७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

बारुदको धुवाँमा रुमलिएको सपना

अनुभूति

‘सानी! म भनेको सैनिक हुँ । मैले देश निर्माण र रक्षाका लागि सपथ खाएको छु। म स्वार्थी बन्नु हुँदैन। तिमी मलाई जागिर छोड भन्छ्यौ तर हामीजस्ता देशका रक्षकले पारिवारिक मोहमा अल्झेर कर्तव्यबाट विमुख बन्न मिल्छ र? देशको रक्षा र निर्माणमा जुट्न सकौं। मलाई साथ र हिम्मत देऊ सानी!’

अन्धकारको राज थियोे। धरतीमा सायद जुन उदाउने तरखरमा थियो क्यारे! जुनकिरीहरू अँध्यारो चिर्ने असफल प्रयासमा रमाइरहेका देखिन्थे।

मैले मेरो संसारलाई नियालें। त्यो रातझैं अन्धकार र कहालीलाग्दो थियोे। जीवन यात्रामा म एक्लै थिएँ। मेरो अवस्थाप्रति सहानुभूति राखिदिने अनि म सुँक्कसुँक्क रोइरहँदा किन रुन्छौ? भनेर सोध्नेसम्म साथमा आफ्नो कोही थिएन।

विगतलाई सम्झन्छु, मुटुमा भक्कानो छुट्छ।

मेरा सबै खुसी अनि उमङ्गहरू बारुदको धुवाँसँगै कहाँ पुग्यो कहाँ?

मैले मेरो सौभाग्यलाई गुमाइसकेकी थिएँ।

मेरो दुःखसुखमा साथ दिने जीवनसाथी स्मृतिमा मात्र बाँचिरहेको थियो।

आज ऊ मेरो समीप भइदिएको भए ! तर सोचेजस्तो रहेनछ जीवन यात्रा। कहालीलाग्दो रहेछ जीवनको गोरेटो।

देशमा चलेको सशस्त्र युद्धमा मैले आफ्नो जीवनसाथी गुमाएकी थिएँ।

सैनिक टोलीको अन्तिम सलामीसँगै मैले उसलाई बिदा गरेको पनि दुई वर्ष बित्नै लागेछ। टेबलमा हेरें। उसको फोटो छातीमा गाँठो पर्‍यो। अश्रुधारा छुटेर छातीसम्म भिजायो। आँखाभरि अतीत नाचिरह्यो वर्तमान बनेर।

आज महाशिवरात्री तथा नेपाली सेना दिवस, जिल्लास्थित सैनिक गणमा कार्यक्रम थियो। म पनि गएकी थिएँ। सेना दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम प्रस्तुत गरिएको थियो।

वीरगति प्राप्त सिपाहीहरूको तस्बिरमा माल्यार्पण गरिँदा हामी सबैको आँखा आँसुले डम्म थियो। वीरगति प्राप्त अमर सिपाहीहरूलाई सलामी दिइयो। आफ्नो मुटु चुँडाएर मैले सम्झना स्मारकमा फूलमाला अर्पण गरें।

अनुप र म सानैदेखिको साथी। बाल्यकालदेखि नै हामी एक अर्कालाई धेरै माया गर्थ्याैं।

म राईकी छोरी, ऊ छेत्रीको छोरो तर हामीमा भेदभाव र छुवाछुतको भावना कहिल्यै आएन। एकलाई घाउ लागे अर्कोलाई दुख्थ्यो।

देशको राजनीतिक अवस्था दयनीय थियो।

मेरा दाजु नेपाल प्रहरीमा कार्यरत हुनुहुन्थ्यो। दिनदिनै मान्छे मर्थे, मारिन्थे। हाम्रो परिवारमा एउटै मात्र पीडा थियोे दाजुको जागिरको। दाजुलाई सम्झेर देवी देउराली पुकार्थ्याैं।

साँझबिहान आमा चुलामा बल माग्नुहुन्थ्यो। राईहरूको तीन ढुंगा चुलामा आगो बालेर पूजा गर्दै केही माग्नुलाई बल मागेको भनिन्छ।

मैले र अनुपले राम्रो अंकका साथ एसएलसी पास गर्‍याैं  र म पढाइलाई अघि बढाउन सदरमुकाम नै जाने भएँ। अनुप भने पारिवारिक अवस्थाले गर्दा गाउँको उच्च माविमा नै पढ्ने भयो।

हामी टाढा भयौं। पाखापखेराले हामीलाई छेकिदियो तर भौगोलिक रूपमा जति नै टाढा भए पनि हामीमा स्नेहको बन्धन थियो, जसले गर्दा सधैं सँगै छौं जस्तो लाग्थ्यो। बाल्यकालको चोर पुलिस खेल्दाखेल्दै र घाँसदाउरा गर्दागर्दै मन साटिएको हामीलाई पत्तै भएन। लुकिचोरी गर्दागर्दै हामी त एक अर्काको परिपूरक भइसकेछौं।

समय आफ्नै गतिमा बढिरह्यो। अनुपकी आमा साह्रै बिरामी हुनुभएको खबर पाएर गाउँ करफोक पुगें। आमाको अन्तिम अवस्था रहेछ।

