७ वैशाख २०८१ शुक्रबार
कला

अनवरत अभिभारा

कथा

वास्तवमा म उसको हेराइबाटै बच्न चाहन्थेँ। उसको कुरै सुन्न चाहन्नथेँ। उसका अनुनय-विनय खारेज गरिदिन चाहन्थेँ। तर पनि अनुराग एकोहोरो भुत्भुताइरहेको थियो-घरपरिवारको दबाबमा आएर आकृतिसँग विवाह गरेँ। उसलाई खुसी राख्न खोजेँ। उसका हरेक इच्छा आकाङ्क्षा पुर्‍याउन खोजेँ तर ऊ मबाट कहिल्यै खुसी भइन। उसको रोजाइको साथी अर्कै रहेछ। रातदिन क्लब/पार्टी जानुपर्ने उसको जीवनमा समयको कुनै पावन्दी थिएन। कुन बेला आउँथी, कुन बेला जान्थी पत्तै नहुने। म उसको रोजाइको केटो थिइनँ। त्यसैले आमा बुबाका लागि मात्र उसले मसँग विवाह गरेकी रहिछ ।

७–८ वर्षपछि एक्कासि आइपुगेको उसको बिलौनाको मेरा लागि कुनै अर्थ थिएन। त्यसैले उसका कुरामा त्यति ध्यान पनि दिन चाहेकी थिइनँ। मेरो ध्यान मात्र एउटा विषयमा थियो कि ऊ जतिसक्दो चाँडो यहाँबाट गइहालोस्।

तर पनि उसको स्वर रोकिएन-छोरीको जन्मपछि ऊ फेरि आफ्नो पुरानो प्रेमीसँग रमाउन थाली। धेरै पटक उसलाई आपत्तिजनक अवस्थामा यही आँखाले देखेँ। कसरी सहनु? कहिलेसम्म सहनु? तैपनि समाजले अनि परिवारले के भन्लान् भनी चुपचाप सहिरहेँ।

प्लिस आस्था, मलाई स्वीकार। तिमीबिना म बाँच्नै नसक्ने भइसकेँ। आखिर मैले पनि त तिमीलाई मनमा राखेकै थिएँ। परिवारका लागि आकृतिलाई अपनाएको न थिएँ। बीचमा जे भयो भयो, प्लिज अब त्यसलाई बिर्सिदेऊ। मेरो पीडा बुझिदेऊ प्लिज, प्लिज...।

मेरो दिमाग रन्थनाउन थालिसकेको थियो तर पनि उसको गनगन मरिगए रोकिएन। मानौं ऊ मनभित्रको आगो ओकल्ने ठाउँको खोजीमा थियो र त्यसका लागि उपयुक्त समय यही थियो- ‘जतिपछि भयो उतिउति प्रेमीसँग समय बिताउन थाली। म भने अफिससँगै छोरी समेत आफै हेर्न थालेँ। बिस्तारै छोरीलाई बिहान डे केयरमा राखी बेलुका अफिसबाट फर्कंदा सँगै फर्कने गर्न थालेँ। बाबुछोरीको दिनचर्या यसैगरी बितिरहने, उता आकृति भने हामीबाट झन् झन् टाढा हुने क्रम बढिरह्यो। त्यसैले वर्ष दिनअघि पारपाचुके गरी हामी छुट्टियौं।

आस्था, तिम्रो सङ्घर्ष र परिश्रमको बयान कसरी गरूँ म? च्यारिटीबाट चल्ने एउटा स्कुलमा सामान्य शिक्षिकाका रूपमा प्रवेश गरेकी तिमीले यसलाई कति लोकप्रिय बनायौ भनिसाध्य नै छैन। हेर्दाखेरि जति साधारण छौ, तिम्रो विचार र विश्वास भने चट्टानभन्दा कडा र उच्च छ। तिमीलाई भेटेको दिनदेखि आजसम्म कुनै क्षण छैन, तिमी मेरो मनमस्तिष्कमा नभएको। मेरो बाध्यता र जिम्मेवारीका कारण हामी एक अर्काबाट टाढा भएका मात्र हौं, त्यो पनि मात्र केही समयका लागि। त्यसैले मेरो मन कहिल्यै खुसी थिएन। अब भने एउटा दृढ विश्वास लिएर आएको छु तिमीसामु। प्लिज मेरो भावना बुझ आस्था,’ यतिबेलासम्म ऊ बिलौना छाडेर मेरो स्तुतिगान पथतिर मोडिइसकेको थियो। म भने नचाहेरै भए पनि चुपचाप सुन्न बाध्य थिएँ।

