा दिदीको मृत्युले केही आमा, दिदीहरूको अनुहार फुंग उड्यो। म त उनको मायाले होला भनेको, कुरा अर्कै रहेछ। उनीहरूसँग राधा दिदीले पैसा सापटी चलाएकी रहिछन्। जेलमा आएको भत्ता र खाइ नसकेको चामल बेचेर जम्मा गरेको पैसा उनीहरू रुनु कि हाँस्नु भइरहेको देख्दा लाग्यो– दुनियाँमा सबैभन्दा ठुलो कुरा पैसा नै रहेछ।
तत्कालै महिला मिटिङ बस्यो। म चुपचाप हेरिरहेकी थिएँ। धेरै होहल्ला हुन पाएन। राधा दिदीको सामान लिलाम हुने भयो।
उफ्, जेलका आत्माहरू!
मानवीय धर्म हराएको त्यो साँझ। थुक्क मान्छेको जुनी ! चौकीदारले राधा दिदीको टिनको बाकस खोलिन्। कति जतनले राखेका तीन थान सारी, केही कुर्था र चुरा, रातो टीका, अलिकति अबिर, रातै लिपिस्टिक र नेल पालिस अनि कानका झुम्का फिँजाइए जेलको प्यासेजमा।
मलाई साह्रै नमिठो लाग्यो। सम्झें, अस्पतालको लासघरमा राधा दिदीको लास बेबारिसे लडिरहेको थियोे किनभने उनको यो दुनियाँमा कोही थिएन रे आफ्ना भन्नेहर ! यता जेलमा उनका केही थान सपनाहरू लिलामीमा राखिएका थिए। बरर आँसु खसे मेरा आँखाबाट। ती सारीमा के सपना साँचेर राखेकी थिइन् होला राधा दिदीले? रातो टीका र सिन्दुरसँग उनको आत्मा जोडिएको थियो होला। मन तितो भयो। एउटा रातो बर्को र कालो रंगको हाते ब्याग रहेछ। ब्यागमा ८५० रूपैयाँ रहेछ। ५–१० रूपैयाँका नोटहरू। मैले कहिल्यै नदेखेको दृश्य देखिरहेकी थिएँ। केही भाँडाकुँडा, बस्ने बाँसको मुढा सबै आआफ्नै हिसाबले मोल तोकेर ऋण असुल गर्दै थिए।
सधैं मैले आमा, दिदी भनेर सम्बोधन गरेका मान्छेहरू आज आफ्नै साथीको लासमाथि आफ्नो हिसाबकिताब खोजिरहेका थिए। खै, ती सबैको ऋण खाएकी थिइन् कि थिइनन् राधा दिदीले? हेर्दाहेर्दै राधा दिदीको टिनको बाकस रित्तो भयो। त्यसरी नै मन रित्तियो मेरो पनि ! बाँकी रह्यो कलेजी रङको छेउ छेउमा बुट्टा भएको सारी। त्यसको मूल्य २०० तोकियो तर त्यति धेरै मूल्य तिर्न कोही तयार भएनन्।
राधा दिदीको शिरमा अझै ३०० ऋण बाँकी रहेछ। चौकीदार मिनाले मासु ल्याइदिएको भन्थिन्। मलाई कुनै रहर थिएन सारीको तर बाँचुन्जेल उनका लागि केही गर्न नसके पनि मरिसके पछि अलिकति सहयोग गर्न मन लाग्यो। त्यो सारी २०० मा मैले लिएँ अनि थप १०० रूपैयाँ पनि थमाइदिएँ चौकीदारको हातमा। अहिले पनि यसो हेर्छु त्यो सारी, राधा दिदीको सम्झना आउँछ।
सधैं मैले आमा, दिदी भनेर सम्बोधन गरेका मान्छेहरू आज आफ्नै साथीको लासमाथि आफ्नो हिसाबकिताब खोजिरहेका थिए। खै, ती सबैको ऋण खाएकी थिइन् कि थिइनन् राधा दिदीले?