अन्ततः हामीले आमालाई गुमायौं। जातीय परम्पराअनुसार आमाको दाहसंस्कार गर्‍यौं अनि पुनः हृदयको आलो घाउ सुम्सुम्याउँदै सबै आआफ्नो गोरेटो लाग्यौं। मानिसको जीवनमा जेजस्ता घटना घटे पनि हाँसेर स्वीकार्न नै पर्दोरहेछ।

म इलाम पुगेको १० दिनपछि फुङ्ग उडेको मुहार बोकेर अनुप मेरो कोठामा आइपुग्यो। उसको शारीरिक अवस्था देखेर नमिठो लाग्यो।

‘सानी! आराम छौ?’ अनुपको प्रश्न थियो।

‘अँ’ मेरो जवाफ थियो।

पूर्णिमाको जुनजस्तै अनुपको मुहारमा औंसीको साम्राज्य फैलिएको थियो।

मैले महसुस गरें–अनुप धेरै मुर्झाएछ।

केहीबेरको कुराकानीपश्चात् अनुपले भन्यो-‘सानी, चारआली ब्यारेकमा सेनाको भर्ती खुलेको छ रे। म पनि जानुपर्‍यो। हेर न, घरमा पनि को छ र? घरबारी पनि आमाको उपचारमा बन्दकी राखेको छु। म एक्लै भएँ सानी।’ यति भनेर अनुपले आँखा पुछ्यो।

मलाई आफैले टेकेको धरती नै फाटेर आफू भासिएकोजस्तो लाग्यो।

‘सङ्कटकालीन अवस्था !’ मैले बिस्तारै भने।

‘पेट त पाल्नै पर्‍यो नि सानी ! जीवन चलाउनै पर्‍यो। दुईचार पैसा बचाएर हाम्रो भविष्य पनि त हेर्नु छ। बुबाले पनि माया मार्नुभयो। बाँचेको-मरेको पत्तो छैन। खोज्न कहाँ जाऊँ?’ अनुपले त्यो दिन मलाई सम्झाउँदै भनेथ्यो।

मैले अनुपको बाटो छेकेर रुन सकिनँ। उपाय पनि केही थिएन। हामी परिबन्द र बाध्यताको जालमा परिसकेका थियौं।

अनुपलाई मुटु नै चुँडाएर बिदाइको हात हल्लाएँ। यो मेरो गर्व र खुसीको कुरा थियो कि आफ्नो जीवनको सहयात्री राष्ट्रको रक्षार्थ उभिँदै छ तर पीडा र त्रासले एकैचोटि अँठ्याएको अनुभव पनि गरें।

समय आफ्नो गतिमा बढिरह्यो। हामी पनि समयका पाइला पछ्याउँदै उसकै पछि लागि रह्यौं।

वसन्तले पालुवा लिएर आयो। फेरि शिशिर उसको पछि उजाड बनाउन आइपुग्यो।

अनुपको तालिम पनि सकियो। आफ्नो जिम्मेवारीलाई अँगाल्दै ऊ २ नं. बाहिनीअन्तर्गत धनकुटा ब्यारेक खटियो।

बम र बारुदले अनुपलाई हिजोभन्दा अझ बढी मायालु र जिम्मेवार बनाएछ।

मेरो दोस्रो वर्षको पढाइ सकियो। परीक्षा दिएर म घर फर्कें। अनुपबिना गाउँघर, वनजंगल शून्य र उजाड थियो मेरा लागि।

मेरो दैनिकी फेरि मेलापात, घाँसदाउरा गर्दै बित्न थाल्यो।

मेरो उमेर पनि २२-२३ वर्षको भइसकेको थियो। समाजमा मेरो पढाइ र उमेरका खुट्किला गन्ने मेरै आफ्ना प्रशस्तै थिए।

‘छोरीचेली उमेर पुगेपछि माइत बसेकोभन्दा आफ्नै घर गरिखाएको राम्रो।’ यस्ता कुराले मेरो हृदय छोइहाल्थ्यो।

यिनै कुराले अनुपको प्रतीक्षामा बलेको दियो कहिलेकाहीं झ्याप्पै निभ्न खोज्थ्यो तर म मायालु हत्केलाले बतास छेक्थें।

यता मेरो घरमा बिहेको कुरा चल्न थालेको थियोे। मलाई सह्य थिएन त्यो कुरा। म प्रेम र कर्तव्यको दोसाँधमा उभिएकी थिएँ।

एकातिर बाबा, आमा, परिवारप्रतिको कर्तव्य अर्कातिर अनुपप्रतिको अथाह प्रेम !

परिवार चाहन्थ्यो-जातकै केटासँग मेरो बिहे होस् तर म कसरी परिवारको इच्छा अनुसार चल्न सक्थे र?

