coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘मनकली’ उपन्यासमा रुवाइहरू

समीक्षा

विसं २०७९ को गर्मी याममा म नेपाल पुगेको बेला नेपाली स्रष्टाहरूको पिकनिक आयोजना गरिएको थियो। म समावेश थिएँ। उमेरका हिसाबमा आफू जीवनको लगभग उँधौली याममा साहित्यमा लागेकाले साहित्यिकवृत्त बसाइँ सरेको गाउँ जस्तै अचिनारु भएकै छ मेरो। तथापि सयौंको संख्यामा सहभागी हुनुभएका स्रष्टामध्ये चिनिएकी एक थिइन् विमला अधिकारी देवकोटा। जतिबेला मैले उपन्यासकार विमलालाई सशरीर देखें/चिनें। त्यतिबेला मलाई उनी केही समय पहिले नेपाली साहित्य वृत्तमा हलचल मच्चाएको उपन्यास ‘मनकली’ को उपन्यासकार हुन् भन्ने थाहा थिएन। म अमेरिका फिर्ने छेक उनले ‘मनकली’ उपन्यास उपहार दिंदा पो म भल्याँस्स भएँ। उपन्यासलाई जहाज चढाएर अमेरिका ल्याएको पनि महिनौ बितिसक्यो। संयोग अहिले पुस्तकको कुम्लो फुकाएको छु। ‘मनकली’ का पाता-पातामा ढौंटरी मार्दै छु।

उपन्यास ‘मनकली’ को आवरणमा एउटी परम्परागत तथा इनोसेन्ट देखिने सिउँदोमा सिन्दूर लगाएकी महिलाको स्केच आकृति छ। पश्चभागमा उपन्यासकार विमलाको हँसिलो तस्बिर छ। त्यसको मुन्तिर डा. कृष्णहरि हुमागाईको छोटो भनाइ छ। कृतिभित्रका पातामा साहित्यकार भारती गौतमको भूमिका छ। भूमिकामा ‘लैंगिक असमानताभन्दा पनि यो उपन्यासमा आर्थिक विषमताको असर बढी पाइन्छ’ भनिएको छ।

यसको लगत्तै वरिष्ठ तथा चर्चित साहित्यकार कृष्ण धरावासीको ‘हार्दिक शुभेच्छा’, प्राडा हेमनाथ पौडेलको ‘शुभकामना’, प्राडा कुशुमाकर न्यौपानेको ‘हार्दिक बधाई तथा शुभकामना’, भरत सापकोटाको ‘शुभकामना’, ज्ञानेन्द्र गदालको ‘प्रकाशकीय’, कृतिकार विमला अधिकारी देवकोटाको ‘मेरा कुरा’ उपन्यासको प्रारम्भिक भागमा समेटिएका छन्। उपन्यासको यो खण्डमा कृतिकार विमला बहुविधामा कलम चलाउने स्रष्टा हुन् भन्ने कुरा बुझिन्छ।

उपन्यास भन्नु मान्छेको जीवनका विविध पाटाको खास र विशेष प्रकारको आख्यानीकरण हो। त्यसो भएकाले उपन्यासमा जीवनका विविध सूचना, शैली, वातावरण आदिको प्रस्तुति हुनुपर्छ। उपन्यासको घटना घटेको स्थान, समय, वातावरण, जीवनशैली, कहिले र कहाँ भन्नेबारे उल्लेख गरिएकै हुनुपर्छ।

‘मनकली’ उपन्यासमा प्रयुक्त कार्यपीठिका नेपालको डोटी, तराईको अत्तरिया, काठमाडौं तथा इजरायल रहेका छन्। कथावस्तुको सेरोफेरो विगतबाट तानेर वर्तमान कालसम्म ल्याइएको छ। त्यसैले तत्तत ठाउँका सूचना, जीवनशैली तथा वातावरणबारे उपन्यासभित्र प्रकाश पारिएको छ।