‘म मेरा बाँकी दिन तिमीसँगै बिताउन चाहन्छु। जति दिन बाँचिन्छ खुसी हुन चाहन्छु। बिन्ती छ, मलाई अब एक्लो नबनाऊ।’

अनुराग बोलिरहेको थियो, अविरल। म भने आफूलाई सम्हाल्न सकिरहेकी थिइनँ। आज ७–८ वर्षपछि उसलाई देख्दा निकै कमजोर र निराश पाएँ। अनि धेरै समस्या पालेर बसेको अनुभव गरेँ। उसको यो रूप, यो अवस्था पत्याउन मलाई निकै गाह्रो भइरहेको थियो। अनुरागलाई आफ्नो कोठामा छाडेर म अफिसबाट निस्केँ र घरतर्फ लागेँ। खलल्ल नुहाइवरी राति लगाउने लुगा फेरीवरी टुक्रुक्क के बसेकी थिएँ, घडीले आठ बजेको जनाउ दियो। दिदीभिनाजु खाना खान भनेर मलाई नै कुरिरहनुभएको रहेछ।

सरी दिदी, आज एकछिन ढिलो भयो। त्यसैले हजुरलाई कुर्नुपर्‍यो। सबै जना खाना खान बस्यौं। मैले खाँदाखाँदै दिदीसँग आज एक्कासि अफिसमा अनुराग आएको, ऊ निकै दुब्लाएको, छोरी पनि ७–८ वर्षकी भइसकेकी जस्ता सामान्य कुरा सुनाउँदै थिए, उहाँले बीचैमा मलाई रोक्नुभयो र उल्टै सोध्नुभयो-‘ऊ किन आएको नि तिम्रो अफिसमा? आकृति पनि थिई? उनीहरू त युएसमै सेटल भइसकेका होइनन् र? अनि कति बस्छ रे नेपालमा?’

दिदीको धारावाहिक प्रश्नको ओइरो मेरा लागि अनपेक्षित थिए। भनेँ-‘ओहो दिदी! कति धेरै प्रश्न गरेको एकैपल्ट। मलाई खालि यति मात्र थाहा छ कि उसको आकृतिसँगको वैवाहिक जीवन टुट्यो। ऊ आफ्नो पुरानै केटासँग रमाउन थालेकी छ रे। अनि छोरीचाहिँ अनुरागसँगै रै’छिन्।’

म रोकिएको के थिएँ, फेरि सुरु भइहाल्यो दिदीको-‘हेर त्यस्तो राम्रो भलादमी केटाले कस्तो दुःख पाएछ बिचरा। मलाई त एकदमै मन परेको केटो हो। कसैले दुःख पायो भने एकदमै सहयोग गर्थ्यो। युएस जानुभन्दा अगाडिसम्म मलाई फोन गर्थ्यो। तिम्रो पनि हालचाल सोधिरहन्थ्यो। रामले तिमीलाई दिएको दुःखबारे घण्टौं मसँग कुरा गर्थ्यो। कुरा गर्ने मात्र हो र? रुन्थ्यो पनि। विचरा साह्रै कमलो मनको थियो। कठै यस्तो सहयोगी मन भएको केटालाई कति धेरै दुःख आइलागेछ हगि? जे होस्, अनुरागले चाहेको कुरा पुगोस्, मनमा सुख शान्ति अनि चैन मिलोस्। हामीले त कामना गर्ने न हो। अरू के नै गर्न सक्छौं र?’