देशको राजनीतिक अवस्था झन्झन् जटिल बन्दै गइरहेको थियो। हत्या, अपहरण, चन्दा आतंक, बन्द-हड्तालले जनजीवन कष्टकर बन्दै थियो। यसबीचमा अनुपको सरुवा पूर्वी पृतना हेडक्वाटर इटहरी भइसकेको थियो।

अत्यन्तै कठिन मोडमा हामीले जीवनको निर्णय गर्‍यौं। परिवारको स्वीकृतिमा हाम्रो विवाह असम्भव थियो। परिवारको मन भाँचेर हामी नयाँ जीवनको सुरुवात गर्न बाध्य भयौं।

कुन छोरीलाई रहर हुन्न? जन्ती, बाजागाजासहित जन्मघरबाट अन्मिएर पराई घर जाने! तर मेरा लागि सम्भव थिएन। बेहुली हुने, जन्म घरबाट रुँदैरुँदै बिदा हुने मेरो कल्पना कर्कलाको पातमा छल्किएको शितको थोपाझैं भएको थियो।

छल्कियो छल्कियो अनि बतासको झोंकसँगै खस्यो र माटोमा विलीन भयो। हाम्रो चोखो प्रेमलाई स्वीकार्न कोही अघि सरेनन्, न मेरा माइती न अनुपका आफन्तहरू।

उल्टै भएको सामाजिक र पारिवारिक सम्बन्ध पनि बिग्रियो। हामी सबैको नजरमा अपराधी ठहर भयौं। तैपनि हामी खुसी थियौं। एक अर्कामा पूर्ण भरोसा थियो। म एक राष्ट्रभक्त सिपाहीकी जीवन सहयात्री भएकीमा असाध्यै खुसी थिएँ।

परिवारदेखि भागेर अर्जुनधारा मन्दिर साक्षी राखेर अनुपले मेरो खाली सिउँदोमा आफूलाई सुरक्षित गर्‍यो। मैले पनि उसलाई सिन्दुरभरि लुकाउन चाहें।

जीवनका इच्छा, सपना र यथार्थ बोधसँगै लाग्यौं इटहरीतर्फ। अनुपका साथीहरूले बधाई र शुभकामना दिए।

अनुपका सिनियर अधिकृत, अनुपका साथीहरू र सिङ्गो संस्थालाई अभिभावक ठाने मैले।

अनुप चौबीसै घण्टा व्यस्त हुन्थ्यो ड्युटीमा। मैले बम बारुदभित्रको वास्तविक जीवन चिनें। अनुशासनमा बाँधिएको सिपाहीको जीवन पनि चिनायो अनुपले मलाई। म त्यो बिरानो ठाउँमा रमाउने प्रयास गर्दै थिएँ।

बिदा पास भएको साँझ मुसुक्क हाँस्दै अनुप कोठामा आइपुग्थ्यो। अनुपको तलबले जेनतेन जीवनयात्रा चल्दै गयो।

‘एकजनाको कमाइले कसरी घर संसार चलाउने ?’ मेरो प्रश्न हुन्थ्यो।

‘तिमीलाई केको दुःख? म शान्ति सेना जाऊँला। सञ्चयकोष छ, पल्टनले सहयोग गर्छ। सानो घर बनाउँला, रिटायर्डपछि म विदेश जाऊँला, चलिहाल्छ नि जीवन सानी!’ अनुपको सपना थियो।

त्यतिबेला म कति धेरै खुसी थिएँ। अनुप व्यावहारिक थियोे। उसका आँखामा क्षितिज परसम्मको सपना थियो।

‘पर्दैन, अर्काको देशमा जान,’ म भन्थे।

‘लौ खेतीपाती गरौंला नि त उसो भए,’ मुसुक्क हाँस्दै अनुप भन्थ्यो।

दिनदिनैको भिडन्त! मैले मन थाम्न सकिनँ। हुन त आफ्नो मान्छे मृत्युको अगाडि उभिएको कसलाई मन पर्छ र?

‘अनुप, यस्तो भयावह अवस्था ! जागिर छोडिदेऊ। थोरै पैसा जम्मा भइसकेको छ। सानोतिनो पसल गरौंला,’ मैले अनुपलाई गुमाउन पर्ला भन्ने डरले भनेकी थिएँ उसबेला।

‘सानी ! म भनेको सैनिक हुँ। मैले देश निर्माण र रक्षाका लागि सपथ खाएको छु। म स्वार्थी बन्नु हुँदैन। तिमी मलाई जागिर छोड भन्छ्यौ तर हामीजस्ता देशका रक्षकले पारिवारिक मोहमा अल्झेर कर्तव्यबाट विमुख बन्न मिल्छ र? देशको रक्षा र निर्माणमा जुट्न सकौं। मलाई साथ र हिम्मत देऊ सानी !’

‘दुःख गरौंला सँगै,’ मैले पुनः जागिर छोड्न आग्रह गरेकी थिएँ।

‘कहाँ गर्छ्याैं? भएको घर जग्गा बन्दकी छ। गाउँ जाने कुनै वातावरण छैन। आफ्नाहरू सबै बटारिएका छन्। भोलि हाम्रा सन्तान हुन्छन्, कसरी हुर्काउने–पढाउने? सानी, घर जग्गा मात्रै निखन्न पाए एउटा आधार बन्थ्यो। पर्ख, केही समयपछि सुनौलो बिहानी पक्कै आउँछ। मैले आफ्नो जिम्मेवारी बहन गर्नैपर्छ। मैले यो अवस्थामा राष्ट्र र संगठनलाई घात गर्नु हुँदैन। म तिम्रो आँखामा एकदिन उज्यालो लिएर आउनेछु।’

अनुप यस्तै सपना सजाउँथ्यो आँखाभरि तर आज उसको सपना बारुदको धुवाँमा रुमलिएको छ भने त्यो धुवाँले मेरो आँखा पोलिरहेको छ।

