८ वैशाख २०८१ शनिबार
कला

नेफ्टाका लागि १ सय २० फिल्मकर्मी दुबई जाने

काठमाडौं– चलचित्र प्राविधिक संघ (नेफ्टा) अवार्डको तयारीले तीव्रता पाएको छ। मध्यपूर्वको आर्थिक राजधानी युएईस्थित दुबईमा हुने अवार्डका लागि काठमाडौंबाट १ सय २० सिनेकर्मीले भाग लिने जनाइएको छ।  

अवार्डका लागि दुबईमा टिकट बिक्री जारी रहेको र यस सातामै सोल्डआउट हुने खबर स्थानीय आयोजकले दिएका छन् । एक पत्रकार सम्मेलनमा कन्सेप्ट भिजन फिल्म प्रोडक्सन तथा वितरक कम्पनीका राजन अधिकारीले तयारीबारे जानकारी दिए।

उनका अनुसार अल–नासार लिजरल्यान्डस्थित आइस रिंकमा हुने अवार्ड समारोहमा ३ हजार अकुपेन्सी निर्धारण गरिएको छ। नेपालबाट दुबई उड्ने सबै पाहुना चारतारे होटेल रोटानामा बस्नेछन् । सेभेन स्टार इभेन्ट कम्पनीसँग इभेन्ट सम्झौता, भिसा, हवाइ टिकट र कानुनी प्रक्रिया पुरा भैसकेको जनाइएको छ ।
जानकारीअनुसार १५ लाख दिराम खर्च लाग्ने बताइएको अवार्डमा पचासदेखि पाँचसय नेरुसम्मका टिकट उपलब्ध हुनेछन् । डिसेम्बर २३ अर्थात पुस ९ गतेको डेटलाइनदेखि केही दिनअघि टिकट विक्री बन्द हुने अधिकारीले बताए । चारघन्टा चल्ने कार्यक्रम नेपाली समयअनुसार राति २ बजेसम्म निरन्तर चल्ने छ।

नेपाली मात्र होइन, छिमेकी देशका डायस्पोरा समेत सहभागि हुने कन्सेप्ट भिजनका सुवाससिंह ठकुरी ‘अनिस’ले बताए । कतारबाट समेत नेपालीहरु नजिकैको देशमा हुने अवार्डमा जाने मनस्थिती बनाइरहेका छन् ।
जानकारीअनुसार काठमाडौंमा भने राष्ट्रिय नाचघरमा दर्जन कलाकारले नृत्य पूर्वाभ्यास गरिरहेका छन्। घरेलु सिनेमाका ‘हु इज हु’ले दुबईको अन्तराष्ट्रिय मञ्चमा आफ्नो प्रस्तुति पस्कने जमर्को गर्दैछन्। महानायक राजेश हमाल, छक्का पन्जा फिल्म टोली, पछिल्लो छिमलका तन्नेरी कलाकार नेफ्टा अवार्डमा सहभागि हुँदैछन्। ३१ विधामा हुने अवार्डका लागि ०७२ मा रिलिज भएका कूल ६७ फिल्मले भाग लिँदैछन् र उत्कृष्ट पाँच घोषित भैसकेको छ ।

केही महिनाअघि युएईमा नियमित घरेलु फिल्मको रिलिज सुरु भएको छ र हाल ‘छक्का पञ्जा’ चलिरहेकोले यस वर्षको नेफ्टा अवार्डको महत्व अझ बढेको आयोजकको दाबी छ। नेफ्टा अध्यक्ष पुष्कर लामाले अन्तिम तयारीमा जुटिरहेको बताए ।

‘नेफ्टा एकपछि अर्को ढंगले स्तरीय बन्दैछ र हामी प्रयत्नशील छौं,’ उनले भने, ‘दुबई क्वालिटी इभेन्टको एउटा उदाहरण हुनेछ।’ यसका लागि नेफ्टाले स्पेक्ट्रम एडभरटाइजिङ, कन्सेप्ट भिजन र सेभेन स्टारसँग समन्वय गरेको जनाएको छ।  

प्रकाशित: १६ मंसिर २०७३ ११:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App