१४ माघ २०७९ शनिबार
कला

कवि राजेन्द्रप्रसाद अर्यालको ‘आजको मान्छे’मा एक फन्को

समीक्षा

एकताका कवि राजेन्द्रप्रसाद अर्याल र म त्रिभुवन विश्वविद्यालयको पद्मकन्या बहुमुखी क्याम्पसमा जागिरे भएर मानोचामलको व्यवस्था गर्दथ्यौँ। समयले हामीलाई तितरबितर पारेर आआफ्ना परिवेशीय गन्तव्यतिर हिंडायो। र, एकदिन हामी दुवैलाई साहित्यकारको कलेबरमा अमेरिकामा सामाजिक सञ्जालले भेट गरायो। यो भेटको परिणति ‘आजको मान्छे’ सहित केही पुस्तक अमेरिकी हुलाकको टाँचा लागेर मेरो घरठेगानामा कोेसेली आए। कोसेलीको पोको फुकाएको छु। र, ‘आजको मान्छे’ भित्र फन्को लाउने जमर्को गर्दै छु।

आवरण पृष्ठमा सबैभन्दा माथि रातो अक्षरमा कविको नाम र त्यसमुन्तिर कवितासंग्रहको शीर्षक ‘आजको मान्छे’ छ। मूल रूपमा नीलो रङमा देखिएको आवरण पृष्ठमा एउटा मान्छे रोस्टममा उभिएर भाषण गर्दै छ। र, त्यसको ठीक पछाडि राक्षस आकृतिमा कालो गजधम्मे मान्छे छ। यो आवरण पृष्ठको बिम्बले एउटै मान्छेका दुई रूप देखाएको छ। आवरणको पश्च भागमा कविको सदाबहार तस्बिर छ। त्यसको मुन्तिर भूमिकाकार प्रा. जगत् उपाध्याय ‘प्रेक्षित’को भूमिकाको एक टुक्रा छ। बीएन पुस्तक संसारले प्रकाशन गरेको छ। कविकी स्व.आमा नन्दकुमारी अर्यालमा समर्पित गरिएको छ। कवि अर्यालले ‘आत्माभिव्यक्ति’ शीर्षकमा सम्बद्ध पक्षलाई धन्यवाद ज्ञापन गर्ने क्रममा आफ्नो साहित्ययात्राको नालीबेली प्रस्तुत गरेका छन्। यसपछि नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव प्रा. जगत् उपाध्यायको ‘कुरूप यथार्थका बिचबाट सुन्दर जीवन खोज्ने कविताहरू’ शीर्षकमा शास्त्रीय भूमिका रहेको छ।

यो कृतिको भूमिकामा मलाई सर्वप्रथम मन परेको एउटा महत्त्वपूर्ण कुरा कविले आफ्नी श्रीमती सीता अर्यालको सत्सङबाट साहित्यमा लागेको रचनागर्भ व्यक्त गरेका छन्। यसरी जीवनको जस्केलामा जम्काभेट भएका दुवै जोईपोइ नै साहित्यका सागरमा हातेमालो गरेर हिंड्दाको सुन्दर र लोभलाग्दो अनुभूति धेरै एकाङ्गी साहित्यकारहरूलाई प्राप्त हुने कुरा नै होइन। भाग्यमानी स्रष्टा राजेन्द्रलाई बधाई।

कवि राजेन्द्रप्रसाद अर्याल जीवनका भोक्ता हुन्। आफ्ना अवकासे जीवनमा उनका भोक्ता अनुभूति प्रकटीकरण नै यो कृति जन्मनुको प्रकारान्तरको कारण हो भनेर ठम्याउन सकिन्छ। गोरखाको लेकबेँसी, गाउँ पहाडदेखि काठमाडौंसम्म र काठमाडौंदेखि अमेरिकासम्मका विविध भोक्ता अनुभूति छन् कविका। मान्छेका जीवनलाई भोगेर नै हेर्ने जमर्का छन्। भोक्ता अनुभूतिले जीवनदृष्टिको व्यापकताको निर्माण गरेको छ। त्यो वैशिष्ट्यले जीवन हेराइका धारणामा परिष्कार आएको छ। विश्वजनिन चिन्तन आएको छ। यी सवै भोक्ता अनुभूतिको‘इक्युलिब्रियम’ ले कविको कवित्व चेतको निर्माण गरेको छ।