हाम्रो विवाह भएको पनि वर्ष दिन भइसकेको थियो ख्यालख्यालमा।

यहींबीचमा हाम्रो प्रेमको प्रतीक, जीवनको सार यो धर्तीमा पाइला चाल्नलाई फूलझैं फुल्यो हाम्रो मायाको बगैंचामा। म आमा बनिसकेकी थिएँ।

अनुप ड्युटीमा कहिले गण हेडक्वाटर, कहिले पोस्ट खटिन्थ्यो। ऊ मेरा लागि आदर्शवान पति थियो, छोराका लागि मायालु बाबु थियोे अनि राष्ट्र र संगठनका लागि कर्तव्यनिष्ठ सिपाही। राष्ट्रको रक्षार्थ अबिचल पहाड बनेर उभिन्थ्यो। अनुप अनुशासित, लगनशील थियो।

‘सेनाको अर्को रूप कर्तव्य हो,’ अनुप सधैं यसै भन्थ्यो। छोराको आगमनसँगै अनुपको एक तह बढुवा भयो। दुःखले घरबारी आफ्नो बनायौं।

युद्ध रातदिन चर्कंदै गइरहेथ्यो।

‘सानी, मलाई केही भइहाल्यो भने तिमी आमाछोराको बिजोग हुन्छ होला। आफ्नाहरूले मुख मोडेका छन्,’ अनुप कहिलेकाहीं भन्ने गर्थ्याे।

‘के नचाहिने कुरा गरेको?’ मैले भन्ने वाक्य यही थियो।

आँखाभरि आँसु जम्थ्यो, छातीभित्र कता पहिरो गएजस्तो लाग्थ्यो मलाई।

‘युद्धको मैदानमा खटिने सिपाहीको के भर सानी? दुस्मनको गोली कताबाट आउने हो? कहाँ पुग्दा एम्बुसमा परिने हो? कहाँ गई यो प्राणको अन्त्य हुन्छ थाहा हुन्न बाबु,’ ऊ मलाई मायाले बाबु भन्ने गथ्र्यो प्रायःजसो। साँच्चै अनुप सत्य, अनुशासनको पहाड थियो अनि संगठनको एक कर्तव्यपरायण सिपाही।

जीवन यात्राको उकाली चढ्यौं, ओराली झर्‍यौं। अनेकौं घुम्तीहरू पार गर्‍यौं। हामी हाम्रो खुसीमा रमाएर बाँचेका थियौं, हाँसेका थियौं।

अनुपको गण इलाम आइसकेको थियो सरुवा भएर। अनुप इन्फेन्ट्री फौजमा थियो।

समयको अन्तरालसँगै हामीलाई घर परिवारले स्विकारिसकेका थिए। अनुपको बिदा नमिलेका कारण र जटिल राजनैतिक परिस्थितिका कारण घर जान सकेका थिएनौं।

अनुप मेरा लागि बारुदमा खुसी टिप्थ्यो। राइफलको म्यागजिनसँग छोराको भविष्य माग्थ्यो। म संसारकै भाग्यमानी थिएँ कि मैले अनुप जस्तो मायालु पति पाएकीमा। यता घर परिवारले स्विकारेपछि मलाई एकप्रकारको शान्ति मिलेको महसुुस भएको थियो।

परिवारको आडले होला म अझ अनुपलाई जागिर छोड्न दबाब दिन थालेकी थिएँ।

त्यो शुक्रबार साँझ अनुप कोठामा हाँस्दै आइपुग्यो। मलाई उसको व्यवहारदेखि झर्को लागिरहेको थियो।

‘के भयो सानी? अँध्यारो छ नि मुहार। किन रिसाएकी?’ अनुपले आग्रहसहित प्रेमले सोधेको थियो।

म केही बोलिनँ।

अनुप नबोली छोरालाई काखमा लिएर खेलाउन थाल्यो। म अनुपलाई भरसक जागिर छोडाउन चाहन्थें। आफ्नो खुसीका लागि म स्वार्थी बनेकी थिएँ। अनुपको जिम्मेवारी र कर्तव्य भुलेकी थिएँ सायद त्यो स्वार्थमा मेरो अनुपप्रतिको कर्तव्य पनि मैले भुलेकी थिएँ। सायद त्यो स्वार्थमा मेरो अनुपप्रतिको गहिरो माया थियो क्यारे।

मेरो जागिर छोडाउने धृष्टतादेखि अनुप दिक्क भइसकेको थियो। यसपालि पनि जागिर छोड्न दबाब दिन भूमिका बाँध्न के लागेकी थिएँ अनुप झनक्क रिसायो। यसअघि ऊ कहिल्यै रिसाएको थिएन।

‘तिमी जे भन मान्छु तर जागिर छोड्न सक्दिनँ। मेरो प्राण यही जागिरले बचाएको छ। आज तिमी जुन ठाउँमा उभिएकी छ्यौ, त्यो सिङ्गो शाही नेपाली सेनाको छत्रछाया हो। यो संगठन र बर्दीले हामीलाई ओताउने छानो नदिएको भए आज हाम्रो अस्तित्व दुनियाँमा रहने थिएन। त्यसैले राष्ट्रले दिएको जिम्मेवारीलाई एक कदम पछि नहटी पूरा गर्छु। बरु म हाँस्दै मरौंला!’ अनुपले झर्कंदै भनेथ्यो।

