‘तिम्रो घाउ मलाई चाहिँ नदेखाउनू, तिम्रो घाउ देखेपछि मलाई घाँटीमा पासो लगाएर मर्न मन लाग्छ। तिमीलाई जति दुख्छ नि, त्योभन्दा बढी मलाई दुख्छ बुझ्यौ? तिम्रा नेताहरूलाई देखाउनु यो घाउ! मेरा आँखा पाकिसके तिम्रो घाउ देखेर...’ माया रिसले फतफताउँदै चुलोमा आगो बाल्न लाग्दै थिइन्।
रीतबहादुर राई (कमरेड सिर्जन) निःशब्द गोली लागेर सुक्दै गएको खुट्टा सुमसुम्याउँदै बसिरहन्छ। आफ्नी स्वास्नीको तिखो वचनले मुटु छेडेर गएजस्तो लाग्छ तर ऊ अभ्यस्त भइसकेको छ मायाको तिखो वचन खप्न।
मायालाई बिहे गरेको केही समयमै जनताको मुक्तिका खातिर भन्दै घर छोडेर युुद्धमा सामेल भएको थियो। उसले धेरै मोर्चा लड्यो। धेरै नेता कमान्डरको गार्ड बस्यो।
इलामको मंगलबारेमा सरकारी सेनासँगको भिडन्तमा गोली लागेर सुक्दै गएको खुट्टा बोकेर ऊ अयोग्य लडाकुको उपमा लिएर घर फर्केको थियोे, चुलाचुली, इलाम जनमुक्ति सेनाको क्याम्पबाट।
अयोग्य नाम भिरेबापत पाएको ५ लाख पनि केही पार्टीमा बुझाएको थियो, केही ऋण तिरेको थियो।
घर फिरेपछि पनि पार्टीको काममा धेरै व्यस्त भयो। घरको बेहाल थियो।
मायाले बनिबुतो नगरे दुई गाँस खान मिल्दैनथ्यो।
टाङटिङ बगरको छेउमा भएको ऐलानी थोरै जग्गामा फल्ने मकै र धानले ३ महिना पनि खान पुग्दैनथ्यो। बर्खा लागेपछि आँखै नदेखि उर्लिएर बग्ने टाङटिङ खोलाको गर्जनले मायाको शून्यता चिरेर जान्थ्यो।
‘तिम्रो घाउ मलाई चाहिँ नदेखाउनू, तिम्रो घाउ देखेपछि मलाई घाँटीमा पासो लगाएर मर्न मन लाग्छ। तिमीलाई जति दुख्छ नि, त्योभन्दा बढी मलाई दुख्छ बुझ्यौ? तिम्रा नेताहरूलाई देखाउनु यो घाउ! मेरा आँखा पाकिसके तिम्रो घाउ देखेर...’ माया रिसले फतफताउँदै चुलोमा आगो बाल्न लाग्दै थिइन्।
इलामतिर पानी परेको साँझ बाढी आएको रात मायालाई जीवनको अन्तिम रातजस्तो लाग्छ।
कमरेड सिर्जन एकोहोरो मायालाई हेरिरहन्छ। ऊ आफूलाई मायाको अपराधी ठान्छ। उसले मायालाई न त संरक्षण नै गर्न सक्यो न त साथ दिन नै सक्यो।
पछुतो त खुब लाग्छ कमरेड सिर्जनलाई आफ्नी स्वास्नीको जीवन तहसनहस पारेकोमा। ऊ एकोहोरो मायालाई हेरिरहन्छ अनि आफ्नी स्वास्नीको सबैभन्दा ठुलो अपराधी ठान्छ।
ऊ आफै मायाको भरमा जिन्दगीको पाइला घिसार्दै छ। माया निष्कपट र सोझी छिन् तर घरको, जिन्दगीको हालतले थेत्तरो बनाएको छ उनलाई।
कमरेड सिर्जनलाई मायाको तिखो वचन नमिठो लाग्दैन, बरु त्यो तिखो वचन उसलाई अमृतको थोपा लाग्छ, सञ्जीवनी बुटी लाग्छ। शान्ति सम्झौतापछि पार्टी पटक पटक सत्तामा पुग्यो। हिजो सँगै युद्ध लडेका साथीहरू सरकारका भए, सत्ताका भए।
कमरेड सिर्जन एकोहोरो मायालाई हेरिरहन्छ। ऊ आफूलाई मायाको अपराधी ठान्छ। उसले मायालाई न त संरक्षण नै गर्न सक्यो न त साथ दिन नै सक्यो।
सहरमा घर बनाए, गाडी र जहाजमा गुड्ने र उड्ने भए तर आज आफूसँग औषधी खाने पैसा पनि साथमा थिएन। लामो सास लिन्छ कमरेड सिर्जन!