‘भयो-भयो दिदी, धेरै चिन्तित नहुनुस्। सुतौं अब गएर,’ दिदीको ननस्टप स्पिच निकै बेर जाने छाँटकाँट देखिएपछि ब्रेक लगाउन भन्नै पर्‍यो।

आफ्नै कोठातिर लागेकी दिदीको २ निन्द्रा पुगिसक्यो होला, मलाई भने मरिगए निन्द्राले साथ दिएन। यता फर्कियो, उता फर्कियो, अहँ निन्द्राले मरिगए पत्याएन। त्यसपछि स्टडी रुममा गएँ र कम्प्युटर खोली अफिसको काम गर्न थालेँ। तर दिमागले न सिफ्ट चिन्यो, न त स्पेस नै। न डिलिट थाहा पायो न त अप्सन नै। केही चिन्यो त मात्र कन्ट्रोल, त्यो पनि अनुरागको। जे थिचे पनि उही हाबी भयो। अर्थात् अनुरागकै मात्र कन्ट्रोल, पूरै दिमागभरि।

किन जीवन आफूले सोचेजस्तो हुन्न? घरीघरी एउटै प्रश्नले सताइरह्यो। विगत किन वर्तमानसँगै टाँसिइरहन्छ? किन छाड्दैन पिछा? सहायक प्रश्न पनि टुप्लुक्क उपस्थित हुन्थे बेलाबेलामा।

स्कुलको पढाइ सकिएपछि शङ्करदेव क्याम्पसमा भर्ना भएकी थिएँ उच्च शिक्षा हासिल गर्नका लागि। बस्थेँ दिदीभिनाजुसँग। घरको आर्थिक स्थिति ठीकै थियो। आफ्नो पढाइ खर्च धानियोस् र घरमा माग्न नपरोस् भनेर ट्युसन पढाउँथेँ केही समय। दिन राम्रैसँग बितिरहेको थियो।

छिमेककै सम्पन्न परिवारकी छोरी कमला मेरी मिल्ने साथी थिई। खासमा मलाई उसको साथी बन्ने मन थिएन। धनी बाउकी बिग्रेकी छोरी, पैसाको धाक लगाउने मात्र हैन, मेरो लवाइ खुवाइप्रति सधैं हेपेर टिप्पणी गर्थी। उसका टुप्पेका कुरा र व्यवहारले मलाई निकै हतोत्साहित  पार्थ्यो तर पनि मैले यस्ता कुरामा खासै ध्यान दिइनँ। कलेज अनि घरको काममा व्यस्त भएकाले अरू विषयमा खासै चासो पनि थिएन।

यत्तिकैमा ब्याचलर पनि सिद्धियो। दिदीभिनाजुको ‘ज्ञानी बैनी’ पनि थिएँ म, उनीहरूकै शब्द सापटी लिएर भन्दा। म साधारण, राम्री र सबैसँग घुलमिल गर्नेखालकी थिएँ। त्यही भएर ज्ञानीको उपाधि पाएकी थिएँ सायद। ममा केही कमी थियो त मात्र पैसाको थियो। दिदीकी सासूलाई क्यान्सर लागेको थियो। त्यही कारण भिनाजुको कमाइ जति सबै औषधोपचारमै सकिन्थ्यो। त्यसैले म दिदीभिनाजुलाई सहयोग पुगोस् भनेर पनि दिनरात मेहनत गर्थें।

उमेर पुगेकी छोरी न परेँ। धेरै ठाउँबाट विवाहका लागि प्रस्ताव आउन थाले। प्रस्तावहरू दिदीले एक एक गरेर पेस गर्नुहुन्थ्यो। मैले भने सबै ‘खारेज’ गरिदिन्थेँ, एकै शब्दमा।

छिमेकमा एउटा यस्तो आवारा केटो थियो जो सधैं मेरो बाटो छेक्थ्यो। मलाई नराम्रा शब्दले कमेन्ट गथ्र्यो। यस्तो केटाको पनि प्रस्ताव आएछ। जब दिदीले यो कुरा भन्नुभयो, मैले सोझै खारेज गरिदिएँ अरू प्रस्तावमा जस्तै।

