नेपालगन्ज–६ स्थित हडिया बाबा मतदान केन्द्र (क) मा बिहीबार बिहान निर्धारित समयमै मतदान सुरु भयो। मतदान सुरु हुनुअघि नै केन्द्र बाहिर मतदाताको लामो लाइन देखिन थालेको थियो। निर्वाचन कर्मचारीहरू आ–आफ्नो जिम्मेवारीमा सक्रिय थिए। वातावरण विगतका निर्वाचनहरूझैं व्यवस्थित र शान्त देखिन्थ्यो। तर, त्यही भीडभाड र व्यस्तताबीच एक दृश्य भने सबैका लागि फरक र प्रेरणादायी थियो, ‘काखमा छोरी बोकेर मतदान अधिकृतको जिम्मेवारी निभाइरहेकी एक आमा।’
मतदान केन्द्रको एकतर्फ बसेकी मतदान अधिकृत अृमता केसीका लागि यो निर्वाचन अरू जस्तो सामान्य थिएन। उनी मतपत्रमा हस्ताक्षर गरिरहेकी थिइन्, तर उनका हातमा कागज र कलम मात्र थिएनन्, काखमा थिइन् उनकी ६ महिनाकी छोरी। मतदानको जिम्मेवारीसँगै मातृत्वको दायित्व पनि उनले सँगसँगै निभाइरहेकी थिइन्।
मतदान अधिकृतका रूपमा उनको मुख्य जिम्मेवारी मतदान प्रक्रिया निष्पक्ष, शान्त र व्यवस्थितरूपमा सञ्चालन गराउनु थिया। तर, त्यससँगै उनले छोरीलाई सान्त्वना दिनु, दूध खुवाउनु र रोएमा चुप गराउनु पनि उत्तिकै आवश्यक थियो। कहिले छोरीलाई काखमा सुताउँदै, कहिले कर्मचारीसँग छोटो समन्वय गर्दै उनी आफ्नो काममा निरन्तर व्यस्त देखिन्थिन्।
उच्च अदालत नेपालगन्ज इजलासकी अधिकृतसमेत रहेकी केसीका लागि राष्ट्रसेवाको जिम्मेवारी पहिलो प्राथमिकतामा थियो। तर, मातृत्व पनि त्यत्तिकै महत्व थियो। ‘देशको महत्वपूर्ण जिम्मेवारी निभाइरहँदा छोरीसँगै रहन पाउँदा गर्व महसुस भइरहेको छ,’ उनले मुस्कुराउँदै भनिन्।
मतदान केन्द्रमा आएका कतिपय मतदाताहरूले पनि उनको कामप्रतिको समर्पण देखेर प्रशंसा गरे। एक हातमा राष्ट्रको जिम्मेवारी र अर्को हातमा मातृत्व बोकेर उनले देखाएको प्रतिबद्धता धेरैका लागि प्रेरणाको विषय बनेको थियो। केसीका सहकर्मीहरूका अनुसार उनले कुनै पनि समयमा आफ्नो जिम्मेवारीबाट पछि हटिनन्। छोरीलाई काखमा राखेरै भए पनि उनले मतदान प्रक्रिया व्यवस्थित राख्न कर्मचारीहरूलाई निर्देशन दिइरहिन्। मतदान सुरु भएको केही समयमै केन्द्रमा मतदाताको भीड बढे पनि उनले संयम र धैर्यका साथ सबै प्रक्रिया सम्हालिन्।
निर्वाचनजस्तो संवेदनशील कार्यमा खटिनु आफैंमा ठूलो जिम्मेवारी हो। त्यसमाथि शिशु स्याहार गर्दै त्यो जिम्मेवारी निभाउनु अझ कठिन हुन्छ। तर, केसीले दुवै भूमिका सन्तुलितरूपमा निभाउँदै मातृत्व र कर्तव्यनिष्ठाको सुन्दर उदाहरण प्रस्तुत गरिन्। दिनभरको व्यस्तताबीच कहिलेकाहिँ उनी छोरीलाई माया गर्दै मुस्कुराउँथिन्। त्यो मुस्कानमा थकानभन्दा बढी आत्मसन्तुष्टि झल्किन्थ्यो। राष्ट्रको लोकतान्त्रिक प्रक्रियामा आफ्नो योगदान दिन पाएको खुसी र आमाको रूपमा छोरीसँगै रहने सन्तुष्टि दुवै उनको अनुहारमा स्पष्ट देखिन्थ्यो।
मतदान केन्द्रको भीडभाड र जिम्मेवारीबीच काखमा छोरी बोकेर काम गरिरहेकी अृमता केसीको दृश्यले एउटा सन्देश दिएको थियो, ‘कर्तव्य र मातृत्व एकअर्काको बाधक होइनन्, बरु समर्पण र इच्छाशक्तिले दुवैलाई समान रूपमा निभाउन सकिन्छ।’
प्रकाशित: २१ फाल्गुन २०८२ १३:०२ बिहीबार





-600x400.jpg)