३० पुस २०८२ बुधबार
image/svg+xml
कला

स्वयम्भू आमाका नसुनिएका कथा

पुस्तक

वर्षाैंपछि कुनै पुस्तकमा आँखा टाँसिए, त्यो पनि गैरआख्यानमा। आँखा पनि यसरी टाँसिए कि आवरण पृष्ठमा टाँसिएको आँखापछाडिको आवरणमा नपुगी उप्किनै मानेनन्। कुनै किताब कुनै बाध्यताबिना एकै बसाइमा आद्योपान्त तुरेर लामो सास फेरेको कम से कम पचीस बर्सादपछिको घटना हो, त्यो सुअवसर डा. नवराज केसीले ‘शून्यको मूल्य’ मा जुटाइदिए। युवा भावनालाई च्याप्प समात्न उतिबेला मोदनाथ प्रश्रित ‘मानव’ र ‘देवासुर संग्राम’ लिएर आएका थिए, याङ मोले ‘युवाहरूको गीत’ र म्याक्सिम गोर्कीले ‘आमा’ दिएर गएका थिए। सबैले एक एक रातको निद्रा लगेका थिए।

गोर्कीकी आमा र केसीका आमाहरूमा भिन्नता छ। गोर्कीकी आमा पेलागेया निलोभ्ना सामाजिक यथार्थले बुनिएको उपन्यासकी एक पात्र हुन्, केसीका आमाहरू सामाजिक सत्यसँग जुधिरहेका सजीव आत्मा हुन्।

नवराजले अनुहार पढेका आमाहरूको कथा मैले केही लेख्नका लागि पढिनँ, न त प्रकाशक वा लेखकप्रतिको कुनै वैयक्तिक रागले नै। लेखकलाई यही पुस्तकको फोटोमा मात्र देखेको र प्रकाशक सांग्रिला बुक्ससँग अनुराग राख्नुपर्ने कार्य-कारण सम्बन्ध नभएकाले यो पुस्तक कोही मर्मज्ञको सिफारिसमा ‘पेसेन्ट पार्टी’हरूप्रति लेखकको सूक्ष्म दृष्टिगोचर र ‘स्टोरी टेलिङ’को सिप पारख्नका लागि पढेको थिएँ। तर, जब पढ्न थालें, मेरो २३ वर्षअघिको दैलेख-जुम्ला पैदल यात्राका अनेक दृश्य रिवाइन्ड भएर छोड्नै नसकेकाले पढेर सकें। त्यसैले यो पुस्तक-समीक्षा होइन, लेखकका मन-पहलवान आमाहरूको आत्मबलको सम्मानमा अर्पण गरिएको लिखत हो।

यसमा अनेकानेक सन्दर्भ छन्। स्वास्थ्य छ, समाज छ, पटकपटक आँसु झार्नका लागि पुग्दो भावनाको उरुङ छ। खरायोदेखि हरिण आमासम्मका महानताका दृष्टान्त छन्। भाषामा वेग छ, विद्रोह छ, झन्झावत छ। हृदयविदारक घटनाको लस्कर छ। बेनामे आमाहरूको बाँच्ने सहारा मातृवात्सल्यभाव मात्र छ र त्यसका कारणले नै ‘आमा बन्दै गर्दा भगवान् बन्न पुग्ने’ उनीहरूका लागि संसार आफ्नो छ तर संसार भने उनीहरूको अस्तित्व नकार्दै छ।

गोर्कीकी आमा र केसीका आमाहरूमा भिन्नता छ। गोर्कीकी आमा पेलागेया निलोभ्ना सामाजिक यथार्थले बुनिएको उपन्यासकी एक पात्र हुन्, केसीका आमाहरू सामाजिक सत्यसँग जुधिरहेका सजीव आत्मा हुन्।

समाजको रिसउठ्दो र टिठलाग्दो दर्दनाक कथा कहेर लेखकले निराशा छर्न भने खोजेका छैनन्, बरु आमाहरूको मूल्य र महत्तालाई पटक पटक सम्झाइदिएका छन्। सय वर्षअघिको चिनियाँ समाजको पृष्ठभूमिमा चिनियाँ-अमेरिकी म्याक्सिन होङ किंगस्टनले करिब पाँच दशकअघि लेखेको ‘नो नेम विमन’ की बेनामे फुपू र डा. केसीले देखेकी बुधेकी फुपूआमामा सारभूत भिन्नता छ। किंगस्टनकी बेनामे फुपूले समाजसँग हार खाएर इनारमा हाम फालेर मर्नुपरेको छ, बुधेकी फुपू बुद्धि र बर्कतले भ्याएसम्म अभाव र भेदभावको सगरमाथा चढेर बुधेको जीवनदायिनी भएर रगत वान्ता गरी बितेकी छिन्।

