१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

शब्दविम्बमा सत्यमोहन लोकार्पण

वाङ्मय शताब्दी पुरुष स्व सत्यमोहन जोशीको व्यक्तित्व, कृतित्व र योगदानको सङ्गालो ‘शब्द विम्बमा सत्यमोहन’ नामक कृति सार्वजनिक गरिएको छ।

भूँडीपुराण प्रकाशनद्वारा आज आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालसहित लेखक एवं साहित्यकारले उक्त पुस्तक लोकार्पण गरेका हुन।। पत्रकार गोपीकृष्ण ढुङ्गानाद्वारा सम्पादित पुस्तकमा लेख, सम्पादकीय, अन्तर्वार्ता, परिशिष्टाङ, समाचार र कविता खण्डमा उहाँसम्बन्धी लेखक, साहित्यकार र पत्रकारका लेख समेटिएका छन्। पुस्तकमा जोशीका केही मुख्य कृति र तस्बिर पनि समावेश गरिएका छन्।

कार्यक्रममा वरिष्ठ पत्रकार रिसालले विलक्षण प्रतिभाशाली जोशी नेपाली समाजले श्रद्धा र सम्मान गरेको अपवाद व्यक्तिका रुपमा रहनुभएको बताए। पत्रकार श्रीओम रोदनले लवाइखुवाई र हिँडाइसहित सबैले सिक्नुपर्ने सादगी जीवनशैली व्यतित गर्नुभएका संस्कृतिविद् जोशी जीवित सङ्ग्रहालय र सम्पदाका रुपमा सबैको प्रेरक बन्न सफल हुनुभएको धारणा राखे ।

प्रा डा लेखप्रसाद निरौलाले इतिहास, संस्कृति, साहित्य र मानवताका दृष्टिकोणले जोशी नेपाली समाजमा शिखर पुरुषकारुपमा हुनुहुन्थ्यो भने। समालोचक प्रा डा ज्ञानु पाण्डेले संस्कृतिविद् जोशीले साहित्य, कला, दर्शन, पुरातत्वका क्षेत्रमा पुर्‍याउनुभएको योगदानको विभिन्न पाटो र पक्षबाट विश्लेषण गरे।

पुस्तकका सम्पादक गोपीकृष्ण ढुङ्गानाले सङ्घर्षले सत्यमोहनलाई र सत्यमोहनले सबैलाई सिकाएको सङ्घर्षको चर्चा गर्दै जोशी जीउँदो मानव सम्पदा भएको बताए। उनलेजोशीको सङ्घर्ष, हक्की स्वभावलगायत विषयमा उहाँको व्यक्तित्वबारे प्रकाश पारेका थिए।

पुस्तक प्रकाशक केशवप्रसाद पराजुलीसहित समारोहका अन्य वक्ताले राणाकालदेखि गणतन्त्रसम्म सबैबाट उक्तिकै श्रद्धाभाव प्राप्त गर्नुभएका जोशी सबै नेपालीका प्रेरक र पुजनीय भएको टिप्पणी गरे।

आठ खण्डमा विभाजित पुस्तकमा लेख र आलेख ३२, सम्पादकीय खण्डमा सात, तीन अन्तर्वार्ता, परिसिस्टाङ्क १७, समाचार १२ र कवितामा तीन सिर्जना समावेश छन्। चार सय आठ पृष्ठको उक्त कृतिको मूल्य रू पाँच सय ९० रहेको छ। संस्कृतिविद् जोशीको २०७९ असोज ३ गते एक सय तीन वर्षको उमेरमा निधन भएको थियो।

प्रकाशित: २७ जेष्ठ २०८० १३:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App