‘तिमीले मेरो मन कहिल्यै बुझेनौ’  

‘तिमीले चाहिँ कति बुझ्यौ सानी म र मेरो ड्युटी र बर्दीलाई ? म कुनै पनि हालतमा भगौडा बन्न सक्दिनँ। मेरो नैतिकताले दिँदैन।’  

‘आज तिमीलाई मेरोभन्दा नैतिकताको माया लाग्यो?’ मैले ठुलो स्वर बनाएर भनेकी थिएँ।

कोठाको वातावरण अत्यासलाग्दो भएर आयो।

‘म यो कठिन मोडमा राष्ट्रलाई, संस्थालाई धोका दिन सक्दिनँ।’  

‘उसो भए म र छोराभन्दा तिम्रा लागि तिम्रो संस्था प्यारो भयो?’

‘म भनेको सैनिक हुँ। देशको रक्षार्थ खट्छु। शिरमा राष्ट्र र काँधमा कर्तव्य छ मेरो। बर्दी र ड्युटी मेरा सहयात्री हुन्। म कर्तव्यपथबाट भाग्न सक्दिनँ। तिमी मात्र अनुपकी श्रीमती हैनौ। तिमी त सिपाहीकी पत्नी हौ। एक कर्तव्यनिष्ठ शाही नेपाली सेनाकी जीवनसँगिनी हौ। तिम्रो पनि नसानसामा संगठन र राष्ट्रको माया रगत बनेर बग्नुपर्छ।’

हामीबीचमा धेरै होहल्ला हुन पाएन। अनुप जुरुक्क उठेर ब्यारेकतर्फ लाग्यो।

मैले कोठाबाट नै देखें ब्यारेकको १ नं. गेट पार गरेर गएको अनुपलाई।

एकप्रकारले नरमाइलो लाग्यो।

अनुपको हृदयमा राष्ट्र र संगठनप्रतिको श्रद्धा देखेर मैले पनि सिपाही पत्नी हुनुको गर्विलो इतिहास खोतल्न थाले। पानाहरू पल्टाउँदै जाँदा अनुपप्रति, अनुपको अगाडि सबै श्रद्धा पोखिदिएँ।

अनुपको अनुपस्थितिमा आफैलाई शून्य शून्य लाग्यो। पश्चाताप महसुुस गरें तर म झुकेर अनुपलाई बोलाउन चाहन्नथें। सधैं ऊ नै झुक्ने गर्थ्याे तर किन हो त्यो दिन अनुप पनि झुक्न चाहेन। रातभरि छटपटी भइरह्यो।

२-४ दिनसम्म हाम्रो बोलचाल भएन।

पाँचौं दिन कोठामा आएर अनुपले भन्यो, ‘सानी ! पुवाखोलामा माओवादीले सडकमा अवरोध राख्या छन् रे ! मेरो ड्युटी पर्‍याे। म यही भन्न आएको।’

फनक्क फर्केर हेरें। अग्लो शरीरमा कम्ब्याट ड्रेस, सधैं हाँस्न तम्तयार ओठ, ठुला ठुला आँखा, छोटो कपाल, सानोमा सँगै खेल्दा मैले ढुङ्गा हानेर बनाइदिएको निधारको सानो खत, ठुलो निधार, मिलेका आँखीभौं, सुहाउँदो सिनिक्क परेको नाक, नाडीमा कालो रंगको घडी अनि टिलिक्क चम्केका बुट। मेरा आँखाबाट बरर आँसु खसे।

‘किन रोएकी पागल केटी? तिम्रा आँसुले मेरा पाइला डगमगाउँछन्, नरोऊ। सिपाहीकी स्वास्नी रुँदैनन्।’ मलाई छातीमा टाँसेर अनुपले सम्झाएको अहिले जस्तो लाग्छ।

‘म मर्न गएको हो र?’ उसले आफ्नो कोमल हातका औंलाले मेरा आँसु पुछिदिँदै भनेथ्यो।

‘आफ्नो ख्याल राख है,’ म रुँदै बोलेथें।

‘म नबुझ्ने मान्छे हुँ र?’ अनुप सधैंभरि मलाई भन्थ्यो।

‘तैपनि ...!’

‘केही हुन्न मलाई। तिम्रो मायाले मृत्युको मुखबाट खोसेर ल्याउँछ सानी,’ यति भनेर अनुप मुसुक्क हाँस्थ्यो। ऊ हाँस्दा मलाई मेरो दुनियाँ नै उज्यालो लाग्थ्यो।

‘बाबु, म भनेको युद्धको मैदानमा खटिएको सिपाही हुँ। मसँग चित्त नदुखाऊ कि मैले तिमीले भनेको मानिनँ भनेर। म तिमीलाई असाध्यै माया गर्छु। तिमी नै मेरो मनमुटु हौ। अब तिमी केटाकेटीपन छोडेर जिम्मेवार बन। छोराको भविष्य सम्झ। हेर, दिनरात युद्ध चर्किंदै गइरहेको छ। कहाँ कतिखेर मरिन्छ थाहा छैन। मन दह्रो बनाऊ, नरिसाऊ,’ अनुप यति बोलेर फेरि मुसुक्क हाँसेथ्यो।