बेसुरा पुरुष-दम्भमा श्रीमतीलाई लात्तीले हानेर चौतारीबाट झारिदिएका कारण मरेको सन्तान जन्माएपछि आँसुका धारा बगाउँदै ग्लानिको आहालमा पौडी खेलेको दैलेख नौमुलेको भीमकाजी, मातृवात्सल्यको उत्कण्ठा साम्य पार्न मरेको बच्चोको मुखमा दुधको मुन्टो कोच्न भीमकाजीकी श्रीमतीले गरेको दारुण प्रयास र लोग्नेप्रतिको मजबुर क्षमाशीलता यसमा छन्।

आमा कुट्ने बाबुले गर्भको बच्चाको चिठी पढेपछि व्यवहारमा ल्याएको १८० डिग्रीको परिवर्तनको नाटकीय वर्णन छ यहाँ। दलित र महिलालाई हेप्ने समाज जताततै छँदै छ। श्रीमान्ले छोडेर भारत पलायन भएपछि एक्लिएकी भुनभुनेकी आमालाई बोक्सी भनेर समाजले गरेको दुर्व्यवहारका कारण बच्चो च्यापेर वनवास बसेको अकल्पनीय व्यथा समाजलाई गिज्याएर गजधम्म यहीं खडा छ।

छोरीको प्रतिरक्षामा उत्रिएकी आमालाई कालापहाडको ढुंगाले हानेर आँखा नै फुटाइदिएको क्रूरता मात्र छैन, त्यसपछि देखा नपरेको लोग्नेप्रति कर्किनी आमाको माया अलिकति बाँकी नै छ। कहिल्यै नफर्किने घोषणा गरेरै श्रीमती र बच्चालाई छोडेर हिँडेको निर्मोहीप्रति लाटीको मोह पनि अटाएकै छ। यी सबै मातृभाव हुन्।

भेडालाई आफूभन्दा बढी माया गरे पनि परिवारले भेडालाई जति पनि वास्ता नगरिइएकी परित्यक्त भेडिनी कान्छीको खुसी यसैमा छ। डाक्टरले मनमनै नाम राखिदिएको हिम्मतबहादुर र मायालु भेडिनी कान्छीको सुकोमल प्रेमका कठोर सामाजिक कथा पनि समेटिएको छ।

आमा कुट्ने बाबुले गर्भको बच्चाको चिठी पढेपछि व्यवहारमा ल्याएको १८० डिग्रीको परिवर्तनको नाटकीय वर्णन छ यहाँ। दलित र महिलालाई हेप्ने समाज जताततै छँदै छ।

गरिबले गरिबलाई गरेका मायाका कथा पनि छन्। बाढीपहिरोले बस्ती उजाडिएपछि सुर्खेतको कोलडाँडामा पुग्नेलाई पहिल्यै पुगिसकेकाहरूले गरेको आतिथ्य अनुपम छ। औषधोपचारमा देखाएको सहानुभूति छ। गरिब र बालबालिकाको शिक्षामोह पनि छ। पुतली आमाको नेतृत्वमा भएको एक सहरी वर्गसंघर्षको जोसिलो नाटकीय कथा पनि संलग्न छ।

देशविदेशमा अध्ययन र अनुभव हासिल गरेका कर्मठ डाक्टरले पिताको इच्छामुताबिक आफ्नै समाजमा सेवा गरेको सत्यको जगमा उभिएका पात्रहरू भेटिएका हुन्। स्वास्थ्य सेवा हो कि सामाजिक सेवा हो नछुट्टिने गरी हेलिएको डाक्टर विद्यावारिधिभन्दा समाजवारिधिमा ज्ञानको खुदो खुँडिरहेको छ, सामाजिक विज्ञानका ज्ञानको रङले रङमङिएको रोचक संघर्षको रास आसलाग्दो र आरिसलाग्दो दुवै छ। पटक पटक डा. केसीले सचेततापूर्वक विश्वविद्यालयको ज्ञानभन्दा सामाजिक विज्ञान कैयौं गुणा ठुलो हुँदो रहेछ भन्ने अनुभूति दोहोर्‍याएका छन्।

देशविदेशमा अध्ययन र अनुभव हासिल गरेका कर्मठ डाक्टरले पिताको इच्छामुताबिक आफ्नै समाजमा सेवा गरेको सत्यको जगमा उभिएका पात्रहरू भेटिएका हुन्।

कताकतिका शुद्धाशुद्धि र शब्द छुटपुट तथा रोमानियाका शासक निकोलाए चाउसेस्कुको नामको अन्यथा उच्चारणजस्ता त्रुटी पुस्तकको तथ्य र कथ्यको वेगले मुठारिएकै छन्। सम्भवतः प्रकाशकले गुथाइदिएको पगरी ‘सिर्जनात्मक गैरआख्यान’ को विधामा पहिलोपटक उदाएका बालरोग विशेषज्ञ केसीलाई पढ्नु यसकारण पनि रोचक छ कि उनी लेखन तथा साहित्यमा चिनिएका मान्छे थिएनन्।

