काठमाडौं–गायिका अनिला राई दर्शक तथा श्रोतमाझ बादलसँगै उडेर आएकी छन्। एक दशकदेखि बेलायतमै बसेर नेपाली गीतसंगीतलाई निरुन्तर अँगाल्दै आएकी अनिलाले आफ्ना श्रोता एवं दर्शकका लागि ‘बादलसँगै...’ बोल गीतको नविनतम भिडियो पस्केकी हुन्। ‘बादलसँगै...’ भिडियोलाई मंगलबार सार्वजनिक गरिएको हो ।
समारोहमा ‘बादलसँगै...’ गीतको भिडियोलाई अहिलेका चर्चित गायक राजेशपायल राई, दीपक लिम्बू, संगीतकार तथा प्राज्ञ शान्तिराम राईलगायतले सार्वजनिक गरेका थिए । गायिका अनिलाको ‘स्वरांकन’ एल्बममा समावेश यस गीतलाई फोटो पत्रकार नविनबाबु गुरुङले निर्देशन गरेका हुन् । छायांकन समेत नविनबाबुकै रहेको यस भिडियोलाई यु–ट्युब र टेलिभिजनमार्फत एकसाथ सार्वजनिक गरिएको हो । अनिलाको ‘स्वरांकन’ एल्बम केही समयअघि मात्र सार्वजनिक गरिएको थियो ।
दोलखाको सैलुङ डाँडा, काठमाडौं र बेलायतमा समेत छायांकन गरिएको ‘बादलसँगैं...’ भिडियोमा सम्पदा बानियाँ र नरेन खड्काले अभिनय गरेका छन् । सैलुङ डाँडा र बेलायतको रमणीय दृश्यले भिडियोलाई थप उत्कृष्ट बनाएको छ । कार्यक्रममा बोल्दै संगीतकार शान्तिराम राई भिडियो एकदमै उत्कृष्ट बनेको बताए । उनले भने, ‘बादलसँगै गीतको उत्कृष्टता जस्तै भिडियो पनि राम्रो बनेको छ ।’ सैलुङ डाँडा यस भिडियोका लागि भर्जिन स्र्पोट भएको बताउँदै उनले भने, ‘गीतका मोडल सम्पदा र नरेनको अभिनय पनि उत्कृष्ट लाग्यो ।’ गायिका अनिलाकै शब्दरचना रहेको ‘बादलसँगै...’ गीतको संगीत पनि शान्तिरामले नै गरेका हुन् ।
त्यस्तै, गायक राजेशपायल राईले पनि भिडियो उत्कृष्ट लागेको बताए । ‘भिडियो साँच्चीकै राम्रो बनेको छ’ उनले भने, ‘यस गीतले अनिलालाई थप चर्चामा ल्याउने छ भन्ने मलाई लागेको छ ।’ कार्यक्रममा भिडियोका निर्देशक तथा फोटोपत्रकार नविनबाबुले ‘बादलसँगै...’ छायांकन ताकाको अनुभव सुनाएका थिए । ‘यो भिडियो निकै कठिनका साथ निर्माण गरेका छौं’ उनले भने, ‘तर मिहिनेत गरेअनुसार भिडियो राम्रो बनेको छ ।’ मोडल सम्पदाले पनि भिडियो सुटका क्रममा सैलुङ डाँडा पुग्दा अनुभव सुनाएकी थिइन् ।
प्रकाशित: ३० असार २०७३ ०९:१७ बिहीबार