१६ मंसिर २०७९ शुक्रबार
कला

राजेश भट्टराईका पाँच लघुकथा

लघुकथा

राजेश भट्टराई

 १) फरक

इन्द्रबहादुरको घरको वरिपरि पर्खाल लगाउन आज कामदारहरू बोलाइएको थियो। ऊ,उसकी बुहारी र ठेकेदार अगाडि आँगनमा घाम ताप्दै उनीहरूको काम नियाल्दै थिए। यत्तिकैमा उनको छोरा ‘जो आठ महिनाको थियो’, लाई दूध खान मन लाग्यो।

‘ममी बुबू’ भन्दै ब्लाउजमाथि सार्दिन खोज्यो। हत्तपत्त भित्र लगिन्।

दुई जना पुरुष मिस्त्री, एकजना पुरुष ज्यामी र अर्को एकजना महिला ज्यामीले निरन्तर काम गरिरहेका थिए। महिला ज्यामीले आफ्नो सात महिनाको छोरालाई आँगनकै छेउमा भुईमा छोडिदिएकी थिइन्। धुलोमा खेलिरहेको थियो। भोक लागेर बिस्तारै रुन थाल्यो। तर, उनले बेवास्ता गर्दै बालुवा चाल्ने, इट्टा पुर्‍याइदिने आदि गरिरहिन्। खप्नै नसकेपछि चिच्याएर रोयो।

ठेकेदारसँग अनुमति मागिन्, ‘एकछिन नानीलाई दूध खुवाउँछु है।’

रवाफिलो स्विकृति दियो,‘हुन्छ खुवाऊ तर अलि छिटो गर्नु।’

‘आए सानु आए’ भन्दै समातिन् छोरो।

इट्टामाथि बसिन्। सबैको अगाडि कुर्थामाथिको भागबाट स्तन निकालेर दूध खुवाइन्।

 २) धर्ती

 ऊ दिनहुँजसो जाँड खाएर आउँथ्यो र श्रीमतीलाई जगल्ट्याउँथ्यो। उनी कुनामा बसेर रुन्थिन्। सोमबारको व्रत बस्थिन्, वर माग्थिन्, ‘प्रभु,मेरा प्यारालाई चाँडै सुधारिदिनुस्।’

तर, व्यर्थ हुँदै थियो।

तीजमा पनि बसेकी थिइन् व्रत।

पल्लो घरको दिदीले भनिन्, ‘त्यस्तो असतीको दीर्घायु होस् भनेर पनि के व्रत बस्छयौ? बरु छिटै मरे तिम्रो ज्यानले सुख पाउँथ्यो।’

‘त्यस्तो नभन्नुस् न दिदी, उनले धर्म छोडे पनि म छोड्न सक्दिनँ। जवाफ आयो।

३) उल्लु

बिहे भएको चार वर्षसम्म पनि आकाशका दम्पती निसन्तान नै थिए। जँचाउँदा उसैमा ठूलै कमजोरी देखियो। उसलाई हीनताबोध भयो। तैपनि ‘सुधार हुन सक्छ’ भनेर डाक्टरले औषधि चलाइदिए।

तिन महिना लगातार औषधि खाँदा सुधार त भयो। तर, बाउ नै बन्न सक्ने स्तरमा भने भएन।

डाक्टरले सुझाउँदै थिए,‘अझै केही समय औषधि खानुपर्छ।’

उनीहरू अर्को डाक्टरकोमा गए। ‘सुधार त भएको रैछ। मैले अर्को औषधि चलाइदिन्छु। छिटो सुधार हुन्छ कि’भन्दै औषधि परिवर्तन गरिदिए।

त्यस्तै पन्ध्र दिन जति भएको थियो। उसको बुढीको मोबाइलको घण्टी बज्यो। उठाउँदा उनको बिहेभन्दा अघिको ब्वाइ फ्रेन्ड।

‘म तिम्रो शहरमा आएको छु। आऊ,मलाई भेट्न। मयूर होटलको रुम नं बाइसमा।’

‘प्लिज,म अर्कैकी भइसकें। त्यस्तो नभन।’

‘खुरुक्क आऊ। धेरै नाटक गर्ने हैन। हाम्रा पुराना फोटाहरू छन् नि मसँग। थाहा छैन, फेरि....।’

अनि त महिनावारी रोकियो। ऊ पहिला जँचाएको डाक्टरकोमा गयो र रिसाउँदै भन्यो, ‘तपाई कस्तो डाक्टर हँ? तिन महिनासम्म औषधि खुवाउनुभो, केही पनि भएन। अर्को डाक्टरले दिएको औषधि एक महिना पनि खाँदा नखाँदै बच्चा बसिहाल्यो। पढेर डाक्टर हुनुभएको कि सर्टिफिकेट किनेर ल्याएर?’