उपन्यासको सबभन्दा महत्त्वपूर्ण पाटो भनेको द्वन्द्व निर्माणको कुशलता हो। दुई वा दुईभन्दा बढी विपरीत विचार, व्यक्ति, समाज वा अन्य वस्तुका बिचमा द्वन्द्व या संघर्ष गराएर उपन्यासकारको आफ्नो विचारलाई जिताउनु याने सत्यलाई जिताउनु द्वन्द्व निर्माणको अभिध्येय हो। त्यसैले द्वन्द्व निर्माण गर्नु भनेको उपन्यासकारले पाठकसमक्ष उठाउन खोजेको समस्या हो।

मनकली उपन्यासमा एकातिर पुरानो पुरुष सत्ता तथा सामन्ती सत्ता छ। पुरातनपन्थी समाज छ। यसैका आडमा गरिने अन्याय र अत्याचार छ। चरम गरिबी छ। गरिबीले जीवन विदीर्ण बनेको छ। अर्कातिर त्यसलाई रोएर भोग्ने र एक दिन त भाग्य फर्केर आउँछ भन्ने मान्यता छ। द्वन्द्वका ठाउँमा समर्पण, सहनशीलता, भाग्य तथा जीवन भोगाइको सनातनीय कहर र संघर्ष छ।

द्वन्द्व निर्माण गरिसकेपछि सो प्रस्तुतिका लागि कथावस्तु चाहिन्छ। उपन्यासकारका दिमागमा निर्माण गराइएको द्वन्द्वलाई सार्थक तथा आकारगत रूप दिन कथावस्तुको निर्माण तथा प्रस्तुति गर्नु आवश्यक हुन्छ। कथावस्तुमा द्वन्द्वको उठान, उत्कर्ष तथा समाधान कसरी भयो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। अथवा समस्याको पहिचान, कौशलयुक्त उठान, तिक्खर उत्कर्ष तथा विवेकीय समाधान उपन्यासका महत्त्वपूर्ण पक्ष हुन्। औपन्यासिकता भन्नु पनि यही हो।

 ‘मनकली’ उपन्यासको प्रधान पात्र मनकलीका वरिपरि घुमेको छ। मनकलीको चिया दोकानबाट उपन्यास सुरु भएको छ। कथानक प्रस्तुति झन्डै-झन्डै पूर्वदीप्ति शैलीमा छ। वास्तवमा डोटीको भिर-पाखापखेराबाट मनकलीको जीवन सुरु हुन्छ। मनकलीको जीवन सुरु हुनु भनेको उपन्यासको उठान हो। उत्थान हो। मनकलीको जीवनमा हितैषी साथी रूपाको भूमिका उल्लेख्य छ। प्रेमी भएर प्रकाश नामको पात्र आएको छ। मनकलीलाई प्रेमपत्र लेखेको छ। बिहेका लागि माग्न पुगेको छ। तर, यो बिहे हुन्न। यो पारिवारिक कारणले नै सधैं मिलिरहेको रूपा र मनकलीको परिवार बोल्न छोडेको छ (पृ.९०)।

अनावश्यक रिसइबी सुरु भएको छ। मनकलीको बिहे अत्तरियामा अचिनारु पाको पुरुषसँग भएको छ। उपन्यासका महत्त्वपूर्ण पात्र रूपा र मनकलीका अलग-अलग कथा छन्। एउटै परिवेश छ तर जीवन अलगअलग छन्। दुवै स्कुल जान्छन् तर गन्तव्य अलगअलग छन्। रूपा बिरामी पर्दा उनका श्रीमान्ले अथक साथसहयोग गरेर तंग्रिएको (पृ.११५) अवस्था छ।

