८ वैशाख २०८१ शनिबार
कला

‘फिलिङ्गो’ मा सीमान्तीका सकस र सीमाहरू

पाठक्यौली

‘फिलिङ्गो’ साहित्यकार प्रभा बरालको उपन्यासकृति हो। सन् २०२२ को जुन महिनातिर नेपाल पुगेका बखत उपन्यासकारको सप्रेम तथा हस्ताक्षरसहितको ‘फिलिङ्गो’ कोसेली पाएको थिएँ। मैले भेट्दासम्ममा नै ‘फिलिङ्गो’ ले साहित्यिक आकाशमा चमत्कार देखाइसकेको थियो। पाठकका मनमा छान मारिसकेको थियो। मनमस्तिष्क टटोलिसकेको थियो। मायाप्रेम बटुलिसकेको थियो। उपन्यासकार बराल उमेरका हिसाबले मेरो तुरिया वा धेरै पूर्व चिनारु होइनन्। केही पछिल्ला वर्षहरूमा साहित्यिक मामलामा चिनारु हुन् र गुणवत्ताका हिसाबमा चुली नाम भएकी स्रष्टा हुन्। स्रष्टा पदयात्रा तथा नियात्रा समाजको ब्यानरले चिनाएको थियो प्रभासँग।

समसामयिक विषयका लेख, कथा, कविता तथा निबन्धमा सरोबरी कलम चलाउने उपन्यासकार बराल प्रमाणैले बहुमुखी स्रष्टा हुन्। यसअघि उनका नियात्रासंग्रह, कवितासंग्रह आदि प्रकाशन भइसकेका छन्।

‘फिलिङ्गो’ उपन्यासको आवरणमा रुखका हाँगामा फुलिरहेका फूलहरू र त्यसको तल गोलार्द्धमा उन्मुक्त साइकल चलाइरहेकी एक महिलाको स्केच चित्र छ। विविध भर्‍याङ चढ्दै गोलार्द्धमा पुगिने बिम्बमा पुस्तकको कलेबर निर्माण गरिएको छ। कृतिको पश्चभागमा डा. रजनी ढकालको कृति मन्तव्य छ। अक्षर किएसन्स नेपालले २०७७ सालमा प्रकाशन गरेको यो पुस्तकलाई ‘आत्मसम्मानमा बाँच्न खोज्ने हरेक महिलाप्रति’ समर्पित गरिएको छ। नेपाली साहित्य तथा कला क्षेत्रमा चम्किसकेका अनेक १९ विद्वान तथा विदुषीको छोटा सकारात्मक मन्तव्यले कृतिको गुणवत्ता उजागर गरेको छ। कृतिको अन्तिम पातातिर कृतिरचनागर्भ र धन्यवाद ज्ञापन गरिएको छ। उपन्यास ३३ उपशीर्षकमा विन्यास गरिएको छ।

‘फिलिङ्गो’ मूलतः जापान र आंशिक रूपमा नेपाललाई कार्यपीठिका बनाएको उपन्यास हो। उपन्यास भनिनु आख्यानका माध्यमबाट उपन्यासकारको विचार प्रक्षेपण गर्ने सुनौलो र सशक्त माध्यम हो। उपन्यासभित्र सीमान्ती नामक प्रमुख पात्रको सिर्जना गरिएको छ। त्यसकारण सीमान्तीकै मेरुदण्ड वरिपरि कथानक बुनिएको छ। अरू पात्रहरू गौण छन्। कथावस्तुका आवश्यकताका हिसाबले ती गौण पात्र आउँछन् र सकिन्छन्। त्यसकारण सीमान्ती नै उपन्यासको कथावस्तुको मियो हो। यसबाहेक श्रीमान् निर्भय लगायत अन्य जापानी तथा नेपाली पात्रहरू छन्।

नेपालको पोखरा क्षेत्रलाई थलो बताउने सीमान्तीको बिहे जापानमा काम गर्ने निर्भयसँग भएसँगै जापान प्रवेश गर्दै गरेको घटनाबाट उपन्यास सुरु हुन्छ। शनैशनै सीमान्ती जापानी परिवेशमा घुल्न थाल्छे। काम गर्न थाल्छे। त्यसले सीमान्तीलाई अलग परिवेशमा पुर्‍याउँछ। जापानी चलन, नारीको अवस्था, व्यक्तिगत स्वतन्त्रता, नेपाली कामदारको अवस्था, नेपाली विद्यार्थीका आरोह-अवरोहहरू थाहा पाउँदा सीमान्तीमा जीवन हेर्ने दृष्टिकोणमा परिवर्तन आउन थाल्छ।