‘अब रिसाउँदिनँ अनुप। तिम्रो मन कहिल्यै दुखाउँदिनँ। तिम्रो वचन काट्दिनँ। मैले तिमीलाई चिनेकी रहिनछु। तिमी मेरो होइनौं, राष्ट्र र संगठनको रहेछौ। अनुप, अबदेखि जागिर छोड भन्दिनँ,’ मैले अनुपको ठुलो निधारको सानो खत सुमसुम्याउँदै भनें, जुन खत मैले नै सानो छँदा ढुंगा हानेर बनाइदिएकी थिएँ। त्यो खतलाई मेरो लाहा छाप ठान्थ्यो अनुप।

त्यो घाउ बनेको दिन जति अनुप कहिल्यै रोएको थिएन। मैले पनि खुब पिटाइ खाएकी थिएँ आमाको हातको। त्यसपछि मैले ढुंगा हान्ने बानी छोडेकी थिएँ। अनायासै अनुपको आँखाबाट खसेको तातो आँसुले मेरा दुवै हत्केला तातो भएर भिज्यो।

‘सिपाहीको मन पनि यस्तो कमजोर हुन्छ? बर्दी लाएर, काँधमा बन्दुक बोकेर कोही रुन्छ? सिपाही अरू बेला मायालु भए पनि युद्धमा, ड्युटीमा त कठोर बन्नुपर्छ। म तिम्रा लागि ईश्वरसँग प्रार्थना गर्छु। तिमीले नै भनेको होइन सिपाहीको अर्को रूप कर्तव्य हो भनेर? अनुप तिमीलाई मदेखि कसैले पनि छुटाउन सक्दैन।’

यस्तैमा उसले बोकेको रेड्युल सेटमा सिग्नल बज्यो। छोरालाई सुमसुम्याएर मेरो सिउँदो चुम्दै अनुप कोठाबाट बाहिरियो।

‘छिट्टै फर्क म बाटोमा पर्खिरहनेछु अनुप,’ मेरो गला अवरुद्ध भएको थियो।

मुसुक्क हाँसेर छोटो कपाल भएको टाउको हल्लाएको थियो उसले ‘हवस्’ भन्दै।  

मनै अमिलो भएर आयो। आँखाबाट आँसु खसे। अनुपसँग कहिल्यै नरिसाउने भनेर मनमनै कसम खाएँ।

ब्यारेकदेखि पट्रोल टोली निस्कियो। माइखोलामा भएको बाधा अवरोध हटाउन।

म बाटोमा उभिएँ।

‘भाउजू गयौं है,’ आँँखाअघि मृत्यु नाचिरहेको देख्दा पनि अविचलित बनेका सिपाहीहरूप्रति हृदयमा श्रद्धाको भेल उर्लेर आयो।

अनुप टोलीको बीचमा थियो।

कम्ब्याट ड्रेस, छातीभरि गोलीगट्ठा, काँधमा एसएमजी बोकेर अनुपले हात हल्लायो। सधैंभरि मुस्कुराउन तम्तयार उसको ओठ मेरा आँखामा यसरी गहिरिएको छ कि जसको गहिराइ कसैले नाप्न सक्दैन।

‘राम्रोसँग जाऊ,’ मैले सासले मात्रै भनेकी थिएँ। छोरो मेरो काखबाट बाबातिर नै जान खोज्दै थियो दुई हात फैलाएर।

‘म भरे आउँछु है बाबु,’ अनुपले छोरालाई भनेथ्यो।

तोते बोलीमा ‘बाबा,बाबा !’ भन्दै रुँदै थियोे छोरो। कठै! त्यसबेला अनुपको हृदय कस्तो भएको थियो होला?

हल्लाखल्ला सँगै एउटा तितो खालीपन छोडेर डाँडामा छेलियो अनुपसँगै सैनिक टोली। म बाटोमा नै उभिइरहें। लाग्यो, मेरो मुटु अनुपसँगै जाँदै थियो मलाई छोडेर। रुँदारुँदै छोरो काँधमा निदाएछ।

माथि २ नम्बर पोस्टको ड्युटीमा बसेको ड्युटीले ‘मेम, बाबुु निदायो’ भन्दा झसङ्ग भएकी थिएँ।

३-४ घण्टा पछि संसारै थर्काएर बम पड्केको आवाज सुनियो।

मैले भए भरका देवीदेवता पुकारें।

हातगोडा थरर काँप्यो, शरीरमा चिसो पसिना आयो।

अपुष्ट खबर सुने, ‘अवरोध हटाई फर्केको सैनिक टोलीलाई माओवादीले आक्रमण गर्दा २२ जनाले वीरगती पाए।’

‘अनुप सर नि घाइते हुनुभएको छ रे’ अर्को हल्ला सुनें अनि हतारमा ब्यारेक पुगें।

मेजर साबको अनुहारको भावले मैले अड्कल काटिसकेकी थिएँ !