असल लोग्नेको चित्र छ। तर, मनकली बिरामी पर्दा उसका श्रीमानले नहेरेको, वास्ता नगरेको, दुःख दिएको परिवेश छ। मनकली अनवरत जीवन सम्झौतामा बिताइरहँदा दुःखका बिचमा पनि सन्तान जन्माएको सनातनीय कथानक विस्तार छ। छोरी पाउँदा दुःखी हुने तथा छोरा पाएकोमा खुसी (पृ.१८८) हुने परिवेशलाई व्यक्त्याइएको छ। मनकलीको छोराले भगवान् कृष्णको भूमिका खेलेकाले पाएको दक्षिणा तथा सरसहयोग (पृ.१९३) लाई उपन्यासभित्र सुदिनका रूपमा चित्रण गरिएको छ। तर, मनकलीका सामाजिक, सांस्कृतिक तथा आर्थिक दुःख केही गरे पनि समाधान भएका छैनन्। त्यसैले विवश भएर वैदेशिक रोजगारीका लागि इजरायल प्रस्थान गर्नुपरेको छ। इजरायलका हन्डर, कमाएको पैसा लोग्नेले रक्सी खाएर उडाएको, साथीले छलेर पैसा खाइदिएको परिवेशको सिर्जना गरिएको छ।

अन्त्यमा मनकली नेपाल फिरेकी छे। पैसाका निहुँमा लोग्नेले हिर्काएर मनकलीको हातै मर्काइदिएको छ। अनि मनकली घर छोडेर हिंडेकी छे(पृ.२४२)। पापले गर्दा मनकलीको लोग्ने बहुलायो र हरायो। मनकली होटल बेचेर काठमाडौं हान्निई। र, वैदेशिक रोजगारीमा छिरी। यसरी कथाको समापन भएको छ।

कथानकका प्रस्तुतिका लागि पात्रको आवश्यकता पर्छ। उपन्यासका पात्र मानव वा मानवेत्तर दुवै हुन सक्छन्। याने कि कथाभित्र को बोल्छ अथवा कसका बोलाइको माध्यमले कथानक बुनिएको छ, त्यो बोल्ने वस्तु पात्र हो। मनकली उपन्यासभित्र मनकली मूल पात्र हो। त्यसैले मनकली पात्रका वरिपरि कथावस्तु बुनिएको छ। कथावस्तुमा मनकली प्रोटागोनिस्ट याने मूल रूपमा सकारात्मक पात्र हो। मनकलीकी साथी रूपा सहायक तर सकारात्मक पात्र हो। सासू र लोग्ने खलनायक पात्र हुन्। दिदीभिनाजु, धनीसरा माइजू, हुकाराम मामा लगायत अनेक पात्र छन्। तीमध्ये कोही नायक छन्। याने सकारात्मक छन् भने केही पात्र नकारात्मक छन्।

उपन्यासको कथावस्तुभित्र उपन्यासकारको मुड, कथाको फिलिङ र पात्रले निर्वाह गर्ने इमोसनले उपन्यासको वातावरण बनाउँछन्। प्रस्तुत उपन्यास ‘मनकली’ मा नेपालको पहाडी तथा तराईका जीवनमा परम्परावादी समाजमा रहेका खास गरेर महिलाका सामाजिक तथा आर्थिक समस्यालाई मिहीन तरीकाले चित्रण गरेर कहर व्यक्त गर्नु उपन्यासकारको मुड देखिन्छ। कथानका पात्रले आफ्नो भूमिकामा इमोसन तथा फिलिङ हालेका छन्। पात्रको अभिनय जीवन्त छ।

उपन्यासको केन्द्रीय दृष्टिकोण वा विचार उपन्यासको थिम हो। उपन्यासले भन्न खोजेको कुराको सार चुरो कुरो नै थिम हो। उपन्यासकारको पाठकलाई सन्देश नै कृतिको थिम हो। मनकली उपन्यासमा उपन्यासकार विमला अधिकारी देवकोटाको केन्द्रीय दृष्टिकोण परम्परागत समाजका कथित आदर्श तथा आर्थिक अवस्था कमजोर भएका महिलाहरूको कहरपूर्ण जिन्दगीको कैरन ल्याउनु हो। यो कार्यमा उपन्यासकार सफल भएको देखिन्छ। मनकलीको जीवन वृत्तमा घुमेको यो उपन्यास मनकली पात्रको कहरपूर्ण जीवनगाथा हो। रुवाइको पुञ्ज हो।