यसपछि भने दिदीलाई पनि झोक चलेछ क्यारे, भन्न थाल्नुभयो-बैनी तिमी सधैंभरि हामीसँगै बस्ने होइन क्यारे। पढाइ पनि पूरा भैहाल्यो। तिमी यही छिमेकी रामसँग विवाह गर। दिदीको बिहे भइसक्यो। घरमा आमाछोरा मात्रै हो। आमा अलि बिमारी मात्र न हो। त्यति त तिमी सम्हाल्न सकिहाल्छौ नि। पढेलेखेकी छौ, जीवन समाज बुझेकी छौ। के म हुन्छ भन्दिम् त?

‘होइन-होइन दिदी, उसको चरित्र राम्रो छैन। साथीसङ्गत खत्तम छ। एक दुईचोटि पुलिसले समेत लगेको मैले नै थाहा पाएकी छु। म ऊसँग विवाह गर्दिनँ,’ अनि दिदीको झोक शान्त पार्न एउटा टिप्स फ्याँकेँ-केही समय दिनूस् मलाई, बरु अर्को वर्ष दिदीले जे भन्नुहुन्छ, त्यही मान्छु।

आज घरमा बिहानै छिमेकी साथी कमला झुल्की। उसको हातमा निमन्त्रणा कार्ड थियो। पल्टाएर हेरेँ, बिहेको निम्तो रहेछ। त्यो पनि उसकै। निकै खुसी थिई ऊ। हुनेवाला घर र वरको बखान सुनाइ निकैबेर-घर यस्तो छ, गाडी यतिवटा छ, धेरै धनी, बयान गरिसाध्य नै छैन...।

कार्डमा लेखिए अनुसार उसको विवाह कार्यक्रम नै पाँच दिनको थियो। टीकाटालो, मेहेन्दी, स्वयंवर, जन्ती... केके हो केके। टीकाटालोको रमाइलो भइरहेको थियो। त्यत्तिकैमा मेरो आँखा एउटा केटोको आँखासँग जुध्न पुग्यो। जो मलाई अघिदेखि एकटकले हेरिरहेको रहेछ। म बेलाबेला यसो लुकेर हेर्थें उसलाई, जतिबेला पनि मैतिर हेरिरहेको।

अर्काे दिन मेहेन्दी कार्यक्रम थियो। यो कार्यक्रम सिद्धिसकेपछि नाचगान चल्यो। यत्तिकैमा उद्घोषिकाले एउटा नियम बताइन्-नाच्नका लागि जसको नाम बोलाइन्छ उसले डान्स पार्टनर छान्न पाउने। जब अनुरागको नाम बोलाइयो, उसले खुसी हुँदै ठुलो स्वरमा भन्यो-‘आस्था, मे आइ ह्याभ प्रेजर टु डान्स विथ यु?’

सबै ताली बजाउन थाले। म भने रातोपिरो भएँ। किन पनि भने आजसम्म यसरी कसैसँग नाचेकै थिइनँ म। निकै अप्ठ्यारो लागिरहेको थियो। अनुराग मेरा अगाडि घुँडा टेकेर उभियो। एक मन त रिस पनि उठिरहेको थियो तर पनि सबैका अगाडि केही गर्ने कुरै भएन। कस्तो नबुझेको होला, म साधारण, नेपाली परिवेशमा हुर्किएकी केटी, ऊ अमेरिकामा हुर्किएको केटो। उसलाई समाजसँग कुनै लेनदेन थिएन। त्यसैले आफूलाई जे मन लाग्यो त्यही गथ्र्यो। मेरो मनले नमाने पनि त्यतिखेर ऊसँग नाच्न धेरै केटी लालायित थिए। तर ऊ भने मेरो अगाडि थियो।