‘लौ चिया खाऊ, दिनभर केही खाएनौ होला? उसबेला विदेश गएको भए अथवा गाऊँतिरै केही गरेको भए अहिले कति राम्रो हुन्थ्यो। मेरो फुटेको खप्पर! कस्ता कस्ता लाहुरेहरू माग्न आएका थिए। यो दिन भोग्नुरहेछ अनि तिम्रो पछि कुदें...।’
यो वाक्य प्रायः सिर्जन सधैंजसो सुन्ने गर्छ, मायालाई हेरेर मुसुक्क हाँस्दै भन्छ, ‘अहिले पनि के बिग्रेको छ र माया ? तिमी यति राम्री छौ, ज्ञानी छौ फेरि पनि लाहुरे आउन के बेर ?’ बित्थैमा बोल्छ ऊ।
‘धेरै निहुँ नखोज, अहिले म पुर्लुक्कै पार्दिन्छु अनि...’ रिसाएझंै बोल्छिन् माया। ‘माया ! तिमी कति महान छ्यौ कमरेड जेनी माक्र्सझैं ...’
‘मलाई यो कमरेड भन्ने शब्दसँग घृणा छ बुझ्यौ ? यही शब्दका लागि तिम्रो र मेरो हालत यस्तो भएको छ ? मेरो अघि यो शब्द बोल्दै नबोल। तिम्रो वीरता र मुक्तिका कुराले पेट भरिँदैन। पेट भर्नलाई मैले थापा कान्छा बाजेको भारी नबोकी हुँदैन!’
दिनभर कान्छा बाजेकोमा मल बोकेर आएकी माया बोल्छिन्।
कमरेड सिर्जनलाई मुटुभित्र पीडाको पहाडमा ज्वालामुखी विस्फोट भएकोजस्तो लाग्छ। कानैमा ग्रिनेड बम पड्केको जस्तो लाग्छ।
नबोली रातो फिका चिया घुटुक्क निल्न खोज्छ तर निल्न सक्दैन। मुखमा भएको चिया आफ्नी स्वास्नीको आँसु र पसिनाजस्तै नुनिलो लाग्छ।
‘सुन, आज कान्छा बाजेले भनेको, एकचोटि काठमाडौं जाऊँ हामी। तिम्रो पार्टीका मन्त्रीलाई भेटौं। कतै केही सहयोग गर्छन् कि ? तिम्रो खुट्टाको उपचार मात्रै गरिदियो भने ...’ आशावादी भइन् माया।
‘तिम्रो पार्टीको सरकारले तिमीलाई कसो नहेर्ला ?’
यति भनेर माया घरको काममा व्यस्त भइन्।
कमरेड सिर्जन सिंहदरबार र पेरिसडाँडातिरको समाचार सुन्न थाल्यो।
हप्ता दिनपछि बाख्रा बेचेको २० हजार बोकेर झापादेखि काठमाडौंका लागि हिँडे जनता र देशका खातिर सबै गुमाएको घाइते, अयोग्य लडाकु कमरेड सिर्जन र साथमा उसकी स्वास्नी माया।
काठमाडौंको धुवाँ, धुलो, होहल्लामा तीन दिन बित्यो। मन्त्रीलाई भेट्ने समय मिलाउनै सकेन लालयोद्धा कमरेड सिर्जनले।
धेरै प्रयासपछि बल्ल सिंहदरबार छिर्ने गेटपास हातमा प¥यो। गेटपास हातमा परेपछि उसलाई जिन्दगीको एउटा मोर्चा जितेको महसुस भयो। यद्यपि मन्त्रीका स्वकीयहरूले समय दिनै चाहेनन्।
चिनेको नेता, पटक पटक संकटकालमा रनर बसेर साथ दिएको नेता, छिमेकी गाउँको आफ्नै जातको दाजुभाइ। अस्तिको चुनावमा पनि धेरै सघाएको कमरेड सिर्जनलाई खुब भरोसा थियोे।
बल्ल बल्ल मन्त्रालय छिरेर दुई घण्टा पर्खेपछि मन्त्री हाँस्दै आए।
मायालाई भगवान्ले दर्शन दिएजस्तो लाग्यो, फुरुङ्ग परिन्।
सधैंभरि आफ्नो श्रीमान्प्रति गुनासो पोख्थिन् तर आज उनलाई सिर्जनप्रति गर्व लाग्यो कि उसले गर्दा सिंहदरबार र मन्त्रीलाई नजिकैबाट नियाल्न पाएकीमा तर कमरेड सिर्जनलाई अलि असहज लाग्यो। उसले सोचेको जस्तो थिएन मन्त्रीको वरपर उभिएको भिड। उसलाई बित्थै आएकोजस्तो लाग्यो।