उपन्यासलाई मिहीन तरीकाले पढेपछि धेरै महत्त्वपूर्ण विशेषताहरू अंगीकार गरेको भेटिएको छ। उपन्यासको भाषा सरल, सरस तथा बोधीय छ। नेपाली भाषाका ठेट शब्द तथा कार्यपीठिका क्षेत्रमा बोलिने सम्वाद दुरुस्त उतारिएको छ। उदाहरणका लागि हाराबारा (पृ.४३), पिसाब फेरेकालाई चोखो पारिदिएछ (पृ.४५), टाला (पृ.४५) शब्दलाई लिन सकिन्छ।

 यो टाला शब्दले तत्कालीन अवस्थामा बच्चाबच्चीको जीवन हुर्काइको अवस्थाको पनि ज्ञात हुन्छ। जुठो लोटाउने (पृ.४९), लगन लागोभागोको अर्थमा (पृ.६१), बाघले खाइनसक्ने ज्यान भएकी बुहारी सुतेर खान्छे (पृ.१४१), अर्काको बाच्छो चाटी मुखैभरि रौं (पृ.१७३) आदिले उपन्यासको शब्द सौन्दर्यलाई मनमोहक र आकर्षक बनाएका छन्। भाषालाई सुन्दर बनाउन कमिलालाई काल आएपछि पखेटा पलाउँछ भन्थे (पृ.९१) जस्ता उक्तिको प्रयोग गरिएको छ।

उपन्यासमा परिवेश अत्यन्त महत्त्वपूर्ण पाटो हो। मनकली उपन्यासमा तत्तत् समाजको परिवेशलाई मजाले उजागर गरिएको छ। परिवेशका आधारमा हेर्दा मनकली उपन्यासभित्र अन्धविश्वासी समाज छ। विभेदी समाज छ। छोरो नै चाहिने चलन (पृ.४४), रूपाको बाबाको छोरीलाई शिक्षा दिनुपर्छ भन्ने चेत (पृ.४४), छोरीको बिहे छिट्टै गर्न पाए धर्म हुन्छ (पृ.५७), हामी ५ कक्षामा हुँदा माइजूले भाइ पाउनुभयो (पृ.५७), सिलावरे थाल लिएर आगो लिन आई (पृ.६३) जस्ता कुरा प्रस्तुत गरिएकाले पाठकलाई निकै गजबको तत्कालीन खुराक पस्किएको छ।

त्यसैगरी तत्कालीन समाजमा महिलाको अवस्था तथा जीवनबारे उपन्यास बोलेको छ। आमाले नै मनकलीलाई गाली गर्दा भनेका शब्दहरू यसलाई नाठो खेलाउँदै हिंड्न परेको छ (पृ.१२३), कुनचैंको भुँडी बोकेर (पृ.१२३),अर्काको भित्ता टाल्ने जात (पृ.१२४) भनेको कुरा प्रष्टसँग उल्लेख गरिएको छ। एक शब्द नबोलेको मान्छेसँग बिहे गर्नुपरेको (पृ.१२६), छोरीको जन्म हारेको कर्म (पृ.१४१), श्रीमानको परम्परागत सामन्ती सोचको व्यवहार र स्वभाव (पृ.१४२) जस्ता प्रसंग पनि उपन्यासभरि छरिएका छन्।

उपन्यासमा अत्यन्त विकराल गरिबीको कहर देखाउनु विशेषता रहेको छ। हाम्रो घरमा त कहिलेकाहीं मात्रै हो चामलको भात खाने त (पृ.६५), विपन्न सुत्केरीको अवस्थाको चित्रण (पृ.१४४) तथा दयनीय अवस्थाको बयान छ। गर्भावस्थामा बाँझो बारी खनेको, चक्कर लागेको, कान्लाबाट पछारिएको, तन्द्रामा पुगेको, पानी पनि नभएको, पेटको बच्चा सम्झिएको (पृ.१३४) बच्चा खेर गएको (पृ.१३६) जस्ता विपत खालका गरिबीका दृश्य यो उपन्यासमा पाइन्छ।