मूल कुराचाहिं आफ्नै श्रीमान् जापानी परस्त्रीसँग सल्किएको घटनाबाट विक्षिप्त भएको विन्दु कथानकको टर्निङ पोइन्ट हो। नेपालबाट जापान सेमिनारमा घुम्न गएकी अजिला म्याडमको सम्पर्कबाट जीवनमा आमूल परिवर्तनको छटा देखिन थाल्छ। आफ्नै नेपाली प्रचलनको जीवन सम्बन्धको कहरबाट मुक्त हुन थालेको आभाष हुन्छ। सीमान्तीभित्र जीवन संघर्षका अस्मेल उकाली-ओह्रालीहरू छन्। र, अन्त्यमा सीमान्ती आफ्नै जीवन एक्लै उभिएर सक्षमताका साथमा आत्मसम्मानमा बाँच्न थालेकी छन्। धेरै त्यस्ता कहरमा पुगेका महिलाको सहयोगी मात्र होइन; संरक्षकसमेत बनेकी छिन्।

उपन्यासभित्र सीमान्तीले भोगेका सकसहरू अनगिन्ती छन्। सामाजिक सकस, आर्थिक सकस, संस्कारगत सकस, परम्परागत सकस, डायस्पोरिक सकस, वैदेशिक रोजगारीका सकस असाध्य धेरै छन्।

याने नेपालको समाजमा व्याप्त पुरुषसत्ता र त्यसका प्रभावहरू एकातिर छन् भने त्यसका विरुद्ध आत्मसम्मान तथा आर्थिक स्वतन्त्रताका लागि महिलाले गरेको विद्रोह तथा सफलता अर्कोतिर छ। यी दुई सकसका बिचमा द्वन्द्व गराएर तथा महिलाको आत्मसम्मान स्थापना गरेर द्वन्द्व व्यवस्थापन गर्नु उपन्यासको प्रमुख अभिध्येय हो।

थिमका हिसाबले यो उपन्यास हाकाहाकी नारीवादी रहेको छ। नेपालका नारीहरूका कहर, वैदेशिक रोजगारीमा विशेष गरेर नारीले भोग्नुपर्ने अवस्था, त्योसँग जुध्न सिकाउने पनि जापानको भूमिका र राष्ट्रवादी सोचबाट नेपाल फर्किएर जीवन तङ्ग्य्राएको परिवेशको चित्रण गरिएको छ। नारीभित्र आत्मसम्मानका असङ्ख्य व्यक्त/अव्यक्त फिलिङ्गाहरू हुन्छन् र तिनले चेत पाउनेबित्तिकै बल्न थाल्छन् र मुकाममा पुगेर आफ्नो जीवन एक्लै बाँच्न सक्छन् वा सक्नुपर्छ भन्ने सन्देश फिलिङ्गोले प्रवाह गरेको छ।

उपन्यासकारको उपन्यास लेखन शैली सुन्दर छ। मूल रूपमा सीमान्ती पात्रभित्र उपन्यासकार प्रवेश गरेर सीमान्तीलाई डाङ्ग्रे खेलाएझैं कायाकैरन गर्दै रहेको चित्र उपन्यास लेखनको शैली हो। त्यसो भएकाले उपन्यास निजात्मक शैलीमा लेखिएको छ। प्रथम पुरुष दृष्टिविन्दुमा लेखिएको छ। सीमान्तीले भोगेका/देखेका/सुनेका सवै घटना तथा परिघटनालाई अथवा परिवेशले सिर्जना गरेको सीमान्तीका मनोद्वन्द्वहरूलाई जस्ताको तस्तै उजागर गरिएको छ।

त्यसैगरी उपन्यास लेखन शैलीमा सूचना प्रवाह गर्ने शैली देखिन्छ। मूल रूपमा उपन्यासको कार्यपीठिका जापान जस्तो विकसित देश रहेकाले त्यहाँको भूमि, प्रचलन, विकास, चेतना, शिक्षा, परिवेश, कहर तथा उत्पीडन पनि नेपालको भन्दा फरक हुने भएकाले जापानका तत्तत् सूचनाहरू प्रदान गर्ने अभिध्येय देखिन्छ।