त्यो घटना भएको २ दिन पश्चात् इलाम जेलबाट सरुवा गरेर एकजना आस्थाको बन्दी (पुष्पा दिदीलाई) ल्याएछ। पुष्पा दिदीलाई मैले पहिला नै चिनेका कारण खुसी लाग्यो। लाग्यो, उहाँसँगै इलाम पनि आइपुगेको थियो।
संयोगवश पुष्पा दिदीको मामाघर राधा दिदीको गाउँ रहेछ। मैले उनको कथा सोधें पुष्पा दिदीलाई।
‘मलाई पनि सबै कहाँ थाहा छ र ? तर बिचरी सारै अन्यायमा परेकी थिइन्। सानैमा आमा मरेपछि बाउले कान्छी आमा ल्याइदिएका थिए। पढ्न लेख्न पाइनन्। खेतालापात गरेर बाबुलाई घर व्यवहार धान्न सघाएकी थिइन् रे। सोझी, त्यही सोझोपनको फाइदा उठाएर उसको मामा (कान्छी आमाको भाइले) पटकपटक बलात्कार गरेको रहेछ। पछि राधा गर्भवती भएको थाहा पाएर इन्डिया भागेछ। राधा जेल परेपछि हामीले उनका बारेमा गाउँमा गएर बुझेका थियौं। त्यो घटनापछि राधाका बाबु पनि पागलजस्तै भएका थिए। समाजले आउजाउ र बोलचाल बन्द गरेको थियोे। त्यो अपमानको पीडा सहनका लागि एक दिन नयाँ बजारदेखि बेसरी रक्सी खाएर फर्कदै गर्दा भिरबाट लडेर बाबु मरे। राधाकी कान्छी आमाले पनि गाउँ छोडिन् रे भन्ने सुनेकी हुँ।’
मेरो मुटु छियाछिया भयो। मैले पनि अरूको कुरा सुनेर एक पटक उनलाई उपेक्षा गरेकी थिएँ। सम्झेर आत्मग्लानि भयो।
आँखाभरि राधा दिदी नाँचिरहिन्, रोइरहिन् !
आफैले जन्माएको बच्चाको घाँटी कचियाको धारले रेटेर शरीरदेखि छुट्टयाइएको पनि पत्तै पाइनन्। रगतको भल बगेछ। त्यहीं कचियाले सानो खाल्डो खनेर राधाले दुई टुक्रा भएको नवजात शिशुलाई पुरिदिइन्। भर्खरै जन्मेको बच्चाले च्याँ पनि गर्न पाएन। सायद बच्चाको च्याँ सुनेको भए उनको हात काप्थ्यो होला। आफूले लगाएको लुंगी सबै रगतले भिजिसकेको थियो।
चौकीदारले राधा दिदीको टिनको बाकस खोलिन्। कति जतनले राखेका तीन थान सारी, केही कुर्था, चुरा, रातो टीका, अलिकति अबिर, रातै लिपिस्टिक, नङ पालिस अनि कानका झुम्का फिँजाइए जेलको प्यासेजमा। अस्पतालको लासघरमा राधा दिदीको लास बेबारिसे लडिरहेको थियोे, यता जेलमा उनका केही थान सपनाहरू लिलामीमा राखिएका थिए।
हेरिन्, पारि सिद्धिथुम्काको डाँडामा घाम लुक्न लागिसकेको थियो। मकैबारीमा घाँस काट्न आएकी राधा अब हत्यारा, पापिनी आमा बनिसकेकी थिइन्। राधाको लाचार र अपराधी आँखासँग आफूलाई जुधाउन नसकेर घाम अस्तायो। बच्चा जन्माउँदाको पीडाले राधालाई छुन सकेको थिएन, न त बच्चा मारेकोमा पश्चात्ताप थियो। उनको ध्यान कति बेला घाँसको भारी घरमा पुर्याउने भन्ने मात्रै छ। रात पर्न लागेको थियो।
सानी आमाले मार्छिन् भन्ने मात्र डर थियो। घाँसको भारीमा छाँट (डोकोमाथि घाँसको मुठो अड्याउन बाँध्ने डोरी) कस्न खोज्दाखोज्दै रगताम्मे शरीर लिएर डोकोसँगै लडिन् राधा रगतको आहालमा।
भोलिपल्ट गाउँलेले स्ट्रेचरमा हालेर राधालाई जिप्रका इलामतर्फ लगे।
राधाका बाबुले हत्या गरिएको बच्चाको लास एकै पोको पारेर बोकेका थिए।
मुद्दा चल्यो। जन्म कैदको फैसला भयो अनि विराटनगर जेल पुगेकी रहिछिन् राधा।
यो कहानी मैले उनको मुखबाट सुनेकी भए सायद कथाले अर्कै मोड लिन्थ्यो होला।
छोरी मान्छे भएर जन्मेको अपराधको सजाय भोग्दै राधा बेवारिसे लास बनेर यो धरतीबाट घृणा र तिरस्कारका साथ बिदा भएकी थिइन्। राधालाई घृणा, अपमान, तिरस्कारको दलदलमा फसाउने त्यो पुरुष पनि अपराधी होइन र?
हृदय भारी भयो। राधा दिदीलाई सम्झिएर आँखा भिजिरहे।
प्रकाशित: २७ श्रावण २०८० ०२:३५ शनिबार