उपन्यासभरि विवशतै विवशता छन्। मनकलीले एसएलसी पास भए पनि थप पढ्न नपाउने विवश परिवेशको चित्रण (पृ.९१)छ। श्रीमान् कुख्यात जँड्याहा छ। श्रीमती मनकली सहन विवश छे (पृ.१४९)। सहनु उसको विवशता मात्र होइन, आदर्श बनेको छ।

उपन्यासलाई रोचक बनाउन उपन्यासकारले सादृश्य शैली अपनाइएको देखिन्छ। सेती नदीसँग मनकलीको तुलना (पृ.९३) हुनु यही सादृश्यको शिल्प हो। जीवनलाई विविध विषयसँग तुलना गरेर लेखिएको छ।

उपन्यासमा वैवाहिक बलात्कारको विषय पनि उठाइएको छ। मनकलीको भनाइमा ‘मेरो शरीरमा माथि जाइलाग्नुभयो, भोको बाघले बाख्रा भेटेको जसरी’ (पृ.१२६)। तर त्यो वैवाहिक बलात्कारलाई जसरी नेपाली महिलाले सहन्छन्, त्यसैगरी चूपचाप सहेकी छे मनकलीले। दाइजो प्रथाको अवस्थाबारे पनि उपन्यास बोलेको छ। घरमा धेरैपल्ट अरू मान्छेहरूले आएर दाइजो त केही दिएनछन् त भन्थे (पृ.१२९) हुँदाहुँदा दाइजो नल्याएको भनेर पनि मलाई कुट्ने, गाली गर्ने गर्न थाले (पृ.१३९)जस्ता वाक्यले यो कुरा पुष्टि गरेको छ।

उपन्यासभरि मनकलीकी आमालाई पनि खलनायकका रूपमा चित्रण गरिएको छ। तर, जब बिहे भएर मनकली घर जान्छे अनि अझ खलनायक सासूसँग जम्का भेट हुन्छ। र, मनकलीलाई बोध हुन्छ कि आमाको गालीमा त माया थियो (पृ.१३०)।

जीवन भनेको केही पनि होइन रहेछ, जति सकिन्छ खुसी बोकेर बाँच्नुपर्ने रहेछ (पृ.११३) भन्ने कुराको जीवनबोध भएको छ मनकलीलाई। ‘मलाई अब बोध हुन थालेको छ, म पनि त एक दिन यो संसार छोडेर जान्छु (पृ.११३)’ यी हरफले मनकलीमा आएको निराशा तथा जीवनप्रतिको दृष्टिकोण प्रस्तुत गरेको छ।

उपन्यासको प्रमुख पात्र मनकली वैदेशिक रोजगारीका लागि इजरायल गएको परिवेश छ। विदेशको पीडा सम्झेर मनकली भन्छे कि ‘नेपालमै केही गर्न सकेको भए किन अर्काको देशमा दुःख गर्न जान्थे होलान् है (पृ.११७)’। यो परिवेशले नेपालका सामू एउटा जटिल प्रश्न उब्जाएको छ।

उपन्यासभरि नेपाली परम्परागत समाजको पुरुषप्रधान सोच प्रधान भएर आएको छ। मनकलीले अशक्त अवस्थामा उसको श्रीमान्ले घरभित्रै भाँडा माझेको देखेर सासूले भनेको ‘आजसम्म मैले कति भाँडा यही चर्को घाममा माझें। तँलाई कहिल्यै आमाको माया लागेन, आज तेरी श्रीमतीलाई गाह्रो हुन्छ भनेर अब घरभित्रै भाँडा माझ्न थालिस् हैन? (पृ.१५१) वाक्यले यो कुराको पुष्टि गर्छ।