उपन्यासभित्र धेरै सूचना छन्। हिरोसिमा नागासाकीमा परेकाका सन्तानसँग छोराछारी अपाङ्ग जन्मन्छन् भनेर जापानीहरूले बिहे गर्न नमान्ने गैरमानवीय तथा मनोवैज्ञानिक रूपले घोर पीडादायी सामाजिक अवस्था जस्ता सूचना प्रवाह गरिएको छ। जापानको विवाहको भौतिक तथा मानवीय पक्षलाई मिहीन तरीकाले उजागर गरिएको छ। बच्चा रोएपछि रोइरहन दिने रहेछन्। रुनेलाई रुन दिइरहनुपर्छ भन्ने मान्यता छ। तर, बच्चालाई गाली गर्न हप्काउन भने पाइन्न। जापानमा चोर्नु ठूलो अपराध मानिन्छ। जापानका वृद्ध-वृद्धाको आयु लामो हुने कारण उनीहरूले नियमित जस्तो खाने माछामासु र रक्सीको सकारात्मक पक्ष उजागर गरिएको छ।

यसैगरी जापानी महिला बिहे गर्ने नेपाली पुरुषको नाजुक अवस्थाको चित्रण छ। जापानमा बुद्ध पनि अनेक भएको र एकले अर्काको बुद्धको विरोध गर्ने गरेको धार्मिक आडम्बरलाई व्यक्त गरिएको छ। जापानीहरू विश्वासिला तथा इमानदार हुने गरेका अनेकन् सन्दर्भ छन्। बिनामान्छेका फुटपाथे दोकानको चर्चा छ।

जापानमा लिभिङ टुगेदर र विवाह र सम्बन्धविच्छेद सामान्य र स्वाभाविक भएको कुरा उपन्यासमा उल्लेख गरिएको छ। जापानीहरूमा अमेरिकी मोहव्याप्त छ। अमेरिकीसँग बिहेबारी गर्न तथा भ्रमण गर्न बसाइँ सर्न असाध्य ठूलो चाहना हुन्छ। जबकि जापान आफैं विकसित राष्ट्र हो र साक्षरता शतप्रतिशत छ। लाइनमा नबस्नेलाई असभ्य मानिन्छ।

जापानमा काम गर्न तथा अध्ययन भिसामा पुगेका नेपालीहरूको दशा/दुर्दशाबारे पनि उपन्यासमा बोलिएको छ। यस क्रममा नेपालबाट आफ्ना खेतबारी सबै बाँझा पल्टाएर विदेश भूमि सिञ्चन गर्न हिंडेका/हिंड्नुपरेका नेपालीहरूको बाध्यात्मक परिवेशको चित्रण सुन्दर भएर आएको छ। उपन्यास जापान जस्तो विकसित देशको भावभूमिमा लेखिएकोले विकसित देशका सुविधाको वर्णन गर्दै नेपालको सुविधासँग तुलना गरिएको छ। त्यसैगरी लिङ्गका आधारमा, रङका आधारमा तथा रूपका आधारमा जापानलाई चिनाइएको छ।

नेपालीले भोग्नुपर्ने डायस्पोरिक पीडाले उपन्यास भरिएको छ। नेपाली प्रवासीले भोग्नुपर्ने जापानी पुलिस, भाषा, इमिग्रेसन, काम आदिले पर्ने भौतिक तथा मनोवैज्ञानिक कहरले अभिषप्त छ उपन्यास। त्यसमाथि आफैंभित्र आउने दोस्रो दर्जाको नागरिकको चिन्तन तथा घरपरिवार सम्झेर रुनुपर्ने होम सिकको चित्रण ज्यादै यथार्थ तरीकाले गरिएको छ।

जापान पुग्दा पनि नेपालीले आफूलाई चिनाउन भारतको पहिचान बोक्नुपर्ने अवस्थाको चित्रण गरिएको छ जसले अन्तर्राष्ट्रिय जगत्मा नेपालको साँचो अवस्थालाई अवगत गराउँछ। त्यसमाथि नेपालीले नै नेपालीलाई विदेशमा शोषण गर्ने, हेप्ने तथा दुष्ट प्रवृत्ति पढ्दा आँखामा आँसु आउँछ। जापानमा रहेका नेपाली विद्यार्थीको कारुणिक अवस्थाको चित्रणले संघर्षको पुलिन्दा बताउँछ।