नेपथ्यमा ब्याकग्राउन्ड धुन गुन्जिरहेको थियो–

यति चोखो यति मिठो दिउँला तिम्लाई माया

बिर्सने छन् साराले पुराना प्रेमका कथा...।

भनिन्छ-सङ्गीतमा जादु हुन्छ। म पनि कतिन्जेल टिक्न सक्थेँ र? यही धुनमा मुग्ध भएँ अनि नाच्न थालेँ ऊसँग। त्यसपछि त समय बितेको पत्तै भएन। दुईतीनवटा धुनमा नाचेछु। सायद ‘वान्स मोर’ ले पनि काम गर्‍यो यतिबेला। सबैले कति राम्रो नाचेको भनेर तारिफ गरेपछि त भुइँमा खुट्टै भएन।

सङ्गीतमा जादु हुन्छ। म पनि कतिन्जेल टिक्न सक्थेँ र? यही धुनमा मुग्ध भएँ अनि नाच्न थालेँ ऊसँग। त्यसपछि त समय बितेको पत्तै भएन। दुईतीनवटा धुनमा नाचेछु। सायद ‘वान्स मोर’ ले पनि काम गर्‍यो यतिबेला। सबैले कति राम्रो नाचेको भनेर तारिफ गरेपछि त भुइँमा खुट्टै भएन।

त्यसपछिका हरेक दिनको कार्यक्रममा अनुराग मेरो अघिपछि झुम्न थाल्यो। नेपाली समाज न हो, यसरी अनुराग मसँग नजिकिएको देखेपछि सबैले कानेखुसी गर्ने नै भए। अनुराग व्यक्तित्व राम्रो भएको, पढेलेखेको राम्रो परिवारको छोरो भएकामा शङ्कै थिएन। विदेशबाट शिक्षा हासिल गरेको ऊ शिष्ट पनि थियो। त्यसैले ऊ धेरैको आकर्षण बन्नु स्वाभाविक थियो। म भने सामान्य परिवारकी। त्यसैले धेरैले ऊ मप्रति लहसिएको मन पराएका थिएनन्। यही कारण केहीले त मविरुद्ध अनुरागको परिवारलाई उचाले पनि। मेरो कुरा काट्नेहरू अनायासै बढे।

कमलाको बिहे सकिएको त्यस्तै एक महिना जति भएको थियो होला, अनुराग भाउजूलाई माइतीमा छाडिदिने बहानाले मेरो घर आएको थियो। त्यो पनि फूलको ठुलो गुच्छासहित। बिहेपछि भेटै नभएकाले आएको बताउँदै उसले दिदीसँग भन्यो-यसो कहिलेकाहीं त हाम्रोमा पनि आए हुने नि?

‘पहिलो कुरा त हामी अलि व्यस्त नै हुन्छौं। त्यसमाथि तिमीकहाँ के नाताले आउनु र भाइ?’ दिदीले उनको घरमा नजानुको जवाफ यसरी फर्काउनुभएको थियो। अनि थप्नुभएको थियो, ‘बरु तिमी नै आए हुन्छ नि बेलाबेलामा, यसो भाउजूसँग...।’

त्यत्तिकैमा म चिया लिएर आएँ। उसले चियाको कप समात्यो अनि चुस्की लिँदै प्रतिक्रिया व्यक्त गर्‍यो-‘आहा! कति मिठो चिया। यति मिठो चिया त जिन्दगीमा पिएकै थिइनँ। ल अब दिनमा एकचोटि चाहिँ पक्कै आउने भएँ।’

सही दिदीतर्फ लगाउने, सम्बोधन दिदीलाई गर्ने तर हेर्नेचाहिँ मेरो मुखपट्टि। म पनि त्यति लाटी त कहाँ थिएँ र? कुरा बुझिहाल्थेँ। दिदीको सटकट जवाफ थियो-भइहाल्छ नि।

दिदी मेरो काम छ भन्दै भित्र जानुभयो। त्यसपछिका केही क्षण शान्त भयो। केहीको आवाज थियो त मात्र उसले चिया तानेको-सुरूप सुरूप। सायद यही सुनसानको फाइदा लिन चाहन्थ्यो अनुराग। र, भनी पनि हाल्यो-‘आस्था तिमीलाई देखेको दिनदेखि म राम्रोसँग निदाउन पनि सकेको छैन। हरेक क्षण तिमी मेरो आँखै वरिपरि पाउँछु। कस्सम, मैले आजसम्म कोही कसैलाई यसरी हेरेकै छैन। म तिमीलाई जीवन साथी बनाउन चाहन्छु। मैले मेरो जीवनसाथीमा जे जे गुण कल्पना गरेको छु, ती सबैले सज्जित गुण तिमीमा छ। प्लिज, मेरो कुरा स्वीकार।’

