१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
निर्वाचन विशेष

कोसीमा मत खोस्ने र जोगाउने होड

प्रतिनिधिसभा निर्वाचन आउन एक साता बाँकी रहँदा राजनीतिक दल र तिनका उम्मेदवार मात्र होइन स्वतन्त्र उम्मेदवारहरू पनि परिणाम आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा जुटेका छन्।

आआफ्ना प्रतिबद्धतासहित नागरिकको घरदैलोमा उम्मेदवारहरू पुग्ने क्रम तीव्र भइरहेको छ। निर्वाचन मिति नजिकिएसँगै प्रतिनिधिसभाका सबै एक सय ६५ निर्वाचनको मतपरिणामका बारेमा चासो र चर्चा जनस्तरमा समेत बढेको छ। त्यसमा एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहसहित नेताहरू चुनावी प्रतिस्पर्धामा रहेको झापा -५ अहिले सबैभन्दा चासो र चर्चाको केन्द्रमा रहेको हो।

भावी प्रधानमन्त्रीका रूपमा हेरिएका ओली र शाहका साथै नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टीसहितका उम्मेदवारहरू प्रतिस्पर्धामा छन्।

प्रतिस्पर्धी सबै उम्मेदवारहरू चुनावी परिणाम आफ्नो पक्षमा पार्न सक्रिय रहेका छन्। झापा - ५ मात्र होइन कोसी प्रदेश अहिले चुनावी चर्चाको केन्द्रमा रहेको छ। २०७९ सालको निर्वाचनमा झापा - ५ मा एमालेले सबैभन्दा धेरै ३५ हजार समानुपातिक मत पाएको थियो भने रास्वपाले १८ हजार मतसहित दोस्रो स्थान बनाउँदा कांग्रेसले १६ हजार मतसहित तेस्रो स्थान सुरक्षित गरेको थियो।

झापा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माको गृह जिल्ला पनि हो भने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, निवर्तमान सभामुख देवराज घिमिरे, निवर्तमान उपसभामुख इन्दिरा रानामगरसहितका नेताहरू झापाबाटै उम्मेदवार बनेका छन्। त्यसले पनि झापाको निर्वाचन परिणामप्रति आम चासो बढेको छ। त्यसका साथै राजनीतिक र औद्योगिक राजधानी विराटनगर (मोरङ जिल्ला) मा कांग्रेस नेता शेखर कोइराला, महामन्त्री गुरुराज घिमिरे तथा नेता मीनेन्द्र रिजाल, राष्ट्रिय ऊर्जाशील पार्टीका अध्यक्ष योगेन्द्र मण्डलसहितका नेताहरू चुनावी प्रतिस्पर्धामा छन्।

त्यस्तै, धरान उपमहानगरको प्रमुखबाट राजीनामा गर्दै श्रम संस्कृति पार्टी स्थापना गरेर संसदीय राजनीतिमा होमिएका हर्क साम्पाङ सुनसरी -१ बाट उम्मेदवार बनेका छन्। राष्ट्रिय राजनीतिमा चर्चामा रहेका र कमाएका यी नेतालाई स्वतन्त्र र विभिन्न राजनीतिक दलमा रहेर काम गरेका नेताहरूले चुनौती दिइरहेका छन्।

१४ जिल्ला रहेको कोसी फागुन २१ मा हुने निर्वाचनमा सबैभन्दा चासो र चर्चाको प्रदेश बन्न पुगेको छ। २०७९ सालको निर्वाचनमा ६ लाख ४२ हजार ३४ मतसहित पहिलो दल बनेको एमालेले प्रत्यक्षतर्फ सबैभन्दा धेरै १३ निर्वाचन क्षेत्रको परिणाम आफ्नो पक्षमा पारेको थियो। पाँच लाख ५५ हजार दुई सय २७ सहित दोस्रो मत पाएको कांग्रेसले नौ क्षेत्रको परिणाम आफ्नो पक्षमा पारेको थियो। प्रत्यक्षतर्फको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न नसके पनि रास्वपाले दुई लाख १४ हजार आठ सय १० मत पाएको थियो।

कांग्रेससहितका दलहरूसँग चुनावी तालमेल गरेको तत्कालीन माओवादी केन्द्रले एक लाख ८८ हजार ६ सय ८२, नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) ले ४६ हजार दुई सय ४६ (अहिले माओवादी केन्द्र, नेकपा एससहितका दलसहितको नेकपा बनेको छ) र राप्रपाले एक लाख ३० हजार चार सय तीन मत समानुपातिकतर्फ पाएका थिए। त्यस निर्वाचनमा तत्कालीन माओवादी केन्द्रले प्रत्यक्षतर्फ तीन, राप्रपाले एक, जसपाले एक र स्वतन्त्रले एक क्षेत्रको परिणाम आफ्नो पक्षमा पारेको थियो। अहिले माओवादी केन्द्रबाट निर्वाचित सुदन किराँतीले उक्त दल छाडेका छन्। किराँती अघिल्लो निर्वाचनमा माओवादीबाट प्रत्यक्ष निर्वाचित भएका थिए।

२०७९ सालमा राप्रपाबाहेकका प्रमुख दलले २०७४ सालमा समानुपातिक मत केही हजार गुमाएका छन्। राप्रपाले समानुपातिक मत दोब्बर गरेको छ कोसीमा। उसले २०७४ को निर्वाचनमा पाँच हजार ७३ सय ४२ मात्र मत पाएको थियो।

त्यस्तै, एमालेले ६ लाख ७३ हजार सात सय नौ, कांग्रेसले पाँच लाख ८६ हजार दुई सय ४६, माओवादीले दुई लाख ६ हजार सात सय ८१, संघीय समाजवादी फोरम ७० हजार चार सय ७६ मत पाएका थिए।

२०७९ सालको निर्वाचनमा अधिकांश क्षेत्रमा एमाले समानुपातिकतर्फ पहिलो दल बनेको छ भने दोस्रोमा कांग्रेस रहेको छ। फागुन २१ मा हुने निर्वाचनमा कांग्रेस, एमाले, नेकपासहितका दलहरूलाई अघिल्लो निर्वाचनमा जस्तै मत क्षयीकरण हुने चिन्ता देखिएको छ। उनीहरू आफ्नो परम्परागत मत संरक्षण गर्न सक्रिय रहेका छन्।

नयाँलाई पार्टीमा तान्नेभन्दा पुरानालाई संरक्षण गर्ने रणनीति ती दलहरूले बनाएको निकटहरूको दाबी छ। रास्वपाका साथै साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी, उज्यालो पार्टी नेपाल, नेकपा (माओवादी), प्रगतिशील लोकतान्त्रिक पार्टीले उनीहरूलाई चुनौती दिँदै आएका छन्।

प्रकाशित: १४ फाल्गुन २०८२ ११:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App