कमरेड सिर्जनलाई मुटुभित्र पीडाको पहाडमा ज्वालामुखी विस्फोट भएकोजस्तो लाग्छ। कानैमा ग्रिनेड बम पड्केको जस्तो लाग्छ।
सिर्जनलाई नेताहरू भेट्न, सरसहयोग माग्न पटक्कै मन थिएन तर मायाका लागि यहाँ उभिएको थियो असहज मानेरै भए पनि। केही समयपछि मन्त्रीको पिएले पाँच मिनेट समय भएको जानकारी दियो।
माया र सिर्जन अप्ठ्यारो मान्दै मन्त्री च्याम्बरमा पसे। मन्त्रीसामु समस्या राखे।
‘मैले व्यक्तिगत रूपमा गर्न केही सक्दिनँ। तपाईंहरूजस्तो घाइते, अपाङ्गहरूका लागि हामी छिटै एउटा दीर्घकालीन काम गर्नेगरी कार्यक्रम तय गर्नेछौं कमरेड। समस्या कहाँ छैन? सबैतिर छ। हामीले देखेका सपना एकदिन साकार हुनेछन्। धेरै काम गरिसक्थ्यौ तर के गर्नु? विपक्षीहरूले काम गर्न दिँदैनन्, बरु तपाईंको सर्टिफिकेट छोडेर जानुस्। तपाईंको योग्यताअनुसार कतै व्यवस्था मिलाउँला। अब विदेश जान मेडिकल फिट हुनुहुन्न। तपाईंकी श्रीमतीलाई सरकारी कोटामा (फ्रि भिसा फ्रि टिकटमा) पठाउन सकिन्छ कमरेड। अरू त म केही गर्न सक्दिनँ,’ बेपरवाह तरिकाले मन्त्री बोलेपछि कमरेड सिर्जनको मुटु चिसो भयो।
रक्त सञ्चार नै बन्द भएकोजस्तो लाग्यो।
कमरेड सिर्जनको चिसो हातसँग मन्त्री आफ्नो तातो हात मिलाएर अर्को कोठातिर लागे।
मायाका आँखा टिलपिल टिलपिल भए। आफ्नो अपमान भएको ठानी। मन्त्री कोठादेखि निस्कँदै गर्दा कमरेड सिर्जनको लौरो टेकेको आवाजलाई मन्त्रीको गाडीको साइरनले ओझेलमा पारिदियो।
कमरेड सिर्जनलाई रिँगटा चल्यो। मायाले हतारहतार सिंहदरबार अगाडिको भद्रकाली जाने रोडमा भएको बेन्चमा बसाइन् श्रीमान्लाई। अनुहारमा मिनरल वाटरको बोतलबाट पानी हातमा लिएर अनुहारमा छम्किदिइन्।
कमरेड सिर्जनको आँखाबाट अविरल आँसु बगिरहेको थियो।
उसलाई आत्मसम्मान नै गुमाएकोजस्तो लाग्यो।
‘नरोऊ, किन रोएको? म छैन र? म कमाएर तिम्रो उपचार गर्छु,’ मायाले बिस्तारै लोग्नेको आँखा पुछिदिँदै भनिन्। मायालाई गर्लम्मै अँगालो हालेर ग्वाँग्वाँ रोयो कमरेड सिर्जन।
‘त्यसको फ्रि भिसा चाहिँदैन मलाई। म आफै सक्षम छु। तिमी किन कमजोर बनेको? म जिउँदै छु नि! म तिम्रो उपचार गर्छु, तिमीलाई निको बनाउँछु। मेरो पनि यो संसारमा तिमी बाहेक को छ? कोही छैन। अझै पनि दुनियाँसँग लड्ने आँट छ मसँग। यस्तो मन खिन्न नबनाऊ। हेर त, त्यो पार्टी अनि नेताहरू तिम्रा कहिल्यै थिएनन्। तिम्रो विगत एउटा कालो रात थियोे। त्यसलाई बिर्स। मलाई तिमीले जस्तो भाका मिलाएर बोल्न त आउँदैन तर यति बुझें मैले चाहिँ, त्यो तिम्रो लडाइँ जनताका लागि होइन, यी तिम्रा नेताहरूका लागि मात्रै रहेछ।’
कमरेड सिर्जन बोल्दै बोलेन। गाडीहरू गुडिरहेका थिए। त्यही हेरेर टोलाइरह्यो। आँखादेखि आँसु बगिरहे!