यही चेतको वरिपरि बसेर कवि राजेन्द्रप्रसाद अर्यालको अध्ययन र साधनाले सुन्दर द्रष्टा दृष्टिनिर्माण गरेको छ। आफ्नो जीवन भोगेर मात्र होइन; संसारको जीवन देखेर जीवनको सार खिच्ने विशेषता कविमा देखिन्छ। जीवनको द्रष्टा अनुभूति रोमाञ्चक मात्र हुँदैन; यसले संसारलाई एउटा विन्दुमा खिचेर भाव प्रक्षेपण गर्दछ। कवि अर्याललाई पनि उनका द्रष्टादृष्टिले जीवनका प्रति आशावान बनाएको छ । उदाहरण हेरौं-

निष्ठुरी दिनहरू

अभिषप्त समयहरू

आउने र जाने क्रम

रोकिएको छैन

तापनि

अनन्त वसन्तहरू झेल्दै

आशै-आशामा प्रतिक्षारत छु (८९, अन्त्य पर्खिरहेछु)।

यसरी उनको द्रष्टा अनुभूतिले मान्छेले भोगेका दिनहरूलाई कतै निष्ठुरी, कतै अभिशप्त बताएका छन् भने कहिले वासन्तीय आशामा प्रतीक्षारत आशामुखी मान्छेको चित्र उभ्याएका छन्।

कवि अर्याल मूलतः यो कृतिमा सकारात्मक सोच लिएर उदाएका छन्। सुन्दर, शान्त, विवेकी तथा सुमधुर सकारात्मक दृष्टि लिएर मान्छे जन्मोस्/बाँचोस्/हिंडोस् भन्ने आदर्शवादी देखिएका छन्। आमाले छोरालाई दिएको अर्तीको बिम्बमा उनी मान्छेले इलम बेचोस् तर इमान नबेचोस्, समय बेचोस् तर स्वाभिमान नबेचोस् जस्ता आदर्शवादी मान्छेको निर्माण गर्न खोजेका छन्। उदाहरण हेरौं-

इलम बेच्नू, इमान नबेच्नू

समय बेच्नू, स्वाभिमान नबेच्नू

नीति बेच्नू, नैतिकता नबेच्नू

चित्र बेच्नू, चरित्र नबेच्नू (७०, नमिठो रीत)।

मान्छेलाई चरित्रवान बन्न प्रेरित गर्नु कविताको ध्येय रहेको छ। याने कविले इमानी, स्वाभिमानी, नैतिकवान् तथा चरित्रवान् मान्छेको इच्छा राखेका छन्। यससँगै जीवन बाँच्ने सूत्र पनि प्रवाह गरिएको छ। अर्ती-उपदेश तथा आशयका चाङ बनाउन खप्पीस छन् कविता। त्यसैले कवि भन्छन्-