‘के गर्ने बहिनी, यहाँका बच्चालाई स्वार्थी हुन सिकाइँदो रहेछ। बुढेसकालमा यिनीहरू (सन्तान) हाम्रा सहारा बन्नेवाला छैनन्। आफ्नो नेपाली चिन्तन र जापानी छोराछोरीका बिचको सम्बन्धलाई कसरी मिलाएर लैजाने भन्ने निकै ठूलो समस्या छ। किनभने तिनले नेपाललाई पराई मुलुक सम्झन्छन्’ भन्ने वाक्यले यही कुरा बुझाएको छ।

उपन्यासको सफलताको ज्यादै महत्त्वपूर्ण पक्ष भनेको प्रयुक्त भएको भाषा हो। उपन्यासभित्रको भाषा ज्यादै शालीन, आकर्षक, सुरम्य र सुललित छ। अत्यन्त बोधीय छ जटिलता तथा दुरूहता पटक्कै छैन। त्यसमाथि जापानी शब्दका प्रयोगले उपन्यासलाई आधिकारिक यथार्थ बनाएको छ। नेपाली भाषाका अनेकन ठेट शब्द पनि प्रयोग भएको छ। भाषा प्रयोगका हिसाबले उपन्यासकारलाई धन्यवाद अर्पण गर्नै पर्ने हुन्छ।

वास्तवमा उपन्यासको कथावस्तुको विनिर्माणको अघोषित र अविवेचित कारण यौन हो। उपन्यासभित्र श्रीमान्-श्रीमतीको यौन सम्बन्धलाई मिहीन तरीकाले वर्णन गरिएको छ। यौनको चित्रण गर्ने तरीका शालीन छ। भेट भएको पहिलो रातमै निर्भयले सीमान्तीलाई अन्य घरायसी कुरा नगरी एकै पल्ट यौनक्रिया गरेको दृश्यको चित्रण गरिएको छ।

सीमान्तीले श्रीमानका यौनका अनावश्यक मागहरू पूरा गर्न नसकेको मनोवैज्ञानिक अवस्था देखाइएको छ। यौनप्रति नेपाली नारीहरूको संकुचित दृष्टिकोण अव्यक्त रूपमा छर्लंग भएको छ। सीमान्तीकै शब्द ‘उनको अनौठा यौन प्रस्ताव पचाउन नसकिने खालका हुन्थे। मबाट उनले त्यस्तो आशा राख्नु बेकार थियो’ ले सीमान्ती र निर्भयको यौनजीवन प्रष्ट पारेको छ। भन्न सकिन्छ कि निर्भय ती अनौठो प्रस्तावयुक्त यौनतृप्तिका लागि परस्त्रीगमनतिर लागेको होस्।

उपन्यासमा जापानी तथा नेपालीहरूको यौन चर्चा गरिएको छ। जापानको खुला यौनको चित्रण गर्दा लामो समय लिभिङ रिलेसनमा बस्ने गरेको देखाइएको छ। नेपाली विद्यार्थी (केटा र केटी) ले यौन सम्पर्क गरी दुवैको सहमतिमा युट्युवमा राखेको चर्चा छ। कृतिभरि युवायुवतीको प्रेमालापका दृश्य छन्। सबै आआफ्ना संसारमा मस्त छन्। यौनिक छन्। कसैसँग मतलब छैन। तर, जापानमै भएकी सीमान्ती भने परस्त्रीगामी श्रीमान्का बारेमा ‘कस्तो श्रीमान परेछन्। न साट्नु मिल्ने, न फेर्न मिल्ने’ भन्ने विचार व्यक्त गर्दछिन्।

उपन्यासभित्र जापान र नेपालका बिचमा तुलना गरिएको छ। जापानीका विचारमा काम नै भगवान्, मेहनती, साहुलाई नठग्ने तर नेपाली? जापानमा फूल पटक्कै नटिप्ने, नेपालमा फूल टिप्ने चलन, जापानमा सडक फोहोर नगर्ने तर नेपालमा सुर्ती खाएर खोल बाटोमा फाल्ने तथा चुरोट खाएर बाटोमा फाल्ने विपर्यास चित्र प्रस्तुत गरिएको छ।