चट्टानजस्तो एउटा योद्धाको मन आज धुलोजस्तै बनेको थियो।
समय र परिस्थितिले क्रान्तिका जुझारु शब्दहरू पनि फिका फिका बनाइदिने रहेछ।
‘सुन कान्छा, रुदै बसेर समस्याको समाधान निस्कने होइन। बाँचुन्जेल लडाइँ त जिन्दगीसँग लड्नै पर्छ। खेताला गएर म तिम्रो उपचार गर्न नसक्ने रहेछु। अब म विदेश नै जान्छु। तिम्रो खुट्टाको उपचार गर्ने पैसा कमाएर फर्किहाल्छु। त्यतिबेलासम्म तिमी आफ्नो ख्याल गरेर बस। अरू उपाय केही देखिनँ। आफूलाई सानो सम्झने कोसिस नगर। तिमी र म जसले कमाए पनि एउटै त हो नि,’ मायाले जानी नजानी आफ्नो लोग्नेलाई सम्झाउँछिन्।
मायाका आँखा टिलपिल टिलपिल भए। आफ्नो अपमान भएको ठानी। मन्त्री कोठादेखि निस्कँदै गर्दा कमरेड सिर्जनको लौरो टेकेको आवाजलाई मन्त्रीको गाडीको साइरनले ओझेलमा पारिदियो।
कमरेड सिर्जन निःशब्द पर पर हेरिरहन्छ। उसको हाँसो त काठमाडौंदेखि फर्केपछि नै हराएको छ। झन् मायाले पासपोर्ट बनाएपछि त वाक् नै बसेको छ।
‘म तिम्रो अपराधी हुँ कान्छी,’ धेरै दिनपछि सिर्जन स्वास्नीलाई अँगालो हालेर रोयो फेरि।
‘किन रुन्छौ कान्छा, म छु नि तिम्रो।’
‘तिमी छौ र पो रुन्छु त। नत्र किन पो रुन्थे र कान्छी? भयो तिम्रो त्यो पासपोर्ट च्यातिदेऊ। म कसरी तिमीलाई बिदा गरूँ? तिमीले मलाई छोडेर गएको दिन मर्छु,’ हिक्क हिक्क भयो कमरेड सिर्जनलाई।
‘यो मनमा कति पीडा छ, तिमीलाई कसरी बताऊँ कान्छी? म तिम्रो अपराधी हुँ। एउटा छोरा मान्छे भएर, तिम्रो लोग्ने भएर तिम्रो हिफाजत गर्न सकिनँ। संरक्षण गर्न सकिनँ। तिम्रो जिन्दगी बर्बाद बनाएँ। रहरहरू सबै खरानी बनाइदिएँ र अन्त्यमा तिम्रो स्वभिमान पनि बन्दकी राख्न बाध्य पारें। अहिले लाग्छ, यो खुट्टामा लाग्ने गोली छातिमा किन लागेन ? म किन उति बेला नै मरिनँ?’
‘तिमी छौ र पो रुन्छु त। नत्र किन पो रुन्थे र कान्छी? भयो तिम्रो त्यो पासपोर्ट च्यातिदेऊ। म कसरी तिमीलाई बिदा गरूँ? तिमीले मलाई छोडेर गएको दिन मर्छु,’ हिक्क हिक्क भयो कमरेड सिर्जनलाई।
‘नहुने कुरा नगर भनेको। ऐले म यही अगुल्टाले हानेर पुर्लुक्क ढलाइदिन्छु अनि। काटेको मेरो मनमा झन् नुन छर्किन्छौ? मैले तिमीलाई कहिले केही कुराको गुनासो राखे? वर्षौं घर छोडेर हिँड्यौ पर्खिरहें। प्रशासन र छरछिमेकीसँग सधैं लडाइँ लडिरहें। घाइते भएर फर्केर आयौ केही भनें? सरकारले दिएको पैसा पनि नेतालाई चढायौ, केही भनिनँ। तिमी कहिल्यै पनि मेरो भएनौ कान्छा! सधैं जनता, पार्टी, देश भन्दै कुदिरह्यौ। मैले तिमीलाई एकोहोरो माया गरिरहें, पर्खिरहें। तिमीले जति नबुझे पनि केही पक्कै बुझेको छु। तिमी खाली बाँचिदेऊ। तिमी बाँचेको देखेर बाँच्ने म। मलाई धेरै किचकिच नगर है भन्देकी छु,’ माया कुर्थाको फेरले आँखा पुछ्दै बोल्छे।
कमरेड सिर्जन निःशब्द स्वास्नीलाई हेरिरहन्छ।
‘मेरो भिसा आइसक्यो। कान्छा बाजेले पैसा दिन्छु भनेका छन्। दुनियाँ गएर कमाएर फर्केका छन्। म पनि कमाएर फर्किन्छु। तिम्रो खुट्टाको उपचार गर्ने र रिन तिर्ने पैसा मात्रै कमाएर फर्किन्छु। तिमी यहाँ आरामले मलाई बस्नु पर्खेर।’
‘कान्छी! भिसा आएको मलाई किन सुनाइनौ?’