सम्भावनाको प्रश्न होइन

मात्र प्राप्तिको आकांक्षा राख

हुरीमा पनि दियो बाल्ने कोसिस गर

चन्द्रमा ताकेर हिंड

समस्याहरूमा अवसर देख

किनकि आज नयाँ वर्ष हो (२१, आज नयाँ वर्ष हो)।

यद्यपि समय, समाज, परिवेश तथा भूगोल अनुसार इमान, स्वाभिमान, नैतिकता तथा चरित्रको चिन्तन भने फरक हुने गर्छ। जे भए पनि कविको आफ्नो जीवन तथा सोचले बनाएको वृत्तभित्रबाट संसार चिहाएका छन्। हुने पनि त्यही हो। कुनै मान्छे पनि आफ्नो चेतीयवृत्तबाट बाहिर निस्कन सक्दैन। कविले आफ्ना कवितामा शक्तिशाली शब्दचयन गरेका छन्। नेपाली भाषाका ठेट शब्द तथा गहन शब्दको प्रयोग गरेर कृतिलाई स्तरीय बनाएका छन्। कविताकृतिभित्र भाषा मात्र स्तरीय छैनन्; उठाएका विषयवस्तु तथा जिन्दगीका आयामसमेत स्तरीय छन्। भाषाले कवितामा सहजताको फूल फुलाएका छन्। कविको भौतिक तथा अध्ययनको होराइजनले कविका दृटिकोणमा विश्वजनीन चिन्तन पलाएको देखिन्छ। मान्छेप्रति भावना सुन्दर र सहयोगी भएर देखापरेको छ। उदाहरण हेरौं-

दीन-दुःखीको फूलबारीमा फुलिदेऊ

उनीहरूका मनका नृत्य हेरिदेऊ

हृदयका गीत सुनिदेऊ

कसैले भन्न सक्दैन-

मदर टेरेसाको जिन्दगी

फूलभन्दा सुन्दर थिएन भनेर (१२३, सुन्दर जिन्दगी)।

यसरी विश्जजनीन चिन्तन गर्दा कवि सुकोमल भएका छन्। जिन्दगीका जस्केलाबाट संसारका त्यागी मान्छेको जीवन केलाएका छन् र भावुक भएका छन्। र, त कविताले प्रश्न उठाएको छ, आफ्नो स्वपुजक जिन्दगी फूलजस्तो कि समाजसेवी मदर टेरेसाको?

स्वाभाविक छ कि कवि राजेन्द्र अर्यालको ‘आजको मान्छे’ मा विविध मान्छेका चित्र छन्। अलग स्वभाव, चिन्तन तथा चेतका छन्। मान्छे नरम छ। गरम छ। चाम्रो पनि छ। मान्छेहरू नै अन्धविश्वासका पोका बोकेर कृतिभरि देखिएका छन्। जीवन र जगतबारे तथा ज्ञान र विज्ञानबारे केही चासो नराखी आफ्ना दैनिक जीवन अन्धविश्वासमा गुजारिरहेका मान्छे बग्रेल्ती छन्। एउटै मान्छेका दुई रूप छन्। सोही कुरालाई कविले कृष्णको बिम्बमा प्रस्तुत गरेका छन्। उदाहरण हेरौं-

कृष्ण बनेर मन दयावान् हुन्छ

द्रौपदीको लाज ढाक्न पुग्छ

कृष्णको उही मन पवित्र हुँदैन

वस्त्र लुकाई गोपिनीहरुको

गोप्य अंगको प्यासी बन्छ (मन, पृष्ठ २०)

कथित भगवान् भक्त  

पुजारीबाटै बलात्कृत दलित महिला

न्याय नपाएर रोइरहेकी छे

ग्याँस च्याम्बरका यहुदीहरू

यतै कतै छटपाइरहे झैं लाग्छ (३२, खोई कहाँ होलान् र भगवान्?)।

भगवान्का संसारमा भइरहेको अन्याय याने कि भगवान्को ठेक्का लिएका पुजारीले दलित महिलालाई बलात्कार गरेको दृश्यले निकै ठूलो विद्रोह बोलको छ। दलित नाममा भौतिक रूपमा छुनचाहिं नहुने तर बलात्कार गर्न भने पछि नपर्ने पुजारी खराब मान्छेको बिम्बमा प्रयुक्त भएको छ। फेरि मान्छे नै ग्यास च्याम्बर बनाएर मान्छेकै हत्या गर्न उद्दत छ। कवि अर्याल मान्छेको यो प्रवृत्तिबाट आजित भएका छन्।

मान्छेसँग मात्र होइन मान्छे

आफ्नै छायासँग डराएको छ

भिडमा पनि एक्लो महसुस गर्छ

डरको अँध्यारो सल्किएको छ मनमा

नभरेको बन्दुक

पड्कने त्रासमा बाँचेको छ मान्छे (आजको मान्छे, पृष्ठ १७)