घोषित रूपमा जाहिर छ, उपन्यास लेखनको अभिध्येय नै नारीवादी दर्शन हो। नारीको आत्मसम्मान हो। आत्मनिर्भरता हो। त्यसो भएकाले उपन्यास सीमान्ती नामक महिला पात्रको वृत्तभित्र छ।

 महिलावादी उपन्यास भएकाले समग्रमा महिलाका समस्या, अवस्था, सम्मान, विद्रोह तथा आत्मगौरवका विषय उपन्यासभरि छन्। नेपाली महिलाका स्वदेशका कहरका कथा छन्। विदेशका पीडा छन्। श्रीमान्को अडेसा नलगाई नेपाली महिलाको जिन्दगी चल्दैन। सीमान्तीले बोध गरेकी  छिन् कि नेपाली समाज कस्तो? नेपाली समाजमा कस्तो सोचाइ छ, विकसित देशमा बसेको पैसावाल लाहुरे भनेपछि अरू कुरामा आँखा चिम्लन्छन्। केही नबुझी आफ्नी छोरी सुम्पिन्छन्। छोरी दिन हानाथाप गर्छन्।

नेपालको यो प्रचलनले नारीमाथि निकै ठूलो प्रताडना दिएको छ। सीमान्तीकै भाषा ‘दुर्मुखा भएर लोग्नेसँग वाक्युद्ध गर्ने संस्कार मैले पाइनँ’ लाई आधार मान्ने हो भने नेपाली महिला श्रीमानका वचन पनि फर्काउन सक्दैनन्। त्यसैले एकदम परम्परागत हुती नभएकी पात्रको रूपमा सीमान्तीको चित्रण गरिएको छ। तर, जब नेपालबाट जापान भ्रमण तथा सेमिनारमा पुगेकी अजिला म्यामले सीमान्तीलाई जिन्दगी सम्झाएको ‘बुढा सधैंभरि आफ्नो साथमा रहन्छन् भन्ने भरोसा छ र?’ भन्ने वाक्यले सीमान्तीलाई सतर्क बनाएको छ। संघर्षशील बनाएको छ र आफ्नो खुट्टामा नउभिई स्वतन्त्रता तथा आत्मसम्मान पाइन्न भन्ने यथार्थ ज्ञान भएको छ। त्यसैले उपन्यासको अन्तिमतिर पुग्दा त्यो परम्परावादी सीमान्तीमा ठूलो परिवर्तन आएको छ र भन्छिन् ‘जबसम्म हामी आत्मनिर्भर हुँदैनौं तबसम्म हामीमा आत्मविश्वास हुँदैन।’

वास्तवमा एक्लै उभिन नसके आत्मसम्मान तथा स्वतन्त्रता प्राप्त हुँदैन पनि। त्यसैले उपन्यासले अन्त्यतिर आइपुग्दा पारिजातको भनाइ ‘महिलाको गहना तथा शृंगार दासत्वको स्वीकारोक्ति हो’ भन्ने उक्तिसँग सान्निध्य राखेको छ। यसरी उपन्यासमा नारीका सवालमा अग्रगमनीय सोच प्रकट भएको छ।

उपन्यासको केन्द्रीय वैचारिक पक्ष नै नारीको आत्मसम्मानका लागि विद्रोहको सिर्जना गर्नु हो। कथानककी मुख्य पात्र सीमान्तीमा शनै-शनै विद्रोहको चेत पलाएको छ। सीमान्तीको जीवनकथा भनेकै सफल संघर्ष तथा विद्रोहको आकारीकरण हो।

सीमान्तीको ‘के निर्भयले मलाई हेपेको होइन? के उनले मलाई हाम्रा हजुरआमा र आमाका पालाको जस्तो सहनशील भन्ठान्ने? मेरो भाग्यमा यस्तै लोग्ने पर्‍यो भनेर चुप लागेर बस्ने विवश महिला सम्झे, हटेर होइन डटेर लाग्नु छ, सेलाएका प्राणहरूलाई पुनर्जीवित पार्दै युद्धको मैदानमा होमिनु छ। हारजीतको कठोरभन्दा कठोर परीक्षामा सामेल हुनु छ। आजको समयसँग सामना गर्नु छ’ भन्ने उपन्यासभित्रका वाक्यांशले उपन्यासभित्र विद्रोहको विगुल फुकेको छ।

