अखिल नेपाल फुटबल संघ (एन्फा)का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सन्जीव पाण्डेलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरेको छ।
न्यायाधीशद्वय विनोद शर्मा र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले बिहीबार दुवैको रिट खारेज गर्ने आदेश दिएको हो। यससँगै उनीहरूलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रक्रिया तत्काल रोकिएको छैन।
सीआईबीले करिब १५ दिनअघि पक्राउ गरेका जोशी र पाण्डेले आफूहरूलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले यसअघि सम्बन्धित मुद्दाको फाइल झिकाएको थियो।
उनीहरूमाथि सीआईबीले खेलमा मिलेमतो (म्याच फिक्सिङ), अनियमितता तथा ठगीसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ। पक्राउपछि उनीहरूले आफूहरूको थुनालाई गैरकानुनी भन्दै अदालतको हस्तक्षेप माग गरेका थिए।
तर सर्वोच्चको बिहीबारको आदेशपछि उनीहरूविरुद्ध भइरहेको अनुसन्धान अघि बढ्ने भएको छ। अदालतको आदेशले रिटमार्फत माग गरिएको तत्काल रिहाइको बाटो भने बन्द भएको छ।
प्रकाशित: १५ आश्विन २०८३ २०:२३ बिहीबार





