१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

‘ट्यालेन्ट हन्ट’ सञ्चालन

हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय र आधारभूत विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगितामा सरस्वती मावि अर्खौले र बुलापन्थे मावि धितुङ प्रथम भएको छ। नगरपालिकाभित्रका ११ वटै वडामा सञ्चालित १ देखि ५ कक्षासम्मका विद्यार्थीका लागि अन्तर विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता गरिएको थियो। यसमा विजेता विद्यालयबीच दुर्छिम माध्यमिक विद्यालयको प्राङ्गणमा नगरपालिकाले हाजिरी जवाफ प्रतियोगिता गराएको थियो।

कक्षा ५ सम्मका विद्यार्थीको हाजिरी जवाफमा बुलापन्थे मावि धितुङ प्रथम हुँदा जगदम्बा मावि महादेवस्थान दोस्रो र जनता मावि सल्ले तेस्रो भएका छन्। नगरपालिकाभित्रका १२ वटै माविका कक्षा ६ देखि १० सम्मका विद्यार्थीबीच भएको प्रतियोगितामा सरस्वती मावि अर्खौले प्रथम, महेन्द्रदोय मावि महादेवस्थान दोस्रो र बुलापन्थे मावि धितुङ तेस्रो भएका छन्।

कक्षा ५ सम्मका विद्यार्थीबीच गराइएको हाजिर जवाफ प्रतियोगितामा प्रथम हुने बुलापन्थे मावि धितुङ र कक्षा १० सम्मका विद्यार्थीबीच भएको हाजिर जवाफ प्रतियोगितामा प्रथम हुने सरस्वती मावि अर्खौलेलाई हौसलास्वरूप नगद ५०–५० हजार रुपैयाँ प्रदान गरिएको नगरपालिकाले जनाएको छ। कक्षा ११ र १२ का विद्यार्थीका लागि ‘हाम्रो सपना समृद्ध हलेसी तुवाचुङ नगरपालिका’ शीर्षकमा वत्तृत्वकलामा प्रतियोगिता आयोजना गरिएको जनाइएको छ।

प्रतियोगितामा च्यास्मिटार माविका मेनुका राई प्रथम, महेन्द्रोदय मावि हलेसीका नमराज मगर दोस्रो, जनता माविका मनिषा पौडेल तेस्रो र ज्योति माविका रमेश कार्की चौथो भएका छन्। विजेता विद्यार्थीलाई क्रमशः सात हजार, छ हजार र पाँच हजार रुपैयाँका दरले नगदसहित प्रमाणपत्र प्रदान गरिएको नगरपालिकाका शिक्षा शाखा संयोजक पदमबहादुर कार्कीले बताए।

नगरपालिकाको ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम अन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रमले विद्यार्थी र विद्यालयको वास्तविक क्षमता मापन भएको छ। पाठ्यक्रमलाई समेटेर विषयगतबाट ८० प्रतिशत र सामान्य ज्ञानबाट २० प्रतिशत प्रश्न सोधिएको नगरपालिकाले जनाएको छ।

प्रतियोगितामा विजयी विद्यालय तथा विद्यार्थीलाई नगरप्रमुख विमला राई र उपप्रमुख रमेश राउतले संयुक्त रूपमा पुरस्कार प्रदान गरेका छन्। सामाजिक विकास संयोजक एवं १ नं वडाका वडाध्यक्ष रुद्रकुमार राईको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कैलाशबहादुर ठकुराठी, वडाध्यक्ष, प्रधानाध्यापक, व्यवस्थापन समिति अध्यक्ष लगायतको उपस्थिति थियो। रासस

प्रकाशित: ५ चैत्र २०७९ ०५:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App