उपन्यासभित्र अग्रगामी यथार्थवादी दृष्टिकोण पस्किएको देखिन्छ। जीवनको लयलाई यथास्थितिमा राख्न नचाहेको, यथार्थ स्विकारेर चल्दा जीवनले नयाँ मोड पहिल्याउने कुरा तथा चुनौतीलाई अंगीकार गर्ने चिन्तन छ। सीमान्तीको मनभित्र चलेको हुँडुलो ‘कतिन्जेल म आफूलाई अनिर्णयको बन्दी बनाइरहूँ। आफूलाई धोखा दिने लोग्नेको नामको बर्को ओडेर किन आफूलाई छल्नु? माइतीघर, लोग्ने, र समाजको इज्जतको नाममा म किन पीडित भइरहूँ? हामीले नै मौन रहेर सहिदिने हो भने समाजमा कति विकृति बढ्ला? अहँ म यो कदापि सहन सक्तिनँ’ले अग्रगामी वैचारिक पक्षलाई उजागर गरेको छ।

यद्यपि ‘फिलिङ्गो’ उपन्यासभित्र नै धेरै विद्वान/विदुषीले कृतिको गुणवत्ताबारे लेखिएका धेरै सामल विद्यमान छन्। यो कृतिले सम्मान, पुरस्कार तथा चर्चा परिचर्चा पाइसकेको छ। संस्करणहरू निस्किएका छन्। जसको जे भूमिका हुन्छ, त्यो भूमिका निर्वाह गरिसकिएको छ। तर, म भने एउटा पाठकको भूमिकामा उभिएको छु। पाठकवर्ग असन्तोषी हुन्छ। कृतिभित्र समेटिएका गुणवत्ता पढिसकेपछि सो न्यून भइहाल्छ र अझै-अझै धेरै खुराक खोज्न थाल्छ। नुनपिरो छुट्याउन थाल्छ। यद्यपि स्वाद भने निजात्मक हुन्छ। यही निजात्मक स्वादको कसीमा बसेको छु।

उपन्यास पढिरहँदा मलाई अनुभूत भइरहेको छ, किन असाध्य लामा-लामा वर्णन भएको होला? किन परिवेश, काम तथा सूचनाहरूको वर्णन दोहोरिएका होला? उपन्यास कति धेरै विवरणात्मक भएको होला? कथानकभित्र सीमान्तीको श्रीमानकाे रूपमा निर्भय भन्ने पात्र छ। निर्भयलाई खलनायकका रूपमा चित्रण गर्न खोजिएको छ। तर पनि उपन्यासको धेरै ठाउँमा धेरै परिवेशमा श्रीमान् निर्भयको चित्र सकारात्मक, सहयोगी तथा कुरा बुझ्ने देखाइएको छ। बेलाबेलामा प्रायश्चित्त गराइएको छ। यसरी दोहोरो चित्रले खलनायक पनि नायकजस्तो देखिएको छ। र उपन्यासको अन्त्य पनि निर्भयलाई नायक बनाएर भएको छ। यसको हेतु पाठकले पत्ता लाउन सक्दैनन्।

उपन्यासकार प्रभा बराल मूल रूपमा सशक्त नियात्राकार हुन्। त्यसकारण यो उपन्यासभरि नियात्राको प्रभाव परेको छ। खास गरी सीमान्तीले यात्रा गरेका ठाउँमा उपन्यासको प्रस्तुतिले उपन्यास होइन, नियात्रा पढे जस्तो लाग्छ। नियात्रामा हुने सादृश्य उपन्यासमा छ। जापानको परिवेशको नियात्रात्मक चित्र प्रस्तुत गर्दा  नेपालको चित्रण गरिएको छ। नियात्रामा जस्तो तुलना गर्ने शैली उपन्यासमा छ।