‘तिमी झगडा गर्न थाल्छौ अनि!’
‘सुनाएकी भए हुन्थ्यो नि,’ सिर्जनले लामो सास फेर्यो।
‘ल भयो, अब बाँकी कुरा भोलि गरौंला। म बाजेकोमा जान्छु। चामल लिएर आउँछु। तिमी बस्दै गर है,’ माया बिग्रेको कपाल हातले मिलाउँदै बोल्छिन्।
‘चामल ल्याउने?’
‘अनि ल्याउनुपरेन। म हिँडेपछि तिमीलाई कसले ल्याइदिन्छ? दुई महिनाका लागि त सबै ल्याइदिएर जान्छु। पछि पैसा भएपछि जति पनि काम गरिदिने मान्छे पाइन्छन्,’ खिस्स हाँस्छे माया।
सिर्जनको मुटु फेरि चिसो हुन्छ। आफ्नी स्वास्नीलाई हेरेर हृदयमा गाँठो पार्छ।
जनताको घर घरमा गएर मुक्तिको कथा सुनाएको, गीत गाएको, काम गरेको दृश्य आँखैमा झलझली नाँचिरह्यो। इलामको मंगलबारे भिडन्तमा गोली लागेका बेलाको पीडा र दुखाइले आँखा रसायो, मन भतभती पोल्यो।
सबैभन्दा बढी आफ्नी मायाप्रति ऊ हिजोआज संवेदनशील भएको छ। मायाले उसको खुट्टाको उपचार गर्छु भनेर विदेश जाने हठ कसेकी छ। पासपोर्ट बनाउँदा पनि झगडा नै भएको थियोे। भिसा आएको कुरा पनि मायाले आजसम्म भनेकी थिइन। पैसा कहाँ खोजिन् ? कसले दियो ? उसले सोधेन। उसले आफूलाई साह्रै निरीह पाइरहेको छ।
‘तिमीलाई चाहिँ केको खसखस? चुप लागेर बस न,’ कहिलेकाहीं अलि रुखो बोल्छे माया। त्यो रुखोपनले झन् असह्य हुन्छ सिर्जनलाई।
जनताको घर घरमा गएर मुक्तिको कथा सुनाएको, गीत गाएको, काम गरेको दृश्य आँखैमा झलझली नाँचिरह्यो। इलामको मंगलबारे भिडन्तमा गोली लागेका बेलाको पीडा र दुखाइले आँखा रसायो, मन भतभती पोल्यो।
कमरेड सिर्जनलाई साह्रै नमिठो लाग्छ। उसको हालत हातखुट्टा बाँधेर मर्नलाई पोखरीमा फालिदिएको मान्छेको जस्तै भएको छ।
धेरैधेरै काम गर्न चाहन्छ तर शारीरिक अवस्थाले असमर्थ छ। वरिपरि हेर्छ फुङ्ग उडेको वातावरण अत्यासलाग्दो छ। अगेनामा निभ्न लागेको आगो, आँगनमा २–४ वटा कुखुराबाहेक चारैतिर गरिबी, अभाव र पीडाबाहेक केही देख्दैन।
यसो लट्ठी टेकेर उठ्न खोज्छ। तिघ्रामा भएको गोलीले बेसरी दुखाउँछ उसलाई।
आँखैभरि सिंहदरबार र माया नाचिरहन्छ।
‘आम्मामामा ’ कति गाह्रो हौ बाटो!’ माया चामलको बोरा पिँढीमा बिसाउँदै एक हातले निधारको पसिना पुछ्दै बोल्छे।
‘किन यति धेरै चामल ल्याएको कान्छी?’
‘तिमीलाई २ महिना खान परेन?’
‘यत्रो खाई सकौंला र म?’
‘नखाई सकन मात्रै, मैले जान्या छु,’ मायाले तेल, चिनी, नुन, चियापत्ती, साबुन सबै पोका खोलेर चुलाको छेउमा राखिन्।
‘आफ्नो ख्याल गरेर बस कान्छा। सबै कुरा मायाले मात्रै नहुने रहेछ।’
कमरेड सिर्जनको मुटु चिसो भएर आयो।
‘मकै र रातो चिया खानुपर्ला,’ माया चुलोमा आगो जोर्न थालिन्। सिर्जन चुपचाप बसिरह्यो। परिस्थिति र बाध्यताले उसका ओठहरू सिलाइएका छन्।
‘लु खाऊँ।’
‘आम्मा हो! कति छिटो? तिमी काम गर्न त बिजुलीझैं छौ।’
माया मुसुक्क हाँस्छिन्।
‘कान्छी तिमीलाई मसँग कति गुनासो होला है? रिस होला? भनी राखेर जाऊँ, पछि फेरि म सुन्न नसकूला!’