वास्तवमा भन्ने हो भने परम्परागत सामन्ती नेपाली समाजमा महिला त्यसमाथि पनि गरिब महिलामाथि हुने अन्याय,अत्याचार तथा दुराचारबारे बताउनु उपन्यासको प्रमुख ध्येय छ। यो वाक्य ‘उहाँहरूका लागि बुहारी चाहिएकै थिएन। काम गर्ने नोकर्नी चाहिएको थियो र वंश चलाउने छोरा जन्माइदिने एउटी आइमाई चहिएको थियो (पृ.१६६)’ ले महिलाको अवस्थाबारे ज्ञात गराउँछ।

उपन्यास विपत्तिहरूको संग्रहालय भएको छ। बाढीले बगाएको छ (पृ.१५६), अधिग्रो गएको छ, खानका लागि सामग्री छैन, बेरामी छ, रक्स्याहा लोग्नेको कुटाइ छ। यसरी मनकलीका जीवनमा विपत्ति मात्र आएका छन्। तर,मनकली सहनशील छे। ऊ सहन अभिषप्त छे। मनकली भन्छे,‘म के नै गर्न सक्थेँ र सहनु सिवाय? (पृ.१५८)’।

जसरी परम्परागत समाजमा भगवान्का प्रति अविचलित आस्था हुन्छ त्यसैगरी मनकलीको भगवानप्रति अगाध आस्था छ। ऊ सपना पनि महादेव र पार्वतीको दर्शन पाएको देख्छे। तन्द्रामा पनि भगवान् देख्छे (पृ.१६३)। ऊ भन्छे,‘भगवान् सम्झें र मनमनै भगवानलाई भनें भगवान् त्यो निर्दोष बालकको केही दोष छैन, त्यसलाई दुःख नदिनुहोला (पृ.१७८)।

वास्तवमा उपन्यास परम्परागत आदर्शवादी धारमा लेखिएको छ। परम्परावादी आदर्शमा लेखिएका हुनाले अग्रगम्य, विद्रोह, समानताका लागि संघर्ष हुने कुरा पनि भएन। त्यसैले समाजको बन्धन, महिला र पुरुषका बिचमा विभेद, सासू र बुहारीका कटाक्ष जस्ता अमानवीय घटनामा पनि सहनु भन्ने आदर्श उपन्यासभरि छताछुल्ल छ।

उपन्यासको प्रमुख पात्र मनकली परिवेशले इजरायल पुगेकी छे वैदेशिक रोजगारीका लागि। सो अवसरमा उपन्यासमा वैदेशिक रोजगारीका शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक पीडा अभिव्यक्त भएको छ। याने कि डायस्पोरिक पीडा पनि उपन्यासभरि छन्।

यद्यपि उपन्यासमा शुद्धयाइँलाई विशेष ध्यान दिइएको जस्तो लाग्छ। तथापि धेरै ठाउँमा प्रुफ हेर्न छुटेको छ। उपन्यासमा पात्रको नाम कतै हुकराम कतै हुकाराम (पृ.३८) भएको छ। विद्यालय हुनुपर्नेमा विदालय (पृ.११), पुसको पु मात्र (पृ.१०८), मारिनँको मरिनँ मात्र (पृ.१०९), नलागेको मा नलनगेको भएको (पृ.१०९) जस्ता अनेकन अशुद्धि उपन्यासभित्र छन्।

बिहे नभएकी बाहुनकी छोरीले भात पकाएको कुरा परेको छ। उपन्यासभित्र जुन बेलाको समाज तथा सामाजिक परिवेश छ त्यो बेला सायद बिहे नभएकी छोरीले भात पकाउन पाउँदैन थिए जस्तो लाग्छ।

त्यसैगरी प्रकाश पात्रले मनकलीलाई राम्रोसँग नचिनीकनै प्रेमपत्र लेखेको (पृ.७७) छ। बिहे गर्न खोजेको छ। जसको आधार छैन।

उपन्यासभरि समस्याका चाङ छन्। समस्याले मनकली पात्र ग्रसित छे। तर, उचित समाधानका उपायको अभाव उपन्यास पढिसकेपछि खट्किन्छ। छाउ याने महिनावारी कठोर रूपले बार्ने परिवेश (पृ.९५) छ। पात्र विवश छन्। कुनै चेतीय विचार पनि छैन। उपन्यासभित्र अन्धविश्वासका प्रसंग धेरै छन्।