४) दुर्घटना

अनिल र अनिष एक अर्कालाई मनको कुरा खुलेर नै भन्ने असाध्य मिल्ने साथी थिए। उमेर अनि समयसँगै शारीरिक, मानसिक एवं संवेगात्मक विकाश पनि भइसकेको थियो उनीहरूमा।

विपरीत लिंगप्रतिको आकर्षणसँगै यौन चाहनाले झम्टिरहन्थ्यो। अनिलले फरक तरीकाले आवेग शान्त पार्थ्यो  तर अनिषले पार्थेन। भन्थ्यो, ‘त्यस्तो गर्न हुँदैन। लत बस्न सक्छ। कमजोर भइन्छ।’

अनिलले जवाफ फर्काउँथ्यो,‘कहिलेकाही गरेर केही हुँदैन। छिटो-छिटो गरिरहनु हुँदैन। पौष्टिक खाना खाइरहनुपर्छ। कमजोरी हुँदैन।’

अझ अगाडि बढेर भन्थ्यो, ‘चाहना दबाएर राख्यो भने एकदिन नराम्रोसँग विष्फोट हुन सक्छ। दुर्घटना हुन सक्छ।’

तिनचार दिनपछि पत्रिका पसलमा ‘केही छ कि नयाँ समाचार’ भनेर बुझ्न जाँदा एउटा पत्रिकाको हेडलाइनमा उसको आँखा पर्‍यो। पढ्दै गयो। झसंग भयो। हेडलाइन थियो।

‘एक युवा किशोरीको करणी प्रयास आरोपमा पक्राउ।’

५) घुस

सानैमा बाबा बितेकाले आमाले हुर्काएको श्यामु। पोषणको कमी भएर हो कि उसलाई कमजोरी र रोगव्याधिले घेर्दा कान अलि कम सुन्ने भएको थियो।

ऊ र उसकी आमा एकपटक एउटा काम लिएर एउटा सरकारी कार्यालयमा गए। तर, त्यहाँको हाकिमले कामै गर्दिएन। कहिले यो पुगेन, कहिले त्यो पुगेन भनेर झुलाएको झुलायै गर्‍यो। निराश भएर बाहिर निस्केका थिए। सबैथोक हेरिरहेको एउटा कार्यालय सहयोगीले भन्यो, ‘हाकिम साबले कहाँ त्यत्तिकै काम गरिदिन्छन् त। घुस खुवाउनुपर्छ नि!’

अचम्म मान्दै सोध्यो,‘घुस?’

‘अँ’ सायद उसको पनि कान कमजोर थियो कि।

‘त्यस्तो पनि खान्छन र?’

‘खान्छन् नि खान्छन्। किन नखानु, त्यसैका लागि त यति गरेका हुन नि। बरु अप्ठेरो माने बल गरेर भए पनि खुवाउनुपर्छ।’

अचम्म मान्दै कुरा गर्न थाले।

आमाले गाउँ जाने विचार गरिन्,‘शहरका मान्छे खूब सभ्य हुन्छन् भनेको त गाई-भैंसीले जस्तो त्यस्तो पो खाने रैछन्।’

गाउँ गएर धान र गहुँको भुस, गुणा, चापट लिएर आइन्। सबै मिलाएर एक ताउला बनाइन्। आमाछोराले दुईतिरको कडीमा समाती बोकेर गए त्यही कार्यालयतिर।

बाहिरका मान्छे भन्दै थिए, ‘गाउँघरतिरको त घुस बेग्लै। वर्ष दिन पुग्ने घिउ र मह होला। सायद अलिअलि कुरौनी पनि।’

हाकिमले मन्द मुस्कानका साथ भन्यो, ‘कहाँ यति धेरै अहिल्यै खान सक्छु। वर्ष दिन पुग्ने जति छ। त्यो पनि जहान परिवार सबैका लागि।’

‘थोरै भए पनि चाख्नु न त।’

‘हुन्छ,चाख्न न त चाखौंला नि।’

ढक्कन खोल्यो। झसंग हुँदै भन्यो, ‘के ल्याएको यस्तो? यस्तो पनि खान्छु मैले?’

‘खानु न खानु’ भन्दै आमा-छोराले समातेर अनुहार ताउलामा गाडिदिए।

प्रकाशित: ४ मंसिर २०७९ १२:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App