कुनै बेला राष्ट्रिय गायन प्रतियोगितामा रामकृष्ण ढकालसमेतलाई पछि पारेका संगीतकार तथा गायक कुबेर राई यती बेला अस्वस्थ भएर घरमा थलिएका छन्।
इलामको सूर्योदय नगरपालिकास्थित सल्लेरीमा रहेका कुबेर गत कात्तिकदेखि नसासम्बन्धी समस्याले बिरामी परेका हुन्।
मधुमेह र रक्तचाप बढेपछि उनलाई कात्तिक १८ गते झापाको ओम साई हस्पिटल लगिएको थियाे। झापा, काठमाडौं, भारतको बिहारलगायत धेरै स्थानमा उपचार गरेर फर्केका राईलाई चिकित्सकले नसामा समस्या रहेको बताएका छन्। मुटुबाट मस्तिष्कसम्म पुग्ने नसा सुकेको र पूर्ण रूपमा निको हुन कम्तीमा १ वर्ष लाग्ने डाक्टरले बताएको कुबेरकी पत्नी माया राईले जानकारी दिइन्।
घरमै रहेका कुबेर लौरो टेकेर भित्र–बाहिरसम्म गर्छन्। सामान्य बोल्छन्। तर, उनको देब्रे खुट्टा र हातमा समेत समस्या देखिएको छ।
‘एउटा हात र खुट्टाको भर राम्रो छैन,’ मायाले भनिन्, ‘तर, पोहोरभन्दा निकै सुधार चाहिँ भइरहेको छ।’
बिरामी परेपछि दिनमा आठ पटक औषधि सेवन गरिरहेका गायक राईको संगीतकर्म यतिबेला स्थगित छ। काठमाडौंका विभिन्न अस्पतालमा राखेर लामो समय उपचार र थेरापी गराएपछि उनको स्वास्थ्य अवस्था केही सुध्रेको हो। अहिले पनि घरमा थेरापी गराउने गरेको मायाले बताइन्।
‘चिकित्सकले भने अनुसार पूरा निको हुन एक वर्षभन्दा बढी नै लाग्छ जस्तो छ,’ मायाले भनिन्। उनलाई भेट्ने अहिले टाढा–टाढाबाट स्रष्टाको टोली आइरहेको छ।
कुबेरको स्वरमा ‘नेपाली हो राष्ट्रको गौरव बढाइदेऊ,’ ‘मायाले मूलबाटो भुलेछ’, ‘टाढा भए के भो मायालु,’ ‘बिरानो यो आकाशमा चाँदीको बादल देखेर,’ ‘सबै सबै मेरै भन्छन्’, ‘अल्झिएकी शीतहरू’ लगायत गीत चर्चित छन्। ०५१ सालको राष्ट्रिय आधुनिक गीत सम्मेलनमा त्यति बेलाका चर्चित गायक रामकृष्ण ढकाललाई दोस्रो र ईश्वर अमात्यलाई तेस्रो बनाउँदै पहिलो स्थान जितेका कुबेरले अहिलेसम्म करिब तीन सय गीतमा स्वर दिएका छन्।
उनले घरमा बसीबसी ०५८ सालमा पदमसुन्दर राईको सहयोगमा ‘अन्तराल’ एल्बम निकाले। ‘निरन्तर’, ‘अविरल’ र ‘आवृत्ति’ उनका अरू एल्बम हुन्।
‘धेरै कलाकार काठमाडौं बस्न रमाउँछन्, म गाउँमै बसेर देश रमाएको हेर्न चाहन्छु’ भन्दै काठमाडौं छाडेका कुबेर गीत–संगीतबाहेक समाजसेवामा समेत खटिरहेका छन्। शारीरिक रूपमा सक्षम हुँदा उनी देश र विदेशका दर्जनौँ साङ्गीतिक कार्यक्रममा समेत गीत गाउन पुगिरहेका हुन्थे।
०३८ सालमा इलामबाट काठमाडौं छिरेपछि कुबेरले एकराज राई र मानसिंह थुलुङसँग संगीतको आधारभूत ज्ञान हासिल गरेका थिए। २०३९ सालमा रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरेका उनले कृष्णनारायण श्रेष्ठसँग तीन वर्ष गायन सिके।
०४१ सालमा आयोजित राष्ट्रिय युवा गीत प्रतियोगितामा कुबेर प्रथम हुँदा इलामकै कोमल निरौला दोस्रो थिए। २०३९ सालमा रेकर्ड भएको चन्द्र शिवाको शब्द र मानसिंह थुलुङको संगीत रहेको ‘मैले रोजेको फूल’ कुबेरको पहिलो गीत हो। उनले ११ वर्ष काठमाडौंको जेम्स स्कुल, ललितपुर माविलगायतमा गीत–संगीत र वाद्यवादन सिकाएका थिए।
प्रकाशित: १७ श्रावण २०८० १०:०७ बुधबार