‘हामीले पनि महाकाली पुलमा पुगेपछि पैसा चढायौं। कैयौं जुनीसम्म यिनै श्रीमान् मिलून् भनेर पैसा चढाएँ (पृ.११७)’भन्ने वाक्य छ। त्यही लोग्ने जसले मनकलीलाई पराकाष्ठामा पुगेर दुःख दिएको चित्रण छ भने त्यही लोग्ने कैयौं जुनीसम्म प्राप्त होस् भन्ने थोत्रो आदर्शवादी विचार व्यक्त भएको छ।

‘हामीले खोजेको केटासँग बिहे गर्ने भए गर, नगर्ने भए तँलाई के मन लाग्छ गर, तर यो घरमा नबस्’ भनेर आमाले भन्दा पनि कुनै विद्रोह छैन। बरु ‘आमाले बोलेका यस्ता कुरा सुनेपछि पनि म केही बोलिनँ’ भनिएको छ (पृ.१२५)। उपन्यासमा परम्परागत चिन्तन व्याप्त छ। श्रीमान् र श्रीमती रथका दुई पांग्रा हुन् भनेर सुनेको, तर मेरो त एउटा पांग्रा नै थिएन (पृ.१३१)।

उपन्यासमा विद्रोह नामको कुनै कुरा नै छैन। विद्रोहविहीन हुनुपर्ने कारण के हो? स्वयं मनकलीले नै भनेको वाक्य ‘बाउआमाले दिएको घरमा मैले पीडा सहन सकें तर विद्रोह गर्न सकिनँ। किनकि मभन्दा अगाडि समाज थियो, परिवार थियो, नाम मात्रका आफन्त थिए (पृ.१३१)’ भनिएको छ।

उपन्यासमा एकातिर अन्न बेचेर घर किन्न थपथाप पारेको भन्ने कुरा छ अर्कातिर खाने कुराको अभावमा बच्चा भोकले रुन्थ्यो (पृ.१८९) पनि भनिएको छ। सासूको भूमिका मूल रूपमा खलनायकको छ। तर, कतै नायक जस्तै चित्रण गरिएको छ। फेरि खलनायक फेरि नायक, फेरि खलनायक। यसरी सासूलाई खलनायक भन्ने कि नायक भन्ने भन्ने कुरा उठाउन सकिन्छ।

उपन्यासमा केही परिवेश र प्रसंगहरूको पुनरावृत्ति भएको छ। उदाहरणका लागि ‘घरमा नन्द थिए दुई जना तर उनीहरूले केही काम नसघाउने, सासू पनि केही नगर्ने। घरको काम पनि मैले नै गर्ने र बाहिरको काम पनि मैले नै गर्नुपर्ने थियो (पृ.१३३), श्रीमान्ले रक्सी खाएर आएर गरेको वैवाहिक बलात्कार (पृ.१३५)’ जस्ता कुराहरू पटकपटक दोहोरिएका छन्।

मनकलीको श्रीमान् अधिकतर खलनायकको भूमिकामा देखिन्छ। तर, फेरि घरीघरी नायकको रूपमा पनि देखिन्छ (पृ.१५७)। यस्तो विवेचनको के तादात्म्य? उपन्यासको मूल पात्र मनकली आमा भएकी छे। आमाले (मनकली) ले आफैंले छोरी पाउँदा ‘थुइक्क’ भनेको (पृ.१६१) प्रसंगले लैंगिक विभेदीय सोच जागर गरेको छ।

अब पुछारमा आइपुगेको छु। उपन्यास पढी तुरेको छु। सारमा भन्नुपर्दा पीडा, प्रताडना, दुःख, कहर, यातनाको पोको छ उपन्यास। सपनामा पनि साँपले मनकलीलाई नै टोक्छ (पृ.१८२)। उपन्यासको थिम नै ‘ढुंगा त रसाउँछ भन्छन्, यिनीहरू सबै मान्छे हुन् एक दिन न एक दिन त कसो मन नफर्केला (पृ.१५४)’ भन्ने दर्शनमा अडिएको छ।