मान्छे यसरी दोहोरो चरित्रको छ। तथापि फेरि पनि मान्छे नै यस्तो प्राणी हो, जो राष्ट्र, राष्ट्रियता तथा स्वाधीनताको चेत बोकेर हिंड्छ। वास्तवमा राष्ट्र बनाउने, जोगाउने मान्छेले नै हो। त्यसैले कृतिभित्र एउटा सच्चा राष्ट्रवादी मान्छे उभिएको छ। र, ऊ भन्छ-

पुर्खाको रगतले सीमांकन गरेको

हाम्रो साँधको पर्खाल सार्छन्

साधन र स्रोतहरू उपर

लोभी थुतुनो गाडेर

दिउँसै डाँका मार्छन् (२१, छिमेकी)

यसरी आफ्नो देशका साँधहरू जोगाउन खबरदारी गरिरहेका मान्छेको तस्बिर पनि यसै कृतिभरि छ।

कविको भोगाइ तथा देखाइले आफ्नो जिन्दगीमा एउटा विचारको स्थापना गरिदिएको छ। समाजमा व्याप्त विभेद, अन्याय, अत्याचार तथा विसंगतिप्रति चिन्तित बनेका छन्। यो चिन्ताले उनमा समाजलाई परिवर्तन गर्ने हुटहुटी चलेको छ। त्यस्ता सामाजिक असंगतहरूप्रति विद्रोह बोल्छन् कवि। त्यसकारण समाजमा पछाडि पारिएकी एउटी महिलाको बिम्बका सहाराबाट कवि कविता कोर्छन्-

चरणकी दासी भएकी छे

सतित्व र प्रतिष्ठाको

नैतिकता अनि मर्यादाको

उपदेशको भारी बोकाएर

मनपरीको स्वतन्त्रता अर्कैले लिएको छ (१०६, स्वास्नी मान्छे)।

माथिका यी कविता अंशमा उद्धृत गरिएका विचारले कविलाई समाज परिवर्तन गर्ने चाहना बोकेका प्रगतिशील कविका रूपमा स्थापित गरिदिएको छ। प्रगतिशील विचार राखेर उनी समाजलाई, राज्यलाई तथा सरकारलाई गौर गरेर हेर्छन्। त्यहाँ उनी भय देख्छन्। समाज, धर्म, राज्य तथा सरकारले एउटा न एउटा भय सिर्जना गरेर मान्छेमाथि शासन गरिरहेको प्रति चिन्तित बनेर सामाजिक, राजनीतिक, धार्मिक, सांस्कृतिक तथा मानवीय सोचमा देखापरेका असंगतिमाथि प्रहार गरेका छन्।

कविताभित्र स्वाभाविक छ आधा आकाश बोक्ने महिला तथा महिलाको अनेकन रूप, स्वभाव आएका छन्। महिलालाई सम्झनेबित्तिकै कवितामा प्रेम अंकुरण भएको छ। यो संसार वास्तवमा भन्ने हो भने प्रेममा अडिएको छ। कविले प्रेमलाई विविध बिम्बमा व्यक्ताउने प्रयत्न गरेका छन्। प्रेमलाई मदिराको नशा, नमेटिने तिर्खा, प्रीतिको तेल, रूपको दियो, त्याग, बलीदान, प्यास, तथा चिसो तातोको बिम्बमा अभिव्यक्त गरेका छन्। महिला जीवनदायिनी प्रेमिका, आमा, श्रीमती, साथी तथा आधा आकाशको हिसाबबाट हेरेका छन्। महिलाका समस्या तथा विभेद पनि प्रष्ट पारेका छन्। उदाहरण हेरौं-