‘अहिले म यही पिराले पुर्लुक्कै हुनेगरी हान्छु अनि ढुक्क हुन्छ। जहिले पनि चाहिने नचाहिने कुरा गरिबस्छ। यो मान्छेलाई हिजोआज के भएको छ कुन्नि? खाली निहुँ मात्रै खोजी बस्छ। दशा तिमीलाई कि मलाई लागेको हो कुन्नि?’
कमरेड सिर्जनको मुटु ढक्क फुल्यो।
‘दशा त मलाई र तिमीलाई नै लागेको छ,’ झन्डै मुखबाट निस्केको सिर्जनको।
‘कान्छी, तिम्रो यो पुक्लुक्कै ढाल्छु भन्ने कुरा फेरि कहिल्यै सुन्न पाउँला?’
‘फोनमा भनिहाल्छु नि,’ माया फिका हाँस्दै बोल्छिन्।
कमरेड सिर्जन पनि फिका हाँस्छ।
‘लु, म पल्लो घर गएर आउँछु। भोलि त बिहानै हिँड्नु छ।’
‘किन जाने र पल्लो घर?’
‘तिमीलाई दुःखमा हेरिदिनु भन्नू छ नि। आफन्त नजिकै छैनन्। आफ्ना भने नि पराइ भने नि उनीहरू नै त छन्। हिजोसम्म पो खेताला भनेर हेप्थे। अब त विदेशी लाहुरेनी भनी सम्झेर तिम्रो राम्रो ख्याल गरिदिन्छन् पक्कै! यो दुनियाँमा सम्पत्तिभन्दा ठुलो केही छैन रहेछ कान्छा।’
‘हो रहेछ।’
‘बस्दै गर। म पल्लो घरमा पुगेर आइहाल्छु,’ जवाफ नपर्खी माया पल्लो घरतिर लागिन्।
कमरेड सिर्जन आफूलाई नियाल्छ। एकदमै रित्तो रित्तो पाउँछ।
सायद खुट्टा गोली लागेर सुक्दै नगएको भए ऊ पनि परदेश हुन्थ्यो होला।
अरूका लागि त के थियोे र ?आफ्नी मायाका लागि थोरै खुसी बटुल्ने थियोे। मायाको केही सीमित रहर पूरा गरिदिने आँट हुने थियो। उनका लागि थोरै खुसी बटुल्ने थियोे तर ऊ आफूलाई फिका पाउँछ।
मन चिसो हुन्छ।
कतै बाटो देख्दैन, केही उपाय भेट्दैन ऊ। आफ्नी स्वास्नीलाई विदेश गएको देख्न चाहँदैन।
बिस्तारै उठेर टिनको दराज खोल्छ। त्यही दराजमा उसको प्राण छ ‘स्वास्नीको पासपोर्ट’। बिस्तारै म्याक्सिम गोर्कीको किताब ‘आमा’का बीचमा मायाले राखेकी पासपोर्ट हातमा लिन्छ।
पासपोर्टका पानाहरू पल्ट्याउँछ। ती पानाहरू उसलाई आफ्नै मृत्युको मञ्जुरीनामा लाग्छ। ती पानामा आफ्नै असफलता, असक्षमता, आफ्नाहरूको अपमान र घृणा कोरिएकोजस्तो लाग्यो।
‘त्यो पार्टी अनि नेताहरू तिम्रा कहिल्यै थिएनन्। तिम्रो विगत एउटा कालो रात थियो। त्यसलाई बिर्स। मलाई तिमीले जस्तो भाका मिलाएर बोल्न त आउँदैन तर मैले बुझेको यही हो त्यो तिम्रो लडाइँ जनताका लागि होइन, यी तिम्रा नेताहरूका लागि मात्रै थियो।’
सबैभन्दा बढी निर्दोष मायाको स्वभिमान बन्दकी राखेको तमसुकजस्तो लाग्यो।
अक्षरहरूमा आफ्नी स्वास्नीको रहर, सपनाहरू बन्धक भएकोजस्तो लाग्यो।
उसको शरीरमा चिसो पसिना आयो। उसलाई आफू मायाको अपराधी भएकोजस्तो लाग्यो। उसलाई मायाको अपराधी भएको अनुभव धेरै अगाडि महसुस भएको थियो तर आज आफूलाई मायाको रहर र बाध्यताले फाँसीमा झुन्ड्याएकोजस्तो लाग्यो। घाँटीमा पासो लागेर सास फेर्न गाह्रो भएकोजस्तो लागेर आयो। भनन रिंगटा चल्यो। थचक्क बस्न मन त थियोे तर उसको खुट्टाले खुम्चिन अप्ठ्यारो मान्न थालेको धेरै भइसकेको थियो।
आफ्नो लाचार अवस्था देखेर घुक्क घुक्क रोयो सिर्जन। आँखा वरिपरि अँध्यारोबाहेक केही देख्दैन। बिस्तारै पासपोर्ट उसै गरी म्याक्सिम गोर्कीको आमाभित्र राखिदिन्छ जसरी मायाले राखेकी थिइन्।
चुरे जंगलमा घाम अस्ताउन लागिसकेको थियो। चैतको उराठलाग्दो दिन, चर्को घाम बिस्तारै सेलाउँदै थियो। आँगनमा बसेर ऊ एकोहोरो टाङटिङ बगर नियालिरहन्छ। उराठलाग्दो बगर हेरेर सिर्जन लामो सास फेर्छ। विगत सम्झन्छ। फेरि आँखा रसाउँछ। एक हातले दुवै आँखा पुछेर लामो सास लिन्छ।
‘कान्छा!’ मायाको आवाजले झसङ्ग हुन्छ।
‘हँ...’
