७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
कला

हलिउड हडताल २०२४ सम्मै तन्किने संकेत

सन् २०२१ को अक्टोबर १८ देखि हलिउडका फिल्म, टेलिभिजन तथा रेडियोका स्क्रिप्ट लेखकहरूले आफ्नो आम्दानी निरन्तर घटेको, आम्दानी बढाउन स्टुडियोहरूले भूमिका खेल्नुपर्नेमा चासो नदेखाएको भन्दै जारी राखेको आन्दोलन चर्किंदै गएको छ।  

कोभिड–१९ को अवधिमा केही समय आन्दोलन मत्थर भए पनि तीन महिनायता हलिउडकर्मीहरूको आन्दोलनको दायरा बढेको छ। लेखकहरूसँगै यतिबेला हलिउडका कलाकारसमेत आन्दोलनमा जोडिएका छन्। बेलायती प्रख्यात कलाकारहरूले पनि सो आन्दोलनप्रति समर्थन जनाएका छन्। जसले गर्दा हलिउड स्टुडियोको संकट गहिरिने देखिएको छ।

त्यसै पनि हलिउडका फिल्महरूको व्यापार खुम्चिरहेका बेला लेखक तथा कलाकारको आन्दोलनलाई स्टुडियोहरूले उति चासो दिएका थिएनन् तर पछिल्लो समय ‘बार्बी’र ‘ओपेनहेमर’दुवै फिल्मले संसारभर आकर्षक व्यापार गरेपछि हलिउडका लेखक तथा कलाकारहरूको मागमाथि सुनुवाइ हुने अपेक्षा गरिएको छ। गत साता बेलायतका कलाकारहरूले हलिउडका लेखकहरूको आन्दोलनमा साथ दिए। हलिउडका लेखक तथा कलाकारहरू आन्दोलित रहँदा साथ नदिनु अनैतिक रहने भन्दै उनीहरू समर्थनमा उत्रिएका हुन्। गत शनिबार लन्डनको व्यस्त सडकमा केही प्रख्यात बेलायती कलाकार प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिए । उनीहरूले हलिउडका ठुला निर्माता तथा स्टुडियोहरूले कलाकार तथा लेखकका माग सुन्नुपर्ने आवाज उठाए।  

आन्दोलनयता हलिउडका लेखक तथा कलाकारले कुनै पनि नयाँ फिल्म, टेलिफिल्म र रेडियोका कार्यक्रमको स्क्रिप्ट लेखेका छैनन्। आन्दोलनरत पक्षहरूसँगै कलाकारसमेत जोडिएपछि फिल्म, टेलिभिजन तथा रेडियोमा दिनुपर्ने आवाज तथा अभिनय ठप्प भएको छ। यससँगै हलिउडको हडताल लम्बिने देखिएको छ। केही विश्लेषकले आन्दोलनको गाँठो २०२४ को जनवरीसम्म नफुक्ने बताएका छन्। हलिउडका कलाकारहरूको ट्रेड युनियनमा १ लाख ६० हजार सदस्य आबद्ध छन्। त्यस्तै ११ हजार ५०० लेखक ट्रेड युनियनमा संलग्न छन्। कलाकार र लेखकहरूसमेत जोडिएपछि अहिले यो सबैभन्दा ठुलो आन्दोलन बन्न पुगेको छ।

कलाकार र लेखकहरू किन आन्दोलनमा छन् त ?

हलिउडमा कलाकारहरू र लेखकहरूको पारिश्रमिक माग नौलो होइन। ठुला फिल्म निर्माता स्टुडियोहरूको आम्दानी बढ्नु तर कलाकार र अन्यको पारिश्रमिक त्यो दरमा नबढ्ने समस्या लामै समयदेखिको हो। यो समस्या सन् १९१९ मा पनि देखिएको थियो। खासगरी पहिलो र दोस्रो विश्वयुद्धमा हलिउडको प्रभाव अन्तर्राष्ट्रिय स्तरमा बढ्यो। प्रभावसँगै आम्दानी पनि बढ्यो। आम्दानी बढेसँगै त्यसमा प्रभावशाली कलाकारहरूले आफ्नो भाग खोज्न थाले। पहिला ठुला स्टुडियोहरूले फिल्म कलाकारहरूलाई मासिक वेतनमा काम लगाउँथे। चर्चित कलाकारहरूले सो वेतन बढाउनुपर्ने माग राख्दा त्यो बेला स्टुडियोहरूले ध्यान दिएनन्।  

