‘नमस्कार रोशन दाइ। कता पुगेर आउनुभयो?’ म प्रात भ्रमणबाट घर फर्कदै थिएँ। बाटामा भेटिएका रोशन दाइलाई सोधें।
रोशन दाइले सोध्नुभयो,‘म पनि घुमेर फर्केको भाइ, कहिले आयौ? अहिले कता छौ?’
‘हिजो आएँ। दुई वर्ष भएको थियो घरमा आउन नपाएको पनि। मेरो गण अहिले बर्दिया राष्ट्रिय निकुञ्जमा छ। भाउजू पनि आरामै हुनुहुन्छ होला नि दाइ।’ मैले भने।
दाइ खिस्स हाँस्नु मात्र भयो, जवाफ दिनुभएन। कुरा गर्दै हामी हाम्रो घरसम्म आइसकेछौं। म आफ्नो घरको गेटभित्र पसें। गेट नजिकै बढार्दै गरेकी उमाले बाहिरको हाम्रो संवाद सुनेकी रहिछ्न्।
‘अब पनि के भाउजू भनेर खबर सोधिरहेको होला।’ उनले भनिन्।
कहिले झगडा नगर्ने रोशन दाइको पनि खटपट परेछ भन्ने सोच्दै घरमा पसें र फ्रेस हुन कौसीमा गएर बसें।
‘ल चिया खाऔं अब। यत्रो समयपछि आएर पनि बिहानको चिया समेत सँगै खान नपाइने।’ उमाको गुनासो र दुई कप चियाले उनीसँगै कौसीमा प्रवेश पायो।
म प्रत्युत्तरमा हल्का हाँसें मात्र। पल्लोपट्टि रोशन दाइको घरअघि एउटा बाइक रोकिराखेको रहेछ।
मैले सोधें,‘अघिबाट कसलाई कुरेको होला?’
‘सरितालाई कुरेको हो, सधैं आउँछ।’ उमाले जवाफ दिइन्।
हामीले कुरा गर्दा गर्दै रोशन दाइकी श्रीमती आएर बाइकमा बसिन्।
‘को रहेछ त त्यो मान्छे?’ मलाई जिज्ञासा लाग्यो।
उमाले भनिन्,‘को हुनु, उसैको ब्वाइ फ्रेण्ड हो नि अब।’
म झसंग भएँ।
मैले भनें,‘के भनेको त्यस्तो? नारी भएर पनि त्यस्तो सोच्ने? केही नाता पर्ने होला।’
‘अब पारपाचुके भइसकेपछि के मतलब भयो र।’
उमाको उत्तरलाई मैले पत्याउन सकिन।
‘पारपाचुके भएका भए एउटै घरमा बस्न्छ्न् त?’ मैले भने।
‘रोशन दाइले दिनुपर्ने रकमको व्यवस्था मिलाउने प्रक्रिया बाँकी छ। दाइ ऋण खोज्न दिनभर बैंक-बैंक डुल्छ्न्। बिहान-बेलुका परित्यक्ता श्रीमतीलाई खाना पकाएर खुवाउँछ्न्।’
उनको जवाफले म स्तब्ध भएँ।
प्रकाशित: ३० वैशाख २०८० ०६:१९ शनिबार


-600x400.jpg)


