८ वैशाख २०८१ शनिबार
कला

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

राजधानीमा बिहीबारबाट सुरु भएको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका अतिथिहरु। चैत २ देखि ६ गतेसम्म हुने निफको छैटौ संस्करणमा विभिन्न ५५ देशबाट आएका ५ सय बढी चलचित्रमध्ये ३५ देशका ९५ चलचित्र प्रदर्शन हुनेछन्। तस्बिर: उपेन्द्र लामिछाने/नागरिक

‘विश्वभरिका कथाहरूका उत्सव नेपाल चलचित्र महोत्सव’ नाराकासाथ बिहीबारबाट राजधानीमा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ‘निफ’ सुरु भएको छ। चैत २ देखि ६ गतेसम्म हुने निफको छैटौ संस्करणको विभिन्न देशका सिनेकर्मी तथा कलाकारको उपस्थितिमाउद्घाटन भएको हो।

महोत्सवका लागि विभिन्न ५५ देशबाट आएका ५ सय बढी चलचित्रमध्ये ३५ देशका ९५ चलचित्र छानिएको छ। यी चलचित्रको प्रदर्शन क्यूएफएक्सद्धारा सञ्चालित काठमाडौंको सिभिल मल, छायाँ सेन्टर, पुलचोकको लविम मल तथा भक्तपुरको राधेराधेस्थित भाटभटेनीमा रहेको हलबाट हुने आयोजकले जानकारी दिएका छन्।

‘संसारभरिका प्रतिनिधि चलचित्रलाई आफ्नै आँगनमा हेर्न पाउने अवसरमा रूपमा महोत्सव रहेको छ,’ निफका अध्यक्ष केपी पाठकले भने, ‘यो अवसरबाट कलाकर्मी तथा कलाअनुरागी वञ्चित नहुन् भनेर प्रदर्शनको दायरालाई फराकिलो पारेका हाैं।’

यसअघिका महोत्सवमा राष्ट्रिय सभागृह तथा पर्यटन बोर्डका हलमा प्रदर्शन गरिने गरेकोमा यसपटक अत्याधुनिक हलबाट प्रदर्शन गर्न लागिएको हो। यी सिनेमा हलहरूमा बुकिङ खुला भएको र ‘खल्ती एप’मार्फत टिकट बुकिङ गर्न सकिने आयोजकले जानकारी दिएका छन्।

निफको ‘ओपनिङ फिल्म’ को रूपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’‐अप्रतियोगी) प्रदर्शन भएको छ। विगतमा झैं यसपटक पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरूको ७ विधामा १४ पुरस्कार वितरण गरिने छ।

यस पटकको निफमा समेत रचनात्मक कार्यक्रमलाई विशेष महत्व दिइएको बताउँदै चचचित्र क्षेत्र र सम्बन्धित विज्ञहरूको विभिन्न सेसनमा उल्लेख्य सहभागिता रहने जनाइएको छ। ‘यो उत्सव रमाउने मात्र हैन, सिक्ने अवसर पनि हो,’ निफका अध्यक्ष पाठकले भने, ‘यसले नेपाली सिनेमा क्षेत्र र पारखीलाई नयाँ अवसर र नयाँ मिठासको सिर्जना गर्ने विश्वास लिएको छु।’

कठमाडौंको सुन्धारास्थित सिभिल मलमा आयोजना हुने कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहालबाट उद्घाटन हुने कार्यक्रम रहे पनि व्यवस्तताका कारण प्रधानमन्त्री उपस्थित हुन नसकेको जानकारी आयोजकले दिएका छन्।

प्रकाशित: ३ चैत्र २०७९ ०३:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App