प्रेमको मदिरा पिलाउन

कहिल्यै नमेटिने तिर्खा भएर उदायौ

प्रीतिको तेलमा

रूपको दियो बालेर आयौ (३९, मेरी उनी)।

प्रेम त्याग हो, बलिदान हो

प्यास हो, आस हो

चिसो हो तातो हो(७२, प्रेम)।

प्रेमिकाका रूपमा महिलालाई हेर्दा कवि रोमाञ्चक भएका छन्। मदिराको आनन्दमयी नशामा प्रेमिकाको माया अनुभूत गर्छन्। प्रेमिकाका नाममा वलीदान दिन तत्पर छन्। यसरी प्रेमिका महिलाले जीवनमा ज्योति बालेका छन् कहिल्यै ननिभ्नेगरी।

कविताभित्र आमा महिलाको उपस्थिति निकै सुन्दर र मायाको खानी बनेर भएको छ। वास्ततवमा आमाको माया यो संसारको निकै किमती कुरा हो। उदाहरण हेरौं-

दुःखमा सदा पुकारिने

जो एक शब्द छ-आमा

स्वर्गानुभूति कुनै स्थल छ यदि भने

आमा, तिम्रै काख हो (५४, आमा)।

कविले आमाका साथमा श्रीमतीलाई पनि विविध रङमा उभ्याएका छन्। बाटो बिराएकी श्रीमतीको कल्पना गर्छन् र कवितामा विह्वल हुँदै भन्छन्-

ओ प्रियतम्

छाती पोल्ने तिम्रो वचन

कस्को मायाजालमा पर्यौ तिमी

रेट्यौ मलाई खुकुरीले

कस्को मोहनीमा भुल्यौ तिमी (६१, त्यो तिम्रो भुल हुने छ)।

फेरि तत्क्षण महिलामा कविले जीवनदायिनी, जननी, सहनशीला जस्ता रूप देखेका छन्। महिलाका पक्षमा बोल्छन्। उदाहरण हेरौं-

आधा आकाश कि अंशियार

धर्तीसमान कि सहनशीला

जीवनदायिनी र जननी

ममतामयी अनि स्नेहशीला(१०६, स्वास्नी मान्छे)

कवि महिलाको अवस्था देखेर द्रवीभूत भएका छन्। खास गरेर जब उनी महिलामाथि हुने बलात्कार भएको कल्पना गर्छन् अनि भावुक तथा पग्लिन्छन्। र, कविता लेख्छन्-

मृत्युभन्दा जिन्दगी बोझिलो ठानिन्

अर्कोतर्फ त्यो पापीले

आफ्नै पिठ्यूँमा धाप मार्दै

आफैंलाई क्या वात भन्यो (४२, वर्तमान)

कविको कवित्व मूल रूपमा मान्छेभित्र जीवन खोज्न व्यस्त देखिन्छ। जीवन भन्ने जुन तत्व छ, त्यो वास्तवमा असरल्ल छ। जति व्याख्या गरे पनि जति बुझें भने पनि जीवनका प्रश्नहरू अनुत्तरित हुन्छन्। तर फेरि पनि मान्छेले जीवनको व्याख्या गर्न भने छाड्दैन। छाड्ने कुरा पनि होइन। किनकि मान्छे भन्नु नै जीवनको पर्याय हो। जन्म र मृत्यु नामका शाश्वत सत्यका बिचमा मान्छेसँग एउटा भोक्ता जीवन छ। द्रष्टा जीवन छ। यद्यपि मान्छे आफैंले भोगेको तथा देखेको जीवनका सूत्र वरिपरि घुम्छ र जीवनको एउटा अर्थ निकाल्छ। त्यो अर्थ नै स्रष्टाको जीवनबोध हो। यो कविताकृतिमा कवि अर्याल यस्तै जीवनबोध लिएर उभिएका छन्। उदाहरण हेरौं-

फूलको पनि त

मानिसकै जस्तो जिन्दगी

एकदिन झर्नै पर्ने, मर्नै पर्ने (२६, समयको खेल)

दुःखको कारण तृष्णा हो

तृष्णाको कारण दुःख

खरानीको प्रतिक्षामा थिए

आखिर जिन्दगी

मसानघाटको खरानी त रहेछ (७६, खरानी)

आँशुको वर्षे भेलसँगै

चिन्तै-चिन्ताको रासभित्र

अविरल मन थाकेको छ (९३, धोका खाइरहेछु)