‘मैले पल्लो घरमा सबै भनेको छु। तिमी आफ्नो ख्याल गरेर बस्नू। यी कुखुराहरू हेर्नु। खेतीपाती पल्लो घरकाले नै गर्छन्, खान्छन्। केही कुरा चाहिए पर पसलबाट ल्याउनू।’
सिर्जन चुपचाप सुनिरहन्छ।
‘यी हेर ३–४ जोर कपडा त लानैपर्छ रे ! यो तिमीले ल्याइदिएको कुर्था–सुरुवाल र बर्को लैजान्छु, तिम्रो याद आउँदा यो बर्को ओढेर तिम्रो अत्यार मेट्छु।’ मायाको गला बस्यो।
सिर्जन उता फर्केर आँखा टोलाउँछ।
‘तिमीबिना कसरी बाँचुला म? पर्दैन मेरो उपचार गर्न।’
‘कान्छा, मायाले मात्रै मान्छेको जिन्दगी कसरी चल्छ? बिस्तारैबिस्तारै उमेरले डाँडा काट्दै छ। झन् भोलि विदेश जाने बाटो पनि बन्द हुन्छ। दुई चार पैसा कमाएर यसो दुई कोठाको टिनको छाप्रो हालेको घर पनि बनाउन मन छ। बुढेसकालमा टाउको ओताउनुपरेन तिमी र मलाई?’
कोठा स्तब्ध हुन्छ।
‘यहाँ हेर न, बाजेले दिनुभएको ५० हजार। एक लाख आफै भोलि मेनपावरमा गएर बुझाइदिनु हुन्छ रे। तिम्रो माया पुग्छे अब मलेसिया।’
सिर्जनको मन फेरि चिसो भयो।
‘कान्छा, मान्छेको जीवन सोचेजस्तो कहिल्यै हँुदैन। निराश नबन, म फर्कि हाल्छु नि। २ वर्ष बित्न कति बेर लाग्छ र?’
‘तिमी फर्किंदा म नै थिइन भने?’
‘मार्छु है अहिले, खाली नहुने कुरा गरिबस्छ।’
सिर्जन चुपचाप बसिरहन्छ।
‘भन त अरू के के लानुपर्छ?’ माया कोठाको मौनता चिर्दै बोल्छिन्।
‘तिमीलाई के के चाहिन्छ लैजानू। ससानो कुराले भोलि अभर पर्ला। नयाँ ठाउँ, नौला मान्छे, अर्को भूगोल, नबुझ्ने भाषा तिमीलाई गाह्रो होला कान्छी,’ लामो सास फेर्छ सिर्जन।
‘गाह्रो र अप्ठ्यारो नै त रहेछ हामी मान्छेको जीवन। सजिलो नै सजिलो भएको भए मान्छेले समय र जिन्दगीको महत्व बुझ्थ्यो र कान्छा?’
‘कति गहिरो कुरा गरेकी आज?’
