९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
कला

तीन विशिष्ट व्यक्तित्वको अभिनन्दन

साहित्यिक पत्रकार संघले नेपाली संस्कृतिका विशिष्ट संस्कृतिविद्  वरिष्ठ आख्यानकार गीताकेशरी , डा. जगमान गुरुङ र वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई अभिनन्दन गरेको छ।

साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सवको सन्दर्भ पारेर उनीहरूलाई अभिनन्दन गरिएको हो। प्रमुख अतिथि संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ, विशिष्ट अतिथि प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका नेता शंकर भण्डारी, संघका अध्यक्ष राधेश्याम लेकाली लगायतले उनीहरूलाई अभिनन्दन गरेका थिए।

अभिनन्दन कार्यक्रममा इतिहासविद् प्राडा सुरेन्द्र केसी, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, गुञ्जनका पूर्व अध्यक्ष हिरण्यकुमारी पाठक, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, साहित्यकार उन्नति बोहरा शीला लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि सुवासचन्द्र नेम्बाङले लेखक साहित्यकारहरूले देशमा सधैं गाईजात्रा भइरहेको छ भनेर गुनासो गर्नुभन्दा त्यस्ता गाईजात्रा गर्नेहरूसम्म आफ्ना विचार पुर्‍याउने र उनीहरूलाई ठीक बाटामा ल्याउनेतर्फ लाग्नुपर्ने बताए। उनले साहित्यिक पत्रकार संघका गतिविधिसँग आफू लामो समयदेखि जोडिएको बताउँदै यस्ता कार्यक्रमले समाजलाई अघि बढ्न सहयोग पुर्‍याउने बताए।

विशिष्ट अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा बढ्दो विकृति र विसंगतिविरुद्ध स्रष्टाहरू फेरि जागरूक हुनुपर्ने आवश्यकता औंल्याए। सक्रिय राजनीतिमा लागेपछि आफूले सिर्जनात्मक कार्यमा समय दिन नसके पनि साहित्य आफ्नो रूचिको विषय भएको बताए।

पूर्वमन्त्री नेपाली कांग्रेसका नेता शंकर भण्डारीले यो देशको निर्माणमा पृथ्वीनारायण शाहको योगदानलाई कसैले पनि नकार्न नसक्ने बताउँदै नयाँ निर्माण हुन लागेको संसद् भवनको प्रांगणमा उनको प्रतिमा राख्नुपर्ने धारणा राखे। उनले उक्त कार्यक्रम आफ्नो जीवनकै ऐतिहासिक कार्यक्रम भएको पनि बताए।

सम्मानित व्यक्तित्व डा. जगमान गुरुङ र मदनदास श्रेष्ठले समेत बोलेको उक्त कार्यक्रममा वरिष्ठ समालोचक प्रमोद प्रधानले सम्मानित व्यक्तित्वहरूको योगदानबारे बोलेका थिए।

कार्यक्रमका अध्यक्ष राधेश्याम लेकालीले साहित्यिक पत्रकार संघले ५० वर्षदेखि साहित्यिक पत्रकारिता, साहित्य, कला, संस्कृति आदिका क्षेत्रमा गर्दै आएको योगदानको स्मरण गरे। उनले साहित्यिक पत्रकारहरूको हकहितको सुरक्षा र सहयोगका लागि छुट्टै निकायको हुनुपर्नेमा जोड दिए। साथै उनले समाजसेवी शोभित उप्रेतीसितको सहकार्यमा शैलुङमा ‘स्रष्टा गृह’ सञ्चालन गरिने पनि बताए।

साहित्यकार श्रीबाबु कार्कीले चलाएको कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथिहरू र समालोचक प्रमोद प्रधानलाई मायाको चिनोसहित सम्मान गरिएको थियो। समाजसेवी शोभित उप्रेतीले त्यसै दिन उप्रेती समाजको राष्ट्रिय अध्यक्षको जिम्मेवारी पाएकामा बधाई-ज्ञापन पनि गरिएको थियो।

प्रकाशित: १४ श्रावण २०८० ०७:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App