प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना मुलुकभर जारी छ । निर्वाचन आयोगका अनुसार यो समाचार तयार पार्दासम्म विभिन्न ९६ वटा निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ७६, नेपाली कांग्रेस ११, नेपाल कम्युनिष्ट पार्टी (एमाले) चार, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) तीन तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्र उम्मेदवार एक/एक जना विजयी भएका छन् । यो अवधिसम्ममा निर्वाचित उम्मेदवारमध्ये रास्वपाका अधिकांश उम्मेदवार ठूलो मतान्तरले विजयी भएका छन् ।
रुपन्देही क्षेत्र नं ३ बाट निर्वाचित डा लेखजङ्ग थापा ५० हजार ३७९ मतान्तरले विजयी भए । उनले ५८ हजार ८१४ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सुशील गुरुङ्गले आठ हजार ४३५ मत प्राप्त गरे ।
रुपन्देही क्षेत्र नं २ बाट रास्वपाका सुलभ खरेल ४३ हजार ६८९ मतान्तरले विजयी भए । खरेलले ५६ हजार ५५० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी विष्णुप्रसाद पौडेलले १२ हजार ८६१ मत प्राप्त गरे ।
मोरङ निर्वाचन क्षेत्र नं ६ बाट रास्वपाका उम्मेदवार रुविना आचार्य ५५ हजार ५१३ मतसहित विजयी भए । यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका डा शेखर कोइराला १२ हजार ८५० मतसहित दोस्रो स्थानमा सीमित भए ।
मोरङ निर्वाचन क्षेत्र नं ४ बाट रास्वपाका उम्मेदवार सन्तोष राजवंशी ४० हजार ८३३ मत ल्याएर विजयी भए । उनका निकतटम प्रतिस्पर्धी नेपाली कांग्रेसका गुरुराज घिमिरेले १२ हजार ८१८ मत मात्र प्राप्त गरे । उच्च मतान्तरले विजयी हुने उम्मेदवारमा धनुषा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ बाट रास्वपाका मनिष झा ४३ हजार ९८८ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विमलेन्द्र नीतिले १६ हजार ६५२ मत प्राप्त गरे ।
महोत्तरी क्षेत्र नं १ बाट रास्वपाका प्रमोदकुमार महतो ३४ हजार ६३६ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका गिरिराजमणी पोखरेलले १२ हजार ६२४ मत प्राप्त गरे । बारा क्षेत्र नं ३ मा रास्वपाका अरबिन्द साह ३० हजार ६४५ मतान्तरले विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका फरमुल्लाह मन्सुरले १० हजार ५२ मत प्राप्त गरे ।
बारा निर्वाचन क्षेत्र नं ४ मा रास्वपाका रहवर अंसारी ४१ हजार २०० मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का कृष्णकुमार श्रेष्ठले ११ हजार ६३९ मत प्राप्त गरे । जुन २९ हजार ५६१ को मतान्तर हो ।
पर्सा निर्वाचन क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार बुद्धिप्रसाद पन्त २७ हजार २७४ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार प्रदीप यादवले १३ हजार ३० मत प्राप्त गरे ।
काठमाडौं निर्वाचन क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार रञ्जु न्यौपाने १५ हजार ४५५ मतसहित विजयी भइन । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापा क्षेत्रीले छ हजार ३६४ मत ल्याउँदा नौ हजार ९१ मतान्तरसहित न्यौपाने विजयी भइन ।
काठमाडौं निर्वाचन क्षेत्र नं २ मा रास्वपाका सुनिल केसी ३४ हजार २३८ मतसहित विजयी भए । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कविर शर्माले आठ हजार ८७४ मत प्राप्त गरे । काठमाडौं निर्वाचन क्षेत्र नं ३ मा रास्वपाका राजुनाथ पाण्डे १८ हजार ७५७ मतसहित विजयी भए । निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ सात हजार ५८५ मतान्तरले पछि पर्दै ११ हजार १७१ मत प्राप्त गरे ।
काठमाडौं निर्वाचन क्षेत्र नं ४ मा रास्वपाका पुकार बम २९ हजार १४२ मतसहित विजयी भए । बम २० हजार ३१८ मतान्तरसहित विजयी भए । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सचिव तिमल्सेनाको आठ हजार ८२४ मत छ ।
काठमाडौं निर्वाचन क्षेत्र नं ५ मा रास्वपाका सस्मित पोखरेल ३० हजार ७३७ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप पौडेलले नौ हजार १५९ मत प्राप्त गरे । त्यस्तै निर्वाचन क्षेत्र नं ७ मा रास्वपाका उम्मेदवार गणेश पराजुली २७ हजार ८०५ मतसहित विजयी भए । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईंको भन्दा २३ हजार ८२३ मत बढी प्राप्त गरे ।
काठमाडौं निर्वाचन क्षेत्र नं ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ २४ हजार ५९२ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले तीन हजार २१७ मत प्राप्त गरे । निर्वाचन क्षेत्र नं ९ मा रास्वपाका डोलप्रसाद अर्याल ३५ हजार ९३ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नानुमैया बास्तोलाले पाँच हजार ४६० मत प्राप्त गरे ।
काठमाडौं निर्वाचन क्षेत्र नं १० मा रास्वपाका उम्मेदवार प्रदिप विष्ट ३७ हजार ४६९ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हिमाल कार्कीको भन्दा विष्टको मत २९ हजार ४६९ ले बढी हो । कार्कीले आठ हजार १०० मत प्राप्त गरेका छन् ।
भक्तपुर निर्वाचन क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार रुकेश रञ्जित ३३ हजार ४३६ मतसहित विजयी भए । उनी पाँच हजार २८९ मतान्तरले विजयी भए छ । निकटतम प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालको २८ हजार १४७ मत रहेको छ ।
ललितपुर निर्वाचन क्षेत्र नं १ मा रास्वपाका बुद्ध रत्न महर्जन २३ हजार ३७३ मतसहित विजयी भए । महर्जन नौ हजार ८५३ मतान्तरसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस का उदयशम्शेर राणाले १३ हजार ५२० मत प्राप्त गरे ।
चितवन निर्वाचन क्षेत्र नं २ मा रास्वपाका सभापति रवि लामिछाने ५४ हजार ४०२ मतसहित विजयी भए ।निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मिनाकुमारी खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन । यसरी निर्वाचित उम्मेदवारमध्ये रास्वपाका अधिकांश प्रतिनिधि ठूलो मतान्तरले विजयी भएका छन् ।
प्रकाशित: २३ फाल्गुन २०८२ २२:५७ शनिबार



-600x400.jpg)