ऊ ननस्टप बोलिरहेको थियो, दिदी आइपुग्नुभो टुप्लुक्क। त्यसपछि टक्क अडिएको अनुरागलाई दिदीले खाना खाएर जान आग्रह गर्नुभयो। तर ऊ निस्क्यो ‘पछि आउँछु नि’ भन्दै।

म उसले राखेको प्रस्तावले आश्चर्य चकित भएकी थिएँ। किन यस्तो प्रस्ताव राख्यो भन्ने प्रश्न मनभरि फुलेर आयो। उसको र हाम्रो कुनै तुलना नै हुन्न। अनुरागको परिवार धनाढ्य, हामी गरिब। हाम्रो समाज, उठबस, बोलीचाली भिन्नै, उसको नितान्त पृथक। रहनसहन, नाता कुटुम्ब सबैमा आकाश-पातालको फरक। धेरै सोचविचारपछि सोचेँ कि उसको प्रस्ताव अस्वीकार गरिदिन्छु।

समय आफ्नै चालमा अघि बढिरह्यो। रोकिन्थ्यो पनि किन र? आखिर उसको पनि त गन्तव्य चुम्नु होला। अनुरागसँगको सम्बन्ध कहिलेकाहींको भेटघाट र चिया-कफीमा सीमित थियो। यस क्रममा उसको व्यवहार/विचार मन पर्दै जान थाल्यो। अझ भनौं, मेरो मन जितिरहेको थियो उसले, क्रमशः।  

एकदिन अचानक घरमा आइपुगेकी मेरै साथी कमला दिदीसँग भन्दै थिई-‘यो आस्थेले के गरेकी यस्तो? मेरै देवर अनुरागलाई पो फसाइछ। सधैं उसैसँग हुन्छे रे। कहिले रेस्टुरेन्ट, कहिले पार्क, के गरेको यस्तो? विवाह नगरेकी केटी रातदिन यसरी हिँड्न हुन्छ? यो संसारमा फसाउन मेरै देवर मात्र देखिछे त्यसले? हुँदाहुँदा मेरो त्यस्तो ज्ञानी देवर आस्थाबाहेक कसैसँग विवाह नै गर्दिन पो भन्छ बा। दिदी अब के गर्ने भन्नु त तपाईं नै। मेरो विचारमा आफूसँग स्तर मिल्ने परिवार खोजेर आस्थाको विवाह गर्दिनूस्। मैले भनेको मान्नूस्, यसरी केटा फसाउन नदिनूस्।’

कमला गएपछि दिदी एकदमै चिन्तित हुनुभयो। सबै कुरा भिनाजुलाई भन्नुभयो। त्यसपछि त दिदीभिनाजुको अनुहार सधैं मलिन देख्न थालेँ। म पनि निशब्द थिएँ। हो, म अनुरागलाई धेरै नै माया गर्थें तर कमला मात्र हैन, अरू धेरै मानिस यसरी नै कुरा काट्न थालेका पाएँ। त्यसैले मैले अन्तै विवाह गर्नुपर्ने बाध्यता आइलाग्यो। यस्तो अवस्थामा रामको घरबाट आएको विवाहको प्रस्ताव स्वीकार्नुको विकल्प मसँग रहेन।