उपन्यासको मूलकथाबाहेक अन्य धेरै टुक्रे कथाको जोडजाड गरिएको छ। जसको मूल कथावस्तुसँग कुनै सम्बन्ध छैन। उपन्यास विन्यास सिद्धान्तका आधारमा हेर्दा उपन्यासमा उपन्यासको कथावस्तुभन्दा जापानी चलन, सभ्यता, संस्कार, बानीबेहोराको वर्णन ज्यादै छ। वर्णनमुखी भएको छ। श्रीमान् परस्त्रीगामी भएको पुष्टि भइसकेपछि पनि फेरि उसै जापानी केटीसँग किन रेस्टुरेन्ट खोल्न दिएको? के बाध्यता हो सीमान्तीको? जब सीमान्तीले विद्रोह गरेकी छिन् पछि।

उपन्यासमा सशक्त तरिकाले समस्यालाई उठाइएको छ। त्यसमा दुई मत छैन। तर, उपन्यासभरि समस्याको समाधान गर्ने विषयमा परम्परागत चित्र देखिन्छ। थिमका हिसाबमा उपन्यास अग्रगामी र पूर्ण विद्रोही छैन। समस्या समाधानका रूपमा भगवानलाई हेर्नै परम्परागत चित्र छ।

उपन्यासभरि यौन समस्या उजागर गरिएको छ। उपन्यासको सूचनामा जिगोलोको कुरा पनि छ, विवाहेत्तर सम्बन्धको कुरा पनि छ र सेक्स टोयको कुरा पनि छ। यी सबै यौनतृष्णा समाधानका उपायहरू हुन्। तर, कथानककी विद्रोही र मूल पात्र सीमान्ती यौनका मामलामा परम्परावादी देखिएकी छिन्। नेपाली समाजको साँघुरो मान्यताबाट प्रभावित भएकी संकुचित देखिएकी छिन्।

अझ सीमान्तीकै विचारलाई हेर्ने हो भने ‘पुरुषको मनोविज्ञान पनि बुझ्न पाएकी थिएँ। म एक्लै छु भनेर थाहा पाउनेहरू, मसँग नजिकिन खोज्नेहरूको आशय म राम्रोसँग बुझ्थें। समाजमा प्रतिष्ठा कमाएकाहरू पनि आत्मानुशासनमा कमजोर’ भन्ने विचार अभिव्यक्त भएको छ। तर, यथार्थ र प्राकृतिक कुरा पुरुष र स्त्री एक अर्काप्रति आकर्षित हुन्छन्। त्यो रोकेर रोकिने कुरा होइन। त्यसमा आत्मानुशासन भन्ने तर्क एक पक्षीय हुन्छ। आदर्शवादी र अयथार्थ हुन्छ।

यसैगरी सीमान्तीले विकसित देशमा पुगेर जिन्दगी देखे पनि जिगोलो र टोयको प्रयोगलाई सकारात्मक तरीकाले हेर्न सकेको देखिंदैन। सीमान्तीभित्र नेपाली परम्परागत कथित संस्कारी चेत हावी भएको छ। त्यसकारण उपन्यासलाई जबर्जस्ती सकारात्मक टुंगोमा पुर्‍याइएको छ।

श्रीमान्ले अर्की जापानी केटी राखेर छोरा जन्माइसक्दा पनि सीमान्तीले डिभोर्स गरेकी छैन। गर्न सकेकी छैन। कागजकै भए पनि निर्भयलाई लोग्ने मानेर जीवन चलाएकी छ। उपन्यासको अन्त्यमा निर्भयको पश्चातापको आँसुको के अर्थ? त्यसकारण उपन्यासमा आदर्शवादी र कृत्रिम समापन गरिएको छ। सीमान्ती भरखरकी छे, उसको यौन जीवनबारे कथावस्तु मौन छ। सायद परम्परागत नेपाली चलन अनुसारको यौनलाई दमन गर्ने पद्धतिलाई संस्कारी चेतका आधारमा अबलम्बन गरिएको होला।

‘आत्मविश्वासको फिलिङ्गो’ भनेर उपन्यासको शीर्षक सार्थकता जोड्न खोजिएको छ। मलाई लाग्छ,  विद्रोहको फिलिङ्गो होला तर उपन्यासभरि विद्रोहको फिलिङ्गो त्यति शक्तिशाली छैन। सीमान्तीमा आएको आत्मविश्वासको चेतचाहिं निकै दर्बिलो छ। उपन्यासमा भनिएझैं आत्मविश्वासको पनि फिलिङ्गो हुन्छ र? फिलिङ्गोले डढाउँछ तर आत्मसम्मानले बनाउँछ।