उपन्यासभित्र लाचारी, निरीहता र बिचरापन छताछुल्ल छ। ‘लाचार थिएँ म। निरीह थिएँ म। बिचरा थिएँ म (पृ.१६४)’ भन्ने वाक्यले यो कुराको पुष्टि गर्छ। आफू सदैव दुःखी भएर पनि परिवारको खुसी रोज्नु (पृ.१७१) उपन्यासको मूल प्रवृत्ति भएको छ। कहालीलाग्दो परिवेशको निर्माण गरेर उपन्यास लेखिएको छ। काममा गएको एउटा विद्रुप दृश्य हेरौं,‘काम गर्न जाँदा दुइटा बच्चा दुईतिर बोकेर जान्थें र आफ्नो पछ्यौरा ओछ्याएर शीतल भएको एक ठाउँमा राखेर दिनभरि काम गर्थेँ (पृ.१७२)।

उपन्यास भाग्यवादी धारबाट लेखिएको छ। त्यसैले मनकलीमा चित्त बुझाइएको छ। ‘आफ्नो भाग्यमा लेखेको कुरा मात्र पाइन्छ (पृ.२०४)’ भन्ने वाक्यले यही कुराको संकेत गर्छ।उपन्यासभित्र सुस्त विद्रोह विद्रोह पनि देखाइएको छ। यद्यपि त्यो सुस्त विद्रोह पनि अति भएपछि सुस्तरी भएको छ। धिमा छ। मनकलीले सासूलाई भनेको कुरा ‘दुइटा छोरा पाएपछि किन छोरी पाएको त तपाईले नि? खुरुखुरु चारैवटा छोरा पाएको भए अहिले आनन्द हुन्थ्यो नि (पृ.१७४)। मलाई पनि के लाग्न थाल्यो भने म सोझी भएरै मलाई यिनीहरूले हेपेका रहेछन्। अब श्रीमान्ले कुटे भने कराउँदै घरबाहिर निस्किन्छु  र गुहार माग्छु (पृ.१७६)’ भन्ने वाक्यले अलिकति भए पनि विद्रोहको स्वर निकालिएको छ।

उपन्यासको प्रमुख कुरा भनेको सनातनीय रुवाइ हो। प्रमुख अस्त्र पनि रुवाइ हो। समस्या पनि रुवाइ हो। समाधान पनि रुवाइ हो। मनकलीले रुन्चे भूमिका निर्बाह गरेकी छे। मनकलीकै एक हरफ हेरौं ‘एकछिन त डाको छोडेर रोएँ। त्यहाँ नरोऊ भन्ने कुनै आफन्त थिएन (पृ.२११)।

 मनकलीलाई डोटीदेखि कैलालीसम्म, काठमाडौंदेखि इजरायलसम्म पनि समस्या मात्र परेको छ। रोएको रोअ‍ै गर्ने पात्र हो मनकली। इजरायलमा कमाएको पैसा पनि साथीले खाइदियो। लोग्नेले जाँड खाएर उडाइदियो। एजेन्टले पनि पैसा खाइदियो। त्यसैले उपन्यासभित्र मनकलीका रुवाइका खात लागेका छन्। सांस्कृतिक कारणका रुवाइ छन्, सामाजिक कारणका रुवाइ छन्। अन्धविश्वासका कारणले रुवाइहरू छन्। आर्थिक विपन्नताका कारणले रुवाइहरू छन्। चेतीय विपन्नताका रुवाइहरू छन्। त्याग, तपस्या तथा सहनशीलताका नाममा आएका रुवाइहरूले नेपाली समाजको सामाजिक, सांस्कृतिक, आर्थिक विडम्बनागत जीवनको अन्तर्य छामेका छन्। यसो भएकाले उपन्यास सुन्दर बनेको छ।  

प्रकाशित: २२ माघ २०७९ ०६:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App