राम बेरोजगार। दिनभर आवारा केटासँग बिताउने। अनि रात परेपछि रक्सी पिएर आउने। विभिन्न बहानामा ममाथि हात उठाइहाल्ने। सासू ओछ्यानबाटै उठ्न नसक्ने बिरामी। श्रीमान्लाई काम गर्नुपर्‍यो भनेमा उल्टै रिसाउथे र भन्थे-तैंले जसरी आफै काम गरेर माइती पालेकी थिइस्, त्यसैगरी यो घर पनि आफै पाल्। यस्तो अवस्थाले घरमा सधैं रडाको हुन थाल्यो। मैले यस्तो कुरा अरूलाई भन्छे भनेर मेरो फोन पनि रामले नै लिएको थियो अनि ऊ बाहिर जाँदा घरको गेटमा ताल्चा मारेर जान्थ्यो। मेरो यो दुःख दिदीभिनाजुलाई सुनाउने मनै थिएन।

एकदिन दिदी बिहानै मेरो घर आउनुभयो। मेरो च्यातिएका लुगा, शरीरमा लागेका निलडाम, मुखमा लागेको चोट सबै प्रत्यक्ष देख्नुभयो। मलाई त्यस्तो अवस्थामा देखेपछि उहाँ त्यहाँ बस्नै नसकी फर्कनुभयो। मैले यस्तो दुःखी जीवन जिउन सिकिसकेकी थिएँ तर अरूलाई भने मेरो अवस्था देखेर सहन साह्रै गाह्रो हुने रहेछ।

एकदिनको कुरा हो-राम मेरा गहना खोजिरहेको थियो। मेरा चुरा, सिक्री सबै पहिले नै लिइसकेको थियो। मलाई लछारपछार गरिरहेको थियो। त्यतिबेलै आइपुग्नुभएकी दिदीले मलाई तान्न खोज्दा रामको टाउको पलङमा ठोक्कियो अनि त्यहीं बेहोस भयो। त्यसपछि प्रहरी आयो। रामलाई मार्न खोजेको आरोप लाग्यो ममाथि। अनि म जेल परेँ।

जब रामको होस आयो, उसले वकिलसामु बयान दिने क्रममा बतायो-आस्थाको कुनै गल्ती छैन, मेरो यो अवस्था हुनुमा बरु दिदीको हात छ, उनको हैन।

यति भन्नासाथ राम यो संसार छाडी गयो। उता बुहारी जेल परी भन्ने सुनेपछि सासू पनि हर्ट-अट्याक भएर बितिछन्।

म दिदीभिनाजुसँगै थिएँ। अनुराग मेरो दुःख मनभरि लिएर युएस गयो। मेरो जीवन यस्तै रहेछ दुःखै दुःखको पोको तर जे भए पनि बाँच्नका लागि काम त गर्नै पर्‍यो। त्यसैले म स्कुलमा पढाउन थालेँ। लगातारको मेहनतले यही स्कुलको प्रधानाध्यापक बनेँ।

‘आस्था! चिया...’ भन्दा म झसङ्ग भएँ। रातभर त्यही स्टडी टेबलमै बसेछु। त्यसपछि नुवाइधुवाइ गर्न बाथरुम पसेँ। अनुरागको फोन धेरैचोटि आइसकेको रहेछ। दिदीले ल उठा फोन भनेर दिनुभयो। यसो भनिरहँदा उहाँको मुख हँसिलो थियो। अनुहारमा एउटा आशा थियो। खुसी हुनुहुन्थ्यो अनुराग आएकोमा।

अनुराग र मेरो बेलुका सँगै खाना खाने कार्यक्रम थियो। आस्था तिमीले के सोच्यौ त? म तिमीबिना बाँच्न सक्दिन भन्यो।

मैले भनेँ-हेर अनुराग, तिमी र म बेस्ट फ्रेन्ड हौं। यसलाई विवाहमै परिणत गर्नुपर्छ भन्ने छैन। मेरा जिम्मेवारी धेरै छन्। मैले धेरै बच्चा सम्हाल्नु छ। मैले मेरा बारेमा मात्रै सोचेर हुँदैन अब। अनुराग! हामी एकअर्कालाई पर्दा ज्यान दिन सक्छौं। त्यसैले आआफ्नो जिम्मेवारीका लागि एउटा नयाँ अटुट सम्बन्ध बाँधौं, कसो?

प्रकाशित: ३ मंसिर २०७९ ००:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App