हाम्रो अन्योल र पीडाबीच थप सैनिकहरू घटनास्थलतर्फ लागे।

सैनिक हेलिकोप्टर आयो झन् मन अत्तालियो।

मेरो त दुनियाँमा अन्धकार छायो।

म चिसो बन्दै सैनिक गाडीमा बसेर इलाम अस्पताल पुगें। अस्पताल पुग्दा थाहा भयो-मेरो अनुप पनि अनन्तमा हराइसकेछ। मसँगै मर्छु भन्ने उसले मलाई जिन्दगीको कहालीलाग्दो यात्रामा एक्लो पारिसकेको रहेछ। सेनाको इतिहासमा अमर बनिसकेछ। रगतले सेनाको वीरताको कथा लेखिसकेछ मलाई शून्य पारेर। वीरगति प्राप्त सैनिकहरूका पार्थिव शरीरले अस्पतालको प्राङ्गण भरियो। घाइतेहरूलाई छाउनी अस्पताल लैजाने तयारी हुँदै थियो।

म शून्य भइसकेकी थिँए। रुवाबासीले इलामको आकाश नै कोलाहलमय थियो।

हामी विधवा भयौं, छोराछोरी टुहुरा भए। बाआमाहरूको साहाराको लट्ठी भाँचियो।

लहरै राखिएका २३ वटा पार्थिव शरीर देख्दा मैले रुन नै भुले। कसले कसलाई अँगालेर रुने?

मैले अनुपको पार्थिव शरीर हेरें। ऊ निदाएकोजस्तो मात्रै लागेको थियो। मेरो मुटुले उसको मृत्यु पटक्कै स्वीकार गर्न सकेन। उसले भन्थ्यो, ‘सानी तिम्रो मायाले मलाई मृत्युको मुखबाट बचाउने छ’ तर मेरो मायाले उसलाई बचाउन सकेन।

म डाँको छोडेर रोएँ। छोरो नि कहालिँदै रोइरहेको थियोे। म रोएको देखेर सायद उसलाई थाहै भएको थिएन कि उसको बाबा अब कहिले पनि मलाई काखमा लिन सक्नु हुन्न भनेर।

‘नरोऊ नानी, मनलाई कमजोर नबनाऊ। तिमीले यसो गरेपछि बाबुलाई गाह्रो हुन्छ।’

‘व्यक्तिगत स्वार्थमा रगत बगाएका होइनन् अनुपहरूले। राष्ट्रका खातिर, संगठनका खातिर भविष्यका खातिर बगेको रगतको उच्च सम्मान छ। तिमी आफूलाई एक्लो नठान्नू। सिंगो संस्था साथमा छ। तिम्रो आँसुले अनुपको आत्मालाई शान्ति मिल्दैन,’ मेजर साबले मलाई सम्झाउँदै भन्नुभएको थियोे। उहाँ अनुप र मेरो अभिभावक हुनुहुन्थ्यो।

मेजर साबको नि आँखा ओभानो त थिएन।

फूल र अबिरले ढाकिएको थियो अनुपको पार्थिव शरीर। माइखोलामा अन्तिम संस्कार सकिने भयो। लहरै बनाइएका चितामा अनुपसँगै अन्य ३–४ जनाको पार्थिव शरीर राखेर एक सैनिक टोलीले अन्तिम सलामी अर्पण गर्‍यो।

सधैं अनुपको सलामी लिने अधिकृतले पनि आज अनुपलाई सलामी अर्पण गर्दै थिए।

आफ्ना अधिकृतका अगाडि जङ्गी अनुशासनमा तनक्क छाती तन्काएर बलिष्ठ कोमल हात उठाएर सलामी दिने मेरो अनुप अचल थियो। हृदय मेरो चिसो भइसकेको थियो।

‘अनुप अनुप!’ मैले उसलाई बोलाएँ। बोलिहाल्छ कि म रोएको देखेर जस्तो एउटा आश।

अहँ, ऊ बोल्दै बोलेन। चुपचाप बसिरह्यो मेरो दुनियाँलाई शून्य पारेर।

यसो अन्तिम पटक उसको मुहार हेरें। उस्तै मुस्कुराउन तम्तयार ओठ, ठुलो निधारमा सानो खत, मिलेका आँखीभौं, चिम्म गरेका आँखा, छोटो कपाल, निधार सुम्सुम्याएर छातीमा रोएँ। चिसो भइसकेको अनुपको शरीर अँठ्याइरहन मन लाग्यो।

‘अनुप, म यति ठुलो संसारमा एक्लै भएँ। मलाई किन धोका दियौ?’ मैले उसको निधारको खत छाम्दै सोधेको थिएँ। जवाफ दिएन अनुपले।

‘बाबा बाबा !’ भन्दै छोरो पनि  

रुँदै थियो।चितामा अनुपले दिएको सिन्दुर र पोते अनि मेरो बाँकी जीवनका रहरहरू, खुसीहरू उसैलाई फिर्ता दिएँ। अब रंगहरू मलाई के काम? मेरो त जीवनको रंग नै अनुप थियो।

२ वर्षको सानो छोरालाई काख च्यापेर अनुपको पार्थिव शरीरमा दागबत्ती दिएँ।

मलाई माया गर्ने मेरो अनुपलाई आगोको लप्काले जलाउँदै थियोे। म आफै पनि जल्दै थिएँ।

मलाई नि ऊसँग खरानी बनेर चितामा पखालिन मन थियो तर काखमा भएको छोराको मायाले अल्झायो। आँखैअगाडि अनुपको शरीर खरानी भयो।

