किताबी ज्ञानका साथै प्राविधिक सीपले पनि शिक्षकलाई योग्य बनाउन पहिलोपटक स्थानीय सरकारले नयाँ नीति अघि सारेको छ। जुम्लाको कनकासुन्दरी गाउँपालिकाले पहिलोपटक गाउँपालिका क्षेत्रका शिक्षकलाई प्रविधिमैत्री बनाउन नयाँ प्रविधि (स्टिम) तालिम प्रदान गर्न सुरु गरेको हो।
गाउँपालिका भित्र सामुदायिक विद्यालयमा कार्यरत गणित तथा विज्ञान विषयका शिक्षक तथा शिक्षिकाहरूलाई पाँच दिने तालिम उपलब्ध गराइएको हो। आत्मसम्मानका लागि सहकार्य (क्याड) नेपाल जुम्लाको आयोजना, प्लान नेपालको आर्थिक सहयोग र गाउँपालिकाकाे समन्वयमा तालिम गरिएको क्याड नेपाल जुम्लाका फिल्ड सुपरभाइजर सेरबहादुर राेकायाले जानकारी दिए।
गाउँपालिकाले यसरी शिक्षकको आवश्यकता पहिचान गरी किताबी ज्ञानबाट बाहिर ल्याउँदै प्रविधिमैत्री बनाउन तालिम प्रदान गर्नु स्थानीय सरकारको शिक्षा क्षेत्रमा पहिलो सकारात्मक कदम बढेको शिक्षिका शान्ति बुढाले सुनाइन्। 'किताबमा मात्र सैद्धान्तिक ज्ञान सिकाउँदा हामी नै अलमल हुन्छौँ। प्रयोगात्मक रूपमा कसरी नयाँ प्रविधि सम्बन्धी सिकाउने ज्ञान नहुँदा विद्यार्थी सिकाउनै मुस्किल हुने गरेको उनको अनुभव छ। 'नयाँ प्रविधिको ज्ञान नहुँदा कक्षामा पठनपाठन गर्न समस्या खेप्दै आएका छौँ। गाउँपालिकाले त्यसको समाधान पहिल्याइदिएको छ,' उनले भनिन्।
गाउँपालिकाका निम्न माध्यमिक र माध्यमिक विद्यालयमा कार्यरत १२ वटा विद्यालयका १९ जना गणित र विज्ञानका शिक्षकशिक्षिकालाई गाउँपालिकाले प्रविधिमैत्री बनाउन नयाँ प्रविधि तालिम दिएको हो। आधुनिक सूचना प्रविधिको युगमा शिक्षकलाई नयाँ प्रविधिका क्षेत्रमा पनि पोख्त बनाउनुपर्ने गाउँपालिकाका शिक्षा शाखा प्रमुख जीवनबहादुर राेकायाले बताए। उनी भन्छन्, 'किताबी सुगा रटाईले मात्र शिक्षाको गुणस्तर माथि उठ्दैन। कम्प्युटरको युगमा प्रयोगात्मक प्रविधिको ज्ञान सीप अभाव शिक्षा लंगडो बन्छ। यसैले केही प्रविधिका ज्ञान सीपका लागि शिक्षकलाई तालिम प्रदान गरेका हौँ।'
गणित र विज्ञानका शिक्षकहरूको शिक्षण क्षमतामा सुधार गर्ने, शिक्षकहरूलाई नवीनतम् शिक्षण विधिहरू र प्रविधिहरूको प्रयोगमा दक्ष बनाउने र स्थानीय विद्यालयहरूमा शिक्षाको गुणस्तर सुधार गर्न शिक्षकहरूको भूमिका सुदृढ गर्ने उद्देश्य रहेको उनले बताए। शिक्षकमा विषयवस्तु र शिक्षण कलाले मात्र नभएर प्राविधिक ज्ञान पनि अत्यावश्यक रहने गाउँपालिका प्रमुख दामोदरप्रसाद आचार्यले बताउँछन्। उनले यसरी प्रविधिमैत्री भएपछि शिक्षण सिकाइ क्रियाकलापलाई सूचना र प्रविधिसँग जोड्न सहयोग पुग्ने भनाइ राखे। 'अबको युगमा प्रविधिको ज्ञान हुनु अतिआवश्यक छ। गाउँपालिकाको शैक्षिक सुधारका लागि पनि यो तालिम आयोजना गरिएको हो,' उनले भने।
यता प्रशिक्षक हेम नारायण महतोका अनुसार गणित र विज्ञानको शिक्षणमा नवीनतम् विधिहरूको प्रयोगबारे प्रशिक्षण, शिक्षकहरूलाई प्रयोगात्मक शिक्षण विधिहरूमा सहभागी गराउने र शिक्षकहरूबीच अनुभव आदानप्रदान र समस्याहरूको समाधान खोज्ने प्रशिक्षण सत्रहरू चलाइएको थियो। सहभागी शिक्षकहरूले नवीनतम् शिक्षण विधिहरू र प्रविधिहरूमा दक्षता हासिल गरेकाे बताएका छन्।
गणित र विज्ञान शिक्षणको गुणस्तरमा सुधार ल्याउने शिक्षक तिर्थराज शर्माले बताए। उनले भने, 'तालिमले स्थानीय समुदायमा शिक्षाको महत्त्वबारे जागरूकता बढायो। आउँदो शैक्षिकसत्रदेखि तालिममा सिकेको सीपलाई कार्यान्वयन गर्ने उनीहरूले प्रतिबद्धता जनाए।
पाँच दिने तालिमले शिक्षकहरूको क्षमता अभिवृद्धि गर्दै स्थानीय विद्यालयहरूमा शिक्षाको गुणस्तर सुधार गर्न महत्वपूर्ण योगदान पुर्याउने र प्राप्त ज्ञान र सीपलाई विद्यालयमा लागू गर्दै समुदायमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
प्रकाशित: ७ पुस २०८१ ११:२१ आइतबार