यी नव–गैरआख्यानकारले यस कृतिमार्फत यस्तो समाजलाई उजागर गरिदिएका छन्, मानौं त्यो समाज कृत्रिम बौद्धिकताको बहसमा रमाएर बुद्धिजीवी देखिन चाहने कृत्रिम आत्माहरूका लागि धर्तीभन्दा बाहिरको कुनै टापुबाट टपक्क टिपेर ल्याइएको हो। त्यही टापुमा बुर्कुसी मारेर कुद्दै उनी कहिले ओखती नपाएकाहरूलाई ओखती खुवाएर उपचार गर्दै छन्, कहिले ओखतीले काम नगरेका नानीआमाकी नातिनी र भुनभुनेहरूलाई कुरै खुवाएर पनि उपचार गर्दै छन्।

यो समकालप्रतिको चुनौतीको दस्ताबेज हो। उनले यो पनि पोल खोलेका छन् कि स्वास्थ्य मन्त्रालयका वरिष्ठ कर्मचारीहरू ग्रामीण स्वास्थ्यलाई कति अपहेलना गर्छन्। यससँगै उनले यो पनि बुझाइदिएका छन् कि स्वास्थ्य पिरामिडमा सबैभन्दा तलको तहलाई स्वस्थ बनाउने हो भने देश कसरी स्वस्थ हुनसक्छ। आभार व्यक्त गर्ने अन्तिम अनुच्छेदसम्म पनि उनले भावुकतापूर्वक पाठकको मन भरिदिन सकेका छन्।

हुम्लामा भेडा बेचेको खर्चले हेलिकप्टरमा सुर्खेत पुर्‍याएर बच्चाको उपचार गर्ने र बिसेक भएपछि सडकको रोडामा मजदुरी गरेर सपनाको बाँकी संसारमा मस्तसँग हाँस्ने मनहरूलाई अलि सुबिस्तासँग बाँच्न दिँदा राज्यका सञ्चालकहरूलाई के कति घाटा लाग्ला? मन्त्रालयका सचिवज्यूको उत्तर हुम्ली बाबुले चित्तबुझ्दो गरी भेटेको दिन सायद नवराज केसीहरूले समाजको कथामा बिरोलिनुपर्ने छैन, बरु मेडिकल रिसर्च रिपोर्टका झटाराहरूले संसारलाई थर्काउन पाउने छन्।

गोर्कीकी आमा पेलागेया निलोभ्ना सामाजिक यथार्थले बुनिएको उपन्यासकी एक पात्र हुन्, केसीका आमाहरू सामाजिक सत्यसँग जुधिरहेका सजीव आत्मा हुन्।

‘सक्ने जति गर्ने’ चेष्टा राजनीति गर्नेहरू सबैले राख्ने हो भने कुरा अर्कै हुने छ। हुने छ के भने डा. केसीले त सक्ने जति गरे, गरिरहेका छन् तर ‘गुमनाम आमाहरूको कथा’ सम्झिने डा. बाबुराम भट्टराईले सक्ने जति गरेनन् कि भन्ने प्रश्न उठ्नै नपाई निमोठिने छ। अनि, सबै राजनीतिकर्मीलाई सामान्यीकरण गर्दै उनीहरूको निधारमा कालो टीका दाग्नेहरू भाग्ने छन्।

 त्यसो हुँदो हो त नवराजहरूले अतीतका दन्त्यकथा जस्ता लाग्ने कर्णालीका आमाहरूको कल्पनातीत कहर सुन्नु, देख्नुपर्ने थिएन। राजनीतिमा जोडिएको दिनदेखि नै आमालाई सम्झिने र आमाहरूलाई खुसी पार्ने चेष्टा मात्र राख्ने हो भने नवराजहरूले कर्णालीका दुःखी तर साहसी आमाहरूको दैनन्दिनीको महापात्र बन्नुपर्ने थिएन।

डा. केसीको लेखनलाई लेखनका रूपमा मात्र नभएर समाजको नपल्टाई नहुने चप्परीका रूपमा बुझ्ने नीति र तदनुरूपको थिति हुने हो भने सहश्राब्दी विकास लक्ष्य बडाहरूका भाषण र प्रतिवेदनमा सीमित हुने थिएन। त्यसो भएमा सहरका गल्लीहरूमा बेच्ने अधिकारकर्मीहरू र सामाजिक सञ्जालमार्फत विदेशी भूमिबाट नेपालतिर फर्केर कुण्ठाको वान्ता गर्नेहरू पनि बेनाम आमाहरूको नाम फेला पार्न नवराजसँगै कर्णालीतिरै पुग्ने पो थिए कि? नवराजले देखेबुझेका र सबैले बुझ्नुपर्ने स्वयम्भू आमाहरूको आँसु झरिरहेको यो साउनमा यसै टिप्पणीमार्फत उनीहरूको साहस र स्नेहलाई सम्मान।

प्रकाशित: २० श्रावण २०८० ०३:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App