माया नबोली लोग्नेको मुख पुलुक्क हेर्दै सामान्य लाग्ने पुरानो हाते झोलामा केही कपडाहरू मिलाउँदै छिन्।
मायाले आफूलाई चाहिने सबै सरसामान तयार गरिन् अनि बेलुकीको खाना पकाउने तयारी गर्न थालिन्। सिर्जनले मायालाई धेरै बेरसम्म हेरिरह्यो। हेर्दाहेर्दै आँखाबाट आँसु खसेको पत्तै पाएन।
‘कान्छी, यहाँ आऊ त,’ सिर्जनले नजिकै बोलाएर दुवै हातमा बेसरी समातेर रोयो। माया चुपचाप बसिरहिन्।
सिर्जनले मायाको अनुहार सुमसुम्यायो। निधारमा गहिरो चुम्बन गर्यो। दुवै हात मुसार्यो। कपाल सुमसुम्यायो अनि मायालाई बेसरी छातीमा टाँस्यो धेरै बेरसम्म।
‘तिमीलाई कुनै खुसी दिन सकिन कान्छी। तिम्रो त्याग, प्रेम र निष्ठाको बोझले यो छाती गह्रौं भएको छ। मन त थियो तिमीलाई संसारै दिऊ तर असमर्थ भएँ। अपांग भएँ। मजस्तो निकम्मालाई मायाले डोर्याइएर हिँडायौ। तिमी संसारकै महान नारी हौ कान्छी,’ सिर्जन फेरि खुब रोयो मायाको छातीमा।
‘भयो कान्छा, भयो,’ माया बोल्न नै सकिनन्।
केही समयपछि मायालाई अँगालोबाट छुटाउँदै सिर्जनले भन्यो, ‘कान्छी, म एकछिन परसम्म पुगेर आउँछु। तिमी भात पकाउँदै गर ल।’
मायाको जवाफ नपर्खी सिर्जन हिँडिहाल्यो।
माया छक्क परेर सिर्जन गएको बाटो हेरिरहिन्। साँझ पर्न लागेको थियो। उनी आफ्नै काममा व्यस्त भइन्।
एक घण्टा, दुई घण्टा, तीन घण्टा बित्यो। सिर्जन फर्केर आएन। माया आत्तिएर गाउँतिर खोज्न थालिन्। छरछिमेकी भेला भए। सिर्जनको पत्तो भएन।
रातको १० बज्यो। चिसो बतास चल्यो। आँँधी हुरी चल्यो। मायाको छाप्रामा हालेको टिन हावाले उडायो। सबैतिर चिसो पस्यो।
यस्तो आँधीमा सिर्जन कहाँ गयो होला?
टर्चलाइट बालेर मान्छेहरू जताततै सिर्जनको खोजी गर्न थाले।
माया डाँको छोडेर रुन थालिन्।
केही बेरमा हुरी चल्न छोड्यो।
गाँउलेहरूले अप्रिय खबर ल्याए। माया रुदाँरुँदै बेहोस भइन्।
जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोली आइपुग्यो। कमरेड सिर्जनको लास आँपको रुखमा झुन्डिरहेको थियो।
प्रहरीले मुचुल्का उठायो। खानतलासी गर्दा सिर्जनको सर्टको गोजीमा मायालाई सम्बोधन गरिएको चिठी थियो।
कान्छी!
मलाई माफ गर।
आज मेरो सास मात्रै नभएको हो। शरीर त त्यही दिन मरेको थियो, जुन दिन सिंहदरबारमा मलाई मेरो कमान्डरले (नेता, मन्त्रीले) पढाइको सर्टिफिकेट मागेका थिए।
अयोग्य लडाकु भएको दिनदेखि म पल पल मरिरहेको थिएँ। म त्यो दिन सबैभन्दा बढी मरें, जुन दिन मेरा नेताले तिमीलाई फ्रि भिसा, फ्रि टिकट मिलाइदिन्छु भने। त्यो दिन जति त म घाइते, अयोग्य लडाकु भएको दिन पनि रोएको थिइनँ, मरेको थिइनँ।
‘मलाई यो कमरेड भन्ने शब्दसँग घृणा छ, बुझ्यौ? यही शब्दका लागि तिम्रो र मेरो हालत यस्तो भएको छ? मेरा अघि यो शब्द बोल्दै नबोल। तिम्रो वीरता र मुक्तिका कुराले पेट भरिँदैन। पेट भर्नलाई मैले थापा कान्छा बाजेको भारी नबोकी हुँदैन!’
मरिसकेको भए पनि तिमीसँग केही समय बिताउने रहर थियो। अब त तिमीले नै छोडेर परदेश जान लागेपछि एक्लै बाँच्ने साहस रहेन। तिमी परदेश गएको हेर्न सकिनँ।
तिम्रो पसिना र आँसुले म कसरी मेरो उपचार गरूँ?
जीवनमा तिमीप्रति मैले जेजस्तो व्यवहार गरे पनि मलाई निकम्मा सम्झेर माफ गर!
सिर्जन (तिम्रो कान्छा)
प्रकाशित: २३ असार २०८० ००:५४ शनिबार