बाँच्नका लागि

यतिसम्म लालायित हुँदोरहेछ कि मान्छे

बाबुलाई दागबत्ती दिन गएन

प्रियाको अन्तिम मुख हेरेन

छोरालाई एक घुट्को पानी ख्वाएन (९९, कोरोना र महादेवहरू)

कविले मान्छेको जिन्दगीलाई फूलको झर्नै पर्ने, मर्नै पर्ने नियतिसँग तुलना गरेर जरामरण सत्यलाई उजागर पारेका छन्। दुःख, तृष्णा, खरानी याने मृत्यु, तथा मसानघाटको यथार्थ बिम्बका गोलचक्करमा मान्छेको जीवन घुमेको छ। जीवनमा आँशु छ, चिन्ता छ, थकान छ र फेरि कोरोना कहरका बिचमा आफन्त गुमाएर पनि मान्छे बाँच्न लालयित छ।

जहेर छ कि कवि अर्याल आफ्नो बुढ्यौली उन्मुख शरीर बोकेर अमेरिकामा बसोबास गर्ने पहिलो पुस्ता हुन्। नेपालमा जागिरे जीवनको लामो अवधि भुक्तानपछि नियतिले पाताल प्रवाश गराएको छ। पाताल प्रवासमा रहेका पहिलो पुस्ताका मान्छेको एक अलग प्रकारको समस्या हुन्छ। भाषा, धर्म, संस्कार, चाडपर्व, आफन्त, समाज, देश, पहिचान सबै गुमेको हुन्छ। यसले एक प्रकारको असमाधानीय पीडा दिइरहन्छ। यो नै डायस्पोरिक पीडा हो। डायस्पोरामा मान्छे भाषा बोल्न नपाएर रुन्छ। धर्म तथा संस्कारले दुखाइरहन्छ। चाडपर्व आउँदा मन खिन्न बनाइरहन्छ। आफन्त नहुँदा एक्लो महसुस हुन्छ। समाज छैन, देश छैन अनि अर्काको देशमा प्राविधिक नागरिक भए पनि दुई नम्बरकै नागरिक हुन्छ। यी पीडाबाट अभिषप्त पीडित हुन्छ डायस्पोरामा मान्छे। यसबाहेक पनि स्वदेशमा बसेका मान्छेको डायस्पोरामा बसेकाहरू प्रति चिडचिडाहट हुन्छ। यसरी दोहोरो पीडामा बाँच्न बाध्य हुन्छ डायस्पोरामा मान्छे। यही डायस्पोरिक चेत तथा पीडामा कवि अर्यालले कविता लेखेका छन्। उदाहरण हेरौं-

भगिनीकै मुस्कानको अनुपस्थितिमा

साक्खै दिदीको

प्रत्यक्ष आशीर्वादको अभावमा

मैले मनाउन सकिनँ तिहार (२८, परदेशीको तिहार)

बारम्बार अनुवाद हुन्छ ऊ देशसँग

माटोकै मायामा रङ्गिएको छ

गहका आँशुले त्यो रङ्ग भिजाउँछ (४७, नियति परदेशीको)

द्यौसी र भैलो मालको रन्को अरू क्यै जान्दिनँ

यो दूर देशमा भए‘नि ज्यान मन बस्न मान्दैन (५२, मन बस्न मान्दैन)।

आमाको न्यानो काखबाहिर

भौंतारिरहेको छु कस्तुरी-मृग बनी

धेरै टाढा

पाताल प्रवासमा छु

तथापि लाग्छ मलाई

म मेरो देशसँगै छु। (७९, देशसँगै)

वास्तवमा मान्छेको जीवनमा जे गुमेको छ त्यसको चाह बढी हुने रहेछ। आमा नगुमी आमाको मायाको वास्तविक आभाष हुन्न भन्छन् त्यस्तै डायस्पोरामा समग्रमा देश खोसिएको हुन्छ र त्यसले आफ्नो गुमेको स्वदेशको मायामा सधैं तड्पिरहेको हुन्छ डायस्पोरिक मान्छे। यही कुरालाई कविले यसरी व्यक्त गरेका छन्-

