जनमत वाङ्मय प्रतिष्ठान नेपालको ४२औँ वार्षिकोत्सवका अवसरमा १० विशिष्ट स्रष्टालाई सम्मान गरिएकाे छ।
बनेपास्थित अरनिको पार्टी प्यालेसमा आयोजित ‘दोस्रो चरणको स्रष्टा सम्मान कार्यक्रम’ मा अनुवादक समाज नेपालका अध्यक्ष डा. बलराम अधिकारीलाई ‘जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान’ अर्पिएकाे छ।
नेपाली साहित्यको अनुवाद र प्रवर्द्धनमा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै उनलाई सो सम्मान अर्पिएको हो। डा. अधिकारीले ‘अनुवाद प्रज्ञा पुरस्कार - २०८१’ समेत प्राप्त गरेका थिए।
औपचारिक कार्यक्रमको समापनपछि भएको एक अनौपचारिक कुराकानीका क्रममा डा. अधिकारीले वर्तमान समयमा अनुवादको बदलिँदो स्वरूप र प्रविधिको भूमिकाबारे चर्चा गरे।
उनले भने, “आजको युगमा अनुवादलाई अझ प्रभावकारी र स्तरीय बनाउन अनुवादकको व्यक्तिगत सिर्जनशीलता, मानवीय संवेदनशीलता र कृत्रिम बुद्धिमत्ता (एआई) को उचित संयोजन हुन आवश्यक छ।”
प्रविधिले अनुवादलाई सहज बनाए पनि मानवीय भावना र सिर्जनशीलता नै अनुवादको वास्तविक प्राण भएको उनको धारणा थियो।
समारोहमा डा. अधिकारीका साथै अन्य ९ स्रष्टालाई पनि विभिन्न विधामा सम्मान अर्पिएकाे थियाे। सम्मानित हुनेहरूमा वरिष्ठ राजनीतिज्ञ एवं लेखक मोहनविक्रम सिंह (कमलराज–जनमत दर्शन साहित्य सम्मान), प्राडा चूडामणि बन्धु (हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान) र प्राडा वीणा पौड्याल (जनमत–सिचि धर्म/संस्कृति सम्मान) छन्।
त्यस्तै डा. कविता लामालाई ‘विश्वशान्ति–जनमत प्रवासी लेखक सम्मान’, नन्दकृष्ण जोशीलाई ‘जनमत–जनक प्रधान सेवा सम्मान’ र प्राडा सविना श्रेष्ठलाई ‘जनमत–दीपक कायस्थ स्वास्थ्य सम्मान’ अर्पिएको छ।
अन्य सम्मानित व्यक्तित्वहरूमा जगदीश ओझा (जनमत–ज्ञानरत्न/मङ्गलतारा राष्ट्रिय सम्मान), राजभाइ प्रधान (जनमत–पूर्णमाया/लुचि समाजसेवा सम्मान) र डा. गोविन्द आचार्य (शान्तिकिरण–जनमत फरक क्षमता सम्मान) छन्।
प्रतिष्ठानका अध्यक्ष मोहन दुवालको अध्यक्षतामा भएकाे कार्यक्रममा देशभरका साहित्यकार, पत्रकार तथा बौद्धिक व्यक्तित्वहरूको उपस्थिति थियो।
४२ वर्षदेखि निरन्तर वाङ्मयको सेवामा समर्पित जनमत प्रतिष्ठानले नेपाली भाषा र साहित्यका विभिन्न विधाका साधकहरूलाई हरेक वर्ष सम्मान गर्दै आएको छ।
प्रकाशित: २७ चैत्र २०८२ १२:३१ शुक्रबार