फलस्वरूप मेरी पिकफोर्ड, चार्ली च्याप्लिनलगायत अन्य कलाकारहरू मिलेर युनाइटेड आर्टिस्ट नामक कम्पनी नै खोले। च्याप्लिनहरूको विद्रोहले राम्रा कलाकारको भाउ अचानक बढ्न पुग्यो। सन् १९५० को दशकमा टेलिभिजन छिर्यो। ६० को दशकसम्म टेलिभिजनको लोकप्रियता उफानमा थियो। त्यो लोकप्रियता बढाउन स्टुडियोहरूले निर्माण गर्ने टेलिभिजन कार्यक्रम र त्यसका कलाकारहरूको भूमिका पनि उत्तिकै थियो।  

‘टिभी बुम’का प्रख्यात कलाकार रोनाल्ड रेगनले स्क्रिन एक्टर्स गिल्डको अध्यक्ष हुँदा कलाकारहरूलाई राम्रै आम्दानी गर्ने बाटो बनाइदिएका थिए। यसको फाइदा उनले पछि अमेरिकी राष्ट्रपति निर्वाचनमा उठ्दा मज्जाले ‘क्यास’ गरे।  

यतिबेला ‘स्ट्रिमिङ बुम’अर्थात् ‘नेटफ्लिक्स’,‘डिज्ने प्लस’लगायतका स्ट्रिमिङ कम्पनीहरूले त्यो पुरानो व्यापारको मोडल नै बिगारिदिए। उनीहरूले ठुलो रकममा फिल्म तथा टिभी कार्यक्रम किने पनि त्यसको रोयल्टी तिर्दैनन्। एकै झमटमा लामो समयका लागि प्रसारण अधिकार किनिदिएका कारण यो पछिल्लो ‘बुम’मा लेखक तथा कलाकारहरू मर्कामा परेको महसुस गरेका हुन्। स्ट्रिमिङ बुमका कारण काम बढे पनि पहिलेको तुलनामा ४ प्रतिशत कम आम्दानी कलाकार तथा लेखकहरूले गरिरहेको पछिल्लो सर्भेले देखाएको छ। त्यसमाथि उनीहरूले पाउने सेवासुविधा कटौतीमा परेका छन्, तीमध्ये स्वास्थ्य बिमा र अन्य सुविधा छन्।

पछिल्लो समय त पुराना फुटेज, भिडियो, तस्बिर तथा अडियो संवादहरूकै भरमा कलाकारलाई उपयोग नगरीकनै धेरै काम गर्न सकिने प्रविधि आएपछि कलाकारहरू विलखबन्दमा परेका छन्। त्यस्तै च्याटजिपिटीका कारण धेरै लेखकहरूको रोजीरोटीमा असर पर्न थालेको छ। च्याटजिपिटीलाई कुनै दृश्यको बान्की दिनेबित्तिकै सो बान्कीका आधारमा पूरै कथा र पटकथासमेत तयार पारिदिन थालेपछि लेखकहरूको रोजीरोटी धरापमा परेको हो।

पहिला एउटा स्क्रिप्ट लेख्न ६ महिना लाग्थ्यो। त्यसका लागि फिल्म वा टेलिभिजन निर्माता वा स्टुडियोले लेखकलाई प्रतिसाता ५ लाख डलर दिन्थे। च्याटजिपिटीका कारण त्यही लेखकसँग एक साताका लागि १५ हजार डलर मात्र दिए पुग्न थाल्यो। त्यसमाथि च्याटजिपिटीले लेखिदिएपछि वास्तविक लेखक सहायक मात्र बन्न पुगेका कारण अब उनीहरूको रोयल्टीसम्बन्धी हकअधिकार गुम्न पुगेको छ। सिलिकन भ्यालीमा आएको परिवर्तन र नयाँनयाँ प्रविधिले निम्त्याएको संकटको असर अब सर्वत्र पर्ने देखिँदैछ। यसको अर्थ, अहिलेलाई यो हलिउडको मात्र देखिए पनि अन्ततः अन्य क्षेत्रमा पनि संकट गहिरिने विज्ञहरू बताउँछन्। फाइनान्सियल टाइम्समा राना फोरुहर टिप्पणी गर्छिन्, ‘अहिले हलिउडमा देखिएको समस्या क्रमशः अन्य साधारण कामदारहरू भएका कारखाना र अन्यत्र पनि देखापर्न थाल्नेछन्।’

प्रकाशित: १९ श्रावण २०८० ०१:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App