२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

सरकारी सेवासुविधा सामाजिक सेवामा प्रयोग गर्ने उपाध्यक्ष डोल्माको घोषणा

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महाङ्काल गाउँपालिकाकी उपाध्यक्ष डोल्मामाया गोलेले आफूले राज्यबाट पाउने तलबभत्ता नलिने र सरकारी सवारीसाधन सामाजिक सेवामा प्रयोग गर्ने घोषणा गरेकी छन्।

उपाध्यक्ष गोलेले महिला दिवसका अवसरमा सार्वजनिक सन्देश जारी गर्दै अबदेखि आफूले राज्यबाट पाउने मासिक तलबभत्ता नलिने निर्णय गरेको बताइन्। उनका अनुसार उक्त रकम ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला, किसान, शिक्षक, युवा तथा स्वास्थ्य स्वयंसेविका लगायत समुदायका आवश्यक क्षेत्रमा सहयोगका रूपमा खर्च गरिने छ।

त्यसैगरी आफूले प्रयोग गर्दै आएको सरकारी सवारीसाधन पनि सामाजिक सेवामा प्रयोग गर्ने घोषणा गरेकी छन्। परिवारमा सहारा नभएका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका अति विपन्न नागरिकलाई पालिका तथा वडा कार्यालयमा सेवा लिन आउनजान सहज बनाउने उद्देश्यले सवारी उपलब्ध गराइने उनले बताइन्।

उनले भने, “विशेषगरी मासिक वृद्धभत्ता लिन पालिका केन्द्रस्थित बैङ्कसम्म पुग्न कठिनाइ भोगिरहेका नागरिकलाई मैले प्रयोग गर्दै आएको सरकारी सवारीसाधन प्रयोग गर्दा थप सहज हुनेछ। यस्ता कुनै समस्या परेमा खुलेर भन्नुस् तपाईंको आपत्–विपत्, दुःख–पीडामा मसँगै रहनेछु।”

महाङ्काल गाउँपालिका महिला तथा बालबालिका शाखाले सम्बन्धित वडाध्यक्ष, जनप्रतिनिधि एवं सचिव र स्वास्थ्यस्वयंसेविकाहरूसँग समन्वय गरेर यो सेवा लिन सक्ने पनि उनले बताए। उनका अनुसार यो सेवा गाउँपालिकाका नागरिकले मात्र उपयोग गर्न पाउने व्यवस्था गरिने छ।

गोलेले नागरिकलाई सम्बोधन गर्दै आपत्–विपत् र दुःखमा सधैं साथ रहने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो निर्णय जनसेवा र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताका रूपमा रहेको बताइन्।  

प्रकाशित: २५ फाल्गुन २०८२ १२:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App