मन भक्कानिएको छ

देश बिग्रेको पीडाको अनुभव

स्वदेशमा हुँदाभन्दा यो दूर परदेशमा

अत्यधिक महसुस हुँदोरहेछ (९४-९५, चिनारी)

कविताकृति ‘आजको मान्छे’ पढी तुरेको छु। बुझेको छु कि चन्द्रमामा पनि कालो हुन्छ। परमसत्य संसारमा जन्म र मृत्युबाहेक केही छैन। त्यसैले सिर्जनाको उपल्लो जेनिथ हुन सक्दैन। किन-किन कृति पढिरहँदा मलाई लाग्यो कि मूलत यो गद्य कविताकृति हो। त्यसैले झ्याउरे तथा छन्दका कविता यो संग्रहमा समावेश नगर्दा राम्रो हुन्थ्यो जस्तो लागेको छ। गद्य कविताको इतिहास लेख्दा यो कृति कुन प्रकारको भनी छुट्याउन गाह्रो हुन्छ।

कवितामा गेयात्मकतामा महत्त्वपूर्ण कुरा हो। छन्द कवितामा मात्र होइन; गद्य कवितामा पनि गेयात्मकता प्रखर हुनै पर्छ। लयमा बेजोड देखिनै पर्छ। यो बुँदाबाट हेर्दा मलाई किन-किन लागिरह्यो कि कृति गेयात्मकताको पक्षमा अझै दर्बिलो भएको भए झन् सुनमा सुगन्ध हुने थियो।

कविताकृतिमा विचार पक्ष विपर्यास भएर आएका छन्। एकैनासको अथवा एउटै विचारलाई मध्यनजर गरेर यो कृति नलेखिएको प्रतीत हुन्छ। त्यसकारणले पनि होला कविता लेखनको ढाचाँ एक अर्कासँग मिल्दैन।

कविताको महत्त्वपूर्ण तथा सशक्त प्रस्तुतिमा बिम्बलाई प्रयोग गर्नुपर्ने हुन्छ। यो कविताकृतिमा बिम्बको प्रयोग छ तथापि वर्णनात्मक शैलीले कवितालाई छपक्कै छोपेको छ। यसो भएकाले गद्य कविताको भावमा पाठकले जुन मगज खियाउनुपर्छ,त्यो छैन। याने कविताको प्रस्तुति शैली अबोधीय छैन। यद्यपि कविताको स्वाद पाउन वाचन पनि महत्त्वपूर्ण पक्ष हो। कहिलेकाहीं उत्कृष्ट वाचनमा सुन्दा झन् राम्रो हुन्छ कविता। यसरी कविताकृतिको पूर्ण विवेचना वाचनको लयबद्धतापछि मात्र सम्भव हुन्छ।

सारमा भन्नुपर्दा कवि राजेन्द्रप्रसाद अर्याल साहित्य लेखनमा जिम्मेवार भएर प्रस्तुत भएको देखिन्छ। समाज, राष्ट्र तथा चराचर जगत्प्रति चिन्तनशील देखिन्छन्। विषयवस्तु उठानका हिसाबमा स्तरीय छन् कविता। हल्काफुल्का विषय उठाएर लेखिएका होइनन् यी कविता। कवितामा कविको हृदय बोलेको छ। कविको चेत बोलेको छ। त्यसैले कृतिभित्र सङगृहीत कविताहरू पठनीय मात्र होइन; जीवनबोधीय छन्। मान्छे भौतिक रूपमा जस्तो देखिन्छ, त्यस्तो हुँदैन भन्ने सन्देश प्रवाह छ। तथापि पाठकले त्योभन्दा बढी माग्नु पाठकीय धर्म पनि हो। कविका आगामी रचना झन् परिपाक सम्पन्न हुने कुरामा म ढुक्क छु।  

प्रकाशित: ४ माघ २०७९ ०८:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App