‘बाबा आत्था ! बाबा आत्था !’ छोराले नजानी नजानी भनेको सुन्दा मेरो मुटु टुक्रिएर धुलो भएको थियो।

हेर्दाहेर्दै एक राष्ट्रको सेवक, संगठनको कर्तव्यनिष्ठ सिपाहीलाई खरानीको स्वरूप दिएर आगोको ज्वाला शान्त बन्यो।

म सैनिक टोलीसँगै इलाम सदरमुकाम फर्किएँ। आँखामा अन्तिम पटक हेरेको अनुपको मुहार गढेर बसिरह्यो। रगतले कम्ब्याट ड्रेस लछप्पै भिजेको थियो। अनुप भन्थ्यो, ‘सानी, तिम्रो मायाले मलाई मृत्युको मुखबाट नि बचाएर ल्याउनेछ।’

मैले अनुपलाई बचाउन सकिनँ। मेरो मायाले उसलाई बचाउन सकेन। विद्रोहीको गोली छेक्न सकेन  मेरो मायाले।

बारुदको धुवाँमा एकमुठी सास बचाउने मेरो अनुप कता हरायो?

सातै जन्म सँगै हुन्छु भन्ने अनुपले एक्लै बनाएर गयो। सानो घर, खुसी भरिएको परिवार एउटै सपना थियो। शान्ति सेना जाने, अवकाशपछिको जीवन हाँसीहाँसी बिताउने चाहना थियो अनुपको।

अनुपले आफूलाई कहिल्यै राष्ट्र र संगठनभन्दा टाढा राखेन। आफू रोएर राष्ट्रका लागि हाँसी दियो।

साँच्चै बाँचेकाको भन्दा मरेकाको सम्झना गाढा बन्दोरहेछ। उनीहरूकै सम्झनामा आँसु झर्दोरहेछ, मुटु जल्दोरहेछ, बल्दोरहेछ जिन्दगी नै खरानी बन्नेगरी।

विगत सम्झँदै म वर्तमानसम्म आइपुगें। टेबलमा अनुपको तस्बिर उसैगरी हाँसिरहेको थियोे। ओछ्यानमा छोरो मस्त निदाइरहेको थियो। दिनभर ब्यारेकमा उफ्रिएकाले थाकेछ पनि।

निदाइरहेको छोराको मुहार नियाल्छु। अनुपको सम्झना अझ गाढा बन्दै गयो।

आँखाबाट खसेका आँसुले अनुपको तस्बिर लछप्पै भिज्यो।

मृत्यु सत्य हो भन्ने जान्दाजान्दै पनि सत्यता पचाउन गाह्रो पर्दोरहेछ।

आजजस्तो शान्ति हिजो भएको भए हजारौं बालबच्चा मेरो छोराझैं टुहुरा हुने थिएनन्।

पुनः सम्झिएँ, मुटुमा गाँठो पर्‍याे। सारीको आँचलले अनुपको तस्बिर पुछेर हेरें। तस्बिरमा टोलाएँ। उसको चिरशान्तिको कामना गरें। मसँग उसका लागि त्यो आँसु र सम्झनाबाहेक के थियो र? अनुपको सम्झनाले अँगालेर मलाई अनुपको छातीमा टाँसिदियो।

उसको अग्लो शरीर, मुसुक्क हाँस्दा खुल्ने ओठ, उज्यालो मुहार आँखैमा नाचिरह्यो।

अनुपको कम्ब्याट ड्रेस, ब्याग, म्याट्रेस, बुट सबै छातीमा टाँसें। साह्रै मन दुख्यो, मुटु फाट्यो। कहालिएर रुन मन लाग्यो। उसको ठुलो निधार अनि निधारको खत सुम्सुम्याउन मन लाग्यो। कलिला लाग्ने हातका औंलाहरू हत्केलामा राख्न मन लाग्यो। मिलेका आँखीभौं, ठुला ठुला आँखा, सानो चिटिक्क परेको नाक सम्झें।

मुटु हुरुक्क भएर फुटेझैं भयो। हिक्कहिक्क भयो। कम्ब्याटमा अनुपको शरीरको सुगन्ध बाँकी नै रहेछ। उसको पसिना नाकैमा ठोक्कियो। पसिना नउडोस् भनेर उसको कम्ब्याट ड्रेस प्लास्टिकको झोलामा प्याक गरेर जतनले राख्ने गरेकी छु।

‘सानी, कमजोर नबन। म सधैंभरि साथमा छु,’ अनुपको मधुर स्वर कानमा गुन्जियो।

‘तिमीलाई जागिर छोड भन्दिनँ, रिसाउँदिन अनुप,’ म रुँदै थिएँ कहालिएर। अनुपको तस्बिर, कम्ब्याट, बुट, ब्याग अँगालेर रोएकीले छोरा ब्युँझेर मलाई हेर्दै रुँदै थियो।

फेरि एकपटक आँसुले अनुपको तस्बिर र यादहरू धोएँ। म प्रत्येक सेना दिवसमा रुने गर्छु।

अनुपलाई र अनुपजस्तै राष्ट्रका लागि रगत बगाउनेहरूलाई २ थोपा श्रद्धाको आँसुबाहेक म के दिन सक्छु र?

प्रकाशित: २३ वैशाख २०८० ००:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App