४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

देशभरका कवि, साहित्यकार दमौलीमा

भाषा साहित्य र संस्कृतिको उत्थान, साहित्यिक जागरण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ तनहुँको सदरमुकाम दमौलीमा राष्ट्रिय साहित्य सम्मेलनको आयोजना गरिएको छ।

यही जेठ २६ र २७ गते हुने सम्मेलनमा सात वटै प्रदेशका कवि तथा साहित्यकारको जमघट हुने गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले जनाएको छ। महर्षि वेदव्यासको अवतरण भूमि, भानुभक्तको साधना भूमि र सेतीमादीको सङ्गमस्थल दमौलीलाई उजागर गर्ने हेतुले सम्मेलनको आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष सागर उदासले जानकारी दिए।

भाषा र साहित्यका माध्यमबाट यस क्षेत्रमा रहेका धार्मिक, सांस्कृतिक र ऐतिहासिकस्थलको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास गरिएको उनले बताए। उक्त कार्यक्रममा राष्ट्रिय कविता प्रतियोगिता, सम्मान तथा पुरस्कार वितरण र स्मारिका लोकार्पण गर्ने कार्यक्रम रहेको छ।

विसं २०७६ मा गर्न लागेको भए पनि पटक पटकको कोरोना र सङ्घीय निर्वाचनका कारण रोकिएको कार्यक्रम अहिले आएर निरन्तरता दिन लागेको आयोजकले जनाएको छ। सम्मेलनमा पुरस्कृत हुने कवि तथा साहित्यकारलाई प्रथम पुरस्कार रु ५५ हजार, द्वितीयलाई रु ४० हजार, तृतीयलाई रु २५ हजार र सान्तवना छ जनालाई रु १० हजारका दरले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने छ।

सो अवसरमा दमौलीका साहित्यकार एवं भानुभक्त क्याम्पसका सहायक क्याम्पस प्रमुख नारायणप्रसाद गौतमलाई रु १० हजार नगद तथा दोसल्ला र प्रमाणपत्रले सम्मान गर्ने कार्यक्रम रहेको छ। कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ रहेका छन। उक्त कार्यक्रममा देशभरबाट करिब दुई सय कवि तथा साहित्यकारको जमघट हुने बताइएको छ। 

प्रतिष्ठानकी उपाध्यक्ष गौमाया न्यौपानेले भाषा, संस्कृति र पर्यटन विकासमा आधारित दोस्रो राष्ट्रिय साहित्य सम्मेलन यस क्षेत्रको कला, साहित्य, पर्यटन र संस्कृतिको उजगार गर्न कोसेढुङ्गा सावित हुने बताए। उक्त कार्यक्रम सम्पन्न गर्न रु ११ लाख ३९ हजार लाग्ने अनुमान गरिएको छ। कार्यक्रममा आउने पुरस्कृत व्यक्तित्व र अतिथिका लागि खाना बस्नको व्यवस्था आयोजकले मिलाएको सो अवसरमा जानकारी गराइएको थियो।

साहित्य सम्मेलनले जिल्लामा रहेका धार्मिक, ऐतिहासिक र सांस्कृतिक क्षेत्रको प्रचारप्रसार गरी पर्यटन भित्र्याउन सहयोग पुग्ने विश्वास गरिएको प्रतिष्ठानका अर्का उपाध्यक्ष सङ्गम सापकोटाले जानकारी दिए। गीतकार एवं साहित्यकार रमेश पौडेलको संयोजकत्वमा प्रतियोगिताको निर्णायक मण्डलमा श्रवण मुकारुङ, भूपिन खड्का लगायतका व्यक्तित्व रहेका छन्।  

प्रकाशित: २५ जेष्ठ २०८० १५:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App