यसैगरी कृतिको आवरणमा आत्मसम्मानको चेत तथा संघर्षलाई बोध गराउँछ। तर, फिलिङ्गोले दिने अर्थ आवरण पृष्टले बोक्दैन।

उपन्यासलाई पढेर मैझारो गरेको छु। उपन्यासकारमा प्रसंग, परिवेश, तथा परिघटनालाई अति सशक्त र मिहीन तरीकाले व्याख्या गर्न सक्ने शक्ति देखेको छु। यसैगरी मनकाे द्वन्द्वह केलाउने शैली विछट्ट राम्रो छ। मनोद्वन्द्वलाई जस्ताको तस्तै केलाउने, यथार्थवादी कुरालाई कुनै लिपपोत नगर्ने इमानदारी निकै स्तुत्य छ। जापानको शहरी जीवनको भित्री तहसम्मको चित्रण भएकाले यो उपन्यास जापानी जीवनको सूचनाको पुलिन्दा भएको छ। खासमा भन्दा उपन्यासकारमा घटना क्रमप्रति इमानदार प्रस्तुति, सुललित भाषा प्रक्षेपण शक्तियथार्थवादी विशेषता छन्, जुन कुरा कृतिका अति सुन्दर गहना हुन्।

उपन्यासको कथावस्तु विन्यासमा तथा थिम प्रस्तुतिमा उपन्यासकारको चातुर्य प्रष्ट देखिन्छ। एकातिर सीमान्तीले आत्मसम्मानका लागि गरेको संघर्ष अनुपम छ भने अर्कोतिर नेपाली रुढि परम्परालाई पनि जोगाएर पाठकको खप्की खानबाट जोगिएको पनि छ। यथास्थितिमा सुधार उपन्यासको प्रयोजन रहेको छ।

समाजका कुनै पनि अवयवहरूलाई खलबल्याइएको छैन। सकारात्मक तथा समन्वयात्मक दृष्टि पस्किएको छ। त्यसैले परस्त्रीसँग लागेको श्रीमान्लाई नेपाली परम्परागत शैलीमा माफ गरिएको छ। सीमान्तीले ‘श्रीमान्श्रीमती कतिन्जेल नबोल्नु भनेर निर्भयसँग वाइन बियरसँगै खाएको प्रसंग छ। पुरुषसत्ताको बोध भएको छ। तर, जब्बर विद्रोह छैन। यथार्थवादी छ उपन्यास।

अब पुछारमा छु। उपन्यासकार प्रभा बरालले यो ‘फिलिङ्गो’ उपन्यास सिर्जना गरेर उनी आफू सशक्त उपन्यासकारका रूपमा स्थापित भएको मात्र होइन; नेपाली महिलालाई सशक्त सन्देश पनि प्रवाह गरेको देखिन्छ। नेपाली महिलाको आत्मसम्मानका लागि भौतिक तथा मानसिक समस्या मात्र पनि देखाइएको छैन, त्यसको समाधान पनि गरिएको छ। नेपाली साहित्य जगतले एउटा सशक्त उपहार पाएको छ। फेन्टासीमा लेखिने/देखिने सत्य जस्तो होइन यो उपन्यास। एउटी साधारण परम्परावादी नेपाली महिलाको लोग्नेलाई सिरान नलगाई केही गर्न नसक्ने मनोवैज्ञानिक अवस्थाबाट एउटी सशक्त, जुझारु, सम्मानित तथा संघर्षशील महिलामा रूपान्तरण भएर जीवनको अन्तर्य केलाउन सक्षम भएको छ उपन्यास। यति सुन्दर उपन्यास लेखेर नेपाली साहित्यको भण्डार भर्ने प्रभा बराललाई सतत् नमन गर्छु। अझै सशक्त र महिलाका समस्यालाई वैज्ञानिक र अग्रगामी निकास दिने खालका कृति जन्मियून् भन्ने शुभकामना पनि दिन्छु। समयले नेटो काटिसकेको छ। अब अर्को भेटको आशा गर्दै बिदा हुन्छु।  धन्यवाद।

नारी दिवस २०२३, सान मार्कोस, अमेरिका।  

प्रकाशित: १० चैत्र २०७९ ०३:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App